सर्वदलिय बैठकमा सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको दोस्रो दिनको सर्वदलिय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले बताए । उनले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनउने कुरामा सत्ता पक्षले सहमति जनाएको र भोलिसम्म आफ्नो आजकै प्रतिवद्धता अडिए संसद सुचारु हुने बताए । उनले उच्चस्तरीय समिति कस्तो बनाउने भन्नेमा सुवास नेम्वाङ, हीतराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको बताए । उनी भन्छन्, ‘हामीले सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनाउने कुरा राख्यौँ । त्यसमा केही ड्राफ्ट गर्नुपर्ने भएको हुनाले, सुवास नेम्वाङ माननीय, हीतराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार पारेर भोलि बिहान ११ बजेसम्म तयार पारेर त्यसको फाइनल रुप दिने र भोलि २ बजे शिर्ष नेताको बैठक बस्ने सहमति भएको छ । मंगलबारसम्म सहमतिमा पुग्छ । मंगलबारसम्म सरकारले अहिले हामी तयार छौँ भनेको कुरा उभियो भने प्रतिवद्ध रह्यो भने खुल्छ ।’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछानेले उच्चस्तरीय समिति बनाउने सहमति जुटेको र सहमति ड्राफ्ट गर्ने चरणमा पुगेको बताए । लामिछाने भन्छन्, ‘सहमति ड्राफ्ट गर्ने चरणमा पुग्यो, सहमति भयो । नेताहलाई जिम्मा दिएको छ । मंगलबार संसद खुल्नेमा विश्वस्त छु ।’ सत्तारुढ दल नेपाली काँग्रेसमा प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको र सबै विकल्पका बारेमा छलफल भएको बताए । उनी भन्छन्, ‘छलफल भएको छ, सकारात्मक छ । सबैकुरा आएका छन् । सबै विकल्पमा सम्भावनामा छलफल भएको छ । मंगलबार बसेर टुंगोमा लैजान्छौ ।’ बैठक मंगलबार पुनः सर्वदलीय बैठक ११ बजे बस्ने र शिर्ष नेताहरुको बैठक २ बजे बस्ने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेटेर अध्यक्ष शाहले मागे शिक्षा र स्वास्थ्यका लागि बजेट
बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्ड कर्णाली प्रदेश स्थापना तथा शहिद दिवसको कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा नेपालगंजमा अध्यक्ष शाह सहितको टोलीसँग भेट भएको थियो । भेटका क्रममा अध्यक्ष शाहले नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि र विकास निमार्णका लागि बजेट बिनियोजन गर्न माग गरेका थिए । अध्यक्ष शाहका प्रेस विज्ञ आलम खानका अनुसार भेट सकारात्मक भएको र प्रधानमन्त्री प्रचण्डले नरैनापुरको विकासका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने अध्यक्ष शाह संग प्रतिबद्धता गरेकाे बताए । भेटमा अध्यक्ष शाहले प्रधानमन्त्री संग नरैनापुरको इलाका प्रशासन कार्यालय संचालनका लागि पहल गरी दिन समेत आग्रह गर्नु भएको थियो । प्रधानमन्त्री प्रचण्डलाई भेटन अध्यक्ष शाह संगै नरैनापुर ४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, अध्यक्षका स्वकीय सचिव विरजेन्द्र यादव, लेखापाल प्रकाश अधिकारी लगायत रहनु भएको अध्यक्षको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड काठमाडौ जाने क्रममा सुर्खेतबाट नेपालगंज पुगे पछि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एंव प्रतिनिधि सभा सदस्य पूर्ण सुबेदी, केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, बाँकेका संयोजक नरेन्द्र पाण्डे लगायतले स्वागत गरेका थिए । यसैगरी प्रधानमन्त्री प्रचण्डले नेपालगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई भेटेर बधाई ज्ञापन गरेका थिए ।
बागलुङमा चार पाङ्ग्रेको लाइसेन्स परीक्षा पुनः सञ्चालन हुँदै
म्याग्दी । म्याग्दीलगायत साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ । नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुनसकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले यसै महिनादेखि चारपाङ्ग्रे सवारीसाधनको ‘लाइसेन्स’ परीक्षा सुरु गर्ने ट्रायल सेन्टर छनोट भइसकेको जानकारी दिए । ‘ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारीसाधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियौँ’, उनले भने, ‘प्रतिस्पर्धामार्फत छनोट भएको धवलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङलाई सम्झौताका लागि बोलाएका छौँ ।’ कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा लिन लागेको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ । ‘कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गर्न लागिएको हो’, प्रमुख थापाले भने, ‘लामो समयसम्म चारपाङ्ग्रेको ट्रायल रोकिँदा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही लाइसेन्सका लागि बाहिर जानुपर्ने बाध्यता अब हट्छ ।’ गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धवलागिरि क्षेत्र लाभान्वित हुने बताए। ‘बागलुङमा चारपाङ्ग्रेको ट्रायल सञ्चालन गर्न मन्त्रालयले चासो र पहल लिएको छ’, उनले भने, ‘बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्कीलगायतका कार्यालयमा सेवाग्राहीको चाप पनि घट्छ ।’ लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुनसकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् । सवारी चालक अनुमतिपत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए । रासस
टेलिकम क्षेत्रको कारोबार २१ अर्बले घट्याे, तीन अर्ब लगानीको टेरामोक्स डुब्दै
काठमाडौँ । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन् । कम्पनीहरूको कार्यान्वयनमा रुचि नदेखाएपछि रु तीन अर्बभन्दा बढी खर्चेर ल्याइएको उक्त प्रविधि हाल कार्यान्वयनमा आउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार एनसेलका तीनवटा डाटा सेन्टरमा उक्त प्रविधि जडान भए पनि कार्यान्वयनमा आएको छैन भने नेपाल टेलिकमले उक्त प्रविधि जडानमा रुचि देखाएको छैन । नेपालका टेलिकम सेवाप्रदायक कम्पनीले उपभोक्तालाई दिने सेवाको गुणस्तर सुधार तथा उपभोक्ताको हितका लागि कार्यान्वयनमा ल्याउन लागिएको उक्त प्रविधिबारे गलत ढङ्गले प्रचार–प्रसार गरिएको उनको भनाइ छ । टेरामोक्स प्रविधि उपभोक्ताको एसएमएस र कल डिटेललगायतका अति गोप्य सूचना सङ्कलन गर्ने उद्देश्यले ल्याउन लागिएको भन्दै प्रचार–प्रसार गरिएकामा दूरसञ्चार प्राधिकरणको गुनासो छ । अध्यक्ष खनालले व्यक्तिगत एसएमएस तथा सूचना सङ्कलनको उद्देश्य नभई गुणस्तर सुधारका लागि उक्त प्रविधि ल्याइएको बताए । “सम्बन्धित कम्पनीले हामीलाई दिएको प्रमाणपत्रमा स्पष्टसँग के गर्ने भन्ने उल्लेख छ, त्यो सेवाप्रदायक कम्पनीहरूले पनि हेर्न सक्नुहुन्छ”, उनले भने, “हामीले आवश्यक विशेषता (कस्टमाइज्ड डिजाइन) मात्रै राखेर कानुनसम्मत खरिद गरेका हौँ ।” उनले हाल आवश्यक एसएमएस र कल डिटेल जिल्ला अदालतको आदेशमा सम्बन्धित निकायले सेवाप्रदायकसँगको सहकार्यमा हेर्न मिल्ने भन्दै उक्त विषय प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारे । उनका अनुसार यदि कल डिटेललगायतका सबै विशेषतासहितको प्रविधि ल्याएको भए खर्च दोब्बर हुने थियो । यस विषयमा टेरामोक्स प्रविधिको विशेषता तथा कामबारे प्राधिकरणले श्वेतपत्र पनि जारी गरिसकेको छ । “प्राधिकरणले टेलिकम कम्पनीहरूले दिने सेवा प्रवाह गुणस्तरको छ वा छैन ? उपभोक्तासँग नियमानुसार शुल्क लिएको छ वा छैन ? लगायतका विषयमा अनुगमन गर्ने उद्देश्यले उक्त प्रविधि ल्याइएको हो”, उनले भने, “तर सेवाप्रदायकले भने विभिन्न बाहनामा आनाकानी गरेको अवस्था छ ।” उनका अनुसार उक्त प्रविधि जडान तथा सञ्चालनका लागि हुने खर्च पनि प्राधिकरण आफैँले व्यहोर्ने छ । “प्राधिकरणले सम्बन्धित कम्पनीलाई लाइसेन्स दिँदा जुन काम गर्नका लागि भनेर अनुमति दिइएको थियो सोहीअनुसार सेवाको पहुँच, गुणस्तर र शुल्क लिइएको छ वा छैन भन्ने हेर्छौँ मात्रै भनिएको हो, सेवाप्रदायकलाई उपभोक्ता र राज्यप्रति थप जिम्मेवार बनाउने उद्देश्य हो ।” प्राधिकरणका अनुसार टेरामोक्स प्रविधिले गुणस्तर जाँच गर्नुका साथै ग्राहकलाई क्षतिपूर्ति दिलाउनका लागि सिफारिससमेत गर्ने प्राधिकरणको भनाइ छ । यदि कुनै सेवाप्रदायकले ग्राहकसँग अतिरिक्त शुल्क लिइरहेको छ भने त्यस्ता सेवाप्रदायकलाई थप जिम्मेवार बनाउँदै ग्राहकलाई क्षतिपूर्तिको समेत व्यवस्थाका लागि यो प्रविधि सहयोगी बन्ने प्राधिकरणको भनाइ छ । साथै यो प्रविधिले घट्दो टेलिकम कारोबार तथा कल वाइपासबारे पनि अनुगमन गर्नेछ । प्राधिकरणका अनुसार पछिल्लो समय टेलिकम कम्पनीमा ग्राहकको सङ्ख्या बढ्दो भए पनि आम्दानी भने घट्दो अवस्थामा रहेको बताएको छ । टेलिकम क्षेत्रको कारोबार २१ अर्बले घट्याे प्राधिकरणको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७८/७९ मा टेलिकम क्षेत्रको कारोबार रु २१ अर्बले घटेको छ । आव २०७४/७५ मा रु ९८ अर्ब ६८ करोडको कारोबार भएकामा आव २०७८/७९ मा आइपुग्दा कारोबार रकम रु ७७ अर्ब पाँच करोडमा सीमित भएको छ । त्यसैगरी आव २०७५/७६ मा एक करोड ४५ लाख ग्राहक रहेकामा आव २०७८/७९ मा आपुग्दा यो सङ्ख्या बढेर दुई करोड ७१ लाख पुगेको छ । “ग्राहकको सङ्ख्यासँगै डाटाको प्रयोग बढ्दै जाने तर आम्दानी कसरी कम भइरहेको छ भन्नेबारे टेरामोक्स प्रविधिले अध्ययन गर्नेछ”, उनले भने, “यदि कुनै समस्या भए वा कल बाइपास हुँदा कारोबारमा कमी आएको भए यसले निगरानी तथा अनुगमन गर्नेछ ।” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अनुसार कल बाइपासबाट मात्रै २०६८ देखि २०७६ सालसम्म रु १२ अर्बभन्दा बढी राज्यको आम्दानी गुमेको छ । “सिआइबीको पहुँच बाहिरको राजस्वको कुनै हिसाब–किताब हुनसकेको छैन । अतः यस्तो अवस्थामा वास्तविकता पत्ता लगाउन यो प्रणाली जडान र अतिआवश्यक देखिन्छ”, प्राधिकरणले जारी गरेको श्वेतपत्रमा उल्लेख छ । अध्यक्ष खनालका अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको वार्षिक आय, घटिरहेको, कम्पनीको नेटवर्कको विस्तार र ग्राहक सङ्ख्या विस्तार हुँदा पनि आम्दानी घट्ने क्रम जारी रहेको, पटक–पटक कम्पनीहरूको सेवा अवरुद्ध हुने गरेको तथा सेवाको गुणस्तरका सम्बन्धमा विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेको भन्दै प्राधिकरणले टेरामोक्स प्रविधिको कार्यान्वयनमा जोड दिएको हो । खनालले टेलिकम सेवा प्रदायकले दिने सेवा ‘कार्पेट कभरेज’ हुनुपर्ने बताउनुभयो । कार्पेट कभरेज अर्थात् कुनै कोठामा कार्पेट लगाउँदा सबै क्षेत्र समानरूपले समेटिएजस्तै टेलिकमको सेवा पनि गुणस्तरीय र समान हुनुपर्ने बताए । हाल कुन सेवाप्रदायकको नेटवर्कमा कति सङ्ख्यामा कल आए र त्यसवापतको पैसा कहाँ र कति आयो भन्ने पनि टेरामोक्सले हेर्छ । हाल टेलिकम सेवाप्रदायकबीच ग्राहकको गोपनीयता कायम गर्नका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गरेका हुन्छन् । तर प्राधिकरणले टेरामोक्स प्रविधिमार्फत त्यसको स्रोत खोज्ने उनको भनाइ छ । उनले यो प्रविधि कार्यान्वयनमा आए सेवा पुगेका सबै क्षेत्रमा गुणस्तरीयता सुनिश्चित हुनेमा विश्वास व्यक्त गरे । “यो प्रविधिले कुन क्षेत्रमा कस्तो सेवा प्रवाह भइरहेको छ भन्ने ‘भोल्युम’मा अध्ययन गर्छ, साथै सोहीअनुसार हामीले त्यस्ता सेवा प्रदायकलाई गुणस्तर सुधारका लागि भन्न सक्छौँ”, अध्यक्ष खनालले भने । उनका अनुसार अहिले राजधानी काठमाडौँका कतिपय स्थानमा टेलिकम सेवाप्रदायकको गुणस्तरको समान उपलब्धता नभएको गुनासो प्राधिकरणमा आउने गरेको छ । प्राधिकणले श्वेतपत्रमा भनेको छ, “टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुको यथार्थ चित्रण गर्नुका साथै कल वाइपासबाट राज्यलाई अर्बौँको क्षति भइरहेकामा सो पत्ता लगाई यसको न्यूनीकरण गर्नका लागि टेरामोक्स प्रविधि आवश्यक भएको हो ।” दूरदराजका ग्राहकले गुणस्तरीय सेवा नपाउने, हप्तौँसम्म सेवा प्रदायकले बिग्रिएका सेवा सञ्चालन नगर्ने, बेला–बेलामा टेलिकमको बिलिङमा समस्या आउनुलगायतका समस्या पत्ता लगाउन पनि यो प्रविधि आवश्यक भएको प्राधिकरणको दाबी छ । रासस
नेशनल हाईड्रोले साढे १३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्दै
काठमाडौं । नेशनल हाईड्रो पावर कम्पनीले भदौ १३ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १३ लाख ३६ हजार ७४२.७१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत असार १९ गतेदेखि साउन १८ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको १३ लाख ३६ हजार ७४२.७१ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले भदौ २४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
१०.५२ प्रतिशत लाभांश बाँड्ने ज्योतिको घोषणा
काठमाडौं । ज्योति क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत अर्थात् २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न भदौ ३१ गते बिहान ९ बजे ज्योति विकास बैंकको केन्द्रिय कार्यालयको सभाहलमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, क्यापिटलको सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८०÷८१ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ । साथै, क्यािपटलको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुकोतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरुको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा बढाउने प्रस्ताव गरेको छ । यस्तै, क्यापिटलको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव गरेको छ ।
कुमारी बैंकले १ सय रुपैयाँमै सेयर बिक्री गर्दै
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर भदौ ५ गतेदेखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०१ रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो वा सो मूल्यभन्दा बढी कबोल गरी पेश गर्नुपर्नेछ । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
प्याजमा कर बढाएपछि कालो बजारी, केजीमै २० रुपैयाँ बढाए
काठमाडौं । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो २० रुपैयाँसम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ । भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमबार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको छ । भारतले भन्सार बढाएको बहानामा व्यापारीले पहिल्यै आयात गरिसकेको प्याजमासमेत मूल्य बढाएर कालोबजारी गरेपछि अनुगमन गरिएको र केही व्यापारीलाई कारबाहीसमेत भएको उहाँले राससलाई जानकारी दिए । “प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउने वित्तिकै विभागले सोमबार दिनभरि तीन वटा टोली परिचालन गरेर बजार मूल्य अनुगमन गरेको छ । तीन वटा व्यापारीलाई जनही २० हजार रुपैयाँ, २ वटा व्यापारीलाई जनही ५० हजार रुपैयाँका दरले कारबाही गरिएको छ भने ४ वटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको छ,” महानिर्देशक ठाकुरले भने । काटीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० रुपैयाँसम्म बढेर ८० रुपैयाँ पुगेको थियो । तर विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेको उनको भनाइ छ । वाणिज्य विभागले गर्ने नियमित अनुगमन सोमबार प्याजको मूल्य वृद्धिमा केन्द्रित भएर गरिएको थियो । उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा ५ वटालाई तत्काल कारबाही, ४ वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन र बाँकीलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । फरक मूल्य राखेर भ्याटबिल बनाएको तथा आयातकर्ता व्यापारीले अरु खुद्रा व्यापारीलाई कति रकममा बिक्री गरेका छन् भन्नेबारे विभागले विस्तृ अध्ययन गरिरहेको पनि महानिर्देशक ठाकुरले जानकारी दिए । भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । भारतको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको भारतीय वित्त मन्त्रालयले जनाएको छ । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ । यसअघि भारतले बासमतीबाहेकका चामल निर्यातमा बन्देज लगाएपछि चामलमा पनि कालोबजारी बढेको थियो । वाणिज्य विभागको अनुगमन पछि केही हदसम्म मूल्य वृद्धि नियन्त्रण भएको महानिर्देशक ठाकुरको भनाइ छ ।