पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
बागलुङ । भारी वर्षापछि खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिराले सडक अवरुद्ध बनाएको हो । बुधबार साँझदेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको छ । वर्षा रोकिएपछि सडक खुलाउन थाल्ने प्रहरी नायव उपरीक्षक केसीले बताए । लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका स्थानबाट बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँलगायतका स्थानमा पुग्ने यातायातका साधन सडकमै ठप्प छन् । यात्रु बाटोमै अलपत्र परेका छन् । काठमाडौंदेखि पूर्वी रुकुम र निसीखोलाको विभिन्न स्थानमा यातायातका साधन सडकमै रोकिएका स्थानीय नरबहादुर क्षेत्रीले जानकारी दिए । कालीगण्डकी कोरिडोरमा चल्ने बागलुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारी साधन पनि ठप्प छन् । सडक अवरुद्ध भएपछि दक्षिणी क्षेत्रमा सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । रासस
अचार उत्पादनबाट मनग्य आम्दानी गर्दै टीकापुरका महिला
कैलाली । कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरु तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यवस्त छन् । यसरी दैनिक ५० किलो अचार उत्पादन हुने गरेको महिला उद्यमी कल्पना जैशीले बताए । ‘आँपको अचार सबै बिक्री भयो’, उनले भने, ‘दैनिक ५० किलो अचार उत्पादन गर्छौं, मागअनुसारका अचार उत्पादन गर्ने गरेका र्छौं ।’ चाँडै अनुमतिपत्र पाएपछि उत्पादन बढाएर अन्य जिल्ला पठाउने जैशीको योजना छ । ‘दैनिक २०/२५ महिलालाई रोजगारी दिने योजना छ’ उनले भनिन् । यहाँ उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौँ, नेपालगञ्जजस्ता सहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मङ्सिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् । उनीहरूले आठ क्विन्टल मस्यौरा उत्पादन गरिसकेका छन् । हालसम्म झण्डै पाँच क्विन्टल बिक्री भइसकेको जैशीले बताइन् । यसैगरी दुई क्विन्टल गुन्द्रुक र साढे तीन क्विन्टल सिन्की उत्पादन भएको छ । सिन्की र गुन्द्रुक सबै बिक्री भइसकेको छ । पहिलोपटक उत्पादन सुरु गरिएका कारण मागअनुसार सिन्की र गुन्द्रुक उत्पादन गर्न नसकिएको सिर्जना पण्डितले बताइन् । ‘सुरुआत भएका कारण कच्चा पदार्थ जुटाउन नसक्दा मागअनुसार उत्पादन गर्न सकेनौँ’, उनले भनिन्, ‘सिक्दैछौँ, उत्पादन बढाउँदै जान्छौँ ।’ गुणस्तर मापनका लागि उनीहरुले खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीमा पठाउने गरेका छन् । मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिडालु छिल्ने, पिडालु मसिनो बनाउने, मास पिस्ने, पिडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन् । मस्यौरा तयार गर्ने मेसिनमा १३ लाख बढी खर्च भएको छ भने सिन्की परम्परागतरूपमै तयार गर्ने गरिएको छ । सत्र महिलाले एक–एक लाख लगानी गरी उद्योग सञ्चालन गरेका हुन् । महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिडालु र मासले मूल्य पाएको छ । यसपटक मुला उत्पादक किसानले सोचेभन्दा राम्रो नाफा कमाउन सफल भएका छन् । विगतमा तरकारी खेती गरेर बजारको समस्या भोगेका जानकी गाउँपालिकाको सुवर्णपुरका चित्रबहादुर चौधरीले तरकारीको मूल्य न्यून पाए पनि बजारको समस्या नभएको बताए । महिलाले उत्पादन गरेका सामान व्यापार महासङ्घले बजारीकरण गरिदिने भएको छ । उद्योगमा लगानी बढाउने, धेरै उत्पादन गर्ने, ठूला उपकरण थप्ने महिला उद्यमीको योजना छ । रासस
पोखरामा ६ अर्बमा पाँचतारे होटल बन्दै
काठमाडौं । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा छ अर्ब रूपैयाँको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् । होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड–१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिए । अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उनले बताए । हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताए । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निष्कासन गर्ने योजना रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले बताए । ‘पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महसुस भयो । हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो’, उनले भने । सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा पाँचतारे होटल नहुदाँ काठमाडौँमा आयोजना गरिएको थियो । पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरुप परियोजना अघि बढेको थापा बताउँछन् । चालीस ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज, र काठमाडौँमा चारतारे होटल बाराही काठमाडौँ सञ्चालन गर्दै आएको छ । यस्तै, बाराही ग्रुपले पोखरामा ब्यञ्जन रेष्टुराँ र द बिच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ । रासस
धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी
मलेखु । धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ । प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र २७ करोड ५९ लाख ६४ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ । महसुल नतिर्ने १ हजार ७ सय ४८ जनाको विद्युत् लाइन काटिए पनि १ सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन् । १ सय ३ जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ । लाइन काटेपछि ४ करोड २६ लाख ७४ हजार रुपैयाँ असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए। कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार रुपैयाँ असुल गर्न बाँकी छ । धादिङ शाखाले गत आर्थिक वर्ष २०७९/८० मा एउटा ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको प्रमुख न्यौपानेको भनाइ छ । धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन । गत आवमा विद्युत् चोरी गर्ने दुई सय ९४ जनालाई कारबाही गरिएको थियो । उनीहरुबाट १४ लाख ८१ हजार रुपैयाँ जरिबाना असुल गरिएको उनले बताए । अघिल्लो आवमा १ सय २३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो । गत आवमा ११ करोड २२ लाख ९१ हजार ६ सय ९ युनिट विद्युत् बिक्री गरी १ अर्ब २ करोड रुपैयाँ संकलन भएको प्राधिकरणको धादिङ शाखाले जनाएको छ। रासस
यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ । अहिले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहेर पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेश र गण्डकीका केही ठाउँमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । नदी तटीय क्षेत्र तथा अन्य ठाउँमा पहिरोको जोखिम, गेग्रान बग्ने, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र, उत्खननका लागि आउनेमा धेरै चिनियाँ
काठमाडौं । खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । वि.सं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवद्र्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान गरिएको हो । गत वर्षसम्म तीन सय ७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरिएको थियो । विभागले आर्थिक वर्ष २०७९/८० मा थप ५८ कम्पनीलाई खानी खोजतलास गर्न अनुमति दिएको उनले बताए । ‘अनुमति दिएकामा सबैभन्दा धेरै चुनढुङ्गा र तामा छन्’, सूचना अधिकारी बाँस्कोटा भने । यस्तै, विभागले हालसम्म एक सय ५८ कम्पनीलाई खानी उत्खनन्का लागि अनुमतिपत्र प्रदान गरेको छ । गत वर्षसम्म एक सय ४७ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको विभागले आव २०७९/८० मा थप ११ कम्पनीलाई खानी उत्खननको अनुमतिपत्र प्रदान गरेको हो । खानी खोजतलास तथा उत्खननका लागि आउनेमध्ये सबैभन्दा धेरै कम्पनी चिनियाँ रहेको सूचना अधिकारी बाँस्कोटाको भनाइ छ । अनुमतिपत्र प्राप्त गरेका कम्पनीमध्ये ५० प्रतिशतले मात्र उत्खननको काम सुरु गरेको र बाँकी कम्पनी उत्खननका लागि आवश्यक प्रक्रियामै रहेका छन् । विभागले आव २०७९/८० मा समयमा खानी खोजतलास तथा उत्खननको क्षेत्रमा काम नगर्ने एक सय २१ कम्पनीको अनुमतिपत्र रद्द गरेको छ । ‘समयमा नवीकरण गर्न नआउने, म्याद सकिने र खोजेको कुरा नपाएपछि काम गर्न छाड्ने कम्पनीको अनुमतिपत्र रद्द गरेका हौँ’, बाँस्कोटाले भने । धौवादी फलाम उत्खननका लागि विभागले नवलपरासीमा अनुमति प्रदान गरेको छ । यसअघि उदयपुर सिमेन्ट कारखाना, हेटौँडा सिमेन्ट उद्योगलाई चाहिने चुनढुङ्गा खानी तथा भूगर्भ विभागले अध्ययन गरेर प्रदान गरेको चुनढुङ्गा हो । यसबाहेक अन्य सिमेन्ट उद्योगलाई आवश्यक पर्ने चुनढुङ्गासमेत विभागले उत्खनन गरेर प्रदान गर्दै आएको छ । विभागका महानिर्देशक रामप्रसाद घिमिरे विभागले खानी खोजतलास तथा उत्खननको कामलाई तीव्रता दिएको बताउनुहुन्छ । विभागले हाल सङ्खुवासभाको लुहाकोटमा फलाम, भोजपुरको दिङ्लामा तामा, सिन्धुलीको खनियाखर्कमा ग्रेनाइट, धादिङको सुनौलाबजारमा डोलोमाइट, धादिङको गणेश हिमालमा रुवी, रुकुममा तामा, उदयपुरको रतुवामाइमा फलाम, मधेस प्रदेशमा सेरामिक्स र धादिङको बेनीघाटमा चुनढुङ्गाको अध्ययन गरिरहेको छ । दैलेखस्थित पेट्रोलियम सम्भावित भण्डार क्षेत्रको अन्वेषणका लागि चीन र नेपाल सरकारबीच सम्झौता भई अन्वेषण कार्य भइरहेको विभागले जनाएको छ । उक्त पेट्रोलियम पदार्थको अन्वेषणका लागि जियोफिजिकल सर्भे सम्पन्न भइसकेको छ । ड्रिलिङ कार्यका लागि चिनियाँ प्राविधिक टोलीबाट पहिचान भई नेपाल सरकारलाई ड्रिलिङ उपकरण ओसारपोसारका लागि आवश्यक बाटोको मर्मतका स्थानको पहिचान गरी सो प्रतिवेदन उद्योग मन्त्रालयमा पेश भइसकेको छ । विभागले आव २०७९/८० मा सञ्चालनमा रहेका विभिन्न जिल्लाका एक सय खानीको स्थलगत अनुगमन, निरीक्षण र निर्देशन कार्य सम्पन्न गरिसकेको महानिर्देशक घिमिरे बताए । विभागले गरेको प्रारम्भिक अध्ययनबाट धादिङको रुबीभ्याली क्षेत्र र मनाङमा किम्ती तथा अर्धकिम्ती पत्थरको सम्भावना रहेको पाइएको छ । सो विभागले खानीको सम्भाव्यता अध्ययन गरिरहे पनि ल्याबमा प्राविधिक कर्मचारीको कमी हुँदा समयमा खानीको प्रतिवेदन आउन भने समस्या हुने गरेको छ । विभागले प्रत्येक वर्ष देशका छुट्टाछुट्टै स्थानमा खानीको सम्भाव्यता अध्ययन गरे पनि त्यसको प्रतिवेदन आउन भने वर्षौं लाग्ने गरेको छ । विभागका उपमहानिर्देशक एवं प्रशासन प्रमुख जयराज घिमिरे विभागको ल्यावमा जनशक्ति अभाव रहेका कारण खनिजको प्रतिवेदन आउन समय लाग्ने गरेको बताए । ‘खनिजजन्य पदार्थको जाँचका लागि विभागको ल्याबमा ११ जनाको दरबन्दी छ तर तीन जना मात्र कार्यरत छन्, थोरै जनशक्तिका कारण वर्षौंदेखि खानीका प्रतिवेदन आउन सकेको छैन’, उनले भने । जनशक्ति नहुँदा चुनढुङ्गालगायत वस्तु जाँचका लागि विभाग बाहिरको ल्याबमा पठाउने गरिएको छ । खानी खोजतलासका लागि अनुमतिपत्र तथा उत्खननका लागि अनुमतिपत्र प्रदान गरेबापत आव २०७९/८० मा ६१ करोड ५३ लाख राजस्व सङ्कल गरेको विभागले जनाएको छ । रासस
युनिलिभर नेपालको नाफा पौने २ अर्ब रुपैयाँ
काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले गत वर्ष पौने २ अर्ब रुपैयाँ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असारसम्म खुद नाफा १८.६८ प्रतिशत बढाएर १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । गत असारसम्म कम्पनीको बिक्री आम्दानी १५.६० प्रतिशत बढेर ८ अर्ब ४८ करोड रुपैयाँ बराबर कारोबार गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ बिक्री आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९ अर्ब २१ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको अन्य आम्दानी पनि ५८.९५ प्रतिशत बढेर १९ करोड ३६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष अन्य आम्दानी १२ करोड १८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष १ हजार ६७५ रुपैयाँ रहेकोमा बढेर १ हजार ९८८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ३ हजार ९६७ रुपैयाँबाट बढेर ४ हजार ७३४ रुपैयाँ कायम छ ।
अप्पर तामाकोशीले भदौ १८ गतेदेखि १०.५९ अर्ब रुपैयाँको हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हाल १ कित्ता सेयर भएका सेयरधनीहरुले नयाँ १ कित्ता सेयर पाउने छन् । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै सो हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रदमा लगानीकर्ताले असोज ७ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम बैंक र सानिमा बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।