एकैपटक साढे १५ लाख कित्ता सेयर बेचेर हिमालयन बैंकबाट बाहिरिँदै तीन जना संस्थापक
काठमाडौं । हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका तीन जना सेयरधनीहरुले कूल कित्ता साढे १५ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक प्रभा गोयन्का भीमसरियाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदिप कुमार बिडारीको ३५ हजार ९८० कित्ता गरी कूल १५ लाख ४० हजार ७४ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ ।
सिद्धार्थ क्यापिटलका दुई वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय
काठमाडौं । सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले बुक क्लोज मिति तय गरेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डको लाभांश वितरण प्रयोजनार्थ भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्ने छन् । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई करसहित ६.५ प्रतिशतका दरले ७ करोड ८० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले ७ करोड ५० लाद रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले दुईवटै फण्डको लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले भने लाभांश वितरण नगर्ने भएको हो ।
कागबेनीमा बाढीले गरेको नोक्सानीको हिसाब निकालियो, १ अर्ब क्षति हुँदा कुनमा कति ?
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पुर्याएको क्षतिको विवरण १० दिनपछि मंगलबार सार्वजनिक गरिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा सङ्कलन गरेको विवरणअनुसार बाढीले कागबेनीमा करिब १ अर्ब रुपैयाँको क्षत्ति पुर्याएकोे जनाएको छ । भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र सङ्घरसंस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए । ‘नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ हजार बराबरको क्षति भएको छ, सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत १४ वटा भौतिक पूर्वाधारतर्फ २१ करोड २ लाख रुपैयाँ बराबरको क्षति भएको छ,’ उनले भने । उक्त क्षतिमध्ये व्यक्तिका ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । २२ वटा घर पूर्ण र ५ वटा घरमा आंशिक रुपमा क्षति भएको छ । ९ वटा गोठमा पूर्ण र १५ वटा गोठमा आंशिक क्षति हुँदा २४ वटा गाई र १ वटा घोडा मरेका छन् । १९ वटा दुई पाङ्ग्रे र ३ वटा चार पाङ्ग्रे सवारीसाधन क्षति भएको छ । १९ जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको ३ करोड ९ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । १२ वटा सरकारी तथा सामुदायिक संरचनामा ४ करोड ८० लाख ६० हजार रुपैयाँ क्षति भएको गाउँपालिकाले जनाएको छ । १८ जना कृषकको ४५ रोपनीभन्दा बढी जग्गा बाढीले पुरेको छ । २ सय ७४ स्याउका बोट बाढीले नष्ट गरेको छ । साउन २८ गते साँझ ८ बजे कागखोलाको सहायक तिरिखोला थुनिएर आएको बाढी कागबेनीको बस्तीमा पसेको थियो । कागबेनीमा रहेका नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको शाखा रहेको घरमा बाढी पन्छाउने क्रममा सुरक्षाकर्मीलाई आइतबार लकरमा राखेको १ करोड ६५ लाख रुपैयाँ सुरक्षित भेटाएर सम्बन्धित बैंकलाई बुझाएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । माथिल्लो क्षेत्रका बासिन्दाले सूचना दिएपछि भागेर ज्यान बचाएका कागबेनीका बासिन्दाले ठूलो भौतिक क्षति ब्यहोर्नुपरेको छ । कागबेनीको बस्तीभित्र पसेको बाढी पन्छाउने, उपल्लो मुस्ताङ जोड्ने सडक मर्मत, खानेपानी, विद्युत् आपूर्तिलगायत काममा जनप्रतिनिधि, स्थानीयवासी र सरकारी निकाय जुटेका छन् ।
सीमा क्षेत्रमा अवैध कुखुरा आयात हुँदै, नियन्त्रण गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो । मन्त्रालयले सीमा नाकामा गस्ती निगरानी बढाउन, सीमा क्षेत्रमा अवैध तथा मापदण्ड विपरीत खोलिएका कुखुरा फार्म, बधशाला, ह्याचरी र कोल्ड स्टोरलाई हटाउन र भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय गर्न निर्देशन दिएको हो । कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहँदा आफूहरु मारमा परेका भन्दै कुखुरा उद्योगी व्यवसायीले त्यसको नियन्त्रणका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका थिए । सोमबार सरोकारवालासँगको बैठकमा उनले अवैध चोरी निकासीले समग्र अर्थतन्त्र, राजस्व र औद्योगिक वातावरण चौपट हुने भएकाले कानुन नै संशोधन गरेर भए पनि यसको प्रभावकारी नियन्त्रण गरिने बताएका र्थिए ।
लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री दाहालबाट सम्भव भएको हो : घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्भव भएको बताएका छन् । मंगलवार भरतपुर सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले मुलुकमा लोडसेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत क्षेत्रको विकासमा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको बताए । उनले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताए । उनले प्राधिकरणले उक्त परियोजना देशको समृद्धिमा ठूलो योगदान पुर्याउने गरी काम गर्ने बताए । उनले भने- ‘प्रधानमन्त्री पुष्पकमल दाहालको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास गर्न निर्देशन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागिता ऊर्जा क्षेत्रको आजको अवस्थामा आएका छौं । नेपालको विद्युतीय क्षेत्र अहिले धेरै अगाडि बढेको छ । अहिले सयौं सवस्टेशन र विद्युत उत्पादन परियोजनाहरु बनि रहेको छ । अब केही समयमा धेरै सवस्टेशनहरुको उद्घाटन गर्दैछौं । धेरै हाइड्रोपावरहरुको उद्घाटन गर्दैछौं । १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औचारिक रुपमा प्राधिकरणलाई दिने भन्नुभएको छ । यो परियोजनाले देशको समृद्धिमा ठूलो योगदान पुर्याउन मद्दत गर्नेछौं ।’ उनले नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको बताए । अहिले सयौं सबस्टेशन र विद्युत उत्पादन परियोजनाहरु बनिरहेको बताउँदै उनले अब केही समयमा धेरै सबस्टेशनहरु र हाइड्रोपावरहरु उद्घाटन हुने क्रममा रहेको जानकारी गराए ।
धमाधम संस्थापक सेयर किन्दै एशियन लाइफ, सेयरमा मात्र साढे ८ अर्ब लगानी
काठमाडौं । गत साउनमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल इन्स्योरेन्स कम्पनीको २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर किन्याे । प्रतिकित्ता ३६६ रुपैयाँका दरले आईएमई समूहसँग ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँमा उक्त सेयर एशियनले किनेको हो । यो खरिदसँगै नेपाल इन्स्योरेन्समा करिव १५ प्रतिशत सेयर हिस्सा सहित मुख्य प्रवर्द्धक एशियन लाइफ इन्स्योरेन्स बनेको छ । कुनै एक कम्पनी वा व्यक्तिले बैंक र बीमा कम्पनीमा १५ प्रतिशतभन्दा बढी सेयर किन्न नपाउने नियम छ । उक्त सीमा भित्र रहेर नेपाल इन्स्योरेन्सको सेयर खरिद गरिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले बताए । नेपाल इन्स्योरेन्समा मात्र होइन, एशियन लाइफ इन्स्योरेन्सले विभिन्न कम्पनीको प्रवद्र्धक सेयर किनिरहेको छ । ‘प्रवर्द्धक सेयरधनीलाई कानुनले विभेदपूर्ण व्यवहार गरेकाले व्यक्तिले प्रवद्र्धक सेयर बेचिरहेको पाइन्छ । हामीले कानुनी सीमा भित्र रहेर प्रवर्द्धक सेयर किनिरहेका छौं’ श्रेष्ठले विकासन्युजसँग भने । पछिल्लो समय प्रभु बैंकको प्रमोटर सेयर पनि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनिरहेको बैंकका अध्यक्ष लिलाप्रकाश सिटौलाले बताए । ‘पछिल्लो समय प्रभु बैंकको प्रमोटर सेयर किनबेच बढेको छ । बेच्नेहरुमा एउटा व्यक्ति वा समूह भन्ने छैन । किन्न चाही बढी एशियन लाइफले किनिरहेको देखिन्छ’ अध्यक्ष सिटौलाले भने । निर्जीवन बीमा कम्पनी, बैंक, होटल, जलविद्युत कम्पनीहरुको प्रर्वद्धक सेयर चरणबद्ध रुपमा कम्पनीले लिइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले बताए । कम्पनीले क्राउन इम्पेरियल होटलको ४० प्रतिशत प्रमोटर सेयर खरिद गरेको छ । त्यस्तै माउन्ट ग्लोरी फरेष्ट रिसोर्टमा ४० प्रतिशत सेयर लगानी गरेको छ । विभिन्न ६ वटा जलविद्युत कम्पनीहरुमा पनि प्रवद्र्धक भएर लगानी गरिरहेको उनले बताए । ती कम्पनीहरुले पनि छिट्टै आईपीओ जारी गर्न लागेको त्यतिबेला सबैलाई एशियन लाइफको लगानीबारे जानकारी हुने उनले बताए । नेपाल बीमा प्राधिकरणका अनुसार इन्स्योरेन्सले सेयरमा मात्रै कूल ८ अर्ब ५० करोड १० लाख रुपैयाँ लगानी गरेको देखिन्छ । कुन क्षेत्रमा कति छ लगानी ? नियमन निकाय नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका अनुसार इन्स्योरेन्सले आर्थिक वर्ष ०७९/०८० मा कूल ३५ अर्ब ७१ करोड ७१ लाख रुपैयाँ लगानी गरेकोे छ । जसमध्ये वाणिज्य बैंकको मुद्दती निक्षेपमा २२ अर्ब ५५ करोड ९३ लाख, विकास बैंकको मुद्दती निक्षेपमा १ अर्ब ७० करोड १८ लाख, वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८० करोड ६७ लाख, सूचिकृत कम्पनीको साधारण सेयरमा ७७ करोड ७७ लाख, सूचिकृत कम्पनीको बोण्ड एण्ड डिबेन्चरमा ६ अर्ब ३२ करोड ८ लाख, म्यूचुअल फण्ड तथा नागरिक लगानी कोषमा ६ करोड ६५ लाख रुपैयाँ, सरकारी ऋणपत्रमा ६२ करोड ५० लाख रुपैयाँ, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा र जलश्रोत लगायतका क्षेत्रमा १ अर्ब ४४ करोड २० लाख रुपैयाँ, अन्य प्रमोटर सेयरमा १ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ र अन्य लगानीमा ८ करोड १२ लाख ८० रुपैयाँ लगानी इन्स्योरेन्सले गरेको छ । कुन क्षेत्रमा कति लगानी गर्न पाइन्छ ? बीमा कम्पनीको लगानी निर्देशिका अनुसार जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले विभिन्न ११ वटा क्षेत्रमा लगानी गर्न पाउने छन् । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले आफ्नो कूल लगानीको न्यूनतम ५ देखि अधिकतम ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेप र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा आफ्नो लगानीको बढीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । तर, कुनै पनि संस्थाको सेयर, बन्ड, ऋणपत्रमा लगानी गर्दा कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन । त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कूल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यो सीमाअनुसार लगानी गर्न नसक्ने अवस्था आएमा वाणिज्य बैंक वा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र विनियम बजारमा सूचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कूल लगानीको बढीमा २० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने छ । तर उक्त कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी भने लगानी गर्न पाइने छैन । त्यस्तै, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, सूचीकृत कम्पनीको साधारण सेयर, घरजग्गा, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा १० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यीमध्ये घरजग्गामा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक मूल्यांकन गर्नुपर्ने छ । त्यसैगरी, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, नागरिक लगानी कोष तथा म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइने व्यवस्था छ ।
सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान नजाने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टीमसँग पाकिस्तान नजाने बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै क्यानले लामिछाने टीमसँग पाकिस्तान नजाने बताएको हो । आगामी भदौ १३ गतेदेखि पाकिस्तानमा हुँदै गरेको एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ । मुद्दाका कारण लामिछाने सो टीमसँग मंगलबार नजाने टीमका व्यवस्थापक प्रदीप मजगयाले सम्मेलन मार्फत जानकारी गराए ।
सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टलमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पुल्चोक, ललितपुर स्थित ओरो प्लस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ३३ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।