विकासन्युज

यौन हिंसा रोक्न कडा कानून ल्याइँदै

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले पदभार ग्रहण गरेसँगै अघि बढाएको पहिलो महत्त्वपूर्ण निर्णय कार्यान्वयनको चरणमा पुगेको छ ।  जबरजस्ती करणी, करणी पश्चात् हुने हत्या, यौनजन्य हिंसा र बालबालिका विरुद्धका जघन्य अपराधमा संलग्न कसुरदारलाई प्रभावकारी दण्ड सजाय सुनिश्चित गर्न तथा पीडितलाई शीघ्र न्याय दिलाउन गठित अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ ।  मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाको संयोजकत्वमा गठित १० सदस्यीय उच्चस्तरीय अध्ययन कार्यदलले प्रचलित अपराध संहिता लगायतका कानूनहरूमा रहेका कानूनी अड्चन र अवरोधहरूको सुक्ष्म अध्ययन गरी सुधारका उपायहरू सिफारिस गरेको छ ।  कार्यदलमा सर्वोच्च अदालतका सह-रजिष्ट्रार मुना अधिकारी ढकाल, महान्यायाधिवक्ताको कार्यालयकी सह-न्यायाधिवक्ता बिना दाहाल, नेपाल बार एसोसिएसनका प्रतिनिधि र कानून विज्ञहरूको संलग्नता रहेको थियो ।  अध्ययन कार्यदलले बुझाएको उक्त विस्तृत प्रतिवेदनलाई मुख्य आधार बनाएर सरकारले कानून परिमार्जनको प्रक्रिया थालनी गरिसकेको छ । यौन हिंसा र बालबालिका सम्बन्धी गम्भीर कसूरमा शून्य सहनशीलताको नीति अपनाउँदै, पीडितको न्यायमा पहुँच सहज बनाउन आगामी संघीय संसदको अधिवेशनमा संशोधन विधेयक पेस गर्ने गरी मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको छ ।  

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ ।  शिखा एकेडेमी र नेपालगञ्ज स्वीमिङ क्लबले शनिबार कोहलपुरमा आयोजना गरेको दोस्रो शिखा स्कुल स्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक प्राप्त गरी शिखा स्कुलले उपाधि जितेको हो ।  प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल ललितपुर १०१ अंक ल्याएर दोस्रो र १९ अंक ल्याएर बागेश्वरी एकेडेमी कोहलपुर तेस्रो, ८ अंक ल्याएर सोफिया रेसिडेन्सियल स्कुल नेपालगञ्ज चौथो र ५ अंक ल्याएर लुम्बिनी वल्र्ड स्कुल रुपन्देही पाँचौं भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिए ।  प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलबाट ६÷६ वटा स्वर्ण पदक जितेर छात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य सर्वोत्कृष्ट खेलाडी घोषणा भए ।  प्रतियोगितामा देशभरिका २४ वटा विद्यालयका १०२ जना विद्यार्थीले भाग लिएका थिए ।   कार्यक्रममा आयोजक शिखा एकेडेमीका प्रतियोगिता संयोजक सूर्यमणि अधिकारीले अघिल्लो वर्ष जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको अर्को वर्ष नै राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गर्न पाएको भन्दै खुसी व्यक्त गरे । नेपालगञ्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले आगामी कार्तिक महिनामा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गरे। यसअघि कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले  प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । उपप्रमुख सुवेदीले कोहलपुर नगर क्षेत्रमा विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलका प्रतियोगिताहरू आयोजना गरेर नगरलाई देशभर चिनाउने काम गरिरहेको भन्दै खुसी व्यक्त गरिन् ।

सलिकोको नाफा १३ करोड ३२ लाख,  स्पेसल रिजर्भ २ अर्ब माथि

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले तेस्रो त्रैमाससम्ममा १३ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको २०८२/८३ को तेस्रो त्रैमास (साउनदेखि चैत) सम्मको वित्तीय विवरणअनुसार कम्पनीले २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.९९ प्रतिशतले बढेको हो । अघिल्लो आवको यही समयमा कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १४.०९ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । चैत्रसम्ममा कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ थियो । त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवको यही अवधिमा महाविपत्ति कोषमा २१ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४६ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड १८ लाख रुपैयाँ रहेको थियो । २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्ममा वार्षिकीकृत प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा,  प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

ट्राफिक कारबाहीमा ४ लाख ४८ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा एक  हजार ८५४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ४ लाख ४८ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७१ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९०४ जनालाई कारबाही गरिएको हो ।  

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रुपमा अबरुद्ध भएको छ । उदयपुर कटारी नगरपालिका-१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रुपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।  काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भाबित बाढीलाई मध्यनजर गर्दै यही वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजे सम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाईएको प्रहरीले जनाएको छ ।   

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार साँझ बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा साँझ ६ बजेका लागि बोलाइएको बैठक महाधिवेशनको तयारी, संगठन पुनर्संरचना तथा अनुशासनसम्बन्धी विषयमा केन्द्रित रहने भएको छ । पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ६ वटा मुख्य कार्यसूची तय गरिएको जानकारी दिएका छन् ।  उनका अनुसार बैठकले सबैभन्दा महत्वपूर्ण रूपमा पार्टीको पहिलो महाधिवेशनअन्तर्गत विस्तृत कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।  केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धी कार्यविधि पारित गरेसँगै रास्वपा अब औपचारिक रूपमा महाधिवेशन केन्द्रित गतिविधिमा प्रवेश गर्न लागेको हो । रास्वपाले आफ्नो पहिलो महाधिवेशन आगामी भदौभित्र सम्पन्न गर्ने निर्णय यसअघि नै गरिसकेको छ । २०७९ साल असार ७ गते स्थापना भएको पार्टीले महाधिवेशन गर्ने मिति पटक–पटक तय गरे पनि विभिन्न कारणले स्थगित हुँदै आएको थियो ।  पछिल्लो समय पार्टीभित्र संगठन विस्तार, नेतृत्व व्यवस्थापन र आन्तरिक संरचना सुदृढीकरणको आवश्यकता बढ्दै गएपछि महाधिवेशनलाई निर्णायक मोडका रूपमा हेरिएको छ । आजको सचिवालय बैठकमा पार्टीका विभिन्न तहगत समितिहरूको भेला, वडा–पालिका–जिल्लादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको विशेष कार्यतालिकाबारे पनि छलफल हुने बताइएको छ ।  रास्वपाले संगठनलाई थप व्यवस्थित बनाउन नयाँ संरचनात्मक मोडालिटीमा जाने तयारी गरेको नेताहरूले बताएका छन् । त्यस्तै बैठकले पार्टीका आयोग तथा विभागका पदाधिकारी मनोनयनसम्बन्धी निर्णय पनि गर्न सक्ने सम्भावना रहेको छ । संगठनभित्र लामो समयदेखि रिक्त रहेका केही विभाग तथा जिम्मेवारीलाई पूर्णता दिने तयारी गरिएको बुझिएको छ । यसैबीच रास्वपाले केही जिल्ला समिति विघटन गर्ने विषयमा पनि छलफल गर्ने भएको छ । पार्टी नेतृत्वले अपेक्षाअनुसार काम गर्न नसकेका, निष्क्रिय रहेका वा आन्तरिक विवादमा फसेका जिल्लाका संरचनालाई पुनर्गठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । बैठकमा अनुशासनसम्बन्धी विषय पनि प्रमुख एजेन्डाका रूपमा रहनेछ । पछिल्लो समय पार्टीका केही सांसद तथा नेताहरूको सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जाल गतिविधिलाई लिएर नेतृत्वभित्र असन्तुष्टि बढेको छ । सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्ने, पार्टीको आधिकारिक धारणा विपरीत अभिव्यक्ति दिने तथा आन्तरिक विषय सार्वजनिक गर्ने प्रवृत्ति बढेको भन्दै नेतृत्वले त्यसप्रति कडाइ गर्ने संकेत दिएको छ । रास्वपाका नेताहरूका अनुसार बैठकले अनुशासन उल्लंघनका घटनाबारे समीक्षा गर्दै आवश्यक परे कारबाही प्रक्रिया अघि बढाउने सम्भावनासमेत रहेको छ । पार्टीभित्र आन्तरिक एकता र सन्देश व्यवस्थापनलाई सुदृढ बनाउन नेतृत्व थप सचेत देखिएको छ । यस्तै सचिवालय बैठकले अब बस्ने केन्द्रीय समिति बैठकको मिति तय गर्नेछ भने समसामयिक राजनीतिक विषय, संगठन विस्तार र पार्टी रणनीतिसम्बन्धी विविध प्रस्तावमाथि पनि छलफल गरी निर्णय गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताएका छन् ।

स्ट्रेट अफ हर्मुजमा अमेरिकी र इजरायली जहाजमाथि प्रतिबन्ध लगाइने

काठमाडौं । इरानले स्ट्रेट अफ हर्मुजमा विदेशी जहाज आवागमनका लागि नयाँ विधेयकको मस्यौदा तयार पारेको छ । मसौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमा कर लगाउने प्रस्ताव गरेको छ ।  तेहरानले यसलाई आफ्नो सार्वभौमिकता र समुद्री सुरक्षालाई बलियो बनाउने कदमको रूपमा वर्णन गरेको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले तेहरानमा आयोजित एक समारोहमा भने, ‘विधायिका पुनः सुरु भएपछि यसलाई ‘निवारक कानून’ को रूपमा पारित गरिनेछ ।’  उनले भने,‘विधेयक तयार छ र विदेश मन्त्रालय र बन्दरगाह र समुद्री सङ्गठनसहित देशका सम्बन्धित अधिकारीहरूसँग श्रृंखलावद्धरूपमा बैठकहरू गरी छलफल गरिएको छ ।’ अजिजीले यसअघि बिहीबार भनेका थिए, ‘इरानले हर्मुजको जलमार्गमा सँधै सुरक्षित र स्वतन्त्र आवागमन सुनिश्चित गर्न प्रयास गरेको छ। अमेरिकी सेनाको उपस्थिति र इजरायली आक्रमण खाडी र स्ट्रेट अफ होर्मुजमा असुरक्षा र अस्थिरताको मुख्य जड भएको छ ।’ यो विधेयकको उद्देश्य इरानको सार्वभौमिकतालाई बलियो बनाउनु हो । उनले भनेका छन्, ‘इरानी संसदको यो विधेयक ‘स्ट्रेट अफ हर्मुज’मा इरानको सार्वभौमिकतालाई बलियो बनाउने उद्देश्यका साथ ल्याइएको हो । इरान सधैं यस महत्त्वपूर्ण जलमार्गमा सुरक्षित र स्वतन्त्र आवागमनको पक्षमा रहेको छ ।’ अमेरिकी सेनाको उपस्थिति र इजरायलको गतिविधिलाई यस क्षेत्रमा अस्थिरताको मुख्य कारण भएको उनले बताए । उनले भने, ‘विदेश मन्त्रालय र बन्दरगाह सङ्गठनजस्ता सम्बन्धित निकायसँग व्यापक छलफल गरेर विधेयकलाई अन्तिम रूप दिइएको छ ।’ इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार शुक्रबार स्ट्रेट अफ हर्मुजमा इरानी सेना र अमेरिकी पानीजहाजबीच छिटपुट झडप भएको थियो । 

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना७ख ५८२० नम्बरको यात्रुवाहक बस बस आज साँझ करिब ७ः०० बजे अनियन्त्रित भई सडकको दाँहिने किनारातर्फ पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल बर्दघाट पठाइएको छ । बसमा ३१ जना यात्रु सवार रहेकामा अन्य यात्रु सकुशल रहेको प्रहरी नायब उपरीक्षक पन्तले जानकारी दिए ।  दुर्घटनामा घाइते भएका अधिकांश यात्रुको हातखुट्टा, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कास्की, नवलपरासी, कैलाली, तनहुँलगायत विभिन्न जिल्लाका यात्रु घाइते भएका छन् । एक जना विदेशी नागरिक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक पन्तले बताए ।