विकासन्युज

नाडा अटो-शोमा ५ हजार गाडी बुकिङ हुने अपेक्षा, विद्युतीय गाडीकै डोमिनेन्स्

काठमाडौं । आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डामा नाडा अटो एक्सपो २०२३ आयोजना हुँदैछ । ६ दिनसम्म चल्ने अटो एक्सपोको मुख्य आकर्षक विद्युतीय तथा कर्मसियल भेइकल रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ । ४ वर्षपछि हुन लागेको अटो–शोमा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनकोे उल्लेख्य सहभागिता हुने नाडाले जनाएको छ । नाडाका अनुसार अटो–शोका लागि ८२ वटा स्टलहरु बुकिङ भैसकेका छन् । विगतका चार वर्षमा कारोना महामारी लगायतका कारणले नाडा अटो–शो हुन सकेको थिएन । लामो अन्तरालपछि हुन लागेको अटो–शोमा अटोमोबाइल कम्पनीहरुको अत्यधिक सहभागिता हुने नाडाका महासचिव सुरेन्द्र उप्रेतीले जानकारी दिए । उनका अनुसार अटो एक्सपोमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु ल्गायतका सामग्रीहरु रहनेछन् । नाडाका अनुसार एक्सपोमा चारपाङ्ग्रे सवारी साधन १७, दुई पाङ्ग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरु ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट तथा एसेसरिजका ३१ वटा स्टल रहनेछन् । उक्त–शो मा २२ ब्राण्डका मोटरसाइटल तथा स्कुटर, १६ ब्राण्डका कार तथा जिप, २६ वटा स्पेयर पार्टसका स्टलहरु रहनेछन् । प्राथमिकतामा इभी र कमर्सियल भेइकल अटो–शो मा विद्युतीय गाडी तथा कर्मसियल भेइकल मुख्य आकर्षण रहने भएका छन् । पछिल्लो समय डिजेल तथा पेट्रोलका गाडी बिक्री गर्दै आएका कम्पनीहरुले विद्युतीय गाडी भित्र्याउन थालेका छन् । सरकारले विद्युतीय गाडी (इभी)मा भन्सार तथा अन्तशुल्कमा छुट दिनेदेखि विद्युतीय गाडीलाई प्रोत्साहनको नीति लिएपछि अटो–शोमा इभीलाई मुख्य आकर्षणको रुपमा हेरिएको नाडाले जनाएको छ । अटो–शो २०२३ मा विभिन्न १२ वटा इभी कम्पनीले स्टल बुक गर्दा डिजेल तथा विद्युतबाट सञ्चालित गाडीका १० वटा कम्पनीले स्टल बुक गरेका छन् । अटो–शोमा टोयोटा, मित्सुबिसी, प्रोटोन, स्कोडा र होन्डाका चारपाङ्ग्रे सवारीसाधन देख्न नपाइने नाडाले जनाएको छ । पछिल्लो समय नेपाली बजारमा नयाँ मोडलको गाडी नआएको भन्दै टोयोटाले स्टल नराखेको नाडा स्रोतले जनायो । चारपाङ्ग्रेमा सुजुकी, निसान, टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, सेरेस, ग्रेटवाल मोटर्स, फोर्ड, सिट्रोन सहभागी हुँदै छन् । त्यस्तै, नेटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ र अर्को एउटा ब्रान्ड नखुलेको कम्पनी सहभागी हुने तय भएको छ । यी हुन अटो–शोमा देखिने दुई पाङ्ग्रे साधन यस वर्षको अटो शोमा यामाहा र हिरोले सहभागिता जनाउने छैनन् । मोटरसाइकलको बिक्री बढ्न नसकेकाले राम्रो बजार हिस्सा भएको यामाहा र आधिकारिक बिक्रेताको विवादका कारण हिरोले सहभागिता नजनाउने भएको हो । यी दुई बाहेक अन्य अधिकांश ब्राण्ड अटो शोमा रहने छन् । बजाज, टीभीएस, होन्डा, सुजुकी, केटीएम, जोन्टेस, भेस्पा, अप्रिलिया, जावा, रोयल इनफिल्ड, बेनेली जस्ता ब्राण्डले अटो–शोमा भाग लिनेछन् । त्यस्तै, विद्युतीय दुई पाङ्ग्रेतर्फ इभोक, स्लेन, एफ्टेक, सनरा, प्योर ईभी, कोमाकी, इलेक्ट्रिक वान, सेग–वे, एनआईयू, याडिया र लेभ्निङ सहभागी हुने छन् । इभीकाे बाेलवाला रहने अटो–शोमा टाटा, हुन्डाई, सेरेन, ग्रेटवाल, सिट्रोन, नेटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ लगायतका कम्पनीका विद्युतीय गाडीहरु प्रदर्शनमा आउने भएका छन् । हुन्डाईले कोना र आयोनिक शोमा राख्ने नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले अटो शोमा यसअघि नै बिक्री हुँदै आएको कोना र आयोनिक मोडलका गाडीहरु राख्ने जनाएको छ । कम्पनीले अटोशोमा पुरानै विद्युतीय गाडीहरु राख्ने जनाएको हो । हुन्डाइ कोना र आईओएनआईक्यू ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी भएको भन्दै कम्पनीले अटोशोमा सोही गाडीहरु राख्न लागेको हो । हाल कोना ३ वटा भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जीएल ६१ लाख ९६,००० र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । आईओएनआईक्यू ५ जीएलएस भिजन रुफ भेरियन्टको मूल्य १ करोड २ लाख ९६ हजार बराबरको रहेको कम्पनीले जनाएको छ । एमजी इभी–४ ल्याउँदै पारामाउन्ट नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अटो–शोका लागि नै लक्षित गरेर एमजी फोर मोडलको गाडी बिक्री गर्ने तयारी गरेको छ । एमजी फोर दुई ब्याट्री अप्सनसहित आउँदै छ । जसमा ५१ र ६४ किलोवाट आवर ब्याट्री प्याकमा सार्वजनिक हुन लागेको यो गाडीले क्रमशः ३५० र ४५० माथि नै रेन्ज दिने कम्पनीको दाबी छ । तर, कम्पनीले हालसम्म मूल्य भने सार्वजनिक गरेको छैन । डल्फिन गाडी भित्र्याउँदै बीवाईडी बीवाईडी गाडीको आधिकारिक वितरण साइमेक्स इंकले नाडा अटो शोमा डल्फिन गाडी बिक्रीका लागि राख्ने जनाएको छ । बीवाईडीले डल्फिनसँगै एटो–थ्रि समेत राख्ने तयारी गरेको छ । नेपाली बजारमा करिब ४५ लाख रुपैयाँ हाराहारिमा रहेको डल्फिन मोडलको गाडीमा ४४‍.९ किलोवाट प्रति घण्टा ब्याट्री क्षमता, ४२० किलोमिटर रेन्जको चार्च तथा ७० किलोबाटको मोटर जडान भएको कम्पनीले जनाएको छ । महिन्द्रा एक्सयूभी ४०० नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि समूहले नाडा अटोशोमा महिन्द्रा एक्सयुभी ४०० देखाउने भएको छ । नाडा अटो शोका लागि नै नयाँ कम्पनीले उक्त गाडी नेपाल ल्याउन लागेको हो । लिथियम आयोन ब्याट्री जडान गरिएको उक्त गाडाीमा ३४.५ र ३९.४ किलोवाट आवर गरी दुई वटा ब्याट्री अप्सन रहेको छ । तर, कम्पनीले हालसम्म नेपाली मूल्य भने सार्वजनिक गरेको छैन । सेरेस मोडलको नयाँ गाडी भित्रिँदै नाडा अटो शोमा नेपालमा नयाँ विद्युतीय गाडी भित्रन लागेको छ । एमएडब्लू कम्पनीले अटोशोका लागि नै चिनियाँ ब्रान्डको सेरेस–३ गाडी भित्र्याउन लागेको हो । सेरेस–३ मा ५२.७ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सस्तो मूल्यमा टाटा टियगो टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटोशोमा टियगो गाडी राख्ने तयारी गरेको छ । कम्पनीले २५ लाख रुपैयाँ हाराहारीमा अटोशोमा नै टियागो गाडीको लन्च गर्ने तयारी गरेको छ । सो मोडलको गाडी भारतमा लन्च भएसँगै कम्पनीले नेपाल ल्याउने तयारी गरेको हो । कम मूल्यमा सस्तो विद्युतीय गाडी उपलब्ध भएसँगै अटोशोको मुख्य आकर्षक टियगो नै हुनसक्ने नाडाले जनाएको छ । ५ हजार गाडी बुक हुने अनुमान चार वर्षपछि हुन लागेको आटोशोमा ५ हजार हाराहारीमा गाडीको बुकिङ हुने व्यवसायीहरुले अनुमान गरेका छन् । पछिल्लो समय धेरै उपभोक्ताको रोजाइ विद्युतीय गाडी रहेको र अटो शोमा नयाँ मोडलका गाडीहरु भित्रिएपछि उक्त संख्यामा गाडीहरु बुकिङको अनुमान गरिएको उनीहरुको भनाई छ । नाडाले समेत २० अर्ब रुपैयाँ बराबरको कारोबार हुँदा २ लाख मानिसले अटो–शो भिजिट गर्ने अनुमान गरेको छ । यसअघि भएको अटो शोमा ५ अर्ब हाराहारीमा कारोबार हुँदा ८० हजार बराबरको टिकट काटिएको थियो ।

युट्युबमा हेरेर सूर्यमुखी फूलको खेती गर्दै १९ वर्षका मिलन

  खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गरेका उनले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाए । गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो । मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँ पुगेका उनले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाए । वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँपालिकाका कृष्ण राईलाई राहदानी बुझाएका मिलनलाई मेनपावर कम्पनीले तीन लाख ५० हजार धरौटी रकम लाग्ने सुनायो । नेपाल सरकारसँगको सम्झौताअनुसार ज्यामी काममा मलेसिया जान का लागि फ्रि भिजा, फ्रि टिकेट भनिए पनि मेनपावर कम्पनीले त्यतिका पैसा लाग्ने सुनाएपछि मिलनको सोच एकाएक बदलियो । अहिले भर्खर १९ वर्ष लागेका मिलनले मेनपावर कम्पनीको कुरा सुन्नासाथ गाउँ फर्किएर आफ्नै ठाउँमा केही गर्ने सपना बुन्न थाले । आफ्नै गाउँमा केही गर्न सकिन्छ कि भन्ने बारेमा युट्युब खोतल्न थाले । परम्परागत खेती प्रणाली अपनाएर जीवन निर्वाह गर्दै आइएको खार्मीमा उनले व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती गर्ने निधो गरे । मकै, कोदो र आलु खेती हुँदै आएको चार रोपनी जग्गामा सोलुखुम्बुबाट खरिद गरेर ल्याएको छ केजी सूर्यमुखी फूलको दल राखेर व्यावसायिक खेती सुरु गरे। अहिले मिलनले लगाएको व्यावसायिक सूर्यमुखी फूल ढकमक्क फुलेको छ । सँधियारले आसपासको जग्गामा लगाएको मकै र कोदो फलिरहँदा मिलनको जग्गामा पँहेपुर भएर ढकमक्क फुलेको सूर्यमुखी फूलको खेती देख्दा रमित लाग्दो छ । युट्युबमा हेरेर बिना परीक्षण व्यावसायिकरुपमा सुरु गरिएको सूर्यमुखी फूलको खेती राम्ररी सप्रिएकाले आगामी वर्ष थप वृद्धि गर्ने तयारी गरिएको मिलनले बताए । ‘विदेश जाने सोच बनाएको थिए । फ्रि भिजा, फ्रि टिकेट भनिएको ठाउँमा पनि दलालहरुले ठग्दा रहेछन्’, उनले भने, ‘त्यतिका पैसा खर्च गरेर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गरौँ भन्ने सोच आयो । परीक्षणकालमै राम्रो उत्पादन हुने देखिएको छ । आगामी दिनमा थप विस्तार गर्ने तयारीमा छु ।’ फल लाग्दै गरेको सूर्यमुखी फूल पाक्ने बित्तिकै सोही जग्गामा तोरी खेती गर्ने तयारी गरिएको मिलनले जानकारी दिए । ‘परम्परागत खेतीले जीवन निर्वाहबाहेक केही गर्न सकिँदैन । गाउँमा आम्दानीको अन्य स्रोत पनि छैन । आम्दानीको स्रोत वृद्धि गर्न गाउँमै तेलहनजन्य खेतीलाई व्यावसायिक बनाउने सोचमा छु’, उनले भने, ‘आफ्नो गाउँमा खपत हुने खानेतेल आफ्नै गाउँमा उत्पादन गर्ने गरी योजना बनाएको छु । उत्पादित कच्चा पदार्थलाई आफैँ प्रशोधन गर्ने गरी मिलसमेत खरिद गर्ने तयारीमा छु ।’ नगरपालिकाको कृषि शाखामा आधिकारिकरुपमा सूर्यमुखी कृषि फार्म दर्ता गरेर सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गरेका मिलनलाई आमा र बुबाले समेत साथ दिँदै आएका छन् । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका छिमेकीसमेत मिलनको सूर्यमुखी फूलको व्यावसायिक खेती देखेर सिको गर्ने तयारीमा छन् । खार्मीका मिलनले लगाएको सूर्यमुखी फूलको उत्पादनलाई हेरेर आगामी दिनमा त्यहाँका कृषकलाई अनुदानको व्यवस्था गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले बताए। ‘खार्मी, पाथेका र जालपालाई तेलहनजन्य कृषि उत्पादनको पकेट क्षेत्र बनाउने तयारी गरिएको छ । मिलन भाइले सूर्यमुखी फूलको खेती सुरु गर्नुभएको रहेछ’, उनले भने, ‘व्यावसायिकरुपमा कृषि पेसा अपनाउने व्यक्तिलाई प्रोत्साहन गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ । उनले (मिलन राई) लगाएका सूर्यमुखी फूलको खेती सफल भएको खण्डमा उहाँलाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।’ किशोरावस्था ननाघेका मिलनले आफ्नै लगानीमा व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती सुरु गरेपछि नगर उपप्रमुख राई कृषि शाखा प्रमुख तेजप्रकाश जैसीसहितका टोली लिएर अवलोकनमा खार्मी पुगेका थिए । पन्ध्र वडा रहेको यस नगरपालिकाको नवौँ नगरसभाले खार्मी, पाथेका र जालपालाई तेलहनजन्य खेतीका लागि पकेट क्षेत्र बनाउने घोषणा गरेको अवस्थामा मिलनले सुरु गरेको सूर्यमुखी फूलको खेती सप्रिएको खबर पाएपछि उपप्रमुख राईको टोली अवलोकनमा खार्मी गएको हो । रासस

निफ्रा बैंकको सञ्चालकमा प्रविण सुवेदी नियुक्त

काठमाडौं । पुर्वाधार विकास बैंक (निफ्रा)को सञ्चालकमा प्रविण सुवेदी नियुक्त भएका छन् । बैंकको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई सञ्चालक पदमा निुक्त गरको हो । सुवेदी सर्वसाधारण समूहतर्फको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । बैंकको अध्यक्ष संस्थापक समूहबाट अनुज अग्रवाल छन् भने श्रीकृषण नेपाल, रत्नराज बज्राचार्य, लालमणी जोशी, शंकर प्रसाद अधिकारी र लिमा अधिकारी आचार्य सदस्य छन् ।

कर नबुझाउनेप्रति कडा बन्यो सरकार, यी १९ कम्पनीको बैंक खाता र सम्पत्ति रोक्का

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल, सम्राट ढुवानी सेवा कारबाहीस्वरुप बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले जानकारी दिए । यस्तै, पर्साको वीरगञ्जकै पटेल किराना स्टोर्स, बूदर टेक्सटाइल इण्डट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स/ज्योति मनि चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए । प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९/८० मा १४ करोड ३९ लाख बक्यौता सङ्कलन गरिएको छ । पटकपटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि कर बुझाउन आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ’, तिवारीले भने, त्यही करमा हामीले १९ जना करदाताको बैंक खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्का गरेका छौँ ।’ सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ थियो । नियमित बजार अनुगमन थालेपछि आव २०७९/८० मा करदातासमेत बढेको आन्तरिक राजस्व कार्यालय वीरगञ्जले जनाएको छ । आव २०७९/८० मा पर्सामा व्यावसायिकतर्फको करदाता दुई हजार सात सय ५० र व्यक्तिगत १० हजार दुई सय २५ नयाँ करदाता थपिएको तिवारीले बताए । योसँगै पर्सामा व्यावसायिक ४७ हजार आठ सय ८० र व्यक्तिगत ६६ हजार पाँच सय ५५ गरी एक लाख १५ हजार ४३५ करदाताको सङ्ख्या पुगेको जनाएको छ । यसैबीच आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले आर्थिक बर्ष २०७९/८० मा सात अर्ब १४ करोड राजस्व सङ्कलन गरेको छ । सो अवधिमा अन्त:शूल्कतर्फ रु तीन अर्ब, आयकरतर्फ तीन अर्ब, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७४ करोड, ब्याजकरतर्फ चार करोड र घरबहाल करतर्फ पाँच करोड राजस्व सङ्कलन भएको उनले बताए । सो कार्यालयले गत आर्थिक बर्ष २०७८/७९ मा आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व सङ्कलन गरेको थियो । बढ्दो आर्थिक तरलता, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु, तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायतका कारणले राजस्व सङ्कलन घटेको प्रमुख कर अधिकृत तिवारीको भनाइ छ । रासस

काठमाडौं महानगरले खारेज गर्याे २ सहकारीको दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गरेको महानगरपालिकाको शहकारी विभागले जनाएको छ । महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी २ संस्थाहरुको दर्ता खारेजी गरिएको बताएको छ । ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ,’ सहकारी ऐनमा उल्लेख छ । ज्येष्ठ नागरिक र सुकस बचत तथा सहकारी संस्थाले दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिएका थिए । सोहीअनुसार दर्ता खारेजी गरिएको महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

बङ्गलादेशको चालु घाटा ३ अर्ब ३० करोड अमेरिकी डलर

काठमाडौं । सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२÷०२३ मा बङ्गलादेशले करिब ३ अर्ब ३० करोड अमेरिकी डलरको चालू घाटा व्यहोरेको बङ्गलादेश बैंकका एक अधिकारीले आइतबार बताएका छन् । केन्द्रीय बैंकका एक अधिकारीले सिन्ह्वालाई बताएअनुसार तथ्याङ्कले आर्थिक वर्ष २०२२÷०२३ मा ३ अर्ब ३० करोड ३४ लाख डलरको घाटा देखाएको छ । अघिल्लो वर्ष उक्त घाटा ४ अर्ब ४० करोड ७५ लाख डलर रहेको थियो । यद्यपि रेमिटेन्सले बङ्गलादेशलाई चालू खाता घाटाको प्रभाव र मध्यम निर्यात आय वृद्धिको प्रभावलाई कम गर्न मद्दत गरेको छ । अधिकारीका अनुसार आर्थिक वर्ष २०२२÷२३ मा १०० भन्दा बढी देश र क्षेत्रमा बसोबास गर्ने र काम गर्ने करिब १ करोड बङ्गलादेशीबाट २१ अर्ब ६१ करोड डलर विप्रेषण भित्रिएको छ । सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको अवधिमा दक्षिण एशियाली मुलुकको आयात भुक्तानी १५.७६ प्रतिशतले घटेर ६९ अर्ब ५० करोड डलर रहेको छ भने निर्यातबाट हुने आम्दानी ६.२८ प्रतिशतले वृद्धि भई ५२ अर्ब ३४ करोड डलर पुगेको छ । रासस

ग्लोबल आइएमई र बि.ओ.के.क्यापिटलको आजदेखि एकीकृत कारोबार

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल र बि.ओ.के.क्यापिटल मार्केटले आजदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै क्यापिटल कम्पनीहरु मर्ज भई आज भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने र्भका हुन् । दुवै कम्पनीका माउ संस्था (ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू)एक आपसमा मर्ज भएपछि सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका ग्लोबल आइएमई क्यापिटल र बि.ओ.के.क्यापिटल मार्केटल पनि मर्ज हुन लागेका हुन् । दुवै कम्पनी मर्ज भई सोमबारदेखि ग्लोबल आइएमई क्यापिटलका रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन शुरु गर्नेछन् । दुवै कम्पनीको गत असार ३ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ । ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के.क्यापिटललाई सेयर स्वाप अनुपात १००ः५३.१७ रेसियोमा प्राप्ति गरेको हो । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बि.ओ.के. क्यापिटलको १०० कित्ता हुनेछ ।

साविक सनराइज बैंकको स्वामित्वमा रहेका घरजग्गा बेच्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंक (साविक सनराइज बैंक)ले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका देशभरीका विभिन्न स्थानमा रहेका घरजग्गा लिलामी गर्ने भएको हो । बैंकले मोरङ्गका २ ठाउँमा रहेको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले मालपोत कार्यालय रंगेलीमा दर्ता कायम रहेको रंगेली नगरपालिका १ स्थित कित्ता नम्बर २४ को ०-१-४-३ क्षेत्रफल भएको घरजग्गा र मालपोत कार्यालय विराटनगर उपमहानगरपालिका १२ स्थित कित्ता नम्बर २०८ को ०-०-१०-० क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।