तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सह नियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै तालाबन्दी गरेको हो । अढतीस दिनदेखिको तालाबन्दीले विश्वविद्यालयका कामकाज प्रभावित भएका छन् । विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । एमाले निकट अनेरास्ववियुले सहमतिमा ताला खोले पनि अरु विद्यार्थी सङ्गठनको ताला हालसम्म खुल्न नसकेको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । ‘विद्यार्थी सङ्गठनले नियुक्ति खारेजीको माग राखेका छन्’, उनले भने, ‘विश्वविद्यालयले नियमसङ्गत गरेको नियुक्त खारेज नहुने भएपछि पटक–पटक वार्ता र संवाद हुँदा पनि निष्कर्षमा पुग्न सकिएको छैन ।’ विश्वविद्यालयमा भएको तालाबन्दी महिनाभन्दा बढी हुँदासमेत विश्वविद्यालय सञ्चालन गर्न कसैले चासो लिएको पाइँदैन । विश्वविद्यालयले गरेका हरेक निर्णयमा जहिले पनि तालाबन्दी हुने गरेको छ । यसअघि पनि विश्वविद्यालयमा नौ महिनासम्म तालाबन्दी गरिएको थियो । विद्यार्थी सङ्गठनले भने आफूहरूका माग पूरा नभएसम्म तालाबन्दी खोल्न नसक्ने बताएका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष प्रेम रावलले एक महिनासम्म तालाबन्दी हुँदासमेत विश्वविद्यालयका पदाधिकारीले कुनै चासो नदिएको बताए । ‘विश्वविद्यालयमा राजनीतिक भागवन्डा अन्त्य हुनुपर्छ’, उनले भने, ‘माग पूरा नभएसम्म ताल खुल्दैन ।’ एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले समाजशास्त्र छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएकाले तालाबन्दी गरेको बताए । ‘विश्वविद्यालयका पदाधिकारीले आफ्नो कार्यकाल सकिने बेला आर्थिकलाभ हुने गरी आङ्गिक क्याम्पसको सम्बन्धन दिएका छन्’, उनले भने, ‘विश्वविद्यालयले गरेका अवैध नियुक्ति खारेज हुनुपर्छ ।’ विश्वविद्यालयजस्तो प्राज्ञिक क्षेत्रमा राजनीतिक भागबन्डाले विशवविद्यालय धरासायी हुँदै गएको छ । विश्वविद्यालयसँग कुनै माग भए वार्ता र संवादका माध्यमबाट समाधान गर्नुको साटो लामो समयसम्म बन्द, हडताल हुनु दुःखद् भएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा टेकराज पन्त बताउँछन् । ‘राजनीतिले हाम्रा संस्थालाई दुस्प्रभावित गर्दै आएको छ’, उनले भने, ‘विश्वविद्यालयमा प्राध्यापक कर्मचारीको राजनीतिक संलग्नताले पनि विवाद हुने गरेको छ । उच्च शिक्षाको पहुँचबाट लामो समय वञ्चित रहेको सुदूरपश्चिममा स्थानीय जनताको माग र सबैको साझा प्रयासले २०६७ सालमा सुदूरपश्चिमेलीको मागबमोजिम नेपाल सरकारले यस भेगमा विश्वविद्यालयको स्थापना गर्यो । विश्वविद्यालय स्थापना हुनु खुसीको विषय भए पनि विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक र अन्य कर्मचारी नियुक्तिमा हुने राजनीतिक भागबन्डाले विश्वविद्यालयको साख खस्किँदै गएको छ । रासस
भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिमको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । आगामी तीन दिन देशका धेरै भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना मौसमविद् अधिकारीको भनाइ छ । यसैगरी आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउनसमेत महाशाखाले सबैमा आग्रह गरेको छ ।
भदौ १५ गतेदेखि सिटिजन लाइफले २४४ रुपैयाँमा आईपीओ बिक्री गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गर।ी बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ९० लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर पाएका हुन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।
विद्युत प्राधिकरणले ५० करोड रुपैयाँ र १ करोड युएस डलर मुद्दतीमा लगानी गर्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले ६ महिने मुद्दती खातामा नेपाली रुपैयाँ र अमेरिकी डलर निक्षेप राख्ने भएको हो । प्राधिकरणले वाणिज्य बैंकहरूमा ५० करोड रुपैयाँ र १ करोड युएस डलर मुद्दती निक्षेपमा राख्ने भएको हो । प्राधिकरणको विभिन्न खाताहरूमा रहेको रकम ६ महिने मुद्दती खातामा राख्ने भएकाले सिलबन्दी प्रस्ताव आह्वान गरेको हो । उक्त रकम राख्न चाहने बैंकले ३ दिनभित्र प्राधिकरणमा बोलपत्र पेश गर्न आग्रह गरेको हो । नेपाली रुपैयाँ र युएस डलरमा के कति प्रतिशत व्याजदर दिन सकिन्छ प्रस्तावमा उल्लेख गर्नुपर्नेछ ।
पर्यटनमन्त्री किरातीलाई पितृशोक
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ । मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए । मन्त्री किरातीले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै पुख्र्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।
नेपाल बैंकले ७ जना ऋणीको सुनचाँदी लिलाम गर्दै
काठमाडौं । नेपाल बैंकले धितोमा राखिएको सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सुनचाँदी बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको बालाजु औधोगिक क्षेत्र शाखाबाट देवेन्द्र घिमिरे, बुर्तिवाङ शाखाबाट सेर बहादुर थापा, कान्तिपथ शाखाबाट जेनिशा थापा, चन्द्रमान श्रेष्ठ, भिमा गुरुङ, अचुतम रिजाल, डिल्ली बजार शाखाबाट ईश्वरी सिंह थापाले कर्जा लिएर चुक्ता नगरेपछि धितोमा राखिएको सुनचाँदी लिलामी गर्ने भएको हो । पटक–पटक तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । डाँक बढाबढमा सबैभन्दा बढी मूल्य कबुल गर्नेले कबोल अङ्कको १० प्रतिशत रकम धरौटी स्वरूप जम्मा गर्नुपर्नेछ । र, कबोल भएको रकममा बैंकले लिलाम बिक्री गर्ने निर्णय गरेमा तुरुन्त बाँकी ९० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ ।
स्मार्ट टेलिकमको सम्पत्ति मूल्याङ्कन गर्न भेटिएनन् मूल्याङ्कनकर्ता
काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति मूल्याङ्कनका लागि मूल्य निर्धारण समिति गठन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले चौंथो पटक मूल्याङ्कनकर्ता मागेको छ । प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरी आफ्नो अधिनमा लिएपछि चौंथो पटक मूल्य निर्धारण समितिका लागि योग्य मूल्याङ्कनकर्ता मागेको हो । यसअघि तीन पटक सूचना प्रकाशन गरी आवेदन प्राप्त भएपनि रितपूर्वक नभएकाले पुनः चौंथो पटक सुचना प्रकाशन गरी मूल्य निर्धारण समितिको संयोजक र सदस्यका लागि आह्वान गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गत बैशाख ३ गते टेलिकमको अनुमतिपत्र खारेज गरी दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठन गर्ने प्राधिकरणले बताएको थियो । सोही बमोजिम प्राधिकरणले गत बैशाख २२ गते, जेठ ५ गते र असार ८ गते सूचना जारी गरेको थियो । तर, प्राप्त निवेदनहरु रितपूर्वक नभएकोले अस्वीकृत गरी १५ दिन भित्र सिलबन्दी आशयपत्र दर्ता गर्न पुनः आग्रह गरेको हो । मूल्य निर्धारण समितिको संयोजकका लागि मूल्याङ्कनकर्ता (भ्यालुएटर) वा चार्टर्ड एकाउन्टेन्सी र व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनु पर्नेछ । साथै, संयोजक बन्न सम्बन्धित क्षेत्रमा १५ वर्ष काम गरेको हुनु पर्नेछ । यस्तै, मूल्य निर्धारण समितिको सदस्यका लागि चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरी १० वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । यस्तै सम्पत्ति मूल्याकनकर्ता र स्नातक गरी १० वर्ष काम गरेको हुनु पर्नेछ । यस्तै, सूचना प्रविधि वा दूरसञ्चार र कानून वा व्यवस्थापनकोसम्बन्धित विषयमा स्नातक गरी सम्बन्धित क्षेत्रमा १० वर्ष काम गरेको हुनु पर्नेछ । प्राधिकरणले वि.सं. २०७० बैशाख २ गते स्मार्ट टेलिकमलाई आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्रदान गरेको थियो । लामो समयदेखि बक्यौता भुक्तानीका लागि समय दिँदा समेत लाइसेन्स नवीकरणमा चासो नदेखाएको भन्दै प्राधिकरणले स्मार्टलाई दिएको अनुमतिपत्र खारेज गरेको थियो । २१ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नभएको भन्दै प्राधिकरणले स्मार्ट टेलिकमलाई दिएको अनुमति पत्र खारेज गर्दै सम्पक्ति नियन्त्रणमा लिएको थियो । तर, लाइसेन्स खारेज गरेर अर्को व्यवस्था नहुँदासम्मका लागि सबै सम्पत्ति जपथ गरेको प्राधिकरणले ५ महिना भन्दाबढी समय भैसक्दा समेत कम्पनीको सम्पक्ति मूल्यांकन गर्ने मूल्यांकनकर्ता नै भेट्न नसकेको हो ।
एकैपटक साढे १५ लाख कित्ता सेयर बेचेर हिमालयन बैंकबाट बाहिरिँदै तीन जना संस्थापक
काठमाडौं । हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका तीन जना सेयरधनीहरुले कूल कित्ता साढे १५ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक प्रभा गोयन्का भीमसरियाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदिप कुमार बिडारीको ३५ हजार ९८० कित्ता गरी कूल १५ लाख ४० हजार ७४ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ ।