
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई २०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने वैदेशिक रोजगार बोर्डले निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए ।
बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा जानकारी गराउँदै वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको विदेशमा नै मुत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पु¥याउने तयारी रहेको उनले बताए ।
अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मुत्यु हुनेहरुले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको सचिव भण्डारीले बताए । त्यसका लागि नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको उनले बताए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्रि भिसा फ्रि टिकटको मापदण्डलाई व्यवस्थित गरिने बताए । व्यवसायीहरुबाट वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि ठगी गर्नेहरुलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउने दाहालले बताए ।