एनएमबि बैंकले दियो धुलिखेल अस्पतालमा स्वास्थ्य उपकरणका सामाग्री
काठमाडौं । एनएमबि बैंकले धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत श्री सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको बैंकले जनाएको छ । बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्याउनुका साथै बिरामीहरूलाई उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४३ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
महानगर क्षेत्रका उद्यमीलाई कर रकममा ४० प्रतिशत छुट
काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमीलाई रकममा भारी छुट दिने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । महानगरपालिका आर्थिक ऐन–२०८०मा ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमी रकममा ४० प्रतिशत छुट दिने व्यवस्था रहेको महानगरले जनाएको छ। समयमै कर तिरेर छुट लाभ लिन पनि महानगरले आग्रह गरेको छ।
धादिङको तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो
धादिङ । धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन । मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँलाग्दो छ । लामा भन्छन्, ‘गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ । फलेको पनि छ । गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएन ।’ एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । ‘सुरुका वर्ष केही बोटमा मात्रै फल्यो, अघिल्लो वर्ष जेनतेन खेर फाल्नु परेन । यो वर्ष त सबै बोटमा राताम्यै स्याउ फलेको छ । बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ’, लामाले विकटको समस्या सुनाए । हिउँदमा जसोतसो हप्तामा दुई–तीनपटक गाउँमा गाडी पुग्छ । बर्खा लागेपछि कुनै गाडी गाउँ पुग्न सक्दैन । डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन । हिजोआज स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेँसी झर्न झन्डै दुई दिन लाग्छ । गाउँमै दैनिक दुई–चार किलो बेचेर स्याउ सकिने अवस्था पनि नभएको लामाले बताए । लामाले पाँच रोपनी बारीमा दुई सय बोट स्याउ लगाउनुभएको छ । समग्रमा एक बोटमा ३० किलोका दरले हिसाब निकाल्दा पनि दुई सय बोटमा छ हजार किलो स्याउ तयारी अवस्थामा छ । भारत र चीनबाट आएको स्याउ अहिले सहरबजारमा प्रतिकिलो चार सय रुपैयाँको हाराहारीमा छ । तर लामाले बोटबाटै टिपेर गाउँमै बिक्री गर्दा एक सय ५० मा दिइरहेका छन् । एक सय ५० रुपैयाँ किलोले नै हिसाब गर्ने हो भने पनि नौ लाख बराबरको स्याउ सडक नभएकै कारण बजार झार्न नसकिएको लामाको भनाइ छ । कानुन विषय पढेका लामा अहिले पनि एउटा गैरसरकारी संस्थामा जागिर गर्छन् । आफू बच्चा हुँदा घरमुनि करेसामा दुई बोट स्याउ बेस्सरी फलेको देखेको र अहिले त्यसैगरी स्याउ फलाउने रहरले लामाले दिदी प्रविना माया लामा, आमा नेमारानी लामा र भाइ योहान लामाको सहयोगमा स्याउ लगाएका हुन् । माटो परीक्षण गरेर प्राविधिक सल्लाहअनुसार नै खाल्डो, माटो र मलको मात्रा मिलाएर रोपिएको बिरुवाले राम्रो उत्पादन दिइरहेको छ । ‘हामी सानो छँदा घरमा दुई बोट थियो । धेरै फल्थ्यो । गाउँभरिका मान्छेलाई खान पुग्थ्यो । मुस्ताङ घुम्न गएको बेला त्यहाँ फलेको देखेँ । जागिरको सिलसिलामा ठाउँ–ठाउँमा पुग्दा पनि स्याउ फलेको देखेँ । जागिरबाट एक महिनाको छुट्टी मिलाएर प्राविधिकको सल्लाहअनुसार मुस्ताङको मार्फाबाट एक सय २० का दरले बिरुवा ल्याएर लगाएँ’, लामा भन्छन्, ‘आमा र दिदीले नियमित हेरचाह गर्नुहुन्छ, अहिले पनि स्याउको बोट गोडमेल र छाँटकाँट गर्न वर्षमा तीन/चारपटक दाजुभाइ नै गाउँ आउने गरेका छौँ ।’ फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन् । स्याउ खान बारीमै पुग्नेले प्रतिव्यक्ति रु दुई सयमा स्याउबारी अवलोकन गर्न र पेटभरि स्याउ खान पाइन्छ । लटरम्म फलेको स्याउ वन्यजन्तु र वस्तुभाउबाट जोगाउन कठिन छ । गाउँ नजिक कोल्डस्टोरको व्यवस्था पनि छैन । गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन र सडक सञ्जाल सहज बनाइदिन सरकारसँग उनको माग छ । स्याउ फलेको गाउँ मचेत पर्यटकीय गन्तव्य पनि हो । धादिङको गल्छीबाट करिब एक सय ५५ किलोमिटरको दुरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ । रासस
भिडियो कल गरेर महिलामाथि अश्लील हर्कत गर्ने २९ वर्षीय युवक पक्राउ
काठमाडौं । महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने २९ वर्षीय तुफान केसी रहेका छन् । केसीलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कठायत जानकारी दिए। उनका अनुसार फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्यक्तिको भनी रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरेको र यस्ता गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्बिरमा अश्लील र अपमानजनक शब्द प्रयोग गरी चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले पक्राउ गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा केसीको संलग्नता खुल्न आएको प्रहरीको दाबी छ । पक्राउ परेका केसी उपर विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।
४० जना कर्मचारीलाई ९४ वटा सवारी, ४३ हजार तलव खानेलाई ३९ हजार इन्धन सुविधा
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयमा एक वर्षमा नै पौने करोडको डिजेल पेट्रोल खर्च भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले गत आर्थिक वर्ष ०७९/८० मा ७८ लाख १५ हजार दुई सय ५८ रुपैयाँ १३ पैसाको इन्धन खर्च गरेको हाे । ४० जना कर्मचारी कार्यरत उक्त कार्यालयले मासिक ८ देखि ९ लाख रुपैयाँ बराबरको इन्धन खर्च भएको देखिन्छ । प्राप्त विवरणमा रोचक पक्ष त के छ भने ४० जना कर्मचारी रहेको उक्त कार्यालयले गत आर्थिक वर्षमा ९४ वटा सवारी साधनका लागि इन्धन वितरण गरेको छ । कार्यालयमा काम गर्ने ८ जना कर्मचारीले गत आर्थिक वर्षमा १३ सय लिटर भन्दा धेरै इन्धन लिएको विवरणमा उल्लेख छ । मेलम्ची खानेपानी आयोजना–दोस्रो रुपमा रहेको सो कार्यालयमा काम गर्ने अधिकांश प्राविधिक कर्मचारी भएपनि प्रशासन तथा लेखा समूहका कर्मचारीहरुले पनि अधिक मात्रामा इन्धन लिने गरेको पाइएको छ । जुन कर्मचारीहरुको फिल्ड भ्रमण अनिवार्य हुँदैन । कार्यालयले गत आर्थिक वर्षमा खर्च गरेको इन्धन बा १ छ च ७९६६ नम्बरको सवारी साधनलाई कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा धेरै १६ सय ४५ लिटर इन्धन दिएको छ । जसलाई कार्यालयका प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले प्रयोग गर्छन् । त्यस्तै कार्यालयबाट दोस्रो धेरै इन्धन आयोजना प्रमुख राजेन्द्र सापकोटाले प्रयोग गर्ने सवारी साधनलाई प्रदान गरिएको छ । सूचनाअनुसार उनले प्रयोग गर्ने बा १७ च ६६६२ नम्बरको सवारी साधनलाई कार्यालयले गत आर्थिक वर्षमा १५ सय ७७ लिटर इन्धन प्रदान गरेको छ । कार्यालयका आयोजना प्रवन्धक राजेश कुशबाहलाई १४ सय ७० लिटर, इन्जिनियर सुमन कर्माचार्यलाई १४ सय ११, आयोजना प्रवन्धक सुजाता जोशीलाई १४ सय चार लिटर र परामर्शदाता हिमेशआनन्द वैद्यलाई १४ सय ५७ लिटर इन्धन आयोजना कार्यालयले गत आर्थिक वर्षमा उपलब्ध गराएको थियो । इन्जिनियर सुरेश श्रेष्ठले सबैभन्दा बढी ४ लाख ३२ हजार ३२१ रूपैयाँ इन्धन सुविधा लिएका छन् । ११ महिनामा लिएकाे याे सुविधा मासिक ३९ हजार ३०२ रूपैयाँ हुन्छ । सरकारी संस्थामा इन्जिनियरकाे मासिक तलव ४३ हजार ८०० रूपैयाँ हुन्छ । कार्यालयमा काम गर्ने अन्य ९ जना कर्मचारीहरुले पनि गत आर्थिक वर्षमा एक हजार लिटर भन्दा धेरै इन्धन लिएको प्राप्त सूचनामा उल्लेख छ । कार्यालयका प्रशासन शाखा प्रमुख बमले आफ्नो सवारी साधन अन्य कर्मचारीहरुले पनि आवश्यकताअनुसार प्रयोग गर्ने भएकाले इन्धन खर्च बढी देखिन आएको तर्क गर्छन । साथै उनले सो कार्यालयले फिल्डमा बढी काम गर्ने भएकाले पनि इन्धन खर्च बढी देखिन आएको दाबी गरेका छन् । प्रमुख बमका अनुसार कार्यालयले कर्मचारीहरुलाई वार्षिक रुपमा एक सय लिटर डिजेल र ६४ लिटर पेट्रोल उपलब्ध गराउने व्यवस्था रहेको छ । तर, केही सीमित कर्मचारीहरुले भने तोकिएको सीमा भन्दा धेरै इन्धन लिएको सूचनामा उल्लेख गरिएको छ । आयोजनामा प्रयोग भएका सवारी साधन पुराना भएर पनि इन्धन बढी लागेको प्रमुख बमले प्रतिक्रिया दिएका छन् । सवारी साधनको मर्मतमा पनि अधिक खर्च आयोजना कार्यालयले गत आर्थिक वर्षमा कार्यालयमा भएका सवारी साधनको मर्मत खर्चमा पनि अधिक खर्च भएको विवरणमा उल्लेख छ । विवरण अनुसार कार्यालयले गत आर्थिक वर्षमा ५७ लाख ६ हजार २०३ रुपैयाँ खर्च गरेको छ । जुन सवारी साधनहरुले धेरै इन्धनमा खर्च गरेका छन् । तिनै सवारी साधनहरुले मर्मतमा पनि बढी खर्च गरेको सूचनामा उल्लेख छ । smart
कर्णालीमा तोकिएकै अविधमा १३२ केभी प्रसारणलाइन बन्ने
जाजरकोट । सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ । मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर-सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने भएको हो । बाँकेको बैजथानस्थित बस्तीमा सामान्य समस्या आए पनि करिब-करिब हल उन्मुख भएपछि काममा तीव्रता आएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिका–१ गाभर र वडा नं ४ को बानियाभार हुँदै लाइन विस्तार गरिँदै छ । उक्त लाइन विस्तार गर्ने ठाउँमा बस्ती र खेतीयोग्य जमिनमा असर पर्ने भन्दै केही सर्वसाधारणले विरोध गरे पनि समाधानको दिशातिर गएको प्रदेश कार्यालयले जनाएको छ । विवाद समाधानोन्मुख भएसँगै अबको ६ महिनाभित्र काम पूरा हुने र आठ महिनाभित्र पूर्णरूपमा विद्युत् सञ्चालन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताए । विवाद भएर आयोजनाको नौवटा पोल निर्माण रोकिएकामा केही दिनभित्र निर्माण अघि बढाइने भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको भने मुआब्जासम्बन्धी विवाद समाधान भएको छ । निजी जग्गाको मुआब्जा वितरण प्रक्रियामा सहमतिअनुसार काम अघि बढाएको मन्त्री बस्नेतले जानकारी दिए । विद्युत् प्रसारण लाइन विस्तारको काम सुरु गरेको तीन वर्ष पूरा भएपछि अपेक्षित लक्ष्यमा पुग्नका लागि काममा जुटेको आयोजनाले जनाएको छ । सुर्खेतसहित कर्णालीका अन्य जिल्लाको विद्युत् समस्या हल गर्न एकमात्र विकल्प ठानिएको उक्त प्रसारण लाइनको जति ढिला हुन्छ, त्यति यहाँका सर्वसाधारणलाई हैरानी हुँदै आएको छ । लाइन विस्तार कार्यको सुरुआत २०७७ असारदेखि गरिएको थियो । ठेक्का सम्झौता भएपछि आयोजनाले कानुनी प्रक्रियामै धेरै झन्झट भएकाले काममा ढिला हुँदै आएको थियो । संरचना निर्माणपूर्वका कानुनी उल्झन र विभिन्न अवरोधका कारण लक्ष्यअनुसार प्रगति हासिल हुन समय लागेको प्रदेश कार्यालयले जनाएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । हाल सडक डिभिजन कार्यालयअन्तर्गतको रुख कटानको काम सकिएको छ भने राष्ट्रिय निकुञ्जमा रुख कटानका लागि प्रक्रिया अघि बढेको छ । आयोजनाअन्तर्गत कोहलपुरबाट सुर्खेतसम्म रहने कुल एक सय ६० वटामा २६ एंगल टावर निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार प्रसारण लाइनले ७० हेक्टर जमिन वनको क्षेत्र ओगट्नेछ । त्यसैगरी १६ हेक्टर खेतीयोग्य जमिन र दुई हेक्टर बाँझो जमिन तथा ११ हेक्टर अन्य भागले ओगट्ने प्रतिवेदनमा उल्लेख छ । यसमध्ये करिब चार हेक्टर जमिन स्थायीरूपमा सबस्टेसन निर्माणका लागि र तीन हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण गरिनेछ भने बाँकी करिब ९२ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ । चालिस प्रतिशत काम सम्पन्न गर्न बाँकी रहेको आयोजनाको २०८० चैतमा सम्झौता सकिँदै छ । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोडमा आयोजनाको ठेक्का पाएको हो । जाजरकोट, सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, डोल्पा र रुकुमपश्चिममा अहिले ३२ केभी प्रसारण लाइनको विद्युत् सञ्चालमा रहेको छ । एक सय ३२ केभी निर्माण हुनेबित्तिकै सबै ठाउँमा यही विद्युत् प्रसारण हुनेछ । अहिले पानी पर्नेबित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । त्यस्तै चार सय केभी प्रसारण लाइनको कामसमेत यसै आर्थिक वर्षमा सुरु गरिने भएको छ । सुर्खेतको भेरीगङ्गा–८ देउतीखोलमा सबस्टेसन निर्माण गर्नका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले २०७९ फागुन २० गते सूचना प्रकाशित गरी कामको सुरुआत गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले बताए । जाजरकोटको नलगाड-८ दानीपिपलबाट देउतीखोलासम्मको एक सय ५० किलोमिटर प्रसारण लाइन निर्माण गरेर देउतीखोलाको सबस्टेसनमा विद्युत् जोडिने छ । दुई हजार पाँच सय मेगावाट विद्युत् यही लाइनबाट मुख्य लाइनमा जोड्नका लागि यो कामको सुरुआत गर्न लागिएको हो । १४ अर्ब बराबरको लगानी गर्नुपर्ने डा. ज्ञावलीले बताए । जगदुल्ला एक सय ६ मेगावाट, भेरी ‘ए’ तथा नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाट विद्युत् यही स्टेसन हुँदै मुख्य लाइनमा जोडिनेछन् । रासस
एशियन लाइफको अभिकर्ता सम्मान समाराेह सम्पन्न
काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरिय अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न भएको छ। होटल क्राउन इम्पेरियलमा आयोजित दुई दिने कार्यक्रमको अवसरमा गत आर्थिक वर्ष २०७९।८० मा उत्कृष्ट व्यवसायीक योगदान गरेका बागमती प्रदेश अन्तर्गतका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा देशभरबाटै दोश्रो स्थान हासिल गर्न सफल भएका वरिष्ठ एजेन्सी म्यानेजर कमल प्रसाद जोशीलाई ट्रफि सहित सम्मान गरिएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, सञ्चालक निष्ठा प्रधानाङ, सजल मास्के, अच्यूत राज सापकोटा र प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले जोशीलाई संयुक्तरुपमा ट्रफी हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नियामकीय प्रावधानभित्र रहेर अभिकर्तालाई सक्दो सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अझै बढी योगदानले कम्पनीलाई अझै उचाईमा लैजान संभव छ । प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले बीमित, अभिकर्ता र शेयरधनी सबैलाई अपेक्षित प्रतिफल दिएर कम्पनीलाई अझै उत्कृष्ट बनाउने प्रयास जारी रहेको बताए । उनले सबैले अपेक्षा गरेको प्रतिफल दिलाउनकै लागी हामीले नियामकीय प्रावधानभित्रै रहेर लगानीमा विविधिकरणलाई जोड दिई रहेका छौं, आगामी दिनमा अवश्य पनि यसले नतिजा दिलाउने आशा गरेका छौं । पेशागत अभिकर्ता संघ बीमक समितिका उपाध्यक्ष सन्तलाल राईले पर्यटन, जलविद्युत र निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तारले कम्पनीको साखमा योगदान पुर्याउने भन्दै खुशी व्यक्त गरे । उनले बीमितले प्राप्त गर्ने बोनश दर आगामी दिनमा अझै बढ्ने विश्वास व्यक्त गरे । दुई दिने कार्यक्रमको पहिलो दिन सहभागी अभिकर्ताहरुलाई वरिष्ठ अभिकर्ता तथा प्रशिक्षक मिन घलेले प्रशिक्षण दिएका थिए । करिब दुई सयको संख्यामा अभिकर्ताहरुको सहभागीता रहेकोसहभागी अभिकर्ताहरुलाई सम्मान् पत्र, ब्याज र मायाको चिन्हो सहित सम्मान गरिएको थियो । नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, काठमाण्डौं उपत्यका प्रमुख दिपक राज लेखकलगायतको उपस्थिति रहेको थियो ।
भोलि सार्वजनिक विदा
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले भदौ ६ गते बिहीबार गौरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेशका जिल्लामा सार्वजनिक विदा दिने भएको हो । गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। दशैं, तिहारभन्दा पनि धुमधामसँग मनाइने गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुको साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रही आएको छ । यहि विश्वासले सुदूरपश्चिम प्रदेशभर सप्तमीसम्म महिलाहरु गौराको व्रत बस्ने गरेका छन् ।