काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा बाथरुममा लडेर घाइते भएका छन् । लड्ने क्रममा उनको दायाँ हात भाँचिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार देउवा हङकङस्थित एक स्थानीय अस्पतालमा उपचाररत थिए । चिकित्सकले आवश्यक उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले अस्पतालबाट डिस्चार्ज गरिसकिएको स्रोतले जनाएको छ ।
देउवा नियमित स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि सिङ्गापुर पुगेका थिए । त्यसपछि उनी २०८२ साल चैत ७ गते थप उपचारका लागि सिङ्गापुरबाट हङकङ गएका थिए । सोही क्रममा बाथरुममा लड्दा उनको दायाँ हातमा चोट लागेको र हात भाँचिएको स्रोतको भनाइ छ ।
हाल उनी चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र आवश्यक फलोअप उपचार जारी रहने बताइएको छ । घटनाबारे देउवाको सचिवालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन ।