विकासन्युज

सरकारकी जागिर छोडेर कागती खेतीमा रमाउँदै लामिछाने

गण्डकी । दृढ इच्छाशक्तिका साथ लगनशील हुने हो भने पैसा कमाउन विदेशिनुपर्दैन भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् । पोखरा महानगरपालिका–३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर गरिएको व्यावसायिक कागती खेतीबाट राम्रो आम्दानी गरेका स्थानीय किसान टुकाराम लामिछाने यतिखेर सबैका लागि प्रेरणाको स्रोत बनेका छन् । नेपाल सरकारको जागिर छोडेर पाँच वर्षअघि सुरु गरिएको व्यावसायिक कागती खेतीले आम्दानी दिन थालेको उनले जानकारी दिए । ‘बेगनास तालको जलाधार क्षेत्रअन्तर्गतको भिरोलो पाखोमा लगाइएका सात सय कागतीका बिरुवाले फल दिन थालेको छ’ लामिछानेले भने, ‘दिनमा ५० केजीसम्म कागती उत्पादन हुने गरेको छ प्रति केजी एक ५० मा बिक्री गर्दा  दैनिक सात हजार पाँच सय आम्दानी हुने गरेको छ ।’ बाँदरलगायत वन्यजन्तुले नोक्सान नगर्ने, रोग कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नुनपर्ने र बजार पनि राम्रो भएका कारण कागती खेतीमा भविष्य देखेको उनको भनाइ थियो । धरानको पाख्रीवासबाट प्रतिगोटा दुई सयका दरले विरुवा खरिद गरेर २०७५ साल साउनमा रोपिएका सोना जातका सबै कागतीका बिरुवाले फल दिन थालेका छन् कागती रसिलो भएका कारण बजारको माग पनि राम्रो छ । स्याङ्जास्थित कृषि ज्ञान केन्द्रको सिफारिसमा लगाइएका उन्नत जातको लेमनका दुई सय बिरुवा लटरम्म फलेका छन् लगभग १० क्विन्टल फल उत्पादन भएको छ ठूलो आकारको फल भए पनि बजार भने नपाइएको लामिछानेलेसँग गुनासो गरे । कागतीको बोटले फल धान्न नसकेर हाँगा भाँचिन थालेका छन् । ‘रोपेको चार वर्षमै फल दिन सुरु गरेको कागतीको एउटै बोटले १२ हजार बराबर ८० किलो फल दिएको थियो’, उनले भने, ‘कागतीको फल बिक्रीबाट अघिल्लो वर्ष आठ लाख कमाइएको थियो, यसवर्ष २० लाखभन्दा बढी आम्दानी हुने विश्वास छ ।’ पछिल्लो समय चिया र खानामा कागतीको अत्याधिक प्रयोग हुने हुँदा बजारमा माग अत्याधिक रहेको छ सम्भवत कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरु गरेका लामिछानेले भने,’राज्यको तर्फबाट किसानलाई आवश्यक सहयोग हुने हो भने कागतीलगायत तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।’ कागती खेतीभित्र अन्तरबालिका रुपमा तरुल र अकबरे खुर्सानी रोपिएको बताउँदै उनले थपे, ‘पहिलो वर्ष तरुलबाट सात लाख र दोस्रो वर्ष अकबरे खुर्सानीबाट छ लाख आम्दानी भएको थियो ।’ किसान लामिछानेले भने, ‘माघे सङ्क्रान्तिका अवसरमा प्रदेश सरकारद्वारा ढङ्गेसाँघुमा आयोजित कन्दमूल मेलामा तरुललाई प्रथम पुरस्कमार दिएर आफूले १० हजार प्राप्त गर्न सफल भएको र यसबाहेक सरकारीस्तरबाट आजसम्म कुनै पनि सहयोग प्राप्त भएको छैन ।’ समुद्री सतहबाट लगभग नौ सय मिटरको उचाइमा बेगनासतालसँगै रहेको उनको बगैँचामा यसैवर्ष स्याउसमेत फलेको छ । परीक्षणका लागि लगाइएको एउटा स्याउको बोटमा आठदेखि १० वटा फल फलेको किसान लामिछानेले जानकारी दिए । व्यावसायिकरुपमा कागती खेतीसहित, टिमुर, एभोकाडो, अमला, ओल, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, स्याउ, ठूलो बयर, रातो केरालगायत विभिन्न जातका फलफूलका बोटबिरुवा उनले लगाएका छन्। उत्पादित फल बिक्री वितरणका लागि बजार जानुपर्ने, व्यापारीले समयमा पैसा नदिने हुँदा बगैँचामा दिने समय बाहिर खर्च हुने हुँदा अप्ठेरो परेको उल्लेख गर्दै उनले भने, कृषि उत्पादन बारीबाटै उठाइदिने व्यवस्था गर्ने हो भने व्यवसायमा किसानको आकर्षण बढ्ने, आयातित वस्तुलाई विस्थापन गर्ने र आत्मनिर्भर हुँदै स्वरोजगार सिर्जनामासमेत योगदान पुग्ने छ । लिप्टिङ प्रविधिबाट बेगनासतालको पानी तानेर बगैँचामा सिँचाइको व्यवस्था गरिएको बताउँदै लामिछानेले दुईसय मिटर पाइप विस्तारसहित तीन लाख खर्च भएको बताए । प्रत्येक चार–चार मिटरको फरक एवम् एक–एक मिटर गहिराई र चौडाइका खाल्टामा विरुवा रोपेर सुरु गरिएकोे कागती खेतीमा ७० लाखभन्दा बढी खर्च भएको उनको भनाइ थियो । स्याङखुदीमा सुरु गरिएको खेतीले कास्कीमा सुन्तलाजात हराएको छैन भन्ने प्रमाणीत गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । टिपेको दुई हप्तासम्म पनि नबिग्रने, बाँदरले नखाने बढी भएमा अमिलो बनाउन सकिने कागतीखेतीको विस्तारका लागि महानगरले वार्षिक आठदेखि १० हजार बिरुवा किसानलाई वितरण गर्दै आएको बताउँदै उनले बाँझो तथा भिरालो पाखोलाई पहेँलो सुनको रुपमा लिन र व्यावसायिक कागती खेतीले पोखरालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस

पार्किङ शुल्कमा छुट दिएपछि चोभार सुख्खा बन्दरगाहमा बढ्न थाल्यो आयात

काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधन आउने क्रम बढ्दो रुपमा रहेको । गत असार १४ गतेदेखि चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधन आउन शुरु गरेको हो । डेढ महिनाको अबधिमा ४९ वटा सवारी साधन बन्दरगाहामा आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका अनुसार नयाँ सवारी साधन आउने क्रम निरन्तर जारी रहेको छ । हालसम्म सांग्रिला मोटर्स प्रा.लि. को पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरु र जि. ओ. अटोमोवाइल्स प्रा.लि. को ५ वटा म्यगदभि गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्नेगरी आएको हो । उक्त गाडीहरु वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हाल सवारी साधन आउन सहजीकरण गरिएको बताए । उनले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) सँग समेत धेरै छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रकृया गराउन सबै प्रकृया व्यवस्थित भएपछि सवारी साधन चोभार आएका बताए । आगामी दिनमा अझै सवारी चोभार आउने जानकारी व्यवसायी तथा नाडाले गराएका छन । यसका साथै अन्य व्यवसायीहरुसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको व्यहोरा जानकारी दिए । चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालवाहक सवारी साधन एवं नयाँ सवारी साधनहरुको लागि प्रबेश शुल्क निःशुल्क गर्नुका साथै पार्किड्ग एवं गोदाम शुल्क समेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ । जसको कारण हाल सम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर र ४९ नयाँ गाडीहरु भन्सार जाँचपासको लागि आइसकेको र उक्त आउने क्रम निरन्तर रुपमा बढी रहेको छ । आन्तरिक टर्मिनलमा पनि पार्किड्ग एवं गोदाम प्रयोगको लागि आउने व्यवसायीहरुको सख्या बढ्दो क्रममा रहेको जनाईएको छ । चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न समय केही समय लागे पनि भविश्यमा राम्रोसंग चल्ने विश्वास लिइएको गजुरेल बताउँछन् ।

भारतले प्याज निर्यातमा कडाइ गरेपछि नेपालमा गायव, कालोबजारी गर्ने १७ जना कारबाहीमा

काठमाडौं । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । ‘दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउने गरेकामा दुई दिनदेखि ठप्प छ । गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दातसकिए पछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन’, उनले भने । यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबारदेखि  ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ थियो । बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ । ‘भएको मौज्दात सकियो । व्यापारीले ल्याउने कुरा हो, उतै (भारत) बाट पठाएका छैनन् भन्ने सुनिएकाे छ,’ उनले भने, ‘बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो ।’ भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ । पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ । कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताए । ‘हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौँ । आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ’, उनले भने,’अहिले हामीले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेका छौँ । व्यापारीले प्रतिकिलो ४८ रुपैयाँमा किनेको प्याज ६८/७० रुपैयाँसम्ममा बेच्ने गरेको अनुगमनबाट देखिएको छ ।’ यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए । विभागले बजार अनुगमनका क्रममा सोमबार तीनवटा व्यापारीलाई जनही २० हजार रुपैयाँ, दुईवटा व्यापारीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको थियो भने चारवटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेको थियो । मङ्गलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरिएको थियो भने पाँच व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको थियो । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालोबजारी र चर्को मूल्यवृद्धि देखिन थालेको थियो । भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गत आइतबार प्रतिकिलो ६० रुपैयाँका दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० सम्म बढेर ८० रुपैयाँ पुगेको थियो तर विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो १० रुपैयाँसम्मले घटेपनि सोमबारयता भने त्यहाँ प्याज कारोबार भएको छैन । भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो । त्यहाँको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको उक्त मन्त्रालयले जनाएको थियो । आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्नेछ । यसअघि भारतले बास्मतीबाहेक अन्य चामल निर्यातमा बन्देज लगाएकाले नेपाली बजारमा चामलमा पनि कालोबजारी बढेको थियो । रासस

सेयर बजारमा हरियाली कायमै, नेप्से परिसूचक २९ अंकले बढ्दा घोराहीको सर्वाधिक कारोबार

काठमाडौं । मंगलबार जस्तै बुधबारको सेयर बजारमा पनि हरियाली छाएको छ । सो दिनको बजारमा कारोबारमा आएका सबै समूह सूचकमा हरियाली छाएको छ । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सो दिन सेयर मूल्य मापक नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशतले बढी हो । त्यस्तै, बजारमा एक अर्ब ५१ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँले बढेको छ । मंगलबारको बजारमा १ अर्ब ३३ करोडको सेयर कारोबार भएको थियो । २७३ स्क्रीप्सको कारोबार भएको बजारमा घोराही सिमेन्ट इन्डष्ट्रीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ५७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ५१० रुपैयाँमा भएको छ । त्यस्तै, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कुथेली भुखारी स्मल हाइड्रोपावरको ९.९९ प्रतिशतले, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई मूल्य ९.६४ प्रतिशतले र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.४५ प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाइ मूल्य ७.४२ प्रतिशतले घटेको छ ।

हेटौँडामा दुई अर्ब ३७ करोड रुपैयाँ विद्युत् बक्यौता उठ्न बाँकी

हेटौँडा । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ । विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन । इञ्जिनियर चौहनले उद्योगले हालसम्मको दुई अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए । ‘उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’ को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो’, उनले भने, ‘त्यस बेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ ।’ उद्योगसहित विद्युत् बक्यौता नतिर्ने नौ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए । महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो । ‘कालोसूचीमा रहेका पाँच जनाले बक्यौता तिरेपछि कालोसूचीबाट हटाइएको छ’, इञ्जिनियर चौहनले भने, ‘पाँच जनाबाट एक लाख २२ हजार पाँच सय ९२ सङ्कलन गरिएको छ ।’ उनका अनुसार सिमेन्ट उद्योगले महसुल नतिरे पनि विद्युत् वितरण भने भइरहेको छ । प्राधिकरण हेटौँडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उनले जनाए । विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ थियो । विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले एक लाख ६६ हजार ९१ जरिवाना लिएको उनले जानकारी दिए ।

वर्ल्ड ट्रेड सेन्टरमा सुरु भयो तीज मेल

काठमाडौं । त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा १४ औं संस्करणको तीज मेला सुरु भएको छ । नजिकिँदै गरेको तीज पर्वलाई लक्षित गर्दै सुरु भएको मेलाको एक कार्यक्रमका बीच अमन फाउण्डेशनकी अध्यक्ष तारादेवी गुरुङले उद्घाटन गरेकी हुन् । मेला उद्घाटन गर्दै गुरुङले उद्यम व्यवसायमा महिलाको सहभागिता बढ्दो अवस्थामा रहेको र यस्ता मेला महोत्सवले उद्यशीलता गर्न चाहने महिलालाई सहयोग गर्ने विश्वास व्यक्त गरिन् । वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसीसी नेपालले ए एस इभेन्ट्स एण्ड मार्केटिङसँगको सहकार्यमा तीज मेलाको आयोजना गरेको हो । भदौ ६ गतेदेखि सुरु भएको मेला १० गतेसम्म ५ दिन चल्नेछ । मेलामा १०० भन्दा बढी स्टल रहेका छन् । तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरुलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डिइसीसीकी बजार प्रबन्धक स्मृति श्रेष्ठले बताइन् । विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरुको व्यवसाय बिस्तार एवं प्रवद्र्धनको लक्ष्य सहित मेला आयोजना गरिएको ए एस इभेन्ट्स एण्ड मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । बजारको तुलामा एकै छानामुनी धेरै किसिमका सामान सस्तो मूल्य खरिद गर्न सकिने भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आम उपभोक्तालाई आग्रह गरे । नेपालका साथै छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश र अन्य देशका स्टलहरू मेलामा छज् । मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न सकिने श्रेष्ठले बताए । विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने श्रेष्ठको भनाई छ । कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइन लगायतका ब्राण्डको सहयोग रहेको मेलामा उल्लेखित ब्राण्डकातर्फबाट मेला अवलोकनकर्ताहरुलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । ट्रेड सेन्टरमा रहेका रेस्टुरेण्टहरुमा अवलोकनकर्तालाई छुटको व्यवस्था गरिनुका साथै विभिन्न किसिमका सामग्रहरुमा भारी छुटको व्यवस्था गरिएको डिएसीसीले जनाएको छ । डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । अवलोकनकर्तालाई फूड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौं संस्करण आयोजना गरिएको हो । हरेक वर्ष तीजको पुर्व सन्ध्यामा तीज मेला आयोजना हुँदै आएको छ ।

इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार

इजिप्ट । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ । देशको तथ्यांक निकाय क्यापमासले मंगलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । देशभर १२ लाख पुरुष र ९ लाख ४१ हजार महिलासहित २० लाख भन्दा बढी नागरिकहरु बेरोजगार रहेको बताइएको छ । ६१.८ प्रतिशत बेरोजगार नागरिकहरु १५ देखि २९ वर्ष उमेरसमूहका छन् । गत वर्षको यही अवधिमा भन्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.३ प्रतिशतले वृद्धि भएको छ । इजिप्टको वार्षिक मुद्रास्फिती दर जुलाईमा बढेर ३८.२ प्रतिशत कायम भएको थियो ।

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुने, सात राजनीतिक दलले गरे सहमति

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आगामी महिना उक्त आयोग गठन गर्न सहमत भएका हुन् । सहमति पत्रमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न सात राजनीतिक दलका प्रमुख सचेतकले हस्ताक्षर गरेका हुन् । सुनलगायतका सामग्री पटक पटक तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य विषयका सम्बन्धमा भएका अध्ययनसमेत गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आगामी असोज ५ गते सरकारले आयोग गठन गर्ने र त्यसै दिनदेखि कार्य प्रारम्भ गर्ने सहमति भएको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो । सुन प्रकरणलाई लिएर गत साउन १० गतदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लगातार सदनमा अवरोध गर्दै आएको थियो । आजको सहमतिपछि अब सदनको अवरोध हट्ने विश्वास लिइएको छ । आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको कामलाई कुनै प्रभाव नपार्ने विश्वास लिइएको छ । आगामी महिना गठन हुने आयोगले नीतिगत रुपमा गर्नुपर्ने सुधार तथा सुझावसमेत सरकारलाई दिनेछ । सहमतिअनुसार केन्द्रीय अनुसन्धान ब्यूरोले नै निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने र अभियोजन गर्नेछ । सहमतिपत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादव र जनमत पार्टीका प्रमुख सचेतक अब्दुल खानले हस्ताक्षर गरेका छन् । बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताको सहभागिता थियो । रासस