एनसेलको नयाँ अफर, एप ‘शेक’ गर्दा सरप्राइज उपहार

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि ‘शेक एन्ड विन’ नामक नयाँ डिजिटल अफर सार्वजनिक गरेको छ । एनसेल एपमा उपलब्ध यस सुविधामार्फत ग्राहकले मोबाइल फोन हल्लाएर दैनिक रूपमा विभिन्न सरप्राइज उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

डिजिटल सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने र एनसेल एपप्रति ग्राहकको आकर्षण बढाउने उद्देश्यले यो अफर सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ । यसमा सहभागी हुन ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने जनाइएको छ।

एनसेलका अनुसार ग्राहकले एनसेल एप खोलेर मोबाइल हल्लाएपछि पार्टनर सेवामा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न डिजिटल सुविधा उपहारका रूपमा प्राप्त गर्न सक्नेछन् । प्रत्येक २४ घण्टामा एकपटक ‘शेक’ गरेर नयाँ सरप्राइज उपहार जित्ने अवसर रहने कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालका लागि अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल उत्पादनमा छुट तथा यात्रा र साहसिक गतिविधिसम्बन्धी विशेष अफर उपलब्ध हुनेछन् ।

एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको गेमिफाइड सुविधा भएको उल्लेख गर्दै यसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक ढंगले डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न उपहार जित्ने अवसर प्रदान गर्ने बताए ।

कम्पनीका अनुसार यस्ता अफरमार्फत डिजिटल सेवाको प्रयोग विस्तार गर्ने, एनसेल एपसँग ग्राहकको संलग्नता बढाउने तथा एपमार्फत उपलब्ध सेवाको सहज उपयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

एनसेलले आफ्नो ‘डिजिटल–फर्स्ट’ रणनीतिअनुरूप ग्राहकलाई नवीन, सहज र ग्राहक–केन्द्रित डिजिटल अनुभव प्रदान गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ । कम्पनीले ‘शेक एन्ड विन’ अफरले एनसेल एपको नियमित प्रयोग बढाउनुका साथै डिजिटल सेवाप्रति ग्राहकको पहुँच र सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ ।

Share News