काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जति कमजोर कम्पनीहरु बजारमा आएपनि सेयर बिक्री हुने गरेको बताएका छन् । बुधबार धितोपत्र ब्रोकर एसोशिएसन नेपालले नयाँ धितोपत्र दलाल व्यवसायीलाई स्वागत गर्न राखिएको कार्यक्रममा बोल्दै उनले हाल जति कमजोर कम्पनीहरुले आईपीओ जारी गरेपनि त्यो सेयर बिक्री हुने गरेको धारणा राखे ।
यस्तै, उनले नयाँ कम्पनीहरु सेयर बजारमा आउनुपर्ने बताए । सूचीकृत कम्पनीहरु कम रहेको र नयाँ थप्न आवश्यक रहेको बताएका हुन् ।
‘सूचीकृत कम्पनीको संख्या कम भयो, थप सूचीकृत कम्पनी ल्याउन जरुरी छ, हामी स्वागत गर्न तयार छौैं, जसले बजारको भोलुम पनि बढ्छ, यतिका वर्षसम्म २५० वटा कम्पनी मात्रै पुँजी बजारमा सूचीकृत छन्, यो एकदमै कम हो,’ उनले कार्यक्रममा भने ।
यस्तै, उनले अब ब्रोकर कम्पनीले लगानीकर्तालाई लगानी गर्न पनि सिकाउनु पर्ने बताए । बजारमा कुनै समस्या आयो बोर्डमाथी धारे हात लगाउने प्रवृत्ति हावी भएको बताउँदै त्यस्तो नगर्न पनि उनले आग्रह गरे ।
उनले यो यात्रा सुरुवात भएको हुँदा फल आएपछि मात्रै पूर्ण हुने धारणा राखे । ‘लगानीकर्ताले समयमा सूचना पाउनु पर्छ, कारोबारमा हुने कमजोरी हुन दिनुहुन्न, ब्रोकर कम्पनीबीच, प्रतिस्पर्धा गर्नका लागि ब्रोक्रर संख्या थप गरिएको हो, संस्थाहरु पब्लिकप्रति जिम्मेवार हुनुपर्छ,’ उनले भने ।
उनले नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई काखा र पाखा नगर्ने धारणा पनि राखे ।
यस्तै, कार्यक्रममा धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स ल्याउन धेरै संघर्ष गरेको अनुभव सुनाए । नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स नदिन पुराना ब्रोकर कम्पनीले अवरोध श्रृजना गरेको भएपनि असफल भएको उनको भनाइ छ । उनले पुँजी बजारको दायरा बढाउन नयाँ ब्रोकरले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
एसोसिएसनका वरिष्ठ उपाध्यक्ष अञ्जिब तुलाधरले समृद्ध नेपालको आधार, पुँजी बजारको सुधार नाराका साथ नयाँ ब्रोकर कम्पनी संचालनमा आएको बताए । सम्पत्ति सुदृढीकरण सम्बन्धि व्यवस्था कार्यान्वयन गर्न गाह्रो भएको सुनाए ।
संघका उपाध्यक्ष अतित लाल श्रेष्ठले बोर्डका अध्यक्ष रमेशकुमार हमालको सक्रियता र त्यागले नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाएको बताए । कार्यक्रममा इन्भेस्टर फोरमका अध्यक्ष तुलसीरान ढकालले पुँजी बजारमा लगानीकर्ताको संख्या दैनिक बढ्दा ब्रोकर कम्पनीको संख्या थप्नु आवस्यक भएको धारणा राखे ।
‘आजको दिन ऐतिहासिक दिन हो, अध्यक्ष हमालको नाम स्वर्ण अक्षरमा लेखिनेछ, पुँजी बजारमा लगानी भित्रिए पनि राम्रोसँग परिचालन हुन सकेको छैन, अबको दिनमा पुँजी बजारले फड्को मार्नेछ, अध्यक्ष हमाल पुनः बोर्डको अध्यक्षमा दोहोरिनु पर्छ,’ उनले भने ।