राष्ट्र बैंक ऐन संशोधन आवश्यक, डिजिटल युगअनुसार कानुन परिमार्जन गर्नुपर्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप स्वायत्त, व्यावसायिक र प्रविधिमैत्री बनाउन ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ को संशोधन अपरिहार्य रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा उक्त विधेयकमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले परिवर्तनशील आर्थिक परिवेश र प्रविधिको विकासका आधारमा ऐन परिमार्जन गर्न लागिएको स्पष्ट पारे । अर्थमन्त्री वाग्लेले कोभिड–१९ को समयमा नेपालको भुक्तानी सन्तुलनमा चाप परेका बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट लिइएको विस्तारित कर्जा सुविधा (ईसीएफ) का क्रममा गरिएका सुधारका प्रतिबद्धताहरूलाई यो संशोधनले सम्बोधन गर्ने उल्लेख गरे । नेपाल आईएमएफको सदस्य राष्ट्रसमेत रहेकाले अन्तर्राष्ट्रिय संघ–संस्थाको सुझाव र मुलुकको आफ्नै आवश्यकताका आधारमा आर्थिक तथा वित्तीय स्थायित्वका लागि यस्ता सुधार अघि बढाइएको उनको भनाइ छ । बैंकको स्वायत्तताबारे चर्चा गर्दै मन्त्री वाग्लेले केन्द्रीय बैंकलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिए । सरकारको वित्त नीति र राष्ट्र बैंकको मौद्रिक नीतिबीच समन्वयका लागि अर्थ सचिव बोर्डमा रहने व्यवस्था भए पनि बैंकको स्वतन्त्रतालाई अक्षुण्ण राखिने उनले स्पष्ट पारे । प्रविधिको तीव्र विकाससँगै ‘डिजिटल करेन्सी’को अवधारणालाई कानुनी रूपमै समेट्न विधेयकमा प्रस्ताव गरिएको मन्त्री वाग्लेले जानकारी दिए । उनका अनुसार प्रस्तावित संशोधनमा वित्तीय संस्था, मुद्रा, मौद्रिक दायित्व र ऋण उपकरणजस्ता शब्दहरूको परिभाषालाई थप स्पष्ट पारिएको छ । साथै, गभर्नर तथा सञ्चालकको नियुक्ति र पदमुक्ति, सञ्चालक समितिको काम, कर्तव्य र अधिकार तथा खुद आय र वितरणयोग्य आयको गणनाजस्ता विषयलाई समयानुकूल बनाउने प्रस्ताव गरिएको छ । विधेयकमा बैंक नोट तथा सिक्का निष्कासन, सुरक्षा व्यवस्था र राष्ट्र बैंकका कर्मचारीले असल नियतले गरेको कार्यमा जवाफदेही हुनु नपर्ने जस्ता प्रावधानलाई पनि व्यवस्थित गर्न खोजिएको छ । अर्थमन्त्रीले साविकको ऐनको आधारभूत संरचना र उद्देश्यमा तात्त्विक परिवर्तन नगरी केवल कार्यविधि र आधुनिक आवश्यकतालाई मात्र परिमार्जन गरिएको बताए । अर्थमन्त्री वाग्लेले भने, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले केन्द्रीय बैंकको स्वायत्तता सुदृढ गर्ने महत्वपूर्ण आधार तयार गरेको थियो । विशेषगरी गभर्नरको नियुक्तिलाई राजनीतिक हस्तक्षेपबाट जोगाउने व्यवस्था गर्दै राष्ट्र बैंकलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिएको थियो । हाम्रो जस्तो देशमा अर्थ सचिव बोर्डमा रहने व्यवस्थाले सरकारको वित्तीय नीति र राष्ट्र बैंकको मौद्रिक नीतिबीच आवश्यक समन्वय कायम गरेको छ ।’ समितिमा सांसदहरूले राखेका संशोधन र सुझावलाई सरकारले सकारात्मक रूपमा लिने बताउँदै अर्थमन्त्री वाग्लेले ‘मिनी पार्लियामेन्ट’का रूपमा रहेको समितिमा हुने दफावार छलफलबाट विधेयकलाई थप परिष्कृत बनाइने प्रतिबद्धता व्यक्त गरे ।
आइसिटी अवार्डको ११औँ संस्करणका लागि आवेदन खुला, १६ विधामा प्रतिस्पर्धा हुने
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) खुला गरिएको छ । आयोजक लिभिङ विथ आइसिटीले साउन १ गतेदेखि १६ वटा विभिन्न विधामा आवेदन आह्वान गरेको हो । यस वर्षका अवार्डमा नेपालका साथै दक्षिण एसियाली मुलुकलाई समेट्ने अन्तर्राष्ट्रिय विधासमेत समावेश गरिएको छ । सन् २०१६ देखि सञ्चालन हुँदै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले हरेक वर्ष पुसको पहिलो साता आयोजना हुँदै आएको छ । आयोजकका अनुसार प्रविधि क्षेत्रमा स्टार्टअप, नवप्रवर्तन, डिजिटल उत्पादन तथा सरकारी र निजी क्षेत्रका डिजिटल रूपान्तरणका प्रयासलाई विभिन्न विधामार्फत सम्मान गरिनेछ । सूचना तथा सञ्चार प्रविधिमार्फत राष्ट्रलाई योगदान पुर्याएका व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिनेछ । यस वर्ष पनि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड निरन्तर रहनेछ भने पहिलो पटक एआई इन्नोभेसन साउथ एसिया आइसिटी अवार्ड थपिएको छ । यी विधामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानका स्टार्टअप तथा एआई कम्पनीले आवेदन दिन सक्नेछन् । आयोजकका अनुसार अनलाइन आवेदनसँगै करिब छ महिनासम्म विभिन्न छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्ट तथा अन्य पूर्वकार्यक्रम सञ्चालन गरिनेछन् । उत्कृष्ट छनोटका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २० जना विज्ञ निर्णायक र सरकारी तथा निजी क्षेत्रका १५ भन्दा बढी विशिष्ट व्यक्तिको सल्लाहकार समिति रहनेछ । अवार्डलाई चार क्याटेगोरीमा विभाजन गरिएको छ । क्याटेगोरी ‘ए’ अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन अवार्डमा प्रतिस्पर्धीले स्वयं आवेदन दिनुपर्नेछ । क्याटेगोरी ‘बी’मा प्रविधिमार्फत योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिनेछ भने क्याटेगोरी ‘सी’मा सरकारी तथा निजी संस्थाको डिजिटल रूपान्तरण र प्रविधि प्रयोगका आधारमा छनोट हुनेछ । आयोजक समितिका अध्यक्ष राजन लम्सालका अनुसार अवार्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिनेछ । पहिलो चरणको आवेदन अवधि भदौ १५ गते सम्म खुला रहनेछ ।
नेशनल लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क ७ अर्ब रुपैयाँ
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आक्रामक व्यापार गरेको छ । कम्पनीले पहिलोपटक ७ अर्ब रुपैयाँ बढीको प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले आव २०८२/८३ मा ७ अर्ब १० करोड ५८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो । जुन अघिल्लो आवको तुलनामा १६.७९ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो वर्ष २०८१/८२ मा ६ अर्ब ८ करोड ४५ करोड कम्पनीले प्रथम बीमाशुल्कबापत आम्दानी गरेको थियो। एक वर्षको अवधिमा कम्पनीले कम्पनीले २४ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्ष कम्पनीले २२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क ९.९७ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कम्पनीले नवीकरण बीमाशुल्कबापत १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ संकलन भएको गरेको छ। अघिल्लो आवमा कम्पनीले १६ अर्ब ५० करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीले नविकरण बीमाशुल्क ७.४६ प्रतिशतले बढेको छ ।
एनसेलको नयाँ अफर, एप ‘शेक’ गर्दा सरप्राइज उपहार
काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि ‘शेक एन्ड विन’ नामक नयाँ डिजिटल अफर सार्वजनिक गरेको छ । एनसेल एपमा उपलब्ध यस सुविधामार्फत ग्राहकले मोबाइल फोन हल्लाएर दैनिक रूपमा विभिन्न सरप्राइज उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । डिजिटल सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने र एनसेल एपप्रति ग्राहकको आकर्षण बढाउने उद्देश्यले यो अफर सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ । यसमा सहभागी हुन ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने जनाइएको छ। एनसेलका अनुसार ग्राहकले एनसेल एप खोलेर मोबाइल हल्लाएपछि पार्टनर सेवामा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न डिजिटल सुविधा उपहारका रूपमा प्राप्त गर्न सक्नेछन् । प्रत्येक २४ घण्टामा एकपटक ‘शेक’ गरेर नयाँ सरप्राइज उपहार जित्ने अवसर रहने कम्पनीले जनाएको छ । यस अफरअन्तर्गत निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालका लागि अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल उत्पादनमा छुट तथा यात्रा र साहसिक गतिविधिसम्बन्धी विशेष अफर उपलब्ध हुनेछन् । एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको गेमिफाइड सुविधा भएको उल्लेख गर्दै यसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक ढंगले डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न उपहार जित्ने अवसर प्रदान गर्ने बताए । कम्पनीका अनुसार यस्ता अफरमार्फत डिजिटल सेवाको प्रयोग विस्तार गर्ने, एनसेल एपसँग ग्राहकको संलग्नता बढाउने तथा एपमार्फत उपलब्ध सेवाको सहज उपयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । एनसेलले आफ्नो ‘डिजिटल–फर्स्ट’ रणनीतिअनुरूप ग्राहकलाई नवीन, सहज र ग्राहक–केन्द्रित डिजिटल अनुभव प्रदान गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ । कम्पनीले ‘शेक एन्ड विन’ अफरले एनसेल एपको नियमित प्रयोग बढाउनुका साथै डिजिटल सेवाप्रति ग्राहकको पहुँच र सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।
पृथ्वीजस्तै अर्को ग्रहमा पनि जीवन सम्भव, नासाले भेट्टायो ठोस प्रमाण
काठमाडौं । हाम्रो सौर्यमण्डलबाहिर जीवनको खोजले नयाँ मोड लिएको छ । अनुसन्धानकर्ताहरूले पृथ्वीबाट करिब ४९ प्रकाशवर्ष टाढा रहेको पृथ्वीजस्तै एक ग्रह वरिपरि वायुमण्डल रहेको ठोस प्रमाण फेला पारेका छन् । वैज्ञानिकहरूका अनुसार उक्त ग्रहको सतहमा तरल पानी हुन सक्ने सम्भावना छ । यो चट्टानी एक्सोप्लानेट (सौर्यमण्डलबाहिरको ग्रह) आफ्नो ताराको वासयोग्य क्षेत्र (ह्याबिटेबल जोन) मा अवस्थित छ । वासयोग्य क्षेत्र भनेको यस्तो दूरी हो, जहाँ ग्रहको सतहमा तरल पानी रहन सक्ने तापक्रम हुन्छ । त्यसैले त्यहाँ पृथ्वीजस्तै जीवन विकास हुने सम्भावनालाई बल दिएको हो । यसअघि वैज्ञानिकहरूले ठूला ग्यासीय एक्सोप्लानेट र ‘सब–नेप्च्युन’ ग्रहहरूमा वायुमण्डल भेटेका थिए । तर यो खोज फरक छ । अध्ययनका प्रमुख लेखक डा. कोलिन चेरुबिमले सौर्यमण्डलबाहिर वासयोग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा प्रत्यक्ष अवलोकनबाट पुष्टि भएको यो पहिलो वायुमण्डल रहेको जानकारी दिए । डा. चेरुबिमका अनुसार एलएचएस ११४० बी नामक यो ग्रह खगोलजीवविज्ञान र जीवन बस्न सक्ने सम्भावनाको अध्ययनका लागि सौर्यमण्डलबाहिरकै सबैभन्दा आशाजनक प्रयोगशाला बनेको छ । यो ग्रहको द्रव्यमान पृथ्वीको भन्दा ५.६ गुणा बढी छ भने यसको अर्धव्यास पृथ्वीभन्दा करिब ७० प्रतिशत ठूलो छ। उनका अनुसार केही पक्षमा यो पृथ्वीसँग निकै मिल्दोजुल्दो छ । उदाहरणका लागि यसको समग्र संरचना र तापक्रम । तर केही पक्षमा भने फरक छ । यो ग्रह टाइडली लक्ड छ, अर्थात् यसको एउटा भाग सधैं तारातर्फ र अर्को भाग सधैं विपरीत दिशातर्फ रहन्छ । साथै यसमा पृथ्वीभन्दा धेरै पानी हुन सक्ने र यसको वायुमण्डल पनि पृथ्वीको भन्दा निकै फरक हुन सक्ने अनुमान गरिएको छ । नयाँ अध्ययनले एलएचएस ११४० बीमा जीवनका लागि आवश्यक प्रमुख आधारहरू रहेको देखाएको छ । यो चट्टानी ग्रह हो, यसको तापक्रम तरल पानी रहन मिल्ने खालको छ र यसमा रहेको वायुमण्डलले पानीलाई अन्तरिक्षमा उड्नबाट जोगाउन सक्छ । साथै यसको मूल तारा अपेक्षाकृत शान्त छ र त्यसमा ऊर्जा विस्फोट (फ्लेयर) पनि निकै कम हुने भएकाले जीवन विकासका लागि अनुकूल वातावरण हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ । सन् २०१७ मा भएको थियो खोज सन् २०१७ मा पत्ता लागेको यो ग्रह पृथ्वीबाट तुलनात्मक रूपमा नजिकै रहेको सेटस तारामण्डलमा अवस्थित सानो रेड ड्वार्फ ताराको परिक्रमा गर्छ । यो तारा सूर्यभन्दा सानो र कम चम्किलो भए पनि यसले आफ्नो ऊर्जाको ठूलो हिस्सा आयनकारी विकिरणका रूपमा उत्सर्जन गर्छ । डा. चेरुबिमले भविष्यमा यस ग्रहमा जीवनका संकेत खोज्ने अनुसन्धान अझ अघि बढाउने योजना रहेको बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयकी खगोल भौतिक प्राध्यापक जेन बर्कबीले यसलाई ‘अत्यन्तै उत्कृष्ट खोज’ भनेकी छन् । उनका अनुसार साना रेड ड्वार्फ तारा ब्रह्माण्डमा सबैभन्दा धेरै पाइने भएकाले तिनका वासयोग्य क्षेत्रमा रहेका चट्टानी ग्रहहरूको अध्ययन मानवजातिका लागि महत्त्वपूर्ण अवसर हो । यद्यपि यस्ता ताराहरू धेरै सक्रिय हुने भएकाले तिनको विकिरणले ग्रहको वायुमण्डल नष्ट गर्न सक्छ । त्यस्तै, नेदरल्यान्ड्सको लिडेन वेधशालाकी डा. यामिला मिगुएलले पनि अध्ययनको स्वागत गर्दै आफ्नो मूल ताराको धेरै नजिक रहेका ग्रहहरूले समयसँगै आफ्नो वायुमण्डलीय ग्यास गुमाउन सक्छने बताइन् । उनका अनुसार एलएचएस ११४० बीमा भइरहेको यही प्रक्रियाको अध्ययनले साना र चट्टानी ग्रहहरूको विकासबारे नयाँ जानकारी प्राप्त गर्न मद्दत गर्नेछ ।
प्रधानमन्त्री-गभर्नरको भेट र अर्थमन्त्रीको सन्देशले नेप्सेमा उछाल, वर्षको पहिलो दिन हरियाली
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शुक्रबार ७९.७४ अंकले बढेर २ हजार ६७७.५४ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार कित्ता बढी सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये २५९ कम्पनीको सेयर मूल्य बढेको, १३ कम्पनीको घटेको तथा २ कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत अग्रस्थानमा छ । कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसपछि कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७३ लाख रूपैयाँ, रिलाइन्स स्पिनिङको १५ करोड ६० लाख रूपैयाँ, रिडी पावरको १५ करोड ३६ लाख रुपैयाँ र न्यादी ग्रुपको १४ करोड ८५ लाख रुपैयाँ बराबर कारोबार भएको छ । यस्तै, आज श्रीनगर एग्रीटेकको सेयर मूल्य १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । उपसमूहतर्फ म्युचुअल फन्डबाहेक सबै सूचक हरियालीमा रहे । बैंकिङ समूह २.४१ प्रतिशत, डेभलपमेन्ट बैंक समूह २.१८ प्रतिशत, फाइनान्स समूह ३.३९ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६६ प्रतिशत, हाइड्रोपावर समूह ४.५८ प्रतिशत, लगानी समूह ४.१२ प्रतिशत, जीवन बीमा समूह २.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.६० प्रतिशत, माइक्रोफाइनान्स समूह १.८० प्रतिशत, निर्जीवन बीमा समूह २.११ प्रतिशत, अन्य समूह २.७७ प्रतिशत तथा ट्रेडिङ समूह ०.८३ प्रतिशतले बढेका छन् । म्युचुअल फन्ड उपसूचक भने ०.२९ प्रतिशतले घटेको छ । बजारमा आएको यो उत्साहलाई लगानीकर्ता तथा ब्रोकरहरूले सकारात्मक रूपमा लिएका छन् । एक ब्रोकर व्यवसायीका अनुसार बजार हरियाली भएसँगै लगानीकर्ताको मनोबल पनि बढेको छ । सबल कम्पनीको सेयरमा ८० प्रतिशतसम्म मार्जिन लेन्डिङ उपलब्ध हुने व्यवस्थाले लगानीकर्तामा उत्साह थपिएको उनको भनाइ छ । बजारले लामो समयदेखि यस्तै सकारात्मक सेन्टिमेन्टको अपेक्षा गरिरहेको र बैंकको ब्याजदर तथा अन्य नीतिगत व्यवस्था पनि अहिले अनुकूल रहेको उनले बताए । उनका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी पुँजी बजारसँग सम्बन्धित नीतिगत व्यवस्था सहजीकरण गर्न दिएको निर्देशनले पनि लगानीकर्तामा सकारात्मक प्रभाव परेको छ । त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयबाट सेयर बजारसम्बन्धी सकारात्मक सन्देश आउनुले समेत बजारप्रति आशा बढाएको उनले बताए । पछिल्ला केही दिन डिबेन्चरको कारोबार बढे पनि शुक्रबार कम्पनीहरूको सेयर कारोबार उल्लेख्य रूपमा बढेकाले आजको वृद्धिलाई सकारात्मक रूपमा लिनुपर्ने उनको धारणा छ । एक लगानीकर्ताका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजारप्रति नयाँ अपेक्षा र उत्साह बढेको छ । उनका अनुसार बजारसँग सम्बन्धित आधारभूत विषयमा खासै नकारात्मक परिवर्तन नभएकाले नयाँ वर्षसँगै सकारात्मक गतिविधि बढ्ने आशा लगानीकर्तामा देखिएको हो । उनले पछिल्ला दिनमा रहेका विभिन्न शंका-आशंका क्रमशः हट्दै गएको बताए । उनका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरूको साधारण सभा तथा लाभांश घोषणाको सिजन सुरु हुने अपेक्षाले पनि लगानीकर्ताको खरिद चाप बढेको हुन सक्छ ।
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको साथ, नीति र बजारमा सहजीकरणको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार (आज) फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफल गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले तिनै तहको सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए । यस्तै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने र स्वदेशी उत्पादनको प्रयोग, प्रवर्द्धन तथा बजार विस्तारमा उनले विशेष जोड दिइने बताए । छलफलमा संघका पदाधिकारी तथा सदस्यले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायराबाहिर रहेका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन, गुणस्तरहीन तथा सस्तो जुत्ता–चप्पलको आयात नियन्त्रण गर्ने तथा आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । साथै, उनीहरूले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाएका थिए । छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो ।
हङकङमा बाथरुममा लड्दा शेरबहादुर देउवाको दायाँ हात भाँचियो
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन् । लड्ने क्रममा उनको दायाँ हात भाँचिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार देउवा हङकङस्थित एक स्थानीय अस्पतालमा उपचाररत थिए । चिकित्सकले आवश्यक उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले अस्पतालबाट डिस्चार्ज गरिसकिएको स्रोतले जनाएको छ । देउवा नियमित स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि सिङ्गापुर पुगेका थिए । त्यसपछि उनी २०८२ साल चैत ७ गते थप उपचारका लागि सिङ्गापुरबाट हङकङ गएका थिए । सोही क्रममा बाथरुममा लड्दा उनको दायाँ हातमा चोट लागेको र हात भाँचिएको स्रोतको भनाइ छ । हाल उनी चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र आवश्यक फलोअप उपचार जारी रहने बताइएको छ । घटनाबारे देउवाको सचिवालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन ।