विकासन्युज

१४ बीमा कम्पनीले बुझाए २ अर्ब बढी आयकर, सबैभन्दा बढी नेको इन्स्योरेन्सको

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका १४ वटा बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा २ अर्ब १८ करोड ५९ लाख रुपैयाँ बराबरको आयकर सरकारलाई बुझाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.०६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीहरुले आफ्नो आम्दानीबापत १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका थिए । १४ कम्पनीमध्ये सबैभन्दा बढी कर तिर्नेको सूचीमा नेको इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा मात्रै सरकारलाई २६ करोड ५३ लाख रुपैयाँ बराबरको आयकर बुझाएको हो । जुन अघिल्लो वर्षको तुलनामा १८.७९ प्रतिशतले बढी हो । नेकोले अघिल्लो वर्ष २२ करोड ३३ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै, सबैभन्दा बढी कर तिर्नेको दोश्रो सूचीमा राष्ट्रिय बीमा कम्पनी छ । सरकारको स्वामित्वको यो कम्पनीले एक वर्षमा २२ करोड ४८ लाख रुपैयाँ आयकर स्वरुप सरकारलाई बुझाएको हो । जुन अघिल्लो वर्षको तुलनामा ५०.१० प्रतिशतले बढी हो । त्यसपछि, बढी कर तिर्नेको तेश्रो र चौथो सूचीमा नेपाल इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । यी दुईबीच कडा टक्कर देखिएको छ । नेपाल इन्स्योरेन्सले १९ करोड ६९ लाख रुपैयाँ आयकर बुझाउँदा सलिकोले १९ करोड ६७ लाख रुपैयाँ बुझाएको छ । तर प्रतिशतको आधारमा भने सलिको कर वृद्धिदर नेपाल इन्स्योरेन्सकोभन्दा बढी छ । अघिल्लो आवको तुलनामा सलिकोले २१.५५ प्रतिशतले र नेपाल इन्स्योरेन्सले १२ प्रतिशतले आयकर बढाएका छन् । त्यस्तै, रकमको आधारमा हिमालयन एभरेष्ट र ओरियण्टल इन्स्योरेन्सले पनि क्रमशः १७ करोड २४ लाख र १७ अर्ब १४ लाख रुपैयाँ आयकर तिरेको छन् । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १९४.२७ र ३७.५९ प्रतिशतले बढी हो । १४ कम्पनीमध्ये हिमायलन एभरेष्ट इन्स्योरेन्सको आयकर वृद्धिदर सबैभन्दा बढी छ । इन्स्योरेन्सले एक वर्षको अवधिमै १९४.२७ प्रतिशतले आयकर बढाएको छ । कुन बीमा कम्पनीले कति बुझाए आयकर  ? निर्जीवन बीमा क्षेत्रको नम्बर वान कम्पनी शिखर इन्स्योरेन्सले १५ करोड ९९ लाख रुपैयाँ बराबरको आयकर तिरेको छ । यससँगै शिखर इन्स्योरेन्स बढी कर तिर्ने कम्पनीमध्येको आठौं स्थानमा रहेको छ । सिद्धार्थ प्रिमियर, एनएलजी इन्स्योरेन्स आईजीआई प्रुडेन्सियल र प्रभु इन्स्योरेन्सले १० करोडभन्दा बढी आयकर तिरेका छन् । १० करोडभन्दा कम आयकर तिर्नेमा नेशनल इन्स्योरेन्स र यूनाइटेड अजोड रहेका छन् । यी कम्पनीले गत आर्थिक वर्षमा क्रमशः ८ करोड ४७ लाख र ७ करोड ३७ लाख रुपैयाँ आयकर स्वरुप सरकारलाई बुझाएका छन् । कम्पनीहरुले आफ्नो आम्दानी अनुसार सरकारलाई कर बुझाएका हुन् । जसको जति धेरै आम्दानी त्यति नै धेरै कर तिर्नुपर्ने व्यवस्था छ । यससँगै निर्जीवन बीमा क्षेत्रमा पनि सबैभन्दा बढी कर तिरेको नेको इन्स्योरेन्सले आम्दानी पनि सबैभन्दा बढी गरेको छ ।

आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !

कैलाली । कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुगे । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुगेका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए । बर्खा लागेपछि कैलालीको टीकापुर–७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् । नदीमा साँझ र बिहानको समयमा साना र ठूला डल्फिन देखिने गरेका छन् । ‘नदीमा पानीको बहाव बढेको छ । डल्फिन उफ्रँदै रमाइरहेका देख्यौँ’, सुनारले भने, ‘डल्फिन बडो आनन्दले रमाउने रहेछन्, नदी किनारमा बसेर करिब एक घण्टा बच्चासहित डल्फिन नाचेको हेर्यौँ, आनन्द लाग्यो ।’ बर्खाको यो समयमा ढुङ्गानाटोलमा दैनिक सर्वसाधारण डल्फिन हेर्नकै लागि आउने गरेका छन् । डल्फिन अवलोकन गर्न स्वदेशीदेखि विदेशी नागरिकसमेत आउने गरेका स्थानीय संरक्षणकर्मी बताउँछन् । हरेक वर्ष विदेशी पर्यटक पनि डल्फिन हेर्नका लागि यहाँ आउने गरेका डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । ‘विदेशी नागरिकले हप्तौँसम्म बसेर डल्फिनबारे अध्ययन गर्ने गरेका छन्’, उनी भन्छन्, ‘नेपालका विभिन्न जिल्लाबाट समेत सर्वसाधारण आउने गरेका छन् । डल्फिन अवलोकनका लागि यहाँ भ्यूटावर र प्रतिक्षालय बनाइएको छ ।’ डल्फिन अवलोकन क्षेत्रसम्म जाने सडकलगायतका पूर्वाधार स्थानीय सरकारले निर्माण गरिदिएको छ । बर्खामा डल्फिन बढी देखिने भएकाले संरक्षण नेपालले सप्ताहव्यापी प्रचार–प्रसारका लागि कार्यक्रम गर्ने भएको छ । ‘डल्फिनको संरक्षण, प्रवर्द्धन, प्रचार तथा पर्यापर्यटनसँगै स्थानीय क्षेत्रको विकासका लागि सप्ताहव्यापी कार्यक्रम गर्न थालेका छौँ’, ढुङ्गाना भन्छन्, ‘स्थानीय समुदायलाई डल्फिन संरक्षणमा उत्प्रेरणासँगै अन्य जलप्राणीबारेमा जानकारी दिन थालेका छौँ । डल्फिनमात्र होइन अन्य जलचरको पनि संरक्षण आवश्यक छ ।’ भदौ दोस्रो सातादेखि सप्ताहव्यापी कार्यक्रम हुँदैछन् । बर्खामा याममा देखापर्दै आएका डल्फिन संरक्षण, प्रवर्द्धन, प्रचार आवश्यक रहेको स्थानीय संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाको भनाइ छ । ‘हामीले पछिल्ला केही वर्षयता डल्फिन देखापर्ने यही समयमा संरक्षणका क्षेत्रमा जनचेतना जगाउने गरेका छौँ’, उनले भने, ‘हामीले डल्फिन क्षेत्रमा माछा मार्न निषेध गरेका छौँ, माछा मारेमा कारबाही गर्ने गरिएको छ ।’ यस वर्ष वर्षात् ढिलो हुँदा असार १६ गते पहिलोपटक चारवटा डलिफन देखापरेका थिए । गत वर्ष जेठ मसान्तमै डल्फिन देखिएका थिए । नदीमा पानीको बहाव बढी भएमा डल्फिन देखिने गरेका स्थानीय बताउँछन् । ‘कैलालीका मोहना, पथरैया, काँडा, कान्द्रा नदीमा डल्फिन देखिन्छन्, जैविक विविधताको संरक्षण, जलचर संरक्षणका लागि स्थानीय सजग हुन आवश्यक छ’, स्थानीय कृष्णा चौधरी भन्छन्, ‘यहाँ मगर गोही पनि त्यत्तिकै मात्रामा पाइन्छन्, पर्यापर्यटनका हिसाबले पनि डल्फिनलगायतका जलचर संरक्षण आवश्यक छ ।’ डल्फिन हेर्नका लागि टाढा–टाढाबाट सर्वसाधारण आउने गरेका छन् । विगत लामो समयदेखि टीकापुर र भजनीका स्थानीय डल्फिन संरक्षणमा जुटेका छन् । स्थानीयकै पहलमा दर्जनौँ स्थानमा डल्फिन संरक्षण केन्द्र स्थापना गरिएका छन् । स्थानीयकै पहलमा २०५६ सालदेखि डल्फिन संरक्षण अभियान थालिएको हो । कैलालीका नदीमा ग्याँगेटिक जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको संरक्षणकर्मी बताउँछन् । यो मांसाहारी प्राणी भएकाले यसले मुख्य आहराका रूपमा माछा, घोँगीलगायत खान्छ । रासस

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित, वर्षमा १३ लाख आम्दानी

सिन्धुली । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्नुहुन्छ । यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ । व्यावसायिक कृषि कर्मले एउटा परिवारलाई स्वरोजगार मात्रै होइन, देश नै समृद्ध बन्ने बुझाइ भएका काफ्ले परिवारले आकर्षक आम्दानी पनि गरिरहेका छन् । ‘यस वर्ष थोक मूल्यमा प्रतिकिलो पाँच सयका दरले छ चरणमा २० क्विन्टल फल बेच्दा १० लाख र बिरुवा बेचेर तीन लाख रुपैयाँ आम्दानी भइसकेको छ । चार हजार बिरुवा ग्राहक पर्खिएर नर्सरीमा बसिरहेका छन्,’ युवा किसान काफ्ले भने । बितेको दुई वर्षमा आठ कट्ठाबाट उत्पादन भएको फल बेचेर १३ लाख आम्दानी भएको उनले बताए । काफ्ले परिवारको १८ कट्ठामा ड्रागन फ्रुटको खेती छ । नौ सय ३० ओटा पोलमा तीन हजार पाँच सय बिरुवा रोपिएको छन् । अहिले नौ सय बोटले फल दिइरहेका छन् । बिरुवा रोपेको पछिल्लो वर्षदेखि प्रतिबोटले वार्षिक १७ पटकसम्म उत्पादन दिने गरेको छ । उनले भने, ‘जेठदेखि कात्तिकसम्म महिनाको तीन पटकसम्म टिप्न सकिन्छ । रोपेको पहिलो वर्ष प्रतिबोट आठ किलोसम्म उत्पादन भएकोबाट बिरुवा रोपेको तेस्रो वर्षबाट प्रतिबोट ४५ किलोसम्म उत्पादन भइराखेको छ ।’ युवा किसान काफ्लेले प्रतिबिरुवा चार सय ५० मा किनेर रोपेको भए पनि उनले अहिले प्रतिबिरुवा दुई सयमा बिक्री गर्दै आएका छन् । तीन वर्षअघि आफ्नो ठाउँको वातावरणमा सुहाउँदो जातको तीन सयवटा बिरुवा रोपेका थिए । बिरुवा रोपेको पछिल्लो वर्षदेखि ड्रागन फल फल्न थाल्यो । दुई वर्षमा १३ लाख रुपैयाँ आम्दानी भएपछि काठमाडौँमा खाद्यान्न पसल गरिरहेका काफ्लेलाई गाउँमै फर्किएर खेती विस्तार गर्न प्रेरित गर्‍यो । पसल सुरु गरेको दुई महिना बित्न नपाउँदै कोरोना कहरले कारोबार ठप्प भएपछि छोडेर गाउँ फर्किएका काफ्लेलाई फेरि काठमाडौँ फर्किन मन लागेन । दुई वर्षदेखि उनी व्यावसायिक ड्रागन फल खेतीमा रमाइरहेका छन् । सुरुमा खेती लगाउन अलि खर्चिलो भए पनि बर्सेनि आम्दानी बढ्दै जाने भएकाले यो व्यवसायमा निराश हुनु नपर्ने उनको भनाइ छ । कृषि ज्ञान केन्द्र सिन्धुलीबाट दुई लाखको अनुदान लिएर दुई सय पोल थपेका उनले यसै वर्ष डेढ बिगाहमा खेती विस्तार गर्न लागेको बताए । उनकाअनुसार एक पटक रोपेको बिरुवाको आयु २५ वर्षभन्दा धेरै हुन्छ । ड्रागन फलको एक सय ५३ प्रजातिको हुन्छन् । उनले रेड सायन जातको ड्रागन खेती विस्तार गरिरहेका छन् । व्यावसायिक ड्रागन फल खेती विस्तारदेखि बजारमा पुर्याउनेसम्मका धेरैजसो काम पाँच जनाको परिवारले धानेको छ । ड्रागन फलको बिरुवा उत्पादन, माटो तयार, रोप्ने तरिकादेखि उत्पादित फल र बिरुवाको बजारीकरणका सम्बन्धमा बुझ्न तथा अवलोकनका लागि कतिपय ठाउँबाट उनको मेहनती बहुउद्देश्यीय कृषि फर्म पुग्ने गर्दछन् । युट्युब र गुगलमा अध्ययन गरेकै भरमा पहिलोपटक दुधौलीमा ड्रागनको खेती सुरु रेका युवा किसान काफ्ले यस खेतीका सम्बन्धमा तालिम नै दिन सक्ने भएका छन् । ड्रागन खेती सुरु गर्दाको पहिलो सङ्घर्ष सुनाउँदै उनले भने, ‘आफूहरुले गोरु नपालेको र ट्र्याक्टरले जोतेर खेती गर्न बाटो नभएकाले छ कट्ठा खेत बाँझै बस्थ्यो । जोत्न नपर्ने र एक पटक रोपेपछि २५ वर्षभन्दा बढी ढुक्क हुने ड्रागन खेतीका बारेमा युट्युब र गुगलमा सर्च गरेर अध्ययन गरी काभ्रेको पात्ले खेतमा भेषमान श्रेष्ठले लगाएको खेती हेरेँ र आफूले पनि सुरु गरेँ ।’ त्यसपछि अनलाइन फारम भरेर हैदरवादसम्म पुगेर दुईमहिने तालिम लिएपछि व्यावसायिक रुपमा खेती सुरु गरेको उनको भनाइ छ । वातावरणमा अनुकूलताका आधारमा ड्रागनको जात पहिचान नगरी खेती गर्नाले कतिपय किसानको व्यवसाय घाटामा गएकाले गुणस्तरीय जातको बिरुवा ठाउँको हावापानी र माटोअनुसार मिल्दो पहिचान गर्न उनको सुझाव छ । उनका अनुसार आफूले बेच्ने गरेको ड्रागनले बिरुवा रोपेको १३ महिनामा फल दिन सुरु गर्छ । उनले वार्षिक छ लाखको बिरुवा बिक्री गर्दै आएका छन् । उनको फर्ममा उत्पादन भएका फल र बिरुवा जिल्लाको स्थानीय तथा बाहिरी जिल्ला काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौँका बजारहरुमा बिक्री हुँदै आएको छ । समयको मागअनुसार आधुनिक प्रविधिलाई पछ्याउँदै व्यावसायिक कृषि गरेर बजारको अभाव पूर्ति गर्न सके आफ्नो ठाउँको माटोमै मनग्य आम्दानी र कैयौँ अवसरहरु रहेका किसान युवा काफ्लेको बुझाइ छ । सरकारी, गैरसरकारी निकाय तथा सामाजिक रुपमा पनि किसान र कृषि पेसालाई हेपाइको दृष्टिले हेरिने भएकाले युवा पुस्तामा खेती, किसानी कर्ममा आकर्षण नभएको उनले बताए । व्यावसायिक कृषिले मात्र समृद्ध नेपाल बन्ने भएकाले सरकारले देशका बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने तथा दिगो रुपमा व्यावसायिक खेती गर्न सहयोग गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने उनले सुझाव दिए । पछिल्लो समय ड्रागन फल उत्पादनमा विशेषगरी जिल्लाका पढेलेखेका युवाहरु पनि आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकृत श्रीकृष्ण अधिकारीले स्वादिष्टसँगै स्वास्थ्यवद्र्धक र बहुपयोगी फल ड्रागन जिल्लाका सबै स्थानीय तहहरुमा बिस्तारै फस्टाउँदै गएको र आवश्यक प्राविधि सहयोग प्रदान गरिँदै आएको बताए । रासस

अपडेट : त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु, १५ घाइतेको उद्धार

मलेखु । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ । गोताखोर र शसस्त्र प्रहरीद्वारा उद्दार कार्य जारी छ ।  

महालेखापरीक्षक बन्न १६ जनाको आवेदन, कसले मार्ला बाजी ?

काठमाडौं । महालेखा परीक्षकका लागि १६ जनाले आवेदन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार महालेखा परीक्षक बन्न बहालबाल सचिवदेखि सेवा निबृत्त सचिवसम्मले आवेदन दिएका छन् । कार्यालयले साउन २० गतेदेखि भदौ २ गतेसम्म १५ दिनको अबधि राखेर आवेदन खुला गरेको थियो । उक्त समयसम्म बहालबाल ३ सचिवदेखि सेवा निबृत्त सचिवगरी १६ जनाको आवेदन परेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार महालेखापरीक्षक बन्न बहालवाला सचिवहरु महेश्वर काफ्ले, वामदेव शर्मा अधिकारी र तोयम रायले आवेदन दिएका छन् । काफ्ले कार्यालयकै कार्यबाहक महालेखापरीक्षक छन् भने अधिकारी उपमहालेखापरीक्षक हुन् । अर्का सचिव राय भने हाल राष्ट्रिय तथ्यांक कार्यालयमा छन् । यस्तै, महालेखापरीक्षक बन्न पूर्व सचिवहरु शिशिरकुमार ढुंगाना, गोपीनाथ मैनाली, रामशरण पुडासैनी, हरि बस्याल, शंकर खरेल, रामप्रसाद थपलिया, राममाया कुँवर र बाबुराम गौतमले समेत आवेदन दिएका छन् । आवेदन दिएका ८ जना पूर्व सचिवमध्ये कुँवर र गौतम कार्यालयकै सेवाविवृत्त कर्मचारीहरु हुन् । महालेखापरीक्षककै लागि हाल सहसचिव पदमा कार्यरत वैकुण्ठबहादुर अधिकारी र चन्द्रकान्त भण्डारीले समेत आवेदन दिएका छन् । महालेखापरीक्षक कार्यालयबाटै सेवानिवृत्त भएका सहसचिव अशोक कार्कीले पनि आवेदन दिएका छन् । यस्तैगरी, चार्डर्ट एकाउन्टेन सुबोधकुमार कर्ण र हरि सिलवालले समेत आवेदन दिएका छन् । कसले मार्ला बाजी ? आवेदन दिएका १६ जनामध्ये सरकारले एक जनालाई महालेखापरीक्षकका रुपमा नियुक्त गर्नेछ । गत जेठ ७ गते टंकमणि शर्मा महालेखाबाट बाहिरिएसँगै खालि रहेको महालेखा परीक्षकका लागि आवेदन दिएकाहरुले शक्ति केन्द्र धाउन थालेका छन् । गत साउन दोस्रो साता बसेको संवैधानिक परिषद्को बैठकमा महालेखापरीक्षकका लागि ४ जनाको नाम सिफारिस भएको थियो । सिफारिसमध्ये नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिने ढुंगानालाई नै महालेखा परीक्षकमा नियुक्ती गर्नु पर्ने अडानमा ओली थिए । उक्त बैठकमा नियुक्तीका लागि कुरा नमिलेपछि सरकारले १५ दिनको अबधि राखेर खुला आवेदन नै माग गरेको हो । उक्त आवेदनमा यसअघि नै नाम लिएका ४ जनामध्ये ३ जनाले आवेदन नै दिएका छन् । यस्तै, चार्टर्ड एकान्टेन्ट सुवोधकुमार कर्ण पनि महालेखा परीषकको दावेदारका रुपमा देखिएका छन् । यसअघि नेपाल राष्ट्र बैंकको सञ्चालक समेत रहेका उनलाई नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव नेपालले साथ दिएको बुझिएको छ । के छ प्रक्रिया ? संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्न सक्ने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सदस्य छन् । हालको संवैधानिक परिषदमा सत्तापक्षभन्दा प्रमुखप्रतिपक्षको बहुमत धेरै छ । जसले गर्दा महालेखा निरीक्षकको नियुक्तीमा ओलीले नै सिफारिस गरेको मान्छे नियुक्ती हुने सम्भावना छ । संविधानको भाग–२२ मा महालेखा परीक्षकको नियुक्तिसम्बन्धी व्यवस्था छ । महालेखा परीक्षकको नियुक्ति पाउन मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षणसम्बन्धी काममा कम्तीमा २० वर्ष अनुभव प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । लेखा परीषक नियुक्त हुँदाका बखत कुनै पनि राजनीतिक दलको सदस्य नभएको, ४५ वर्ष उमेर पूरा भएको उच्च नैतिक चरित्रवान व्यक्ति हुनुपर्ने कानुनी व्यवस्था छ । महालेखापरीक्षकका लागि दुई सिएले पनि आवेदन दिएका छन् । त्यसमा सुबोधकुमार कर्ण र हरि सिलवाल छन् । कर्ण विवादास्पद छविका हुन् । सरकारी सम्पत्ति हिनामिनामा संलग्न रहेको निष्कर्षसहित न्यायिक समितिले उनलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

धादिङको छहरानजिकै त्रिशुलीमा बस खस्यो

काठमाडौं । काठमाडौंबाट पश्चिम जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

ह्याम्स अस्पताल र द क्लिफबीच सम्झौता, कर्मचारीहरुलाई छुट र बजारीकरणमा सहकार्य

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा एड्भेञ्चर हबको रुपमा रहेको द क्लिफ नेपाल र स्वास्थ्य सेवाको क्षेत्रमा चर्चित ह्याम्स अस्पतालबिच आफ्ना सेवासुविधामा सहयोग गर्ने सम्झौता भएको छ । ह्याम्स अस्पतालका कर्मचारी तथा सदस्यलाई क्लिफमा र क्लिफका कर्मचारी तथा सदस्यलाई ह्याम्स अस्पतालका सेवा सुविधामा छुट दिने र एकअर्काको बजारिकरण गर्ने सम्झौतामा उल्लेख छ । अस्पतालका अध्यक्ष आरएस भण्डारी र क्लिफका अध्यक्ष राजु कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार ह्याम्स अस्पतालले क्लिफका कर्मचारी तथा सदस्यलाई ओपीडी तथा आइपिडि सेवामा १० प्रतिशत छुट, फार्मेसीमा ५ प्रतिशत र हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत छुट दिनेछ । साथै ह्याम्सले द क्लिफका कर्मचारी र सदस्यहरुको लागि हेल्थ अवारनेस प्रोग्राम गर्ने बताइएको छ । यस्तै क्लिफले ह्याम्स अस्पतालका सदस्य तथा कर्मचारीलाई हरेक सेवा तथा सुविधामा १५ प्रतिशत छुट दिने छ । द क्लिफले ह्याम्स अस्पताललाई मेडिकल पार्टनरको रुपमा बजारिकरण गर्ने सम्झौता उल्लेख छ । क्लिफमा हुने हरेक कार्यक्रममा ह्याम्स अस्पताललाई हेल्थ पार्टनरको रुपमा प्रवर्द्धन गरिनेछ । द क्लिफको वेवसाइटमा समेत ह्याम्स अस्पतालको लोगो राखिने सम्झौतामा उल्लेख छ । सम्झौता पश्चात सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनमा समेत ह्याम्स र क्लिफको प्रवद्र्धन गरिने छ ।

एनएमबि बैंकले दियो धुलिखेल अस्पतालमा स्वास्थ्य उपकरणका सामाग्री

काठमाडौं । एनएमबि बैंकले  धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत श्री सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो । बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको बैंकले जनाएको छ । बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्याउनुका साथै बिरामीहरूलाई उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४३ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।