विकासन्युज

चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ७३ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन् ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।  कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताए ।  उनका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै ८ वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए ।  कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा पारी फिर्ता गरिएको बताए ।  उनले भने, ‘वैशाख महिनामा हामीले ८ वटा बाइकहरू पहिले नै सवारी धनीको जिम्मा लगाइसकेका छौं भने बाँकी चोरी गरी अपराधिक कार्यमा प्रयोग भएका ६५ वटा बाइकहरू पनि सवारी धनीलाई जिम्मा लगाएका छौं । बाइकमा जीपीएस जडान गर्‍यौं, सही ठाउँमा पार्किङ गर्‍यौं भने चोरी हुन सक्दैन । बाइकका अन्य लकिङ सिस्टमलाई पनि ध्यान दिनुभयो भने चोरी हुँदैन ।’

ऋण तिर्नै ठीक्क : साढे ११ खर्ब खर्च हुँदा विकासको हिस्सा भने निम्छरो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।  सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका लागि ल्याइएको १९ खर्ब ६४ अर्ब बजेट मध्येबाट सरकार ५८.७५ प्रतिशत बजेट खर्च गरेको हो । कुल बजेटमध्ये सरकारले चालु शीर्षकमा ११ खर्ब ८० अर्ब रुपैयाँ छुट्टाइएको बजेटबाट ८ खर्ब ९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । यो खर्च उक्त शीर्षकमा विनियोजित बजेटको ६८.०४ प्रतिशत हो ।  कार्यालयका अनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरूका लागि गरिने खर्च हो । यो खर्चले नयाँ सम्पत्ति सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो कुल बजेटको ५८–६२ प्रतिशत सम्म पुग्ने गर्छ ।  त्यस्तै, सरकारले पुँजीगत शीर्षकमा चालु वर्षका लागि ४ खर्ब ७ अर्ब विनियोजन गरेकोमा १ खर्ब ९ अर्ब रुपैँया खर्च गरेको छ । यो खर्च उक्त शीर्षकमा छुटाइएको बजेटको २६.८७ प्रतिशत हो ।  पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । पुँजीगत खर्च सडक, पुल, विद्यालय भवन, अस्पताल, सिँचाइ, जलविद्युत जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च हुन्छ । यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन ।  खासगरी मध्यपूर्वमा देखिएको तनावले निर्माण व्यवसायीले बिटुमीन इन्धनको अभाव झेलिररहेका छन् । जसको असर पुँजीगत खर्चमा देखिएको छ ।  यस्तै, वित्तीय व्यवस्थातर्फ सरकारले ३ खर्ब ७५ अर्ब रुपैँया बजेट छुट्टाएकोमा २ खर्ब ४० अर्ब खर्च भइसकेको छ । यो खर्च उक्त शीर्षकमा विनियोजित बजेटको ६४.१६ प्रतिशत हो ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले यस वर्षका लागि छुट्टाएको बजेट पनि ठूलो मात्रामा भएको छ । यो शीर्षकमा छुट्टाइएको बजेट सरकारले पहिले लिएका ऋणको सावाँ र ब्याज तिर्ने गरेको छ ।  सरकारको आम्दानी समेत उत्साहजनक देखिँदैन । सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा ९ खर्ब ७० अर्ब संकलन गरेको छ । –न्युज एजेन्सी नेपाल

सगरमाथा आरोहणको क्रममा एक जनाको मृत्यु

काठमाडौं । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आइतबार (आज) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेकी आरोही घिमिरे आज बिहान करिब ४ः०० बजेतिर अचानक बिरामी भएका थिए  । तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा उनको बाटोमै निधन भएको हो ।  ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि सगरमाथाको चुचुरो चुमिससकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत थिए । 

दार्चुलामा भूकम्प

काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (आइतबार) बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।  भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आएको फ्लाइ नेपा ट्राभल एन्ड टुर्सले प्रतिष्ठित ‘विङ्स अण्डर फोर्टी’ अवार्ड अन्तर्गत ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ सम्मान प्राप्त गरेको छ । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक विनोद अधिकार को नेतृत्वमा नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो ।  काठमाडौंस्थित होटल लो मुस्ताङमा आयोजित विशेष कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको आयोजना ग्लोबल एक्रिडेसन काउन्सिलले गरेको थियो भने सहआयोजकका रूपमा यात्रा म्यागजिन थियो । कार्यक्रममा पर्यटन, आतिथ्यता तथा ट्राभल क्षेत्रमा योगदान पु¥याएका ४० वर्षमुनिका युवा उद्यमीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। फ्लाई नेपाले आधुनिक डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय प्रवद्र्धन उपकरण र सिर्जनात्मक अभियानमार्फत नेपाललाई विश्व पर्यटन बजारमा प्रभावकारी रूपमा चिनाउन सफल भएको भन्दै कम्पनीलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।  करिब एक दशकअघि स्थापना भएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्सले नेपाल भ्रमण, सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय कन्सर्ट तथा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमार्फत नेपाललाई विश्वसामु चिनाउँदै आएको छ । विशेषगरी अमेरिका र क्यानडामा आफ्नो उपस्थिति विस्तार गरिसकेको कम्पनीले सन् २०२६ मा दुबईमा समेत कार्यालय स्थापना गर्दै आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गरेको जनाएको छ । अवार्ड ग्रहणपछि प्रबन्ध निर्देशक विनोद अधिकारीले युवा उद्यमशीलता र पर्यटन क्षेत्रको नवप्रवद्र्धनलाई सम्मान गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले नेपालको पर्यटनलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय पहुँच र नयाँ सोचमार्फत काम गर्दै आएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्स नेपाली पर्यटन उद्योगको उदीयमान तथा प्रेरणादायी ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ ।   

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा २६ करोड १४ लाख रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ९ महिना (तेस्रो त्रैमास) सम्ममा हिमालयन लाइफले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको यही अवधिसम्ममा ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ४४.६६ प्रतिशतले घटेको छ ।  चैत्रसम्ममा कम्पनीले १३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ६.१८ प्रतिशतले बढेको छ । कम्पनीले चालु वर्षको चैतसम्म १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६.१८ प्रतिशतले बढेको छ ।  त्यस्तै चैत्रसम्ममा कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९९ करोड ६३ लाख रुपैयाँ र अन्य इक्विटी १ अर्ब ४२ करोड १८ लाख रूपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७० करोड २९ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटी पनि १४ करोड ४३ लाख रुपैयाँले ऋणात्मक थियो ।  शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.८१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.८९ रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ रहेको छ ।   

बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

काठमाडौं । पूर्व-पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका-०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ ।

सम्पत्ति शुद्धीकरणको दायरामा बैंकिङ, इन्साइडर ट्रेडिङ र तस्करी

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन संशोधन गर्दै बैंकिङ, बीमा, इन्साइडर ट्रेडिङ तथा भन्सारसम्बन्धी तस्करीलाई समेत सम्बद्ध कसुरको दायरामा समेटेको छ । सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १३ संशोधन गर्दै यस्ता गतिविधिलाई अभियोगअन्तर्गत राख्ने व्यवस्था गरेको हो ।  संशोधित व्यवस्थाअनुसार तस्करी (भन्सार, अन्तःशुल्क तथा करसम्बन्धी), प्रत्यक्ष वा अप्रत्यक्ष कर छली, धितोपत्र वा कमोडिटिज बजारमा प्रतिकूल प्रभाव पार्ने गतिविधि (मार्केट म्यानिपुलेसन), भित्री कारोबार (इन्साइडर ट्रेडिङ), मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमेय अधिकारपत्र तथा बीमासम्बन्धी कसुरसँग जोडिएको सम्पत्ति शुद्धीकरणको सूचना भए विभागमा उजुरी दिन सकिनेछ ।  यसअघि सम्बद्ध कसुरसँग प्रत्यक्ष सम्बन्ध नदेखिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि विभागमा उजुरी दिन सकिने व्यवस्था थियो। संशोधनपछि भने कसुरका क्षेत्रहरू स्पष्ट रूपमा तोकिएका छन् ।  यस्तै, ऐनको दफा २२ पनि संशोधन गरिएको छ। अब ‘सरकारी वकिल कार्यालयमा’ भन्ने व्यवस्थाको सट्टा विभागको हकमा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सरकारी वकिल कार्यालयमा, तथा अन्यका हकमा सम्बन्धित सरकारी वकिल कार्यालयमा मुद्दा दायर हुने व्यवस्था गरिएको छ ।  संशोधित व्यवस्थाअनुसार विभागको अनुसन्धानबाट मुद्दा चलाउनुपर्ने देखिएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दायर गर्न सक्नेछन् ।  त्यस्तै, विभागले अनुसन्धानका क्रममा आफ्नो क्षेत्राधिकारभित्र पर्ने सम्बद्ध कसुरमा मुद्दा चलाउनुपर्ने अवस्था देखिएमा सोही कसुरसमेत समावेश गरी अभियोजनको राय पेश गर्न सक्ने व्यवस्था ऐनमा गरिएको छ ।  यसअघि ऐनको दफा २९(१) मा उजुरीको अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा सम्बद्ध कसुर वा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमध्ये कुनै एक वा दुवैमा मुद्दा चलाउन बाधा नपर्ने व्यवस्था थियो ।