विकासन्युज

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने विभागका प्रवक्ता भरत गौतम जानकारी दिए । अस्थायी प्रमाणपत्रको हकमा भने साविककै व्यवस्था निरन्तर रहने उनले जानकारी दिए । कानुनमा प्रमाणपत्रको अवधि तीन वर्ष भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्ने गरेको पत्रकारहरुको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यसमा चासो देखाएकी थिइन् । ‘हामीलाई खासगरी राजधानीबाहिरका पत्रकार साथीहरुबाट यो गुनासो आएपछि विभागसँग चासो राखेका थियौं, विभागले तत्काल पहल गरेर नयाँ निर्णय गरेपछि प्रेस प्रतिनिधि प्रमाणपत्र अवधि थपिएको छ’– सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले भने । उनका अनुसार छापाखाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को ११९१०मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख भए पनि अभ्यासमा एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियवालीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको हो । त्यस्तै स्वतन्त्र पत्रकारको परिचयपत्र प्राप्ति र नवीकरणका सवालमा पनि गुनासो आएकाले यसमा पनि सुधारका लागि प्रयास थालिएको उनले जानकारी दिए । ‘लामो समयसम्म पत्रकारितामा लागिरहेका अग्रजहरुले स्वतन्त्र पत्रकार परिचयपत्र पाउने र नवीकरण गर्ने सवालमा असजिलो भयो भन्ने गुनासो गरिरहेका छन्’– केसीले भने– ‘यसलाई सहज बनाउन के गर्न सकिन्छ, छलफल भइरहेको छ, यसमा पनि विभागले गृहकार्य गरिरहेको छ ।’ त्यस्तै विभागले एफएम रेडियो इजाजत र लाइसेन्स प्रतिलिपी पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णय पश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको विभागका प्रवक्ता गौतमले जानकारी दिए ।

सासु कोषको कार्यकारी निर्देशक बन्न राष्ट्र बैंकको पूर्व ईडीदेखि बैंकको डीसीईओसम्मको लविङ, १२ जनाले दिए आवेदन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा रिक्त रहेको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको कोषको कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रमा अनुभव भएका १२ जनाले आवदेन दिएका हुन् । कार्यकारी निर्देशकको पदपूर्ति समितिका अनुसार नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक, हालका निर्देशकदेखि वाणिज्य बैंकका सेवानिबृत्त डिसीईओसम्मले आवेदन दिएका छन् । स्रोतका अनुसार कोषको कार्यकारी निर्देशकका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अशोक पौडेल, हालका निर्देशक शहदेव चन्द, राष्ट्रिय वाणिज्य बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कविराज अधिकारी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले समेत आवेदन दिएका छन् । यस्तै, नेपाल स्टक एक्सचेञ्चका पूर्व सीईओ चन्द्रसिंह साउँद, लिलाराज ढकाल, तत्कालीन आरम्भ लघुवित्तका सीईओ लक्ष्मीप्रसाद शर्मा र सर्पोट माइक्रोफाइनान्सका पूर्व सीईओ कुलमणी तिमिल्सिनाले पनि आवेदन दिएका छन् । आवेदन दिनेमा हाल प्राइम बैंकमा कार्यरत पदमराज पौडेल, जीवन विकास लघुवित्तका पूर्व सहायक महाप्रबन्धक रोहित भण्डारी, वैदेशिक रोजगार बोर्डबाट पूर्व कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कुन)का निर्वतमान सीईओ प्रकाश पोखरेलले पनि कोषको कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् । पाेखरेल हालै मात्र नेफ्स्कुनबाट बिदा भएका थिए । कोषले गत साउन १६ गते एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । ५५ वर्ष ननाघेको शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिने समय तोकेको थियो । अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानून विषयमा कम्तीमा पनि स्नातकोत्तर उपाधि हासिल गरेको र सरकारी वा गैरसरकारी संघसंस्था वा प्रचलित कानूनबमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्षको कार्य अनुभव भएको योग्यता तोकिएको थियो । आवेदन परेका मध्येबाट उक्त समितिले ३ जनाको नाम छनोट गरेर नियुक्तीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गर्नेछ । छनोट भएका व्यक्तिमध्येबाट समितिले योग्यता, अनुभव, नेतृत्व गर्न सक्ने क्षमता तथा उसले पेश गरेको कोष व्यवस्थापन तथा सञ्चालनको कार्ययोजनाको मूल्यांकन गरी सबैभन्दा उपयुक्त उम्मेदवारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्नेछ । कार्यकारी निर्देशकको नियुक्ति नभएसम्म नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवसरहको कुनै अधिकृतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशकको पदमा काम गर्ने गरी तोक्न वा खटाउन सक्ने व्यवस्था ऐनमा रहेको छ । सोही व्यवस्था अनुसार श्रम मन्त्रालयले सहसचिव कृष्ण प्रसाद ज्ञवालीलाई कोषको कार्यकारी निर्देशकका रुपमा पठाएको छ । हाल उपसमितिको संयोजकका रुपमा कानुन मन्त्रालयका सहसचिव हुमबहादुर केसीले काम गरिरहेका छन् ।

प्रतिकूल मौसमले आन्तरिक हवाई उडानमा समस्या, अन्तर्राष्ट्रिय नियमित सञ्चालन

काठमाडौं । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको जानकारी दिए । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले उल्लेख गरे । विभिन्न गन्तव्यमा उडान रद्ध भएको एयरलाइन्स कम्पनीले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ । पोखराबाट भरतपुर र पोखरा-नेपालगञ्जको सबै उडान रद्द गरिएको छ । काठमाडौं-पोखरा गन्तव्यको उडान सामान्य असर परे पनि केहीबेर अघिदेखि पुनः उडान सञ्चालन गरिएको उनको भनाइ थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रासस

एशियाली शारिरीक सुगठन प्रतियोगिता भदौ १५ गते हुने, २५ मुलुकको सहभागिता

काठमाडौं । एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता भदौ १५  हुने गते भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले गर्न लागेको ५५ औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको अन्तिम तयारी पुरा भएको हो । उक्त प्रतियोगितामा हालसम्म एशियाली राष्ट्रका करीब २५ मुलुकहरुले सहभागिता जनाई सकेका छन् । एशियाली मुलुकहरुले भाग लिने उक्त प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा हुनेछ । एशियाली प्रतियोगितामा पुरुषतर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुने महासंघले जानकारी दिएको छ । एक बिधाको खेलमा भने महिला र पुरुष दुबैपक्षलाई समावेस गराईने छ । प्रतियोगिता स्थल याक एण्ड यति होटल रहने छ । महासंघले आयोजना गर्न लागेको यस कार्यक्रम ७ दिनसम्म सञ्चालन हुनेछ ।

त्रिशुली बस दुर्घटना : मृतक चार जनाको पहिचान, १४ जनालाई ल्याइयो काठमाडौं

काठमाडौं । धादिङको गजुरी गाउँपालिका वडा नं.२ चालिसे स्थित पृथ्वी लोकमार्गमा भएको बस दुर्घटना जीप दुर्घटनामा मृतकको सङ्ख्या आठ पुगेको छ । जसमध्ये चार जनाको पहिचान खुलेको छ । नेपाल प्रहरीका अनुसार पहिचान भएका चार जनामा जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का अन्दाजी २४र२५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४/२५ वर्षका सुमन थापा छन् । ‍ बाँकी चार जनाको नाम ठेगाना खुल्न बाँकी रहेको छ । उक्त बसमा २५ जना सवार थिए । उक्त दुर्घटनाबाट १७ जनालाई जीवित उद्धार गरिएको छ । जसमध्ये १४ जनालाई थप उपचारको लागि काठमाडौं तर्फ ल्याइएको, १ जना उपचार पश्चात् डिस्चार्ज, १ जनाको मलेखुको टिचिंग अस्पतालमा उपचार भइरहेको र १ जना सकुसल रहेको नेपाल प्रहरीले जानकारी गराएको छ । बुधबार काठमाडौंबाट पर्वत हुँदै म्याग्दी बेनी (म्याग्दी कोरला यातायात प्रा.ली) तर्फ जादै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नं. बस अनियन्त्रित भई बिहान ११ बजेतिर त्रिशुली नदिमा खसेको थियो । उक्त बस सडकबाट अ. ३०/४० मिटर तल खस्न जाँदा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

सानिमा बैंक र दराजबीच सम्झौता, साउन र भदौमा बैंकका ग्राहकलाई बिशेष छुट

काठमाडौं । सानिमा बैंकको दराजसंग ‘दराज मन्थली पेडे योजना’ का लागि सहकार्य गरेको छ । सानिमा बैंकले ग्राहकका लागि दराजसंग ‘दराज मन्थली पेडे योजना’ अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । बैंकका अनुसार ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ५०० रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रकृयाको भिडियो सानिमा बैंकको आधिकारिक युट्युब च्यानलमा राखिएको बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।

पुम्दीकोटको अर्को आकर्षण, सुमेरु पर्वत

गण्डकी । पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रुपमा देखिएको छ । समुदायको सहयोग एवम् पुम्दीकोट विकास समितिको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाइको महादेवको मूर्तिले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गरिरहेको यसस्थलमा नजिकैको अर्को थुम्कालाई सुमेरु पर्वतका रुपमा विकास गर्न लागिएको हो । महादेवस्थललाई कैलाशका रुपमा लिँदै नजिकै जोडिएको अर्को थुम्कालाई सुमेरु पर्वतका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण गरिएको पुम्दीकोट विकास समितिका सदस्य मातृका बरालले जानकारी दिए । पुम्दीकोटको वृहत् गुरुयोजना अनुसार यस क्षेत्रको समग्र विकास अघि बढिरहेको बताउँदै उनले विशाल मूर्तिस्थापनाका साथै नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिनेगरि संरचना निर्माण भइरहेको जानकारी दिए । ‘विशालमूर्ति रहेको स्थान (कैलाश) र सुमेरु पर्वतलाई जोड्ने गरी विद्युतीय चियरकार निर्माण गर्ने योजना समेत राखेका छौं’, उनले भने,’करिब चार सय मिटरको दूरीमा रहेका यी स्थललाई जोड्ने दीर्घकालीन लक्ष्य अनुसार नै चियरकार निर्माणको सोच अघि बढाइएको हो ।’ सुमेरु पर्वतलाई झकिझकाउ बनाउने गरी काम भइरहेको र त्यहाँ माता पार्वती र कुमार कार्तीकेयको मूर्ति तयार गरिसकिएको छ । सुमेरु पर्वत निर्माणका लागि जमिन सम्याउने, मूर्ति एवम् पूर्वाधार निर्माणका लागि करिब दुई लाख खर्च भइसकेको इञ्जिनीयर बाबुराम बरालले जानकारी गराए । गुरुयोजना अनुसार नै पुम्दीकोटमा विशाल महादेव मूर्तिसहित प्रशासनिक भवन र गुरुमहाराज आश्रम आदि निर्माण भइसकेका छन् । समितिले शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखेको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ आदि स्थापनासँगै परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । पछिल्ला समयमा पुम्दीकोट धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्दै गर्दा यस क्षेत्रका बाटाघाटा एवम् अन्य विभिन्न पूर्वाधार निर्माणले गति लिएको छ । पुम्दीकोटमा स्वदेशी एवम् विदेशी पर्यटकको बढिरहेको आकर्षणले यो पोखराको महत्वपूर्ण गन्तव्यका रुपमा स्थापित बनिरहेको विशाल महादेव मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । गुरुयोजनामा समेटिएका पूर्वाधार निर्माणका काम बढिरहेको बताउँदै उनले हालसम्म करिब २६ करोड लगानी भइसकेको जानकारी गराए । समितिले मूर्तिसहित संरचना निर्माणका लागि ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरेको थियो । निर्माण कार्यका लागि समिति स्वयम्ले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले बताए । ‘विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन्’, उनले भने, ‘यहाँ देखिएको आकर्षणले योस्थल पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा स्थापित बन्ने हाम्रो विश्वास छ ।’ पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँबाट पोखरा र लेखनाथका विभिन्न भू–भागसँगै धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खलालाई नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ । प्रकृतिको बरादानयुक्त स्थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित विसं २०७३ फागुनमा यहाँ महाशिवपुराण लगाइएको थियो । उक्त समयमा महायज्ञबाट छ करोड १८ लाख रुपैयाँ सहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो । समितिले लक्षित पूर्वाधार निर्माणलाई सम्पन्न गर्ने लक्ष्यसहित २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाएको थियो । उक्त महायज्ञबाट करिब तीन करोड दान सहयोग प्राप्त भएको थियो । यहाँको विकासलाई पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहले सक्रियता देखाएका छन् । विभिन्न तिथि तथा पर्वमा ठूलो सङ्ख्यामा धार्मिक पर्यटक पुम्दीकोट आउने गरेको मूल पूजारी भरत पौडेल बताउँछन् । प्रत्येक दिन बिहान ५ बजेदेखि बेलुका सन्ध्याकालीन आरतीसम्म यस धाममा पूजाआजा हुने गरेको उनले जानकारी दिए । समय–समयमा आउने भक्तजनबाट हुने गरेको दान सहयोगबाट मात्रै हालसम्म पुम्दीकोटमा रु पाँच करोड सङ्कलन भइसकेको छ । गत शिवरात्रिमा मात्रै ५० हजारभन्दा बढी दर्शनार्थी पुम्दीकोट आएका थिए । सदस्य बरालका अनुसार समितिले शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माणका लागि छलफल समेत गरिरहेको र त्यसका लागि करिब पाँच करोड खर्च लाग्ने अनुमान गरिएको छ । निर्माणकार्य अन्तिममा पुगेको सुमेरु पर्वत लगायत बनिरहेका संरचनाले यहाँको गरिमा र महत्वलाई अझै बढाउने उनले बताए । रासस

धुलिखेल अस्पतालमा जापनीज अनुदान ल्याउने सरकारको निर्णय, धितोपत्र निष्काशन नियमावली स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले उक्त ६ वटा निर्णय सार्वजनिक गरेकी हुन् । उक्त बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६को उपदफा (१) बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृति दिने भएको छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ । त्यसैगरी, जे.बी. टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका पिता हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएकोमा उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मन्त्रीलगायत शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने बैठकले निर्णय गरेको छ ।