विकासन्युज

२३९ रुपैयाँमा सन नेपाल लाइफको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज साउन ३२ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्रीपश्चात् सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपाली र ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरि बाँडफाँट समेत गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयरमा कम्पनीमा कार्यरत कर्मचारी र बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ १४ गतेसम्म आवेदन लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ । कम्पनीको आईपीओमा न्यूनमत कित्ताका लागि आवेदन दिने हो भने २ हजार ३९० रुपैयाँ आवश्यक पर्ने देखिन्छ । यदि अधिकमतसम्म आवेदन दिने हो भने ४७ लाख ८० हजार रुपैयाँको जोहो गर्नु पर्ने हुन्छ ।

एमालेको आर्थिक बहस : विपक्षीमाथि आरोपै आरोप, निजी क्षेत्रको पनि हातेमालो

काठमाडौं । बुधबार नेकपा एमालेले वर्तमान आर्थिक अवस्था : समस्या र समाधान विषयक छलफल कार्यक्रमको आयोजना गर्यो । उद्योगी व्यवसायी तथा विभिन्न अर्थविदहरुले अर्थतन्त्रमा समस्या आएको र निकट भविश्यमै ठूलो संकट आउन सक्ने धारणा दिइरहेका बेला एमालेले आयोजना गरेको यो कार्यक्रम र कार्यक्रमको विषयवस्तु निकै प्रभावकारी हुने अपेक्षा धेरैको थियो । संसदको प्रमुख प्रतिपक्ष दलले आयोजना गरेको यो कार्यक्रम उद्योगी व्यवसायी, अर्थविद्, सञ्चार माध्यम र सर्वसाधारणले पनि निकै चासोका साथ प्राथमिकता दिएका थिए । त्यसको संकेत कार्यक्रममा भएको उपस्थितीले पनि देखाएको थियो । तर, जसरी र जुन अपेक्षाका साथ सहभागीहरुको उपस्थिती कार्यक्रममा थियो त्यसको नतिजा, त्यो कार्यक्रमको फल र उद्धेश्य सहभागी जोकोहीले पनि प्रष्ट बुझे होलान् । अर्थतन्त्र समस्यामा गएको बताइरहने उद्योगी व्यवसायीले पनि यो कार्यक्रमबाट पक्कै पनि समाधानको बाटो निस्कन्छ भन्ने अपेक्षामा थिए होलान् । तर, तिनै उद्योगी व्यवसायीहरुले पनि एमालेकै भाषामा भाषण गरे । र, रात्रीभोज गरेर घर फर्किए । कार्यक्रमको सुरुमा पार्टीको उद्योग वाणिज्य तथा आपुर्ति विभागका प्रमुख मोतिलाल दुगडले करिब आधा घण्टा भाषण गरेर सहभागीलाई खिन्न बनाए । देशको परिचित उद्योगी समेत रहेका उनलाई कार्यक्रम सञ्चालकले स्वागत मन्तव्यका लागि बोलाएकी थिइन् । तर, उनले स्वागत मन्तव्यका नाममा आधा घण्टा भाषण गरेर सरकार तथा विपक्षी दलको विरोध गरेर समय खरे फाले । उनले वर्तमान सरकार काण्डै काण्डको सरकार भएको बताउँदै यो सरकारले व्यवसायीमैत्री नीतिभन्दा पनि कसलाई कसरी फसाउने भनेर रणनीति बनाइरहेको आरोप लगाए । उनले विपक्षीको विरोध गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारकाे पालामा धेरै काम भएको र निजी क्षेत्रले पनि त्यो अनुभुती गरेको धारणा राखे । ‘उद्योगी व्यवसायीलाई दण्डित गरेर देश चल्दैन, सरकार निरंकुशता ल्याउन खोजिरहेको छ, मन्दीको समयमै व्यवसायीको मनोबल गिराउने काम भएको छ, उद्योगी समेत भएका उनीबाट निकासको बाटो खोजिरहेका व्यवसायीलाई इंकित गर्दै भने अब यो सरकारको विश्वास नगर्नुस्, एमालेलाई साथ दिनुस्, अब अति भयो, यो देशलाई क्षति भयो ।’ यस्तै, कार्यक्रमको प्रमुख अतिथिका रुपमा उपस्थित थिए एमाले अध्यक्ष केपी शर्मा ओली । उनले आफुलाई अन्तै कतै जानु पर्ने भन्दै अगाडि नै समय सारे । उनले दुगडपछि बोल्दै वर्तमान सुन काण्डदेखि अर्थतन्त्र समस्यामा जानुको दोष सरकारमाथि थुपारे । उनी सरकारमाथि मात्रै होइन बैंकहरुमाथि पनि खनिए । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाषा बोल्दै उनले बैंकहरु साहु बन्न नहुने र धेरै नाफा गर्न नहुने तर्क दिए । उनले वर्तमान अर्थतन्त्र सुधारका लागि सरकारले कुनै तयारी नगरेको बताउँदै सरकार ‘फेलर’ बनेको धारणा राखे । ‘अर्थतन्त्रमा संकट छ तर माथि उठ्ने र अगाडि बढ्ने कुनै तयारी छैन, सरकारको व्यवस्थापन कमजोर बन्यो, सरकार ऋणमा डुब्यो, आसेपासेसलाई पोस्नमै सरकार व्यस्त छ,’ उनले आरोप लगाउँदै प्रश्न गरे, ‘१०० किलो सुन कसरी ६० किलोमा झर्यो ?’ नेपालमा राम्रो व्यवस्थापन र तयारी गर्न नसक्दा भोकमरी आउन सक्ने भविश्यवाणी गरे । ‘व्यवसायिक वातावरण निर्माण गर्न सकिएन भने नेपालमा भोकमरी हुन सक्छ । आधारभुत आवश्यकता पाउनै मुस्किल हुन सक्छ । निजी क्षेत्रमा धेरै सम्भावना छ तर, अनुकलता प्रदान गरिएन’, ओलीले भने । ३५ मिनेट भाषण गरेका ओलीले आफ्नो अधिकांश समय समस्याको समस्या बाटो देखाउनेभन्दा पनि सरकारको आलोचनामै बिताए । निजी क्षेत्रको पनि काँध एमालेले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रका विभिन्न उद्योगी व्यवसायीहरुको पनि बाक्लो उपस्थिति थियो । निजी क्षेत्रका छाता संस्थाहरुका प्रमुखहरुसँगै एमाले पार्टीसँग निकट उद्योगी व्यवसायीकाे पनि कार्यक्रममा सहभागिता थियो । निजी क्षेत्रको तर्फबाट सुरुमा बोलिन् नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा । उनले पनि एमालेकै भाषा बोल्दै भनिन्, ‘अर्थतन्त्र १० वर्ष यताकै संकटमा छ, सरकारले समस्याको समाधानतर्फ ध्यान दिएन, सरकारकै कारण निजी क्षेत्र समस्यामा पर्यो ।’ उनले पछिल्ला दिनमा सरकारले राजश्वको नाममा आतंक सिर्जना गरेको धारणा पनि राखिन् । यस्तै, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि सरकारले समस्या समाधानमा चासो नदिएको गुनासो गरे । उनले एमालेले आर्थिक विषयमा छलफल राखेकोमा खुसी व्यक्त गर्दै अर्थतन्त्र सुधारका लागि एमाले पार्टीलाई आफुहरु साथ दिन तयार रहेको धारणा राखे । मल्लपछि बोल्न पोडियमा पुगेका नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले पनि सरकारले ल्याएको बजेट र मौद्रिक नीतिको तालमेल नमिलेको टिप्पणी गरे । उनले आफु पनि एमाले पार्टी निकट भएको संकेत गर्दै पार्टीले महासंघलाई ‘नोटिस’ नगरेको गुनासो गरे । ‘उद्योगीहरुको मल्हम लगाउनु पर्ने अवस्थामा नुन छर्किने काम भइरहेको छ, देशको जीडीपीमा साना घरेलु उद्योगको महत्वपूर्ण योगदान छ, तर यसको कुनै महत्व दिइँदैन, हामीले उत्पादन नगरे तपाईंहरु सबैले भोकै बस्नु पर्छ,’ सिंहले भने । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंकको उच्च ब्याजदरले व्यवसायीलाई समस्या भएको बताए । ‘लिलामीका सूचनाले पत्रपत्रिका भरिभराउ छन् । उद्योगीले आत्महत्या गरिरहेका छन् । सरकारले उद्योगी व्यवसायीलाई निरुत्साहन गर्ने काम गरिरहेको छ’ सरकारले समस्याको समाधान खोजेन,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भने अर्थतन्त्र पहिलेकोभन्दा केही सहज हुँदै आएको बताए । सरकारले व्यवसायिक वातावरण सिर्जना गर्नमा ध्यान दिनु पर्ने उनको भनाइ थियो । समस्या सुनाएर हिंडे खतिवडा अध्यक्ष ओलीले सुरुमै बोलेर कार्यक्रमबाट विदा भएपछि उनले आफ्नो उत्तराधिकारी युवराज खतिवडा भएको र कार्यक्रमको बाँकी जिम्मेवारी उनलाई दिएको जानकारी सञ्चालकमार्फत् गराए । कार्यक्रमको अन्त्यमा बोल्दै डा. युवाराज खतिवडाले पनि समस्याको फेहरिस्थ सुनाए । पूर्व अर्थमन्त्री र गभर्नर समेत भइसकेका उनले वर्तमान समस्याको फेहरिस्थ सुनाउन १६ मिनेट लगाए । कार्यक्रम अवधिभर समस्याको चाङ सुनेका सहभागीहरुले खतिवडाले केही समाधानको बाटो देखाउँछन् भन्ने अपेक्षा गरेका थिए । तर, उनले पनि समस्यामाथि समस्या नै थुपारे । उनले पछिल्लो समय कालोधन्दा बढेको बताउँदै यसले राजश्व संकलनमा ठूलो असर गरेको र त्यो धन्दा रोक्न सरकार असफल भएको धारणा राखे । ‘आर्थिक विकास नभएपछि व्यापार घट्छ नै । व्यापार घट्नु भनेको आर्थिक मन्दी हुनु हो । ब्याजदर पनि बढी छ’, खतिवडाले भने, ‘सबैभन्दा ठूलो मुद्दा भनेको व्यवसायीको विश्वास र सुरक्षाको हो ।’ उनले राष्ट्र बैंकको काम कारवाहीमाथि पनि प्रश्न गरेका थिए । ‘राष्ट्र बैंक रियाक्टिभ होइन प्रोएक्टिभ हुने हो । अनुत्पादक क्षेत्रमा कर्जा रोक्नु पर्छ । सेयर बजारमा बढी कर्जा जानू हुँदैन । सेयर बजार धितोपत्र बोर्डको कन्सर्नको विषय हो राष्ट्र बैंकको होइन’, खतिवडाले भने । चालु आर्थिक वर्षमा बजेटले लिएको लक्ष्य अनुसारको आर्थिक वृद्धि हुन चुनौति नै रहेको उनले बताए । यस्तै, उनले नेपालमा सुन तस्करी बढेको कारण नेपाल भारत सीमावर्ति क्षेत्रमा भारतीय रुपैयाँको मूल्य सस्तो भएको पनि तर्क सुनाए ।

एनआरएनएको टिमले खरिद गर्याे टाइगर प्यालेस, सरकारलाई कर तिर्ने घोषणा

काठमाडौं । भैरहव स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट गैरआवासीय नेपाली (एनआरएनए)हरुले खरिद गरेका छन् । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी, युकेमा होलीकाउ लगायत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायतको समुहले उक्त रिसोर्ट खरिद गरेको हो । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको कम्पनी हो । सुवेदीसहितको एनआरएनए समूहले सिल्भर हेरिटेजको सेयर विदेशमै खरिद गरेपछि रिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेको छ । एनआरएनए सुवेदी सहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि सरकारलाई कर नतिरेको आरोप लागेको थियो । बुधवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष अध्यक्ष बुद्धिसागर सुवेदीले विदेशमा सेयर खरिद बिक्री गरिएपनि सरकारलाई लाग्ने सम्पुर्ण कर तिर्न तयार रहेको बताए । टाइगर प्यालेस रिसोर्टका अध्यक्ष सुवेदीले कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्व बहन गर्न तयार रहेको बताए । साथै, उक्त जानकारी कर कार्यालयलाई समेत दिइसकेको उनको भनाइ छ । ‘हामी नेपालमा नाफा कमाउन मात्रै आएका होइनौं, देशप्रतिको दायित्व पुरा गर्न र देशको मायाका कारण आएका हौं,’ अध्यक्ष सुवेदीले भने । अष्ट्रेलियन कम्पनीले रिसोर्ट तथा क्यासिनो व्यवसाय गर्दा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो । कोरोना महामारीका कारण बन्द भएपछि आन्तरिक विवाद बढ्दै गएको थियो । करोडौं घाटा व्यहोर्दै आएको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा सँयौले रोजगारी गुमाएका थिए भने राजस्व पनि गुमेको थियो । रिसोर्टले बैंकहरुलाई तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । उक्त रिसोर्ट सञ्चालनका लागि बैंकबाट साढे २ अर्ब रुपैयाँ ऋण लिएको थियो । वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने देखिएकाले एनआरएनएहरुले सो होटल खरिद गरेको सञ्चालक दिपक गौतम बताउँछन् । सिल्भर हेरिटेजलेसहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरिरहेको छ । एनआरएनएले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत् सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन सेयर खरिद गरेको गौतमको भनाइ छ ।

सेयर बजारमा कडाइ नै गर्नु पर्छ, जग्गाको कित्ताकाट खोल्नु हुँदैनथ्यो : युवराज खतिवडा

काठमाडौं । सरकारले मंगलबारको मन्त्रिपरिषद बैठकबाट जग्गाको कित्ताकाट खोलेकोप्रति पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा खतिवडाले जग्गाको कित्ता काट खोलेर गल्ती भएको बताएका हुन् । ‘जग्गाको वर्गीकरण खोल्नु सबै समस्याको समाधान होइन । यसमै सबै कुरा रोकिएको छैन । व्यवहारिक समस्या छ भने समाधान गर्नु पर्छ तर कित्ताकाट मात्रै समाधान होइन’, खतिवडाले भने । पछिल्ला दिनका नेपालमा कालोधन्दा बढिरहेको र यसले विदेशी कारोबार नहुने स्थिती बन्न सक्ने भन्दै त्यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने उनले बताए । पूर्व गभर्नरसमेत रहेका खतिवडाले बैंकहरुले बेसरेट भन्दा तल गएर पनि ब्याज दिएको र यस्तो अभ्यास गलत भएको बताएका छन् । ‘ब्याजदर विभेदकारी हुनु हुँदैन तर ब्याजदरमा जम्प गर्ने अभ्यास बन्द गर्नु पर्छ’, उनले भने । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जा रोक्न प्रोएक्टिभ हुनुपर्ने उनले बताए । ‘राष्ट्र बैंक रियाक्टिभ होइन प्रोएक्टिभ हुने हो । अनुत्पादक क्षेत्रमा कर्जा रोक्नु पर्छ । सेयर बजारमा बढी कर्जा जानू हुँदैन । सेयर बजार धितोपत्र बोर्डको कन्सर्नको विषय हो राष्ट्र बैंकको होइन’, खतिवडाले भने । खतिवडाले एक महिनामा राजश्वभन्दा चालु खर्च ३५ अर्बले बढी भइसकेको भन्दै राजस्व बढाउने तिर ध्यान जानुपर्ने बताए । ‘आर्थिक विकास नभएपछि व्यापार घट्छ नै । व्यापार घट्नु भनेको आर्थिक मन्दी हुनु हो । ब्याजदर पनि बढी छ’, खतिवडाले भने, ‘सबैभन्दा ठूलो मुद्दा भनेको व्यवसायीको विश्वास र सुरक्षाको हो ।’ चालु आर्थिक वर्षमा बजेटले लिएको लक्ष्य अनुसारको आर्थिक वृद्धि हुन चुनौति नै रहेको उनले बताए । कार्यक्रममा खतिवडाले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंतर्फ संकेत गर्दै अराजक गतिविधि गर्नेहरुलाई राज्यले तत्काल पक्राउ गर्नुपर्ने बताए । ‘अराजक तत्वलाई राज्यले तत्काल पक्राउ गर्नु पर्छ । कालोमोसो दल्ने, अराजक गतिविधि गर्नेलाई सरकारले किन पक्राउ गर्दैन ?’, खतिवडाले भने । नेपालमा सुन तस्करी बढेको कारण नेपाल भारत सीमावर्ति क्षेत्रमा भारतीय रुपैयाँको मूल्य सस्तो भएको खतिवडाले बताए ।

सार्वजनिक मञ्चमा व्यवसायीको गुनासो : बैंकको ब्याजदर चर्को भयो, लिलामीका सूचनाले तर्साउँछ

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंकको उच्च ब्याजदरले व्यवसायीलाई समस्या भएको बताए । ‘लिलामीका सुचनाले पत्रपत्रिका भरिभराउ छन् । उद्योगीले आत्महत्या गरिरहेका छन् । सरकारले उद्योगी व्यवसायीलाई निरुत्साहन गर्ने काम गरिरहेको छ’, उनले भने । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा अग्रवालले उद्योगी व्यवासायी निरुत्साहित भइरहेको बताए त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बैंकको उच्च ब्याजदरले व्यवसायीलाई समस्या भएको बताए । ‘लिलामीका सुचनाले पत्रपत्रिका भरिभराउ छन् । उद्योगीले आत्महत्या गरिरहेका छन् । सरकारले उद्योगी व्यवसायीलाई निरुत्साहन गर्ने काम गरिरहेको छ’, उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र पहिलेकोभन्दा केही सहज हुँदै आएको बताएका छन् । सरकारले व्यवसायिक वातावरण सिर्जना गर्नु पर्ने धारणा श्रेष्ठले राखेका थिए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बजेट र मौद्रिक नीतिको तालमेल नभएको टिप्पणी गरेका छन् । व्यवासायीहरुले दिएको सुझाव मौद्रिक नीतिमा नसमेटिएको उनले बताए । ‘उद्योगीहरुको मल्हम लगाउनु पर्ने अवस्थामा नुन छर्किने काम भइरहेको छ । देशको जीडिपीमा साना घरेलु उद्योगको महत्वपूर्ण योगदान छ’, श्रेष्ठले भने ।

पुल्चोक म्युजिक फेस्टमा द एलिमेन्ट्स र पहेलो बत्ती मुनीको प्रस्तुति

काठमाडौं । पुल्चोक म्युजिक क्लब तथा रिसर्च सेन्टरले म्युजिक फेस्ट आयोजना गर्न लागेको छ । आगामी शुक्रबार पूल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा म्युजिक फेस्ट आयोजना गर्न लागिएको हो । पुल्चोकमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले गठन गरेको म्युजिक क्लब तथा रिसर्च सेन्टरले सोही क्याम्पसका विद्यार्थी र अन्य व्यक्तिहरुको सहभागीता हुने गरी म्युजिक फेस्ट आयोजना गर्न लागेका हुन् । पुल्चोक म्युजिक फेस्टमा सांगीतिक समूह द एलिमेन्ट्स, पहेलो बत्ती मुनी लगायतले सांगीतिक प्रस्तुती गर्नेछन् । उक्त सांगीतिक कार्यक्रममा सहभागी हुनका लागि तीन प्रकारका टिकटको व्यवस्था गरिएको आयोजकले बताएको छ । जसमा पुल्चोक इन्जिनियरिङ क्याम्पस अध्ययनरत विद्यार्थीका १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने क्याम्पस बाहिरका तर, सुरूमै टिकट लिनेहरुले २५० र सामान्य टिकटको मूल्य ३०० रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम शुक्रबार दिउँसो १ बजेपछि सुरु भएर राती ९ बजेसम्म चल्ने बताइएको छ । सांगीतिक ब्याण्डका अलवा कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पससहित अन्य विभिन्न क्याम्पसका विद्यार्थीहरुको पनि प्रस्तुती रहने बताइएको छ । पुल्चोक म्युजिक क्लब तथा रिसर्च सेन्टरले विगतमा पनि विभिन्न सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

नेशनल लाइफको जीवन बीमा कोष ६० अर्ब माथि, ५१ हजार बढीलाई दियो दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ६० अर्ब भन्दा माथि छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमाससम्मको तथ्यांकअनुसार इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ६० अर्ब २५ करोड पुगेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ अर्ब ४५ करोड रुपैयाँ अर्थात १८.६० प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको जीवन बीमा कोषको आकार ५० अर्ब ८० करोडको थियो । समीक्षा अवधिमा इन्स्यारेन्सले १५ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १४ अर्ब ११ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै, कम्पनीले पुनर्बीमा कमिशन बापत ४ करोड ७९ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ४ अर्ब ३७ करोड ८० लाख रुपैयाँ र बीमालेख धितोमा १० अर्ब ४५ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरी ८२ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । एक वर्षको अवधिमा कम्पनीको खुद नाफा भने ५०.६९ प्रतिशतले घटेर ३६ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ छ । जगेडा कोषको रकम घटेर ४० करोड ७९ लाख र महाविपत्ती कोषको रकम बढेर ४६ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ । २०८० असारसम्म इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८८.७२ गुणा छ । हालसम्म इन्स्योरेन्सले ५१ हजार ६५८ जना बीमितलाई ७ अर्ब ९२ करोड रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरिसकेको छ भने ८२ करोड ३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी छ ।

निजी क्षेत्र इतिहासकै अप्ठ्यारो अवस्थामा छ : भवानी राणा

फाइल तस्वीर काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष भवानी राणाले नेपालको निजी क्षेत्र इतिहासकै अप्ठ्यारो अवस्थामा रहेको बताएकी छिन् । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै राणाले सरकारका कारण निजी क्षेत्रले अप्ठ्यारो भोगिरहेको बताएकी हुन् । ‘इतिहासकै अफ्ठ्यारो अवस्था निजी क्षेत्रलाई परेको छ । सरकारले कर मात्रै बढाएको छ । हरेक क्षेत्रमा आर्थिक मन्दी छ’, राणाले भनिन् । पछिल्ला दिनमा सरकारले राजश्वको नाममा आतंक सिर्जना गरेको उनले बताइन् । ‘निर्माण व्यवसायीले भुक्तानी पाइरहेका छैनन् । राजश्वको नाममा आतंक भइरहेको छ’, उनले भनिन्, ‘लगानी गर्न भारत तयार छ, तर नेपालको नीतिले सपोर्ट गर्न सकेको छैन ।’