आईटीका विद्यार्थी भन्छन् : एप इन्स्टल गर्दा हत्तपत्त अलाउ नगर्नुस्, ह्याक हुन सक्छ
काठमाडौं । इस्लिङ्टन कलेजले ‘फ्युचरामा २०२३ ’ नामक दूरदर्शी तीन दिने प्राविधिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेकको छ । कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न उक्त कार्यक्रम आयोजना गरेको हो । कमलपोखरीस्थित इस्लिङ्टन कलेजमा बिहीबार सुरु भएको उक्त प्रदर्शनीमा आईएनजी समूहअन्तर्गतका इस्लिङ्टन, इटहरी इन्टरनेसनललगायत विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रकारका इन्टरनेट अफ थिङ्स (आईओटी) सँगै साइबर सुरक्षा र भिडियो एनिमेसनसम्बन्धी जानकारीमूलक विषयवस्तु अवलोकनका लागि राखिएका थिए । कार्यक्रममा एआई र रोबोटिक्स, वाकिङ पियानो, ड्रोन, र गोकार्ट जस्ता मनमोहक बुथहरू राखिएको थियो, जसले प्राविधिक विकासलाई देखाउँदछ । लाइभ डेमोमा ३० औं शताब्दीको कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र यस्तै अन्य समावेश थिए । टेक्नोलोजीमा मात्र केन्द्रित नभएको उक्त कार्यक्रमले प्रविधि र दिगो व्यापारको जटिल प्रतिच्छेदनलाई पनि सम्बोधन गरेको थियो । स्थानीय नर्सरीबाट प्राप्त बिरुवाहरू बाँडेर खेती गर्न प्रोत्साहन गरेको उक्त कार्यक्रमले सहभागीहरूलाई उद्यमशीलता र आईटीको क्षेत्रमा उनीहरूको भविष्यका उद्यमहरूको कल्पना गर्न प्रेरणा दिएको छ । आफूले चलाउने मोबाइलमा कुनै पनि एप इन्स्टल गर्ने क्रममा अधिकांश प्रयोगकर्ताले एउटै गल्ती गर्ने गर्छन् । त्यो एपले एक्सेस मागेका (पहुँच बनाउन खोजेका) सबै कुरामा भकाभक अलाउ’ थिच्ने । त्यसैमध्येका एक हुन् आर्यन राई । कालिकास्थानको एस्फोडेल पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले अबदेखि भने हतारहतार अलाउ थिच्नु गल्ती हुने बुझेका छन् । ‘हामीले अलाउ थिचेपछि ती एपले हाम्रो मोबाइलको क्यामरा, फोटो, कन्ट्याक्ट, इमेल, वालेट, क्यालेन्डर सबैमा एक्सेस बनाउँदा रहेछन्,’ आर्यन भन्छन्, ‘अथेन्टिक एपलाई मात्रै र आफूलाई दिन मन लागेको कुरामा मात्रै अलाउ गर्नुपर्ने रहेछ । जुनसुकै एपलाई मोबाइलको क्यामरा तथा फोटामा अलाउ गर्दा ह्याक गरिदिने डर हुँदोरहेछ ।’ आईटी र व्यवसायिक शिक्षामा उत्कृष्टताका लागि प्रख्यात इस्लिङटन कलेज काठमाडौंले पुनः नवप्रवर्तनप्रति आफ्नो प्रतिवद्धता प्रदर्शन गरेको छ ।
विश्वम्भरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म
काठमाडौं । न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रुपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ । सोमबार प्रधानन्यायाधीशमा नियुक्ति भएका श्रेष्ठले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएसँगै उनको औपचारिक जिम्मेवारी सुरु भएको हो । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि श्रेष्ठलाई सोमबार नै सर्वसम्मतिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । हरिकृष्ण कार्कीले उमेर हदका कारण प्रधानन्यायाधीश पदबाट गत साउन २० गते अवकाश लिएका थिए । त्यसपछि वरिष्ठतम् न्यायाधीशका हैसियतमा श्रेष्ठले न्यायापालिकाको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । संवैधानिक परिषद्को गत साउन १८ गते बसेको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो । नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुगेका हुन् । न्यायको क्षेत्रमा उनको लामो अनुभव छ । संसदीय सुनुवाइका क्रममा उनले आफूले छिटो, सहज र सुलभ न्यायका लागि मुद्दाको फछर्यौटमा योजना बनाएर अघि बढने प्रतिबद्धता व्यक्त गरेका थिए । । ‘छिटो न्याय दिने उद्देश्यले एक वर्षदेखि शुक्रबार पनि थप दुई घण्टा निःशुल्क काम गरिरहेका छौँ, यो बीचमा मुद्दा फछ्र्यौटको राम्रो छ’, उनले भने । सुनुवाइका क्रममा श्रेष्ठले समितिसमक्ष १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरेका थिए । कार्ययोजनामा न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता लगायतका अवाञ्छित गतिविधिको नियन्त्रणसम्बन्धी कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, ढिलासुस्ती तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न सुक्ष्म अनुगमनकर्ता खटाइ प्रतिवेदन लिने र कारबाही गर्ने प्रणालीको विकास गर्नेलगायतका योजना प्रस्तुत गरेका थिए । त्यस्तै, न्यायाधीश, कर्मचारी आचारसंहिताको कार्यान्वयन एवं नियुक्ति, सरुवा र बढुवालगायत वृत्ति विकासमा कार्य सम्पादनस्तर, सदाचार र सेवाग्राहीसँगको व्यवहारलाई मुख्य आधार बनाइने, न्यायाधीशको आचरण, निष्ठालगायतका अनुशासनसम्बन्धी विषयलाई न्यायाधीशको नियुक्ति, सरुवा तथा पुरस्कार दण्डसँग आबद्ध गर्दै लैजानेलगायतका कार्ययोजना पेश गरेका थिए । विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा पछिल्लो समय काठमाडौँको कुलेश्वरमा बस्दै आएका छन् । कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी विसं २०३८ चैत २७ गते न्याय सेवामा प्रवेश गरेका थिए । कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतका रुपमा अस्थायी नियुक्ति लिएका उनी विसं २०४१ पुस ११ गतेदेखि शाखा अधिकृतका रुपमा स्थायी नियुक्ति लिएका थिए । विसं २०४५ जेठ ३ गतेबाट उनले न्यायाधीशका रुपमा दार्चुला जिल्ला अदालतमा काम प्रारम्भ गरेका थिए । त्यसपछि डडलेधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौँमा जिल्ला न्यायाधीशका रुपमा काम गरेको लामो अनुभव छ । उनले तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा विसं २०६२ चैत १० गतेदेखि काम सुरु गरेका थिए । तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रुपमा उनले बागलुङ इजलासमा काम गरे । प्रधानन्यायाधीश श्रेष्ठले पुनरावेदन अदालत पाटन र पोखरामा पनि न्यायाधीशका रुपमा काम गरे । श्रेष्ठ विसं २०७० साउन ८ गते पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश भएका थिए । २०७१ भदौ १० गतेदेखि पुनरावेदन अदालत हेटौँडाको मुख्य न्यायाधीशका रुपमा काम गरे । उनले थाइल्याण्ड, दक्षिण कोरिया, पाकिस्तान, फिलिपिन्स र जापानको भ्रमण गरेका छन् । उनले सन् २००४ मा गोरखा दक्षिण बाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिण बाहु चौँथो प्राप्त गरे । विसं २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा काम गर्न थाल्नुभएका उनले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीशका रुपमा काम गरिरहेका थिए । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष छ । उनी विसं २०८१ असोज १९ पछि अनिवार्य अवकाशमा जानेछन् । प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयको नेतृत्व गरिरहँदा उनीसमक्ष मुद्दा छिटो फछर्यौट, पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन, विचौलियको अन्त्य, आम न्यायका उपभोक्तालाई न्यायालयप्रतिको विश्वास जगाउनुपर्नेलगायत चुनौती छ । रासस
कुखुराको अवैध आयात रोक्न निर्देशन
काठमाडौं । भारतसँगको खुला सीमानाको फाइदा उठाउदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ। यसबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भदौ ३ गते सरोकारवाला सरकारी र व्यवसायी निकायबीच बृहत छलफल भएको थियो । उक्त छलफल बमोजिमको निष्कर्ष कार्यान्वयनका लागि मंगलबार शाखा अधिकृत अशोककुमार आचार्यले गृह मन्त्रालय नेतृत्वको आदेशअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयका नाममा देहाय बमोजिम गर्न गराउन पाँच बुँदे निर्णय जारी गरेका हुन् । एक, खुला सीमानाकाबाट गैरकानूनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउने जनाएकाे छ । दुई, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम आवश्यक कानूनी कारवाही गर्ने भएका छन् । तीन, सीमा नाकामा गस्ती निगरानी बढाउने छन् । चार, सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला ह्याचरी र कोल्ड स्टोरहरुलाई हटाउने छन् । पाँच, भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्ने छ ।
छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीसँग शुल्क लिए महानगरले कारबाही गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ । कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी गरेको भन्ने गुनासोका सन्दर्भमा महानगरपालिकाको शिक्षा विभागले सुनुवाइ र सम्बोधन गरेको छ । विभागले भदौ १ गते पत्र पठाइ कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी (संस्थागत) विद्यालयका सञ्चालनकलाई बोलाइ कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिएमा कारबाही गर्ने जनाउ पनि दिइसकेको छ । सोसँग सम्बन्धित गुनासो सम्बोधन भएको र अझै बाँकी रहेमा महानगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले गत साउन २० गते छात्रवृत्ति परीक्षामा सम्मिलित भई म्याचिङ प्रणालीबाट अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेका विद्यार्थीलाई यही भदौ ३ गतेसम्म सम्बन्धित शिक्षण संस्थामा भर्ना गरी जानकारी गराउन पनि पत्राचार गरेको थियो ।
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो । विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मिएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौँको कुलेश्वरमा बस्दै आएका छन् । श्रेष्ठ विसं २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।
कसले किन्यो कुमारी बैंकको साढे २८ करोडको सेयर ?
काठमाडौं । मंगलबार कुमारी बैंकको २८ करोड ५९ लाख रुपैयाँ बराबरको संस्थापक (प्रमोटर) सेयर बिक्री भएको छ । एकैदिन बैंकको २५ लाख ३० हजार २६२ कित्ता प्रमोटर सेयर प्रतिकित्ता ११३ रुपैयाँमा किनबेच भएको हो । सो दिन ब्रोकर नम्बर ४ (ओपल सेक्युरिटिज), ब्रोकर नम्बर ४९ (अनलाइन सेक्युरिटज प्रा.लि), ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटज कम्पनी), ब्रोकर नम्बर ५९ (दिब्या सेक्युरिटज प्रा.लि) मार्फत बैंकको सो मात्राको प्रमोटर सेयर खरिद बिक्री भएको हो । सम्बन्धित स्रोतका अनुसार उक्त सेयर एमएस ग्रुपबीच आन्तरिक कारोबार भएको हो । उक्त सेयर एउटा संस्थापकले अर्को संस्थापकलाई बेचेको उक्त स्रोतले विकासन्युजलाई बतायो । दिनभरमा बैंकको ५ वटा कारोबारमा २५ लाख ३० हजार २६२ कित्ता संस्थापक सेयर किनबेच भएको छ । सोमध्ये पहिलो कारोबारमा ४४ हजार ९२७ कित्ता सेयरको बिक्री ४९ नम्बर ब्रोकरबाट भएको छ भने ५९ नम्बर ब्रोकरबाट खरिद भएको छ । त्यस्तै, दोश्रो कारोबारमा ब्रोकर नम्बर ५८ ले ब्रोकर नम्बर ४ बाट ६ लाख कित्ता सेयर किनेको छ । तेश्रो कारोबारमा पनि ब्रोकर नम्बर ५८ ले ब्रोकर नम्बर ४ बाटै पुनः ६ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । र, चौथो र पाँचौ कारोबारमा क्रमशः ६ लाख र ६ लाख ४५ हजार ३३५ कित्ता सेयर किनबेच भएको देखिन्छ । उक्त सेयरको बिक्री ब्रोकर नम्बर ५८ बाट भएको छ भने खरिद ब्रोकर नम्बर ४ बाट भएको देखिन्छ ।
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलको उपचारमा विशेष छुट
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलको उपचारमा विशेष छुट हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिलबीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात बैंकका डेबिट–क्रेडिट कार्ड भएका ग्राहकहरु तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने ब्यवस्था मिलाइएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुरानो र प्रतिष्ठित ॐ हस्पिटलमा बैंकका कार्डहोल्डर ग्राहकहरुले उपचारमा छुट पाउनु सकारात्मक भएको बताए । उनले दुवै सस्थाले एक अर्कामा आफ्नो सेवा सहुलित दरमा उपलब्ध गराउन सकिने सम्भावना रहेको बताए । हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनी आकस्मिक उपचार देखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको र सो सेवा राष्ट्रिय वाणिज्य बैंकसंग सहकार्यगरी अगाडि बढ्न पाउँदा खुशी लागेको कुरा बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्वागत मन्तब्य व्यक्त गरेको र कार्यक्रम डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख रिको स्थापितले सञ्चालन गरका थिए । समारोहमा हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी, बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरु आनन्द सुवेदी, अच्युत गौतम, बरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, प्रबन्धक हेमन्त जि.सी., प्रबन्धक राजेश मानन्धर, सहायक प्रबन्धक ईश्वर उप्रेतीको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
कोरोनापछि होटेल व्यवसायमा उछाल : ८ अर्ब पुँजी, एक वर्षमै डेढ अर्ब नाफा
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले थला परेको होटेलक्षेत्र अहिले भने आक्रामक रुपमा अगाडि बढेको छ । लामो समय कोरोनाको सकस भोगेको यो क्षेत्रको नाफमा गत वर्ष २०७९/८० मा भने उछाल देखिएको हो । गत वर्ष होटेल क्षेत्रको नाफा झण्डै २ सय प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को सुरुमा पर्यटन क्षेत्र सुस्ताएको हुँदा होटल व्यवसाय खस्किएको थियो । तर, वर्षको अन्त्यतिर आउँदा होटेल क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । गत वैशाख, जेठ र असारमा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा सुधार आई पर्यटकीय गतिविधि बढेकाले होटेल क्षेत्रको व्यावसाय उल्लेख्य बढेको होटेल व्यवसायीहरुले बताएका छन् । पूँजी बजारमा विभिन्न ६ वटा होटलहरु सूचीकृत छन् । जसमध्ये अधिकांश होटेलको व्यवसायमा उल्लेख्य बढेको देखिन्छ । गत असारसम्म होटेलहरुले झण्डै डेढ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार गत वर्ष होटेल कम्पनीहरुले १९२.६८ प्रतिशत नाफा बढाएर १ अर्ब ३१ करोड ७७ लाख रुपैयाँ आर्जन गरेका हुन् । जबकी अघिल्लो वर्षको सोही अवधिमा ४५ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा गरेका थिए । हालै आईपीओ जारी गरेको सिटी होटेलबाहेक अन्य सबै होटेलले नाफा गरेका छन् । गत असारसम्म सिटी होटेल २७ करोड ३६ लाख ३६ हजार रुपैयाँ नोक्सानीमा छ । सो होटेल अघिल्लो वर्ष पनि ४ करोड ४६ लाख ८२ हजार रुपैयाँ ऋणात्मक थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष झनै नोक्सानी बढेको देखिन्छ । तर, अघिल्लो वर्ष नोक्सानीमा रहेको ओरियन्टेल होटलले गत वर्ष भने १७ करोड ८४ लाख ३० हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष ओरियन्टेल होटल २ करोड ४६ लाख १ हजार रुपैयाँ नोक्सानीमा थियो । पर्यटकहरुको आवागमनमा उच्च वृद्धि भएसँग होटेलले पनि नाफा गर्न सफल भएको हो । गत वैशाख, जेठ र असार तीन महिनाको अवधिमा होटेल तथा पर्यटन क्षेत्रले ठूलो फड्को मारेको देखिन्छ । अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार आएकाले पर्यटकीय गतिविधिमा अभिवृद्धि भएकोले होटेलको व्यावसायिक गतिविधि तथा क्रियाकलापहरुमा उल्लेख्य वृद्धि भएको देखिन्छ । गत वर्ष सबैभन्दा बढी नाफा बढाउने होटेलको सूचीमा कालिन्चोक दर्शन छ । कालिन्चोक दर्शनले अघिल्लो वर्षको तुलनामा गत वर्ष २१३६ प्रतिशत खुद नाफा बढाएको छ । गत असारसम्म कालिन्चोक दर्शनले ३३ करोड १९ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष १ करोड ४८ लाख ४० हजार रुपैयाँ मात्रै गरेको थियो । यस्तै, चन्द्रागिरी हिल्सको खुद नाफा ७९६.४१ प्रतिशत बढेर १५ करोड ११ लाख ६२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा गरेको थियो । यस्तै, तारागाउँ रिजेन्सीको १ सय प्रतिशत बढेर ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ५ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो । यस्तै, सोल्टी होटेलको ८३ प्रतिशत बढेर ५४ करोड ५१ लाख ५४ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ७२ लाख ४३ हजार रुपैयाँ नाफा गरेको थियो । गत असारसम्म कूल ८ लाख ५६ हजार ३६० पर्यटक नेपाल आएको तथ्याङ्क छ । जसकारण नेपालको पर्यटन तथा होटल क्षेत्रको कारोबार फस्टाएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष होटल क्षेत्रमा ब्यापक चलायमान भएको देखिन्छ । गत वर्ष सूचीकृत ६ वटै होटलहरुको सञ्चालनमा आम्दानी ७४.४९ प्रतिशत बढेर ६ अर्ब १८ करोड ८९ लाख रुपैयाँ गरेका छन् । जबकी अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ बराबरको मात्रै आम्दानी गरेका थिए । गत वर्ष सोल्टी होटेलको सञ्चालन आम्दानी ६४.२७ प्रतिशत बढेर २ अर्ब २४ करोड रुपैयाँ, तारागाउँको ९९.७० प्रतिशत बढेर १ अर्ब ३८ करोड रुपैयाँ र ओरियण्टेलको ९१.८५ प्रतिशत बढेर १ अर्ब ९ करोड रुपैयाँ गरेका छन् । यस्तै, चन्द्रागिरीको ३६.५३ प्रतिशत बढेर ९१ करोड ३४ लाख रुपैयाँ, सिटी होटलको १५०.१२ प्रतिशत बढेर ४७ करोड ३१ लाख रुपैयाँ र कालिन्चोकको ३३.८२ प्रतिशत बढेर ७ करोड ५९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । सूचीकृत होटेल कम्पनीहरुको चुक्ता पूँजी पौने ८ अर्ब मात्रै छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ४.४६ प्रतिशत बढेर ७ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । अघिल्लो वर्ष होटल कम्पनीहरुको चुक्ता पूँजी ७ अर्ब ३७ करोड रुपैयाँ थियो । चुक्ता पूँजीका आधारमा सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको छ । गत असारसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यस्तै, सिटी होटलको ११.११ प्रतिशत बढेर १ अर्ब ६७ करोड रुपैयाँ, चन्द्रागिरी हिल्सको १ अर्ब ५३ करोड रुपैयाँ र ओरियण्टेल होटल्सको १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ । यस्तै, सोल्टी होटलको ८८ करोड ४७ लाख रुपैयाँ र कालिन्चोक दर्शनको ६० करोड रुपैयाँ पूँजी रहेको छ । प्रतिसेयर आम्दानी (ईपीएस) होटेल कम्पनीहरुको नाफा बढेसँग प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेकाे छ । गत असारसम्म अधिकांश कम्पनीको ईपीएस नाफामा छ । जसमध्ये तारागाउँ रिजेन्सीको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २०.२८ रुपैयाँ छ । यस्तै, अघिल्लो वर्ष २.१८ रुपैयाँ ऋणात्मक रहेको ओरियन्टलको गत असारसम्म १५.८२ रुपैयाँ नाफामा छ । त्यस्तै, चन्द्रागिरी हिल्सको ९.८५ रुपैयाँ, सोल्टी होटेलको ६.१६ रुपैयाँ र कालिन्चोक दर्शनको ५.९६ रुपैयाँ ईपीएस पुगेको छ । सिटी होटेलको ईपीएस भने १६.३५ रुपैयाँ नोक्सानीमा छ ।