हवाई सुरक्षा सुरक्षित र भरपर्दो बनाइनुपर्नेमा विज्ञहरूको जोड
काठमाडौं । मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक सङ्घ नेपालले आयोजना गरेको ४ दिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक ज्ञान आदानप्रदान गरिने छ । कार्यक्रमको सोमबार उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले हवाई उडानलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्थापन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन सबै संयन्त्र सक्रिय रहेको बताए । हवाई उडान मुलुकको अर्थतन्त्रसँग मात्रै नभई ‘कनेक्टिभिटी’ को उपयुक्त माध्यम भएकाले यसको अल्पकालीन र दीर्घकालीन सुधारको काममा यस्ता अभियानले मद्दत पुग्ने विश्वास व्यक्त गरे । सहसचिव लामिछानेले हवाई सेवा प्रदायकको क्षमता अभिवृद्धि, सहकार्यलाई थप सुदृढ बनाउन सबै सरोकारवालाको सक्रिय भूमिका चाहिने उल्लेख गरे । उनले हवाई दुर्घटनाको सम्भावित जोखिम न्यूनीकरणका लागि प्राविधिक पक्ष मात्र नभई व्यवस्थापकीय पाटो, दक्ष जनशक्ति र संस्थाभित्र स्वस्थ वातावरणको आवश्यकता अपरिहार्य भएको खाँचो औँल्याए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का उपमहानिर्देशक प्रेमनाथ ठाकुरले हवाई उडानलाई सुरक्षित र गुणस्तरीय बनाउन प्राधिकरणले नीतिगत र संरचनागत सुधारका प्रयास गरिरहेको उल्लेख गरे । उपमहानिर्देशक ठाकुरका अनुसार हवाई सुरक्षा प्रणालीको सुधार र सुरक्षित उडानलाई लक्षित गर्दै प्राधिकरणले मौसम पूर्वानुमान महाशाखासँग सहकार्य गरेर मौसम पूर्वानुमानसम्बन्धी छुुट्टै ‘अब्जरभेसन’ गरिरहेको छ । पर्यटकीय सिजनलाई मध्यनजर गर्दै छिट्टै लुक्ला विमानस्थलको मौसमी गतिविधिको जानकारी लिन ‘इन रुटमा’ क्यामेराजडानलगायत उपकरणको व्यवस्था गरेर उडानलाई सुरक्षित बनाउन लागिएको उनले जानकारी दिए । उनले भने, “इन रुट वेदरको वास्तविक अवस्था के छ र आगामी २/३ दिनको अवस्था कस्तो रहनेछ भनेर सम्पूर्ण इन रुट वेदरको मौसमी जानकारी लिनेगरी काम अगाडि बढाइएको छ । मुख्य पर्यटकीय गन्तव्यमा उडान हुने विमानस्थलमा यो प्रणाली विस्तार गर्दै लगिने योजना रहेको छ ।” यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले हवाई सेवा सुरक्षा अभिवृद्धिका लागि नियामक र अपरेटरबीचको समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे । कार्यक्रममा दुई दिन ‘ह्युमन फ्याक्टर’ र दुई दिन ‘एभिएसन सेफ्टी म्यानेजमेन्ट सिस्टम’ को बारेमा प्रशिक्षण दिइने सङ्घका महासचिव मनोज कार्कीले जानकारी दिए । स्वदेशी तथा विदेशी हवाई विज्ञहरूको प्रशिक्षण रहने कार्यक्रममा विभिन्न एयरलाइन्सका उडानसँग सम्बन्धित कर्मचारीको सहभागिता रहेको छ ।
चीनमा बैंकहरुको ब्याजदर घट्यो
काठमाडौं । चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड–१९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरुप सोमबार प्रमुख ब्याजदरमा कटौती गरेको छ । पिपुल्स बैंक अफ चाइना (पीबीओसी)ले एक विज्ञप्ति जारी गर्दै कर्पोरेट कर्जाका लागि महत्वपूर्ण रहेको एक वर्षे ऋणको प्रमुख ब्याज दर ३.५५ प्रतिशतबाट घटाएर ३.४५ प्रतिशतमा झारेको छ भने ५ वर्षे ब्याजदर ४.२ प्रतिशतमा कायम गरिएको जनाएको छ । यो निर्णय वाणिज्य बैंकहरूलाई बढीभन्दा बढी र अधिक लाभप्रद दरमा प्रदान गर्न प्रोत्साहित गर्ने उद्देश्यले गरिएको हो । प्रमुख अर्थव्यवस्थाहरूले मुद्रास्फीति नियन्त्रण गर्न काम गरिरहेको बेला विश्वभर बढ्दो ब्याज दरको विपरीत छ । यसले अप्रत्यक्ष रूपमा चीनको विकासको चिन्ह्को रूपमा आर्थिक गतिविधिलाई समर्थन गर्नेछ । सन् २०२२ को अन्त्यमा स्वास्थ्य प्रतिबन्धहरू हटेपछि अर्थतन्त्र पनि सहज बन्दै गएको छ । अर्थतन्त्रलाई पुनर्जीवित गर्न केन्द्रीय बैंकले गत मङ्गलबार वित्तीय संस्थाहरूलाई प्रदान गर्ने मध्यमकालीन ऋण सुविधाको दर घटाएको थियो । वित्तीय नियामकहरूले ‘जोखिम र लुकेका खतराहरू’ बाट जोगिन शुक्रबार ‘वित्तीय सहयोग’ को आवश्यकतामा सहमति जनाएका थिए । यो कदमबाट चिनिया स्टक बजार प्रभावित भएका छैनन् । स्टक बजार कारोबारमा हङकङमा १.४ प्रतिशत र साङ्घाईमा ०.६० प्रतिशतले गिरावट देखिएको छ । घरजग्गाको समस्याका अतिरिक्त श्रम बजारमा अनिश्चितता र विश्वव्यापी आर्थिक मन्दीबीच सुस्त उपभोगका कारण पनि आर्थिक वृद्धिमा बाधा पुगेको छ । यी नकारात्मक घटनाक्रमले चिनियाँ सामानको मागमा असर पारिरहेको छ, जसले हजारौं कारखानाको गतिविधिलाई सुस्त बनाइरहेको छ ।
नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध, पहिरो पन्छाउन ५/६ घण्टा लाग्ने
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै ५÷६ घण्टा लाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन ४ मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । “हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ,” उनले भने । रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको तामाङले बताए । गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरे । उनले काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै
काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लागिपरेको हो । बजेट निर्माणमा टुक्रे साना र टुक्रे योजना कटौती गरेको सो मन्त्रालय अहिले रुग्ण आयोजनाको सङ्ख्या घटाउनेतिर केन्द्रित छ । यातायातमन्त्री रेशमबहादुर जुग्जालीले ४७ रुग्ण आयोजनाको सङ्ख्या घटाएर १७ मा झारिएको जानकारी दिए । “४७ आयोजना वर्षौँदेखि अलपत्र थिए, ठेकेदार सम्पर्कविहीन थिए, अहिले ३० आयोजनाका ठेकेदारलाई काममा फर्काउन सफल भएका छौँ, समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा पुर्याउने योजना छ”, उनले भने, “काममा आलटाल गर्ने ठेकेदारलाई कारबाही गरिन्छ ।” मन्त्रालयले चालु आवमा ३० लाख रुपैयाँभन्दा कम बजेटका योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको छैन । टुक्रे योजना कटौती गर्दा गत आवको तुलनामा यो वर्ष योजनाको चाप पनि घटेको छ । गत आवमा १ हजार ८ सय योजना रहेकामा चालु आवमा १ हजार १ सय योजना कायम भएका छन् । “दीर्घकालीन महत्वका मझौला तथा ठूला आयोजनामा केन्द्रित भएका छौँ, सामुदायिक भवनलगायत अनुत्पादक क्षेत्रमा बजेट दिन्नौँ”, उनले भने, “टुक्रे योजना घट्दा कामको गुणस्तरदेखि जनशक्ति व्यवस्थापनसमेतमा सहजता थपिन्छ, नियमन र अनुगमन प्रभावकारी हुन्छ, प्रशासनिक लागत पनि घट्छ ।” उनले प्रादेशिक सडक सञ्जाल गुरुयोजनाको मस्यौदा अन्तिम चरणमा पुगेको बताए । गुरुयोजनाले सडकको वर्गीकरणसमेत गर्नेछ । मन्त्रालयले पोखरा उपत्यकताभित्र चल्ने ट्याक्सीमा यही भदौ १ गतेदेखि मिटर प्रणाली लागू गरेको छ । वि.सं २०७७ देखि ट्याक्सी मिटरमा गुड्न छाडेपछि भाडामा ठगिएको व्यापक जनगुनासो उठ्ने गरेको थियो । प्रदेशका सडकमा बाह्रैमास यातायात सञ्चालन गर्न २१ करोड रुपैयाँको आपत्कालीन सडक मर्मतसम्भार कोष खडा गरिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए । गण्डकी प्रदेशका मुुख्य र सहायक राजमार्ग तथा जिल्लाका प्रमुख सडकहरुको वैकल्पिक मार्ग पहिचान गरी यातायात सञ्चालनको व्यवस्था मिलाएको उनको भनाइ छ । चालु आवमा १२ अर्ब रुपैयाँ बढी बजेट रहेको सो मन्त्रालयले प्रदेशभित्र थप ३ सय किलोमिटर सडक कालोपत्र, २५ सडक पुुल र २० झोलुुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । सार्वजनिक विद्युुतीय सवारी सञ्चालन मापदण्ड–२०८० अनुसार विद्युुतीय कार दर्ता गर्ने प्रक्रिया अगाडि बढेको जनाइएको छ । कास्कीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइनबाट लाइसेन्स नवीकरण गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता पौडेलले बताए । उक्त कार्यालयको सेवा प्रवाहलाई सहज र छरितो बनाउन बिहानी सेवासमेत सुरु गरिएको छ । यातायात व्यवस्था कार्यालय बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारीसाधनको लाइसेन्सको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न ट्रायल सेन्टर छनोट भई सम्झौताको तयारी भएको मन्त्रालयले जनाएको छ । बागलुङमा चारपाङ्ग्रेको लाइसेन्स सेवा सुरु भएपछि पोखरामा सेवाग्राहीको चाप घट्ने अपेक्षा लिइएको छ । नयाँ मापदण्डअनुसारको संरचना नहुँदा वि.सं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुनसकेको थिएन । चारपाङ्ग्रेको ट्रायल रोकिँदा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही लाइसेन्सका लागि बाहिर जानुपर्ने बाध्यता अब हट्ने कार्यालय प्रमुख पारसिंह थापाले बताए । रासस
११६ रुपैयाँमा भगवती हाईड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले आज भदौ ५ गतेदेखि प्रिमियम मूल्यमा सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशत अर्थात् ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँको सेयर बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर विदेशमा रोजगार गरीरहेका नेपाली र ५ प्रतिशत अर्थात् ४२ हजार ९०५ कित्ता सामुहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब कम्पनीले २ प्रतिशत अर्थात् १७ हजार १६२ कित्ता कम्पनीका कर्मचारी र बाँकी ७ लाख १२ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ १९ गतेसम्म आवेदन लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । साथै, सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त
काठमाडाैं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । उनलाई नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् । श्रेष्ठलाई परिषदले नियुक्तिका लागि साउनमा सिफारिस गरेको थियो । उनी विरुद्ध संसदीय समितिमा परेको उजुरीका विषयमा छलफल भएपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । उनी ३० औं प्रधानन्यायाधीश हुन् ।
स्वीच अनको नयाँ शोरूम गठ्ठाघरमा, अत्याधुनिक इलेक्ट्रोनिक्स सामाग्री उपलब्ध
काठमाडौं । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्वीचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेट सुरु गरेको छ । सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) र सीमा गोल्छा (निर्देशक, हिम इलेकट्रोनिक्स)ले संयुक्त रुपमा आउटलेटको उद्घाटन गरेका हुन । स्वीचअन रिटेलको उद्देश्य राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नु रहेको कम्पनीले जनाएको छ । नक्साल, काठमाडौँमा रहेको स्वीचअन रिटेलको प्रमुख आउटलेटले पहिले नै यसको प्रिमियम सेवाहरूको लागि लोकप्रियता पाएको छ । ग्राहकहरूलाई पूर्ण सन्तुष्टि, विश्वसनीयता र प्रामाणिकताका साथ आफ्नो सेवा प्रदान गर्दै आएकोले यो आउट्लेटले आफ्नो लोकप्रियता कायम राखेको कम्पनीको भनाई छ । ‘स्वीचअन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौँ’, हिम इलेकट्रोनिक्सकी निर्देशिक सीमा गोल्छाले भनिन् । स्वीचअन रिटेल, भक्तपुरले विभिन्न अत्यावश्यक घरेलु वस्तुहरू प्रदर्शन गर्नेछ, जाहाँ प्रतिष्ठित ब्रान्डहरूका टिभी, फ्रिज, बल्ब जस्ता विद्युतीय वस्तुहरू पाईनेछ । अत्याधुनिक इलेक्ट्रोनिक्स र स्टाइलिश घडीहरू सहित, नयाँ स्विचअन रिटेल आउटलेटले हरेक घरको आवश्यकता पूरा गर्ने गरी रोमाञ्चक किनमेलको अनुभव दिने बताइएको छ ।
आयात निर्यातको क्रममा हुनसक्ने लागु औषध तस्करी जाेखिमबारे अभिमुखिकरण सम्पन्न
काठमाडौं । नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा)ले लागु औषध नियन्त्रण ब्यूरोसँगको सहकार्यमा कार्गो कम्पनीका कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उनीहरूलाई सामाग्री आयात/निर्यातका क्रममा हुन सक्ने लागु औषध जोखिम नियन्त्रणका सन्दर्भमा जानकारी गराइएको नेफाले सामेबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा लागु औषध नियन्त्रण ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, आयात/निर्यातसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि, कार्गो व्यवसायी र कर्मचारी गरी १७२ जनाको सहभागिता रहेको नेफाले बताएको छ । उक्त अभिमुखिकरण कार्यक्रममा लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरिक्षक नारायण रञ्जितकारले सामाग्रीको आयात निर्यातको क्रममा अपनाउन सक्ने लागु औषध तस्करीको तरिका र त्यसलाई रोक्ने उपायको बारेमा जानकारी गराएका थिए । त्यसैगरी, कानूनी प्रावधान, कार्गो व्यवसायीले अपनाउनुपर्ने सावधानीका बारेमा उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।