विकासन्युज

ऊर्जा मन्त्रालय मातहतका गौरवका आयोजना बने शिथिल, वन र कामदार मुख्य कारण

काठमाडौं । कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ सुरु गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित सन्तोषजनक देखिएको छैन । मन्त्रालय मातहतका सात वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति औसत रहेको पाइएको छ । ती आयोजनालाई गति दिन सरकारले अधिकतम प्रयास गरे पनि अधिकांश आयोजनामा वन क्षेत्रको जग्गा प्रयोग, निर्माण सामग्रीको अभाव तथा दक्ष कामदारको अभाव देखिएको छ । यस्तै, केही आयोजनामा स्रोतको अभावसमेत देखिएको छ । कूल सात वटा राष्ट्रिय गौरवका आयोजनामध्ये छ वटा आयोजना सिँचाइसँग सम्बन्धित छन् । जलविद्युततर्फको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन मात्रै भएको छ । सो आयोजनाको निर्माण ढाँचाबारेमा उच्च सरकारीस्तरमा छलफल भइरहेको भए पनि हालसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीघ्र सो आयोजनाको निर्माण ढाँचा टुङ्गो लगाएर शिलान्याश गर्ने बताएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि त्यसका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसबाहेक अन्य आयोजनाको अवस्था पनि उस्तै छ । कतिपय आयोजना निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएको छ भने कतिपयमा स्थानीय अवरोध तथा जटिलता देखिएको छ । सिञ्चाई आयोजनामा पनि छैन अपेक्षित प्रगति कूल ४२ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनामा जग्गा अधिग्रहणमा नै समस्या देखिएको छ । नहर अतिक्रमण पनि उत्तिकै बढेको छ । डुडुवा नहरलाई ढलको रुपमा प्रयोग गरिँदा समस्या उत्पन्न भएको छ । राष्ट्रिय निकुञ्जभित्र काम गर्दा निर्माण सामग्रीको ढुवानी र वन्यजन्तुको समस्या छ । घुलनशील माटो र जनशक्ति एवम् स्रोत तथा साधनको अभावका कारण आयोजनाले गति लिनसकेको छैन । आर्थिक वर्ष २०६१/६२ देखि सुरु भएको सो आयोजनाको हालसम्म भौतिक प्रगति ३९ दशमलव ७६ प्रतिशत मात्रै छ । वित्तीय प्रगति ३८ दशमलब ९६ प्रतिशत बराबर भएको छ । यस्तै कूल ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको महाकाली सिँचइ आयोजनाको हालसम्म भौतिक प्रगति मात्रै १९ दशमलब २९ प्रतिशत बराबर छ । वित्तीय प्रगति मात्रै १८ दशमलब ८४ प्रतिशत बराबर छ । आव २०७७/७८ देखि सुरु भएको सो आयोजना आव २०८७/८८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो आयोजनामा नहर रेखाङ्कनमा परेका जग्गा प्राप्तिमा समस्या परेको छ । निकुञ्ज वन क्षेत्र, सामुदायिाक वन क्षेत्र र भोगचलनमा रहेका एलानी जग्गा प्राप्ति गर्न समस्या देखिएको छ । नदीजन्य सामग्रीको अनियन्त्रित रुपमा उत्खनन् गर्दा नहर संरचनामा असर परेको छ । ठेक्का व्यवस्थापन भए अनुरुप बजेट व्यवस्थापन हुन नसक्दा आयोजनाले गति लिनसकेको छैन । कूल ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको बबई सिँचाइ आयोजनाको भौतिक प्रगति ७० प्रतिशत बराबर छ । यस्तै, वित्तीय प्रगति ६६ दशमलव ८७ प्रतिशत पुगेको छ । आव २०४५/४६ देखि सुरु भएको सो परियोजनामा नहर सञ्चालन तथा मर्मत सम्भार गर्ने काममा तादम्यता मिल्न सकेको छैन । जग्गा प्राप्तिमा सामाजिक र प्रक्रियागत कठिनाइ उत्पन्न भएको छ । राष्ट्रिय निकुञ्जभित्र मानव, उपकरण सामग्री ढुवानी र आवागमनमा अवरोधात्मक बन्देज लगाइएको छ । बबई नदीमा पानीको स्रोतको कमी भएको छ भने मुआब्जा दर निर्धारणमा कठिनाइ उत्पन्न भएको छ । कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको हालसम्मको भौतिक प्रगति ६६ दशमलब ९७ प्रतिशत पुगेका छ । आव २०६७/६८ देखि सुरु भएको सो आयोजना चालु आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण सम्पन्न हुने अवस्था छैन । यद्यपि, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो आयोजना चालु आवमा नै सम्पन्न गर्न अधिकतम स्रोत तथा साधनको परिचालन गर्ने बताएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले चालु आवमा नै आयोजना सम्पन्न गरी कैलाली जिल्लामा सिँचाइ सुविधा पु¥याउन सम्वद्ध आयोजना र सिँचाइ विभागलाई निर्देशन दिएका छन् । सो आयोजनामा मूल नहरमा स्थानीय व्यक्तिको ‘राइट अफ वे’मा पर्ने जग्गा अतिक्रमण गरी विभिन्न संरचना निर्माण गरिएकाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको छ । यस्तै, आयोजनाबाट उत्पादन हुने चार मेगावाट क्षमताको जलविद्युत्को समेत व्यवस्थापन गर्नुपर्नेछ । विद्युत् उत्पादनबाट प्राप्त हुने राजस्व बाँडफाँट र विद्युत् गृह सञ्चालन, मर्मत सम्भारको कार्यविधि स्वकिृत हुन बाँकी छ । नदी पथान्तरण आयोजनाको रुपमा रहेको भेरी बबई डाइभर्सन आयोजनाले कूल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । सो आयोजनाबाट ४६ दशमलव आठ मेगावाट बराबर विद्युत् उत्पादन हुनेछ । सो आयोजनाको हालसम्म भौतिक प्रगति ६२ प्रतिशत बराबर छ । सो आयोजनाको सुरुङ निर्माण दुई वर्ष पहिल्यै सम्पन्न भए पनि विद्युत् गृह र बाँधस्थल निर्माणले गति लिनसकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण आयोजनाले अपेक्षित गति लिनसकेको छैन । आयोजनाले ठूला यन्त्र, उपकरणको प्रयोगका लागि आयात निर्यातमा प्रक्रियागत जटिलता देखिएको छ । वन तथा निकुञ्जभित्र काम गर्दा निर्माण सामग्रीको ढुवानी एवम् आपूर्तिमा समस्या रहेको छ । स्थानीयवासीको विभिन्न माग सम्बोधन गर्नुपर्ने चुनौती पनि उत्तिकै रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोशी मरिण डाइभर्सनमा भने अपेक्षित प्रगति भइरहेको छ । बाँधस्थलको निर्माण र विद्युत् गृह निर्माणलाई पनि समानान्तर रुपमा अगाडि बढाउनुपर्ने चुनौती थपिएको छ । यद्यपि आयोजनामा न्यून बजेटको विनियोजन भएको छ । परामर्शदाता नियुक्तिमा भएको ढिलाइ पनि आयोजनामा केही जटिलता पैदा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले सिँचाइ विभागका सम्वद्ध अधिकारीलाई राष्ट्रिय गौरवका आयोजनामा कुनै पनि ढिलाइ नगर्न, निर्माण व्यवसायीलाई कार्ययोजनाका साथ परिचालन गर्न निर्देशन दिएको छ । यसबाट आयोजनामा गति बढ्ने विश्वास लिइएको छ । रासस

सुधार गृहबाट भागेका १७० जना बालबालिका प्रहरी नियन्त्रणमा, ५१ जनाको खोजी हुँदै

  काठमाडौं । भक्तपुरको सानो थिमिमा रहेको सुधार गृहबाट भागेका १७० जना बालबालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुधार गृहबाट भागेकामध्ये अझै ५१ जना फरार रहेको बताइएको छ । सुधार गृहमा प्रदर्शनपछि तोडफोड गर्दै उनीहरु भागेका थिए । सुधार गृहमा २९७ जना बालबालिका रहेको प्रहरीले बताएको छ । केही बालबालिका भने नभागी सुधार गृहमै बसेका थिए । प्रहरीले फरारमा रहेका केही बालबालिकाको खोजी गरिरहेको बताएको छ । सुधारगृहमा रहेका एक बालकको आइतबार मृत्यु भएको थियो । त्यसपछि सुधारगृहमा रहेका बालबालिकाहरुले प्रदर्शन गरेका थिए ।

जुम्ला पुग्यो एनसेलको फोरजी

काठमाडौं । एनसेलले जुम्लामा फोरजी सेवा पुर्याएको छ । एनसेलले जुम्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनसेलले जिल्ला सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पहिले नै भी–स्याट प्रविधिबाट आधारभूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो । एनसेलले चन्दननाथ नगरपालि, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा फोरजी विस्तार गरेपछि फोरजी सेवाको पहुँच अर्थात कभरेज पनि कुल जनसंख्याको ९१.३९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा देशैभर स्थापना गरिएका नयाँ टावरहरुले फोरजी सेवामा पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको पुर्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले भने, ‘हाम्रो ध्यान कनेक्टिभिटी र प्रविधिले ल्याउने अवसरहरूसँग उपभोक्ताहरूलाई जोड्न प्रभावकारी दूरसञ्चार सञ्जाल निर्माणमा केन्द्रित छ । सरकारको डिजिटल नेपाल भिजनमा पनि योगदान गर्दै विकट जिल्ला जुम्लाका जनताका लागि फोरजी सेवा उपलब्ध गराउन पाएकोमा हामी खुसी छौं ।’ आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको बताएको छ । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । फोरजी प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्छन् । ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामा पहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४,००० भन्दा बढि फोरजी टावरहरु संचालनमा रहेको कम्पनीले बताएको छ । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपाल फ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ ।

इसेवा मनि ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबिच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । रेमिट्यान्स् भुक्तानी सम्झौता पत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले इन्जाज पेमेन्टको १५० शाखाहरु, पिओएस, किअस्कस्, वा मोबाईल एप र वेबसाईटबाट नेपालमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सकिने भएको कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्जाज पेमेन्टबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरु तथा इसेवाका एक लाख भन्दा बढी क्यास पोइन्ट र ७५ लाख भन्दा बढि प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्ने इसेवाले बताएको छ । रेमिट्यान्स् भुक्तानी सम्झौता कार्यक्रममा बोल्दै एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘इन्जाज जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं । इन्जाजका भौतिक र डिजिटल च्यानलहरूको व्यापक लाभ उठाउँदै साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान पाउँदा निकै हर्षित छौं ।’ यसैगरी, कार्यक्रममा इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत, खालिद अल जैनले भने, ‘इ–सेवा मनि ट्रान्स्फर नेपालको एक उत्कृष्ट रेमिटेन्स कम्पनी मात्र नभई एफवान सफ्ट ग्रुपको एक भगिनी संस्था पनि हो, जसले नवीनतम् फिनटेक सेवाहरु मार्फत नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई संस्थागत गरेको छ । हामी साउदी अरेबियामा रहेका नेपालीहरुलाई रेमिट्यान्स सेवा उपलब्ध गराउन इसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौं ।’ इन्जाजको मुख्य कार्यालय रियादमा आयोजित विशेष समारोहमा एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाको पनि उपस्थिति रहेको थियो ।

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले साउन ३१ गते थप गरेको म्याद सकिएपछि पुनः म्याद थप मागेको थियो । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्ग्गा हिनामिना प्रकरणमा मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमानकुमारी कार्की, बाबुराजा महर्जन, देवनारायण महर्जन, ध्रुबप्रसाद अर्याल, योगराज पौडेल, नारायणदास मिश्र, रुद्र प्रसाद श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ, कलाधर देउजा, सञ्जय महर्जन र सकलानन्द महर्जन हिरासतमा छन् ।

बरामद सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत

काठमाडौं । तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्षण गर्दा पूर्ण शुद्ध रहेको पाइएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए। उहाँले उक्त सुन ९९ दशमलव ९ प्रतिशत नै शुद्ध रहेको भनेर विभागलाई जानकारी गराइएको रासससँग बताए । ‘९९ दशमलव ९ प्रतिशत हुनु भनेको सुन पूर्ण शुद्ध हो’, उनले भने । टक्सार विभागले सुनको परीक्षण प्रतिवेदन राष्ट्र बैंक, राजस्व अनुसन्धान विभागलगायत सरोकारवाला निकायमा पठाइसकेको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले सुन पूर्ण शुद्ध रहेको जानकारी आएको बताए । प्राप्त जानकारीमा उक्त सुन २४ क्यारेटकै रहेको जनाइएको छ । बरामद गरिएको सुन गत साउन ३० गते गालेर बिस्कुट बनाइ जोख्दा ६० किलो सात सय १६ ग्राम भएको थियो । त्यसको अघिल्लो दिन साउन २९ गते ब्रेक शुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल थियो । गालेपछि सुनको मात्रा ७३ ग्राम घटेको थियो । राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । अहिले सुन तस्करीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाले हटायाे दर्ता नभएका टिकट बुकिङ काउण्टर

फाइल तस्बिर काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौंको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गत साउन २६ गते सूचना जारी गरी जथाभावी रुपमा सञ्चालित काउन्टर हटाउने निर्णय गरिएको जनाउँदै दर्ता नभएका काउण्टर भदौ १ देखि हटाउन सुरु गरिएको राससलाई जानकारी दिए । उनका अनुसार हालसम्म कोटेश्वरमा ४१, गौशालामा २७, चावहिलमा २१ र गोँगबु क्षेत्रमा ११ काउण्टर हटाइएको छ । कलङ्की र बल्खु क्षेत्रमा पनि दर्ता नभएका काउन्टर हटाउन सुरु गरिएको प्रहरी प्रमुख पाण्डेले बताए । महानगर प्रहरीले चावहिलमा अनाधिकृत रुपमा निर्माण गरिएका १० काउण्टर डोजर लगाएर भत्काएको जनाएको छ । उपत्यकाबाट बाहिर सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनका लागि तोकिएको मापदण्डअनुरुप व्यावसायिक ठेगानासहित सम्बन्धित वडा कार्यालयमा बुकिङ कार्यालय अनिवार्य दर्ता गर्न महानगरले सम्बद्ध सबैलाई आग्रह गरेको छ । टिकट बुकिङ कार्यालय सडक चोकको एक सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयअन्तर्गत मुख्य कार्यालय गोँगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्यरुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र बाफलसम्म कुनै पनि कार्यालय खोल्न नपाउने महानगरपालिकाले जनाएको छ । यस्तै, बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको बोर्ड राख्नुपर्ने, टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता (पार्किङ, शौचालय, पानी, बत्ती बस्ने)लगायत व्यवस्था हुनुपर्ने, कार्यालयका कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, कर्मचारीले पोसाक र परिचयपत्र अनिवार्यरुपमा लगाउनुपर्नेलगायत व्यवस्था गरेको छ । यसअघि महानगरले काठमाडौंभित्र जथाभावी रुपमा टिकट बुकिङ कार्यालय खोल्ने तथा सडकमा यात्रुलाई चढाउने सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार अहिले अधिकांश सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुँदै आएका छन् ।

२००० बाट ओर्लियो नेप्से परिसूचक, १२.९३ अंकले घटेर बन्द भयो बजार

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार पनि करिब २२ अंक घटेर बन्द भएको नेप्सेले सोमबार भने १२.९३ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २००० विन्दुभन्दा तल ओर्लिएको छ । यसअघि नेप्से परिसूचक गत जेठ २९ गते २००० विन्दुभन्दा तल झरेको थियो । सोमबारको बजारमा नेप्से १९९८.२८ विन्दुमा ओर्लिएको छ । सेन्सेटिभ इण्डेक्स १.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ । सोमबार सेयर बजारमा २७२ स्टकको ३९ हजार ४२५ पटकको कारोबारमा एक अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको ४१ लाख ६३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । सोमबार लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७.९९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सोमबार शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सोमबारको सेयर बजारमा १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ । त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।