काठमाडौं । हाम्रो सौर्यमण्डलबाहिर जीवनको खोजले नयाँ मोड लिएको छ । अनुसन्धानकर्ताहरूले पृथ्वीबाट करिब ४९ प्रकाशवर्ष टाढा रहेको पृथ्वीजस्तै एक ग्रह वरिपरि वायुमण्डल रहेको ठोस प्रमाण फेला पारेका छन् । वैज्ञानिकहरूका अनुसार उक्त ग्रहको सतहमा तरल पानी हुन सक्ने सम्भावना छ ।
यो चट्टानी एक्सोप्लानेट (सौर्यमण्डलबाहिरको ग्रह) आफ्नो ताराको वासयोग्य क्षेत्र (ह्याबिटेबल जोन) मा अवस्थित छ । वासयोग्य क्षेत्र भनेको यस्तो दूरी हो, जहाँ ग्रहको सतहमा तरल पानी रहन सक्ने तापक्रम हुन्छ । त्यसैले त्यहाँ पृथ्वीजस्तै जीवन विकास हुने सम्भावनालाई बल दिएको हो ।
यसअघि वैज्ञानिकहरूले ठूला ग्यासीय एक्सोप्लानेट र ‘सब–नेप्च्युन’ ग्रहहरूमा वायुमण्डल भेटेका थिए । तर यो खोज फरक छ । अध्ययनका प्रमुख लेखक डा. कोलिन चेरुबिमले सौर्यमण्डलबाहिर वासयोग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा प्रत्यक्ष अवलोकनबाट पुष्टि भएको यो पहिलो वायुमण्डल रहेको जानकारी दिए ।
डा. चेरुबिमका अनुसार एलएचएस ११४० बी नामक यो ग्रह खगोलजीवविज्ञान र जीवन बस्न सक्ने सम्भावनाको अध्ययनका लागि सौर्यमण्डलबाहिरकै सबैभन्दा आशाजनक प्रयोगशाला बनेको छ ।
यो ग्रहको द्रव्यमान पृथ्वीको भन्दा ५.६ गुणा बढी छ भने यसको अर्धव्यास पृथ्वीभन्दा करिब ७० प्रतिशत ठूलो छ।
उनका अनुसार केही पक्षमा यो पृथ्वीसँग निकै मिल्दोजुल्दो छ ।
उदाहरणका लागि यसको समग्र संरचना र तापक्रम । तर केही पक्षमा भने फरक छ । यो ग्रह टाइडली लक्ड छ, अर्थात् यसको एउटा भाग सधैं तारातर्फ र अर्को भाग सधैं विपरीत दिशातर्फ रहन्छ । साथै यसमा पृथ्वीभन्दा धेरै पानी हुन सक्ने र यसको वायुमण्डल पनि पृथ्वीको भन्दा निकै फरक हुन सक्ने अनुमान गरिएको छ ।
नयाँ अध्ययनले एलएचएस ११४० बीमा जीवनका लागि आवश्यक प्रमुख आधारहरू रहेको देखाएको छ । यो चट्टानी ग्रह हो, यसको तापक्रम तरल पानी रहन मिल्ने खालको छ र यसमा रहेको वायुमण्डलले पानीलाई अन्तरिक्षमा उड्नबाट जोगाउन सक्छ ।
साथै यसको मूल तारा अपेक्षाकृत शान्त छ र त्यसमा ऊर्जा विस्फोट (फ्लेयर) पनि निकै कम हुने भएकाले जीवन विकासका लागि अनुकूल वातावरण हुन सक्ने वैज्ञानिकहरूको विश्वास छ ।
सन् २०१७ मा भएको थियो खोज
सन् २०१७ मा पत्ता लागेको यो ग्रह पृथ्वीबाट तुलनात्मक रूपमा नजिकै रहेको सेटस तारामण्डलमा अवस्थित सानो रेड ड्वार्फ ताराको परिक्रमा गर्छ । यो तारा सूर्यभन्दा सानो र कम चम्किलो भए पनि यसले आफ्नो ऊर्जाको ठूलो हिस्सा आयनकारी विकिरणका रूपमा उत्सर्जन गर्छ ।
डा. चेरुबिमले भविष्यमा यस ग्रहमा जीवनका संकेत खोज्ने अनुसन्धान अझ अघि बढाउने योजना रहेको बताएका छन् ।
अक्सफोर्ड विश्वविद्यालयकी खगोल भौतिक प्राध्यापक जेन बर्कबीले यसलाई ‘अत्यन्तै उत्कृष्ट खोज’ भनेकी छन् ।
उनका अनुसार साना रेड ड्वार्फ तारा ब्रह्माण्डमा सबैभन्दा धेरै पाइने भएकाले तिनका वासयोग्य क्षेत्रमा रहेका चट्टानी ग्रहहरूको अध्ययन मानवजातिका लागि महत्त्वपूर्ण अवसर हो । यद्यपि यस्ता ताराहरू धेरै सक्रिय हुने भएकाले तिनको विकिरणले ग्रहको वायुमण्डल नष्ट गर्न सक्छ ।
त्यस्तै, नेदरल्यान्ड्सको लिडेन वेधशालाकी डा. यामिला मिगुएलले पनि अध्ययनको स्वागत गर्दै आफ्नो मूल ताराको धेरै नजिक रहेका ग्रहहरूले समयसँगै आफ्नो वायुमण्डलीय ग्यास गुमाउन सक्छने बताइन् ।
उनका अनुसार एलएचएस ११४० बीमा भइरहेको यही प्रक्रियाको अध्ययनले साना र चट्टानी ग्रहहरूको विकासबारे नयाँ जानकारी प्राप्त गर्न मद्दत गर्नेछ ।