विकासन्युज

काठमाडौं महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिए । उनले यो औषधि जैविक भएको र यो औषधिले लामखुट्टे तथा त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानि नगर्ने बताए । औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत उनले भने, ‘यो औषधि जैविक हो, यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानि गर्दैन, यो विषादी होइन, औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ, यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ, यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ, यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ, औषधिले डेङ्गुसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नियाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।’ डेङ्ग रोगका बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट चौबिसै घण्टा सञ्चालन गरिएको तथा अस्पताल जानु परे १०२ नंमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको र स्वास्थ्य केन्द्रहरुमा डेङ्गु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको प्रमुख शाहले जानकारी गराए ।

समाजको महारोग बन्दैछ भ्रष्टाचार

काठमाडौं । नेपालमा भ्रष्टाचार सामाजिक महारोगका रुपमा देखिएको छ । भ्रष्टाचारले समाजमा गहिरो रूपमा जरा गाडेको छ । यसले सामाजिक मान्यता पाएको आभाष हुनु निकै पीडादायी छ । यथार्थमा मुलुकमा सुशासन प्रवद्धन गर्न मुख्य अवरोधका रुपमा भ्रष्टाचार रहेको छ । यसका कारण भ्रष्टाचार नियन्त्रण गरी सुशासन, सदाचार र विधिको शासन कायम गर्न जारी भएका कानुनहरु कागजको खोस्टोसरह महसुस हुन थालेका छन् । भ्रष्टाचारका कारण राज्यको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनैतिक क्षेत्रमा गहिरो ढङ्गले नकारात्मक असर परिरहेको छ । समाज बिस्तारै आफ्नो मूल्य र मान्यताबाट स्खलित हुँदै गएको भान बढ्न थालेको छ । विशेषगरी, सार्वजनिक र निजी क्षेत्रमा भ्रष्टाचारले बलियो जरा गाडेर बसेको छ । यसमा गैरसरकारी संस्था पनि जोडिएलान् भन्ने भय छ । भ्रष्टाचार नैतिक मान्यता र मूल्य विपरीत त छँदैछ, यसले इमान्दारिता र विश्वासलाई निस्तेज तुल्याउँदै, पद, अधिकार र शक्तिको दुरुपयोगलाई मलजल गर्छ । यसले मुलुकमा स्थापित सङ्घीय शासन प्रणाली, गणतन्त्र र लोकतन्त्र उपर नै प्रत्यक्ष र परोक्षरुपमा औँला उठाउने स्थानमा पुर्याउन खोजिरहेको छ । यसर्थ यसको समूल नष्ट गर्ने हिम्मत गर्नुको विकल्प छैन । नेपालले संयुक्त राष्ट्र सङ्घको सक्रिय सदस्य राष्ट्रको नाताले १४ डिसेम्बर सन् २००५ देखि लागू भएको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिलाई २३ फेब्रुअरी सन् २०११ मा अनुमोदन गरी सो महासन्धिको पक्ष राष्ट्र बनेको छ । यसअनुसार नेपाल सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनासमेत निर्माण गरी कार्यान्वयनमा ल्याएको धेरै भयो । यसको कार्यान्वयको समीक्षा गरी नयाँ कार्ययोजना पुनःलेखन गर्नुपर्ने अवस्था आएको छ । यदि हामी भ्रष्टाचार नियन्त्रणमा कठोर हुन सकेनौँ भने भावी पुस्ताले ठूलो सजाय भोग्नेछन् । भ्रष्टाचार नियन्त्रणका लागि अदालत, संवैधानिक आयोग, नियामक निकाय र सरकारी कार्यालयहरु क्रियाशील छन् । यी निकायहरु भ्रष्टाचार नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक, प्रवद्धनात्मक र सङ्गठनात्मक क्षमता विकासमा लागिपरेका छन् । प्रत्यक्ष र परोक्षरुपमा यो विषयलाई स्कुल र कलेजको पाठ्यक्रममा समेट्न थालिएको छ । यो विषय विश्वव्यापी बहसमा छ । यसकै कारण सरकारहरु ढल्ने र नयाँ सरकार गठन हुने गरेका छन् । सदाचारिताबाटै कैयौैँ पदाधिकारीले उचाइ लिएका छन् भनै कैयौँ प्रख्याति कमाएका मानिसहरु पनि भ्रष्ट्राचारमा संलग्न भएको कारण धुलो झैँ बढारिएका छन् । तथापि, आम मानिसमा भ्रष्टाचार विरोधी ऊर्जा पैदा भइरहेको छैन । अवसर नपाउन्जेल प्रायः धैरै मानिस सदाचारी देखिने र मौका आएपछि साख गुमाउनेको सङ्ख्या अत्यधिक देखिइनु समाजको विकृत रुप बनेको छ । नेपालको भ्रष्टाचारसम्बन्धी कानुनले सार्वजनिक पदमा बसेर रिसवत् लिने दिने, बिना मूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिने, दानदातव्य, उपहार वा चन्दा लिने, कमिसन लिने, राजस्व चुहावट गर्ने तथा गैरकानुनी लाभ वा हानि पु¥याउने बदनियतले काम गर्ने पदाधिकारीलाई भ्रष्टाचारमा कारबाही चलाउने व्यवस्था गरेको छ । यसैगरी गलत लिखत तयार गर्ने, गलत अनुवाद गर्ने, सरकारी कागजात सच्याउने तथा सरकारी, सार्वजनिक संस्थानको कागजात नोक्सान गर्नेलाई पनि भ्रष्टाचारमा संलग्न ठहर गर्दछ । यस अतिरिक्त, प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने, परीक्षाको परिणाम फेरबदर गर्ने, गैरकानुनी व्यवसाय गर्ने, नपाएको ओहदा पाए भन्ने, झुट्टटृा विवरण दिने, सार्वजनिक सम्पत्तीको हानी नोक्सानी गर्ने, गैरकानूनी दबाब दिने, गलत प्रतिवेदन दिने, गैरकानूनीरुपमा सम्पत्ति आर्जन गर्ने, भ्रष्ट्राचारको उद्योग गर्ने र भ्रष्टाचारमा मतियार हुनेलाई पनि भ्रष्टाचारमा कारबाही हुने प्रबन्ध गरेको छ । तर, यी हर्कत निजी क्षेत्र वा गैरसरकारी क्षेत्र वा नागरिक तहबाट भएमा भ्रष्टाचार नठहरिने उदेकलाग्दो कानुन विद्यमान छ । भ्रष्टाचारलाई निस्तेज गर्न सक्ने औजार सुशासन नै हो । सुशासनका तीन आयामहरु छन् । पहिलो, सुशासनलाई राजनीतिक परिवेशमा नियाल्दा अत्यधिक जनसहभागिता, निष्पक्ष निर्वाचन र बहुलतावाद नै प्रमुख तत्वका रुपमा देखा पर्दछन् । दोस्रो, सुशासनको व्यवस्थापकीय आयामभित्र छरितो तर सक्षम सरकारको भावना मुखरित भएको हुन्छ । तेस्रो, सुशासनको नैतिक आयामभित्र पारदर्शिता र स्वच्छ प्रशासनको भावना लुकेको हुन्छ । यसलाई आत्मसात् गरी कार्यान्वयनमा खरो उत्रिन सके पनि भ्रष्टाचार अन्त्य गर्न सकिने थियो । मुलुकमा सुशासन ऐन विद्यमान छ । यस ऐनका प्रमुख प्रावधानहरुमा कुनै पनि काम गर्दा निश्चित कार्यविधि अवलम्बन गर्ने, निश्चित समयमा निर्णय गर्ने, निर्णयको पारदर्शिता कायम गर्ने, निर्णयको आधार र कारण खुलाउने तथा स्वार्थ बाझिएको विषयमा निर्णय नगर्ने व्यवस्था छ । यसैगरी सार्वजनिक पदमा रहेकाले जिम्मेवारी नपन्छाउने, पदीय आचरण पालना गर्ने, पदीय उत्तरदायित्व निर्वाह गर्ने, क्षतिपूर्तिसहितको नागरिक बडापत्र राख्ने र घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था छ । यस अतिरिक्त, सार्वजनिक सुनुवाइ गर्नु गर्ने, गुनासो व्यवस्थापन गर्ने लगायतको प्रबन्ध गरेको छ । यी कानुनी प्रावधानको हुबहु कार्यान्वयन गर्न सुशासन आयोग निर्माण गर्न जरुरी महसुस भएको छ । भ्रष्टाचार न्यूनीकरण गर्नकै खातिर मुलुकमा सूचनाको हकसम्बन्धी ऐन पनि जारी भएको छ । यस ऐनका प्रमुख प्रावधानहरुमा प्रत्येक कार्यालयले आफूले सम्पादन गरेका कामहरु तीन/तीन महिनामा सार्वजनिक गर्ने, सूचना अधिकारी तोक्ने, नागरिकले माग गरेको सूचना कानुनको तोकिएको अवधिभित्र उपलब्ध गराउने र सूचना प्रवाहमा दक्षता अभिवृद्धि गर्न कर्मचारीलाई नियमितरुपमा तालिम कार्यक्रमको आयोजना गर्ने व्यवस्था छ । यसैगरी, सूचना प्रवाहका लागि आमसञ्चार माध्यमको प्रयोग गर्ने, नागरिकलाई अनुकूल हुने भाषामा सूचना प्रवाह गर्ने र सूचनाको हकमार्फत नागरिकले अनुभूति गरेका कुनै पनि विषयमा सोध्ने, जान्ने र सेवा प्राप्त गर्ने हकको प्रचलनमा आम नागरिकलाई अभ्यस्त तुल्याउने कानुनको मनसाय भए पनि सार्वजनिक पदाधिकारीहरु नै यस कानुनको खिलापमा उभिइनु हाकाहाकी भ्रष्ट्राचारको पक्षमा वकालत गर्नुसरह हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रत्येक वर्ष ‘करप्सन परसेप्सन इन्डिकेटर’ जारी गर्ने गरेको छ । यसमा नेपालले सयमा गतवर्ष ३४ अङ्क हासिल गरी विश्वमा भ्रष्टाचार नहुने मुलुकको पङ्क्तिमा एक सय १०औँ स्थान हासिल गरेको छ । यो परिणाम स्वयंमा भयावह छ । तर यसप्रति कम चासो दिइएको छ । यस संस्थाले मूलतः १० वटा सूचकाङ्कका आधारमा भ्रष्टाचारको स्तर मापन गर्छ । यसअनुसार पहिलो, सरकारको उत्तरदायित्व हो अर्थात् सरकार जनताप्रति कति उत्तरदायी ढङ्गले प्रस्तुत हुन्छ भन्ने हो । दोस्रो, सरकारी कर्मचारीको जवाफदेहिताको स्थिति कस्तो छ ? तेस्रो, सार्वजनिक क्षेत्रमा विद्यमान भ्रष्टाचारको म्यापिङ भयो भएन ? भनी हेरिन्छ । चौथो, भ्रष्टाचारको मात्रा कुन हदमा छ भनेर जाँचिन्छ । पाँचौँ भ्रष्टाचार विरोधी कारबाही कुन हदमा भइरहेको छ र उपलब्धि अपेक्षित छ छैन ? भनी विश्लेषण हुन्छ । छैटौँ, सरकारी कारबाहीको प्रवृत्ति र नियन्त्रणकारी क्षमताको मापन गरिन्छ । सातौँ, प्रशासनिक भ्रष्टाचारको स्थितिमाथि दृष्टि राखिन्छ । आठौँ, सार्वजनिक पदको दुरुपयोगको स्थिति जाँच्ने काम हुन्छ । नवौँ, सेवा प्रवाहमा अनिमियतताको स्थिति मूल्याङ्कन गरिन्छ । दशौँ, अदालतको निर्णयमा पर्ने गरेको प्रभावबारे विश्लेषण हुन्छ । यति कुरामा सुधार गर्ने गरी कार्ययोजना निर्माण गरी वारपार हुने गरी काम गरिएमा भ्रष्टाचारको मात्रा ह्वात्तै तल ओर्लिने पक्का छ । यस्का लागि इच्छा शक्ति र काम गर्ने ढङ्गको जरुरत छ । नेपालमा दुई प्रकारका भ्रष्टाचार भइरहेका छन् । पहिलो पोलिसी करप्सन (नीतिगत भ्रष्टाचार) हो । यसलाई अधिकारको दुरुपयोग गरी गरिने भ्रष्टाचारका रुपमा बुझिन्छ । यसमा आफूलाई लाभ पुग्ने र राष्ट्रलाई नोक्सानी पु¥याइन्छ । विभिन्न नीतिद्वारा अमूक उद्योग र व्यापारको प्रवद्र्धनका नाममा छुट सुविधा घोषणा गरिन्छ । आफ्नालाई लाभ पुग्ने ध्येयले ऋण प्रवाह गर्ने, ब्याज माफी गर्ने लगायतको हर्कत गरिन्छ । अधिकार प्राप्त अधिकारीले स्वविवेकी अधिकारको दुरुपयोग गर्छन् । राष्ट्रको ढुकुटीबाट व्यक्तिलाई लाभ पुग्ने गरी राहत, अनुदान, सहायता दिन्छन् । दोस्रो, पेटी करप्सन प्रत्यक्ष आर्थिक भ्रष्टाचार हो । यसमा आर्थिक अनिमियतता गरिन्छ । सरकारी खरिदको बिलमा रकम वृद्धि गर्ने, खरिदमा मुलाहिजा गर्ने, कम गुणस्तरको सामान खरिद गर्ने, खरिदको सङ्ख्यामै कमी गर्ने लगायतका निकृष्ट कार्य गरिन्छ । मिलेमतोमा ठेक्का लगाइन्छ । सेवाग्राही जनतासँग रिसवत् लेनदेन गरी गैरकानूनी काम गरिन्छ । नागरिकबीच विभेद पुर्याइन्छ । हुने काम नहुने र नहुने काम हुने बनाइन्छ । यस्तो कार्य जन्मदेखि मृत्यपर्यन्तको क्रियाकलापमा हुन्छ । यसले मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल हुन्छ । सार्वजनिक पदाधिकारीप्रति आम जनताको आक्रोश बढ्छ । मुलुकको समृद्धिको यात्रालाई अघि बढ्न दिँदैन । यसर्थ, हामी सबैले आ–आफ्नो स्थानबाट भ्रष्टाचारको विपक्षमा मन, वचन र कर्मले खरो उत्रिनुको विकल्प छैन । (लेखक नेपाल सरकारका पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त हुन्) रासस

विश्वविद्यालयको पुस्तकालयमा अध्ययन गर्दा विद्यार्थीले वर्षको ११ सय तिर्नुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क लिने भएपछि विद्यार्थी आक्रोशित भएका छन् । विद्यार्थीहरुले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ती जनाएका छन् । केन्द्रिय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको छ । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६०० रुपैयाँ र परिचयपत्र शुल्क १०० गरी ७०० रुपैयाँ, एक वर्ष सदस्यता बन्न १ हजार रुपैयाँ र परिचयपत्र शुल्क १०० गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रिय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ । विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको बताए । लामिछानेले पुस्तकालयमा स्वतःस्फुर्त रुपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हीतमा नभएको बताए । विद्यार्थी अध्ययनकै लागि पुस्तकालय जाने गरेको भन्दै कतै काम नगर्ने विद्यार्थी पनि रहेको भन्दै उनीहरुलाई शुल्क तोक्दा अफ्ठ्यारो भएको बताए । उनले पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४ सै घण्टा सञ्चालन गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने बताए । यस्तै अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गरे । उनले पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रुपमा विपन्न विद्यार्थी मर्कामा परेको बताए । रिजालले कतिपय विद्यार्थीहरु कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाहरुबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताए । उनले आफू पनि त्रिविमा अध्ययनरत विद्यार्थी भएको भन्दै पुस्तकालयले शुल्क लिँदा नरमाईलो लागेको बताए । उनले पुस्तकालयमा अध्ययनका क्रममा विद्यार्थीहरुबीच द्वन्द्व, विवादहरु नियमन गर्न शुल्क तोकेपनि आर्थिक रुपमा विपन्न भएका विद्यार्थीका लागि पुस्तकालयले निर्णय सच्याउनुपर्ने बताए । यता, त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताए । उनले झोला राखेर विद्यार्थीहरु बाहिर जाने र केन्द्रिय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको बताए । केन्द्रिय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताए । उनले विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको जानकारी दिए । उनले विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरुलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाइएको बताए ।

दुई हप्ताभित्रै आँखा पाक्ने रोगको सङ्क्रमण कम हुन्छ : वरिष्ठ आँखा रोग विशेषज्ञ

काठमाडौं । यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस समस्याका कारण कतिपय स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् । मानिसको संवेदनशील अङ्ग मानिने आँखामा लाग्ने यस रोग डरलाग्दो नभए पनि हप्ता दिनसम्म आँखा हेर्न कठिनाइ गर्ने हुँदा मानिसको दिनचर्यामा असर हुने गरेको छ । छिट्टै एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले पनि यस रोगको सङ्क्रमणबाट धेरै जना प्रभावित बनेका छन् । अहिले आँखा पाक्ने रोग अधिकांशमा भाइरल इन्फेक्सनका रुपमा देखिएको चिकित्सकले बताएका छन् । उनीहरुका अनुसार सामान्यतया रुघाखोकी जस्तै यो रोग दुई साताभित्र आफैँ निको हुने वरिष्ठ आँखा रोग विशेषज्ञ डा सुमनशम्शेर थापा बताउँछन् । चौबिस वर्षदेखि जलविन्दु तथा मोतिविन्दुको  विशेषज्ञका रुपमा काम गर्दै आएका डा थापा २३ वर्षसम्म तिलगङ्गा आँखा अस्पतालमा कार्यरत छन् भने अहिले राजधानीको थापाथलीस्थित एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रमा रही सेवा गरिरहेका छन् । प्रस्तुत छ, हाल देशभर सङ्क्रमणका रुपमा फैलिएको आँखा पाक्ने रोगका कारण, यसबाट बच्न अपनाउनुपर्ने सावधानीदेखि उपचारका बारेमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा थापासँग गरेको कुराकानीको सारसंक्षेप : केही समयदेखि देशभर आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ, यसको कारण के होला ? आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलिन्छ । बर्सातको मौसममा यो समस्या बढी देखिन्छ । अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै अस्पतालहरुमा पुगेका छन् । काठमाडौँलगायत धेरै भागमा आँखा पाक्ने रोग यो झरीको मौसमसँगै व्यापक रुपमा देखिएको छ । एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग हुने गर्दछ । यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्दछ । यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्किटभाइटिस भनिन्छ भने आम भाषामा आँखा पाकेको भनिन्छ । यो एउटा आँखाबाट अर्कोमा वा एक मानिसबाट धेरै जनामा तीव्र गतिमा फैलिन्छ । यो भाइरसको कारणले बिरामीको सम्पर्कमा आएको एक दुई दिनभित्रै अत्याधिक छिटो सङ्क्रमण हुने रोग हो । यस रोगका लक्षणहरु के के हुन त ? आँखा पाक्दा बिरामीहरूमध्ये केहीको आँखा रातो हुन्छ । निरन्तर आँसु बग्छ र कचेरा जम्छ । कतिपयलाई भने आँखै खोल्न गाह्रो हुन्छ वा उज्यालोमा हेर्न सकस पर्न सक्छ । आँखा बिझाउँछ । रोगका भाइरस आँखामा सङ्क्रमित भएपछि बिस्तारै आँखा रातो हुँदै जान्छ । आँखाको डिल सुन्निन थाल्छ । बिहान उठ्दा चिप्रा पर्छ । आँखा झिम्काउँदासमेत अप्ठेरो हुन्छ र आँसु धेरै बग्छ । एउटामात्र आँखामा देखिएको समस्या अर्को आँखामा सर्छ । आँखा गोलभेँडाजस्तो रातो हुने, आँसु आउने, चिप्रा आउने, परेला सुन्निने, आँखामा बालुवा पसेजस्तो बिझाउने हुनसक्छ । यस भाइरसको कारण कतिपयलाई टाउको र घाँटी दुख्ने, ज्वरो आउने र कसैकसैलाई कानको अगाडिको भाग सुनिनेजस्ता समस्या पनि आउन सक्छ । यस रोगले आँखालगायत शरीरको अन्य भागमा पनि असर पुर्याउँछ कि ? आँखा पाक्ने रोग हेर्दा जति डरलाग्दो देखिए पनि आत्तिनु पर्दैन । यद्यपि यसको असर कसैकसैलाई दुई हप्तासम्म पनि रहनसक्छ । भाइरस कन्जङ्किटभाइटिसमात्र भयो भने यसले दीर्घकालीन असर पार्दैन तर भाइरसको सङ्क्रमण क्षमता उच्च छ तर सङ्क्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने त्यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीमात्र नभएर नानीलाई पनि असर गर्न सक्छ । ‘कर्निया’मा पनि असर गर्ने भएकाले त्यसले फुलो पार्न सक्छ । फुलो पर्नु भनेको मानिसको दृष्टि कमजोर हुनु हो । सङ्क्रमण निको भएपश्चात् प्रायः आँखामा नराम्रो असर नरहने भए पनि कसैकसैको आँखाको नानीमा केही मात्रामा असर रही दृष्टिमा न्यून असर पर्न सक्छ । यतिबेला आत्तिएर होइन, सजग रह्यौँ भने यस रोगबाट चाँडै नै मुक्ति पाउन सकिन्छ । रोग लागिसकेपछि कसरी छिटोभन्दा छिटो निको पार्न सकिन्छ ? सङ्क्रमित व्यक्ति भीडभाडमा नजाने, विद्यार्थी भए केही दिन स्कुल वा कलेज नजाने, चिकित्सकको सल्लाहबमोजिम औषधि हाल्ने, कालो चस्मा लगाउने जस्ता विधिहरु अपनाउनु पर्छ । सङ्क्रमितले आँखाको सरसफाइमा ध्यान दिनुपर्छ । दिनमा दुई÷तीन पटक सफा पानीले आँखा सफा गर्नुपर्छ । नरम खालको कपडा प्रयोग गर्नुपर्छ । सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनु पर्छ । बिरामीले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाललगायत सामग्रीहरू अरूले प्रयोग नगर्ने वा गर्नै परे राम्ररी साबुनपानीले धोएर मात्र प्रयोग गर्नुपर्छ । यस रोगबाट कसरी बच्न सकिन्छ त ? धेरैलाई आँखा पाकेको बिरामीलाई देख्दा आफूलाई पनि सर्यो भन्ने भ्रम छ, त्यो होइन । बिरामीको आँखा हेरेर सर्दैन । हावा वा आमनेसामने बस्दैमा सर्ने रोग यो होइन । तर सङ्क्रमितको आँखाबाट निस्कने आँसु वा चिप्राले सङ्क्रमण सार्छ । औषधि हालिदिने सहयोगीले राम्रोसँग साबुनपानीले हात धुनु पर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको स्थितिमा यसले चाँडो सङ्क्रमण गर्नसक्ने भएकाले पोसिलो खाना खानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ । यो रोगको ध्यान दिनुपर्ने मुख्य कार्यमा बिरामीले आँखा नछुने, बिरामीलाई औषधि हाल्न वा अन्य कामले छोएमा राम्रोसँग हात धुने, चिकित्सकको निगरानीमा मात्र औषधिहरु प्रयोग गर्ने र अरूलाई यो रोग सर्न नदिन सजग हुने कार्य गर्नुपर्दछ । बिरामीलाई अलग्गै बस्ने, सुत्ने गर्नुपर्छ । घरबाहिर निस्कनु परेमा कालो चस्मा प्रयोग गर्न सकिन्छ । सङ्क्रमितको वरपर बस्ने मानिसहरू पनि उत्तिकै सजग भएर सतर्कता अपनाउनु पर्छ । विद्यालयका बालबालिकामा छिटो सर्ने हुँदा अभिभावक र शिक्षक सचेत हुनुपर्छ । विद्यालय नै बन्द गर्नुभन्दा बिरामीलाई दुई/चार दिन विद्यालय नआउन भन्ने वा अलग्गै राख्न सकिन्छ तर ठूलो सङ्ख्यामा बिरामी बढेमा बन्द गराउनु पनि पर्नसक्छ । यतिबेला देशका कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने समाचारहरु पनि आएका छन् नि ? हो मैले पनि कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने गुनासो गरेको सुनेको छु । यो एकदमै नराम्रो कुरा हो । यसरी देशभरि नै सङ्क्रमणको रुपमा फैलिएको यस रोगबाट छिटोभन्दा छिटो मुक्ति पाउनका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बेलामा नाफाका लागि औषधि लुकाउने काम भएको छ भने त्यो निकै ठूलो अपराध हो । कसैले त्यस्तो गलत काम गरेको छ भने त्यस्ता मानवताविरोधी काम नगर्नुहोला । र राज्यले पनि यसमा निगरानी बढाएर गलत कार्य गर्नेलाई कारबाही गर्ने र साँच्ची नै औषधिको अभाव भएको ठाउँमा तत्काल औषधि पठाएर बिरामीलाई आश्वस्त तुल्याउनुपर्छ । अझै कति दिनसम्म यस रोगको सङ्क्रमण रहिरहन्छ ? यो मौसमसँग सम्बन्धित रोग हो । ह्युमडिटी कम भएपछि विस्तारै कम हुँदै जान्छ । सामान्यतः अझै दुई सातासम्म यसको सङ्क्रमण रहनसक्छ । यस रोगमा अस्पताल नै जानुपर्ने हो कि घरमै पनि उपचार गर्न सकिन्छ ?  आँखा पाकेको लक्षण देख्नेबित्तिकै अघि भनेअनुसार सावधानी अपनाउँदै आँखाको उचित हेरविचार गर्नुपर्छ । चिसोले सेक्नु र आँखा धेरै रातो भएको खण्डमा साधारण खालको एन्टिबायोटिक थोपा लगाएर घरमै उपचार गर्न पनि सकिन्छ । आत्तिएर अस्पताल दौडिहाल्नुपर्ने वा अनेक औषधि प्रयोग गरिहाल्नु पर्दैन । तीनदेखि चार दिनपछि र अधिकतम पाँच दिनसम्म समस्या कम भएन भने अस्पताल जानु पर्छ । उज्यालोमा हेर्नै गाह्रो भयो भने तत्काल चिकित्सकको परामर्शअनुरूप अन्य जटिलता पहिचान गर्न परीक्षण गराउनु पर्छ । आफूखुसी औषधि प्रयोग गर्नु भने हुँदैन, चिकित्सकको रायअनुसार औषधोपचार गराउनु पर्छ । नेपालमा आँखा रोगको समस्या कस्तो पाउनुहुन्छ ? नेपालमा आँखासम्बन्धी रोग एउटा क्रोनिक रुपमा र अर्को नसर्ने खालको पाइन्छ । उमेर बढ्दै जाँदा जलविन्दु र मोतिविन्दुको समस्या देखिन थाल्छ । मोतिविन्दुको समस्या त धेरै कम भएको छ ।  मधुमेह, रक्तचापका बिरामीमा पनि आँखाको समस्या धेरै छ । पछिल्लो समय जीवनशैलीका कारण कम उमेरमै यी समस्या बढ्न थालेको छ । आँखा रोग विशेषज्ञ र उपचार सेवाको अवस्था कस्तो छ नि ? नेपालमा औसत जनसङ्ख्याको अनुपातमा आँखा रोग विशेषज्ञको सङ्ख्या निकै न्यून छ । हाल करिब तीन सयको सङ्ख्यामा विशेषज्ञ छन्, जबकि एक हजारभन्दा बढी हुन आवश्यक छ । विशेषज्ञसहितका आँखा अस्पतालहरु पनि राजधानी बाहिर निकै कम छ । अस्पतालहरुमा रहेका प्राथमिक आँखा उपचार केन्द्रहरुको स्तरोन्नति गर्न सकिएमा र कम्तीमा महिनामा एकपटक विशेषज्ञहरुमार्फत केन्द्रमा नै शल्यक्रिया गर्न सकिएमा धेरै बिरामीले राहत पाउने थिए । यसतर्फ राज्यले ध्यान दिनु जरुरी छ । रासस

नारायणगढ–मुग्लिन सडक अपराह्न ३ बजेसम्म खुल्ने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो । सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो । अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलले भने, ‘थप समस्या नभएमा अपराह्न ३ बजेसम्ममा पहिरो पन्छाउन सकिन्छ ।’ पाँच/सात मिनेटको फरकमा ढुङ्गा खसिरहेकाले पूर्णरुपमा काम गर्न नसकिएको उनको भनाइ छ । पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान छ । करिब ६०–७० मिटर माथिबाट पहिरो झरेको हो । सोमबारदेखि नै सवारी साधनहरु रोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । रासस

एफएनसीसीआईका पूर्ववरिष्ठ उपाध्यक्ष राजकर्णिकारको परिवार नै कालोसूचीमा, घर जग्गा सबै लिलाममा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको परिवार नै कालोसूचीमा परेको छ । कर्जा सूचना केन्द्रले उनको परिवारका विभिन्न सदस्यलाई कालोसूचीमा राखेको हो । राजकर्णिकारले जग्गा खरिद गरेर खातामा मौज्दात नभएको चेक काटेर दिएका थिए । उनले पछि सोही जग्गा नबिल बैंकमा धितो राखेर ऋण लिएको पनि बुझिएको छ । उनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (तत्कालीन मेगा) को चेक अनादर गरेपछि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको बुझिएको छ । उनीसँगै उनको छोरा समृद्धि राजकर्णिकार र प्रदिता राजकर्णिकार पनि कोलोसूचीमा परेका छन् । उनीहरुले पनि फुड प्रोजेक्ट नामक कम्पनीको नाममा लिएको ऋण नतिरेपछि कालोसूचीमा परेको बुझिएको छ । यस्तै, कर्जा नतिरेको भन्दै सहकारीले पनि उनको सम्पत्ति लिलाम गर्न खोज्दैछ । ललितपुरमा रहेको लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले भाष्करराज राजकर्णिकार र उनको छोरीको नाममा रहेको सम्पत्ति लिलामी गर्ने सूचना सार्वजनिक गरिसकेको छ । भाष्कर र समृद्धि राजकर्णिकारले लिएको कर्जा समयमा नै नतिरेको भन्दै सहकारीले दुवै जनाको सम्पत्ति लिलाम बिक्री गर्न ३५ दिने सूचना निकालेको छ । राजकर्णिकारले एभिन्यूज नेटवर्क्स प्रालिको नाममा लिएको कर्जा नतिरेपछि सम्पत्ति लिलाममा राख्ने जनाएको छ । यस्तै, सहकारीले भाष्कर राज राजकर्णिकारको नाममा रहेको भरतपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ३०५८ मा रहेको १० कठ्ठा, भतरपुर नगरपालिका- २३ मा रहेको कित्ता नम्बर १३२ र ७४० को १ बिघा, ११ कठ्ठा र २ बिघा जग्गा लिलामी गर्ने जनाएको छ भने समृद्धि राजकर्णिकारको नाममा मालपोत कार्यालय चाबहिलमा दर्ता रहेको बुढानीलकण्ठ नगरपालिका–३ मा रहेको कित्ता नम्बर ३२२ मा रहेको २ रोपनीमा रहेको घर जग्गा लिलामी गर्ने भएको हो ।

सीआईबीले बुझायो बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए । सिआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो भने सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो । बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय हाल विशेष अदालतमा विचाराधीन छ । सिआईबीले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।

बंगलादेशसँग विद्युत व्यापारको सम्झौता यसै वर्षभित्र हुने

फाइल फाेटाे चितवन । सरकारले बंगलादेशसँग विद्युत व्यापार सम्झौताको तयारी गरेको छ । विद्युत व्यापार सम्झौताको तयारी गरेको सरकारले चालू आर्थिक वर्षभित्रै औपचारिक रुपमा घोषणा गर्ने जनाएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत् व्यापार सम्झौताको तयारी भएको भन्दै छिट्टै घोषणा हुने बताए । ‘औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ, सम्झौतापछि कार्यान्वयनमा जान्छ’, उनले भने । उनले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुन लागेको समेत दाबी गरे । ‘हामी पूर्णरुपमा आत्मनिर्भर बन्दैछौँ, यससँगै सबै समस्याको समाधान हुन्छ’, उनले भने । वर्षामा विद्युत बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थितिको छिट्टै समाधान हुने भन्दै उनले उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम भैरहेको बताए । ५० प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पु¥याएको भन्दै उनले हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी समेत गरे । ‘अबको सुख्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जान्छन, सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ’, उनले भने । उनले सर्वसुलभ रुपमा विद्युत व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ सरकार अघि बढेको बताए ।