काठमाडौं । गत मंसिरमा भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३६औं वार्षिक साधारणसभामा एक सेयरधनीले बैंकलाई पुनः एक नम्बर बनाउन सुझाव दिए । उनले पोडियमा उभिदै भने, ‘कुनै बेला स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँ थियो, आजका दिनमा ४ सयको हाराहारीमा छ, यसलाई फेरि एक नम्बर बनाउनु पर्छ, बैंकका कर्मचारी र संचालकहरुले प्रयास गर्नुभयो भने एक नम्बर बन्न सक्छ, हामीले पनि शिर ठाडो पारेर स्ट्यान्डर्ड चार्टर्ड बैंकका सेयरधनीहरु भन्न पाउँ ।’
ती सेयरधनीले भनेजस्तै छनक स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिएको छ । कुनै बेला नेपाली बैंकिङ इन्डिस्ट्रीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नामै काफी थियो । अधिकांश बैंकले बैंकिङ अभ्यास यही बैंकबाट सिक्थे भने अधिकांशको करिअर पनि यही बैंकबाट सुरु हुन्थ्यो । तर, पछिल्ला कही वर्षहरुमा अन्य बैंकहरुको एग्रेसिभ बैंकिङले यो बैंकलाई पछार्यो र अन्य बैंक ठूलो बन्ने प्रतिस्पर्धामा अगाडि बढे ।
तर, गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणले स्ट्यान्डर्ड चार्टर्ड बैंक पुनः पुरानै लयमा फर्किएको छनक दिएको छ । बैंक आफ्नो विगतको विरासत फकार्उने कसरतमा लागेको बुझ्न सकिन्छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै विदेशी लगानी समेत भएको एभरेष्ट बैंक पनि एक अब्बल बैंकका रुपमा आफुलाई चिनाउन संघर्ष गरिरहेको गत आर्थिक वर्षको वित्तीय विवरणबाट प्रष्ट हुन्छ ।
पछिल्लो समय वाणिज्य बैंकहरुबीच ‘बिग मर्जर’ मार्फत् ठूलो बन्ने होडबाजी चलिरहेका बेला यी दुई बैंकले मर्जर बिनै बजारमा आफ्नो हिस्सा बलियो बनाउने रणनीतिमा लागेको बुझ्न सकिन्छ । यी दुई बैंक मर्जरमा सामेल भएका बैंकहरुबीचको अवस्थ प्रतिस्पर्धाभन्दा बाहिर रहेर स्वस्थ बैंकिङसँगै अधिकांश सूचकहरुमा अब्बल बन्ने योजनाका साथ काम गरिरहेको बुझिएको छ । त्यसको संकेत गत आर्थिक वर्षको वित्तीय विवरणले देखाइसकेको छ । अहिले अधिकांश वाणिज्य बैंक मर्जरमा सामेल छन् तर यी दुई बैंकले मर्जर बिनै बजारमा प्रभुत्व जमाइरहेका छन् भने अन्य बैंकलाई बिजनेसमा चुनौति दिइरहेका छन् ।
बैंकबाट लगानीकर्ताले पाउने लाभांश, बैंकको बिजनेस, कुल नाफामा वितरणयोग्य नाफा, कुल कर्जामा खराब कर्जाको अुनपात र राष्ट्र बैंकको हरेक कम्प्लायन्स पालनामा यी दुवै अगाडि छन् । राष्ट्र बैंकको नजरमा पनि यी दुई बैंक अनुशासित बैंकका रुपमा चिन्निछन् ।
बिग मर्जर गरेका बैंकहरुलाई लाभांशदर घटेको चिन्ता बढिरहेको बेला स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रतिफल दरमा पहिलो बनेर ठूलो बन्ने प्रतिस्पर्धामा रहेका बैंकहरुलाई चकित पारेको छ । खराब कर्जा बढ्यो भनेर रोइकराई गरिरहेका बैंकरहरुलाई एभरेष्टले खराब कर्जा ०.७९ प्रतिशतमा झारेर सरप्राइज दिएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रतिफल दरमा पहिलो बनेर आफ्नो विरासत फेरि फर्काउने संकेत गरेको छ भने वितरणयोग्य नाफामा अग्रस्थान कायम गरेर र खराब कर्जा ह्वात्तै घटाएर एभरेष्टले बजारमा आफ्नो प्रभाव र कार्यकुशलता प्रस्तुत गरेको छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ एभरेष्ट बैंकले कुनै बैंकको पछाडि वा अस्वस्थ प्रतिस्पर्धामा नलागेर आफ्नै किसिमले बैंकिङ अभ्यास गरिरहेको बताउँछन् । ‘धेरै बैंकहरु यो बिचमा मर्जरमा जान हतारिए, हामी मर्जर बिनै अगाडि बढ्ने हो, मर्जरमा हतार गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो, हतारमा मर्जर गरियो भने दुर्घटना हुन सक्छ भन्ने विषयमा हामी राम्रोसँग जानकार छौं, त्यसको केही संकेत अहिले मर्जर भएको बैंकमा देखिएको छ,’ उनले भने ।
उद्यपि, मर्जरमा गएका ती बैंकहरुको सिनर्जी केही वर्षपछि भने देखिने उनको बुझाइ छ । मर्जरमा गएका बैंकमा अकाउन्टिङ, प्रोभिजनिङ र रिकभरीमा समस्या हुँदा गत वर्षको वित्तीय विवरण सन्तोषजनक नआएको हुन सक्ने उनको भनाइ छ ।
नाफा वृद्धिमा नबिललाई टक्कर
कुनै बेला नबिल बैंकले आफ्नो प्रमुख प्रतिस्पर्धीका रुपमा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई लिन्थ्यो । बजारमा रहेका अन्य वाणिज्य बैंकको वेवास्ता गरेर स्ट्याण्डर्ड चार्टर्ड बैंकले ल्याएका नयाँ योजना तथा स्कीम, बैंकले गरेको बिजनेस र अधिकांश सूचकहरुको सतहमा पुगेर नबिलले त्यसको सिको गथ्र्यो ।
सिको गर्दै गरेको बैंकले नाफामा पछि पार्यो । आफ्नो प्रमुख प्रतिस्पर्धी मानेको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई नबिलले पछारेको धेरैको भएको छैन । त्यो सफलता पाउनका लागि नबिललले अन्य बैंक तथा वित्तीय संस्थाको सहयोग लिनुपर्यो । क वर्गको मान्यता प्राप्त नेपाल बंगलादेश बैंकलाई आफुमा गाभ्यो । परिणामस्वरुप अहिले नबिलको प्रतिस्पर्धी फेरिएका छन् । अहिले ग्लोबल आइएमई र एनआईसी एसिया बैंक नबिलका प्रमुख प्रतिस्पर्धी बनेका छन् । नाफामा अग्रस्थान बनाउँदै आएको नबिललाई त्यही पुरानो प्रतिस्पर्धी स्ट्याण्डर्डले पुनः चुनौति थपेको छ ।
गत आर्थिक वर्षको नाफा वृद्धिमा नबिल पहिलो नम्बरमा छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक दोस्रोमा छ । गत आर्थिक वर्षको वित्तीय विवरणका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५६.२७ प्रतिशतको नाफा वृद्धि गरेको छ । नबिलले भने ७६.८६ प्रतिशतले नाफा वृद्धि गरेको छ । नबिलले साढे ७ अर्ब खुद नाफा गरेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे ३ अर्ब नाफा गरेको छ । नाफामा वृद्धिमा सातौं स्थानमा रहेको एभरेष्टले मर्जर बिनै ३ अर्ब ३९ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ ।
लाभांश क्षमतामा दुुइटैको अब्बलता
बैंकहरुले जे जस्तो बिजनेस र काम गरे पनि अन्ततः विषय लाभांशमा ठोकिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकले त्यो कुशलता प्रदर्शन गरेका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेष्ट बैंकको लाभांश क्षमता ४०.५ प्रतिशत छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको २८.९९ प्रतिशत छ । लाभांश क्षमतामा यी दुई बैंक क्रमशः पहिलो र तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा भने एनआईसी एशिया बैंक छ । प्रतिस्पर्धामा रहेको नबिल बैंक सातौं स्थानमा झरेको छ ।
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेष्ट बैंकको वितरणयोग्य नाफा कुल ४ अर्ब ३३ करोड रुपैयाँ छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको २ अर्ब ७३ करोड रुपैयाँ छ । दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ छ । बढी नाफा गर्नेको शिर्षस्थानमा रहेको नबिल, एनआईसी र ग्लोबल बैंकलाई पनि एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले पछि पारेका छन् ।
कुनै बेला १४० प्रतिशतसम्म लाभांश वितरण गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंक अझै पनि लाभांश बढी दिने संघर्ष गरिरहेको छ । यस्तै, एभरेष्ट बैंक पनि लाभांश वितरणमा एक अब्बल बैंकका रुपमा परिचित छ । सम्भवतः गत आर्थिक वर्षको लाभांश बढी वितरण गर्ने बैंकको शिर्षस्थानमा एभरेष्ट बैंक पर्न सक्छ ।
संस्थापक समूहको ७५ प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ छ । नेपालमा कर्पोरेट बैंकिङ अग्रणी बैंकमा रहेको यो बैंकले विगत २३ वर्षदेखि लाभांश वितरण गर्दै आएको छ ।
अघिल्लो आर्थिक वर्षमा २०.६८ प्रतिशत लाभांश वितरण गरेको एभरेष्ट बैकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ छ । एभरेष्टले पनि नियमित लाभांश वितरण गर्दै आएको छ । बैंकले हालसम्म अधिकतम् ६० प्रतिशत लाभांश वितरण गरेको तथ्यांकले देखाउँछ ।
सीईओ खालिङका अनुसार एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्षमा बोनस सेयरमा जोड नदिँदा अहिले लाभांश क्षमता बढेको हो । अन्य बैंकहरुले बोनस सेयरमा जोड दिएर लाभांश वितरण गर्दा ती बैंक अहिले दबावमा परेको हुन सक्ने उनको बुझाइ छ ।
‘बोनस सेयर दिएपछि बैंकहरुको पुँजी बढ्छ, पुँजी बढेपछि स्वतः लाभांश क्षमता घट्ने नै भयो, अघिल्लो वर्ष बोनसमा जोड दिएका बैंकको अहिले लाभांश क्षमता घटेको छ, त्यसैले पनि ती बैंक दबावमा परेका हुन्,’ सीईओ खालिङले भने ।
सेयर मूल्यमा पनि टप्यो
बैंकको वित्तीय सूचकहरुले सेयर मूल्यमा ठूलो प्रभाव पार्छ । जुन बैंकको वित्तीय विवरण स्ट्रोङ्ग छ र सेयरधनीलाई बढी प्रतिफल दिने क्षमता राख्छ, सेयरबजार सोही कम्पनीको सेयरमूल्यमा लगानीकर्ता झुम्मिन्छन् । कुनै समय स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर बजारमा ‘हटकेक’का रुपमा परिचित थियो । पछिल्लो समय नबिल बैंकले बैंकिङ क्षेत्रको सेयर मूल्यमा नेतृत्व गरेपनि एभरेष्टले नबिललाई पछि पारिसकेको छ ।
मंगलबार नबिल बैंकलाई एभरेष्ट बैंकले पछि पार्यो । सेयर मूल्यको आधारमा मंगलबार एभरेष्ट बैंकले दोस्रो स्थान लिएको छ भने नबिल बैंक तेस्रो स्थानमा झरेको छ । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा उच्च सेयर मूल्यसहित एनआईसी एशिया बैंक पहिलो नम्बरमा छ ।
बुधबार एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ६११ रुपैयाँ र नबिल बैंकको ६०३ रुपैयाँ कायम भएको छ । पहिलो नम्बरमा रहेको एनआईसी एशिया बैंकको सेयर मूल्य ७८५ रुपैयाँ पुगेको छ ।
यस्तै, सेयरमा प्रतिफलदरमा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंक नै नम्बर वान बनेको छ । गत आर्थिक वर्षको वित्तीय विवरण केलाउँदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको रिटर्न अन इक्विटी (आरओई) १७.४७ प्रतिशत छ । यस्तै आरओईमा एभरेष्ट चोथौ स्थानमा छ । एनआईसी एशिया दोस्रो छ भने सानिमा तेस्रो स्थानमा छ । एनआईसी एशिया बैंकको १५.६९ प्रतिशत र सानिमा बैंकको आरओई १३.५२ प्रतिशत छ । बैंकले एक आर्थिक वर्षमा गरेको कुल आम्दानीलाई पुँजीले भाग गरी लगानीमा प्रतिफल निकालिन्छ ।
यस्तै, एनआईसी एशिया बैंकपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी बढी छ । एनआइसी एसिया बैंकको (ईपीएस) ४०.२२ रुपैयाँ रहेकोमा स्ट्याण्डर्ड चार्टर्डको ३७.३९ रुपैयाँ छ । यस्तै, एभरेष्टको ईपीएस ३१.७१ रुपैयाँ छ । नाफा उच्च भएको नबिल बैंकको ईपीएस २७.८२ रुपैयाँ छ ।
खराब कर्जा व्यवस्थानमा उत्कृष्ट
पछिल्लो समय खराब कर्जा बैंकरको टाउको दुखाइको विषय बनेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताको प्रत्यक्ष असर बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । व्यवसायीले समयमै सावाँ ब्याज नतिर्दा बैंकहरुको खराब कर्जाको अनुपात बढ्दै गएको छ ।
अहिले वाणिज्य बैंकहरुको खराब कर्जा औसत ३ प्रतिशत छ । केही बैंकको खराब कर्जा ४.७७ प्रतिशतसम्म पनि पुगेको छ । तर, एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले खराब कर्जाको अनुपातलाई घटाएर आफ्नो कार्यकुशलता प्रस्तुत गरेका छन् ।
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको छ । एभरेष्टको खराब कर्जा ०.७९ प्रतिशत मात्रै छ भने कम खराब कर्जा हुने बैंकको तेस्रो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंक छ । जसको खराब कर्जाको अुनपात १.१७ प्रतिशत छ । कम खराब कर्जा हुने बैंकको दोस्रो स्थानमा एनआईसी एशिया बैंक छ । जसको खराब कर्जा ०.८० प्रतिशत छ ।
मर्जर भएका बैंकको खराब कर्जा बढ्नु भनेको रिकभरीमा समस्या आउनु भएको सीईओ खालिङको भनाइ छ । अघिल्लो वर्षको तुलनामा एभरेष्टको खराब कर्जा अनुपात बढेको भएपनि अन्य बैंकको तुलनामा भने सन्तोषजनक नै रहेको उनको भनाइ छ ।
सीईओ खालिङलाई बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा धेरैले चिन्छन् । उनले एभरेष्ट बैंकमा २०७८ असोजमा सीईओका रुपमा कार्यभार सम्हालेका थिए । एभरेष्ट बैंकको सीईओ बन्ने उनी नै पहिलो नेपाली हुन् । नेपाली बैंकर आएपछि एभरेष्ट बैंकले गति लिएको बुझाइ धेरैको छ ।