विकासन्युज

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने ३० वर्षीय छविलाल अधिकारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाले विनोद श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिने र त्यसको लागि प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लाग्ने तथा सर्बिया पुगेपछि कृषि फार्म काम लगाइदिने र मासिक ५० हजार रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा १ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा बुधबार सामाखुसीबाट पक्राउ गरिएको हो । यसैगरी वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै रकम ठगी गर्ने कालीकोट तिलागुफा नगरपालिका–३ घर भई हाल जिल्ला काठमाडौँ कीर्तिपुर नगरपालिका–५ बस्ने ५२ वर्षीय विष्णुरिषी पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । निजले तीर्थबहादुर थापालाई वैदेशिक रोजगारीको लागि इटाली पठाइदिन्छु त्यसको लागि ८ लाख रुपैयाँ लाग्ने तथा इटाली पुगेपछि पेट्रोलपम्पमा काम लगाइदिने भन्दै विश्वास दिलाइ निज पीडितबाट पटकपटक गरी जम्मा ४ लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

हरिहरदेव पन्त आर्थिक पत्रकार पुरस्कार बञ्जाडेलाई

काठमाडौं । नेपालको लघुवित्तका संस्थापकका रुपमा परिचित स्वर्गीय डा.हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ । डा.हरिहरदेव पन्त फाउन्डेसनद्धारा स्थापित उक्त पुरस्कार आठौं वार्षिक पुण्यस्मृति दिवस पारेर बञ्जाडेलाई प्रदान गरिने भएको हो । डा. पन्तको आठौं वार्षिक पुण्यस्मृति दिवस भदौ २१ गते हो । विगत एक दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय बन्जाडेलाई ५० हजार नगद र सम्मानपत्र प्रदान गरिने फाउन्डेसनले जनाएको छ । डा.पन्तले जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा ब्यतित गरेका थिए । डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कार्यक्रम अन्तरर्गत आर्थिक क्षेत्रका सन्देशमूलक आर्थिक समाचार सम्प्रेषण तथा प्रसारण गर्ने पत्रकार वा संघ संस्थाहरु मध्येबाट दिने गरिएको छ । यसअघि उक्त पुरस्कार गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा र बिजय राज खनालले पाएका थिए ।

अर्थमन्त्रीले बजेटमार्फत् सांसदलाई ५ करोड दिने भनेको कार्यक्रम कार्यान्वयन नहुने, सरकारले जवाफ दिनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आन्दमोदन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले संघीय सरकार र प्रदेश सरकारसँग ७ दिनभित्र लिखित जवाफ पनि माग गर्दै उक्त अन्तरिम आदेश जारी गरेको हो । चालु आर्थिक वर्षको बजेट मार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले यसअघि नै राखेज भइसकेको यो कार्यक्र बजेटमार्फत् ब्युत्याएकापछि अदालतले यस्तो आदेश दिएको हो । उनले बजेटमार्फत् एउटा निर्वाचन क्षेत्रका लागि पाँच करोड रुपैयाँ वितरण हुनेगरी बजेट विनियोजन गरेका थिए । उक्त व्यवस्था विरुद्ध अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, यज्ञप्रसाद अधिकारी र विनोद सापकोटाले रिट दायर गरेका थिए। रिटमा राज्यकोषबाट छुट्याइएको उक्त रकम खारेजीको माग गरिएको थियो । संघीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि सो कार्यक्रम ल्याएका थिए ।

तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरपालिका परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक वर्ष भित्र अथवा आर्थिक वर्ष २०७९र८० भित्र गरिएका गतिबिधिहरुको संक्षिप्त प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अर्यालले प्रगती विवरण प्रस्तुत गरे पश्चात् सहभागीहरुले टिप्पणी, गुनासो, प्रश्न, सुझाव र प्रशंसा सहितका मिश्रित प्रतिक्रियाहरु राखेका थिए । कार्यक्रममा जिज्ञासा र प्रश्न राख्दै सहभागीहरुले बिकास निर्माण र मानबिय बिकासमा जोड दिन सुझाव दिदै नगरमा भएका गतिविधिहरुका जनचासोका बिषयमा प्रश्न राखेका थिए । नगरपालिकाको सार्वजनिक जग्गा, भवन निर्माण, यातायात, महिला तालिमको उपयोगिता,शिक्षा र पाठ्यक्रमका बिषयमा, मणिग्राम, ड्राइभरटोल तथा मंगलापुर र भलवारी चोकमा भएको डुबान समस्या र त्यसको आवस्यकता, स्वास्थ्य सम्बन्धी समस्या, समाधान, समयमा सडक निर्माण , बिस्तार, कालोपत्रे, पानीको समस्या, कृषकका समस्या, कृषिमा आत्मनिर्भर बन्न पालिकाद्वारा गरिनुपर्ने आवस्यकताहरु,महिला समूहद्वारा उत्पादित स्थानिय उत्पादनको बजार ब्यबस्थापन तथा प्रयोग,कृषिमा बिभेदको अन्त्य र समानान्तर हक र उपयोगिता ,अपाङ्गमैत्री बाताबरण निर्माण, पुरातात्त्विक महत्वका पुराना ऐतिहासिक सम्पदाहरुको खोजतलास तथा संरक्षण, न्यायिक सम्पादन, बैकल्पिक सडकको निर्माण लगायत शिक्षा स्वास्थ्य खानेपानी, रोजगारी, स्थानिय उत्पादन र बजार ब्यबस्थापन लगायत उठाइएका चासो गुनासोहरूलाई नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बुँदागत रुपमा स्पष्ट पारेका थिए । जवाफमा नगरको तर्फबाट कतिपय प्रोजेक्टहरू सम्पन्न भएको, कति हुन बाकी नै रहेको कति पय कार्यहरुको आउँदो नीति तथा कार्यक्रममा समाबेश गरि अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै चासो गुनासो र प्रश्न राख्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए। नगरप्रमुख खाणले कोहि कसैसँग सुझाव सल्लाह प्रतिक्रिया भए विभिन्न माध्यमबाट पठाउन र नगरपालिकामा एउटा सेवा ग्राही भन्दापनि सल्लाहकारको रुपमा आउन आग्रह गर्दै जनताको इच्छा बमोजिम अगाडि बढ्नुका साथै आगामी दिनमा जनताले सोचेको चाहेको र परिकल्पना गरेको देशभरिका नगरपालिका भन्दा फरक पहिचान बोकेको नगरपालिका बनाउन आफू प्रतिबद्ध रहेको समेत बताउदै सबैजनाको साथ सहयोगको अपेक्षा र उपस्थित सम्पुर्णमा दिदै सार्बजनिक सुनुवाई कार्यक्रम समापन भएको घोषणा गरेका थि । कार्यक्रमको संचालन पत्रकार बिनोद परियारले गरेका थिए । तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सबै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु,नगरका शाखागत कर्मचारी, वडा कर्मचारी लगायत नगरपालिका भित्र रहेका सरोकारवाला संघ संगठनहरुको उपस्थिति रहेको थियो ।

संसदीय समितिमा सदस्य हेरफेर, कुनमा को सांसद ?

फाइल फोटो काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद सदस्यको हेरफेर गरिएको नाम पढेर सुनाएका छन् । प्रस्तावित हेरफेरमा अमनलाल मोदी सार्वजनिक लेखा समितिमा, नागिना यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा, सांसद सङ्गीता मण्डल धानु शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, सोनु मुर्मु कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा, किरणकुमार साह महिला तथा मामिला समितिमा रहेका छन् । त्यस्तै, डा शशाङ्क कोइराला अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिमा, रुपा सोशी (चौधरी) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा, सांसद अब्दुल खांन उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिमा, सांसद विमला सुवेदी कानुन न्याय तथा मानवअधिकार समितिमा र सांसद योगेश गौचन थकाली अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रहेका छन् । प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको थियो । बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए । रासस

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा : लाखौँ कुम्ल्याएर सञ्चालक फरार

झापा । साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ । बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेको पीडितले बताएका छन् । शिवसताक्षी नगरपाालिकास्थित माइधार घर भएका पदम योङ्हाङसहित लक्ष्मीप्रसाद बराल (अञ्जान), धर्म तिम्सिना र अर्जुनधाराका लक्ष्मण घिमिरेले ७० जनाभन्दा बढी व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको अर्जुनधारा-६ निवासी चन्दा अधिकारीले बताइन् । श्रीमान् दीपक अधिकारीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लक्ष्मण घिमिरे र लक्ष्मीप्रसाद बराल (अञ्जान) ले आफूहरूसँग तीन लाख रुपैयाँ ठगी गरेको अधिकारीले बताइन् । गत वर्ष भदौ ३० गते आफ्ना श्रीमान्लाई माल्टा पठाउने भन्दै घिमिरेले आफूहरूसँग राहदानीसहित रु एक लाख, चार महिनापछि पुसमा पुनः रु एक लाख त्यस्तै मेडिकल तथा प्रहरी रिपोर्टका लागि रु नौ हजार छ सय र चैत ३ गते वर्क पर्मिटका लागि भन्दै पुनः रु एक लाख लिएर सम्पर्कविहीन भएको अधिकारीले बताइन् । रकम लिएको तीन महिनामा माल्टा उडाउँछु भन्ने घिमिरेले पछि आफूले माल्टा पठाउन नसकेको र काठमाडौँमा रहनुभएका सरसँग कुरा गर्नु भन्दै अञ्जानसँग सम्पर्क गराएको पीडित अधिकारीले बताइन् । उनले भनिन्- ‘काठमाडौँबाट सर आउनुभएको छ भन्दै घिमिरेले पुस ४ गते अञ्जानसँग भेट गराएको र पुसमा पुनः दोस्रो पटक मेडिकल गराएर फागुनको अन्तिमतिर ‘एग्रिमेन्ट पेपर’ दिँदै विश्वास दिलाएर पुनः रु एक लाख चैत ३ गते दिएका हौँ । योसहित उनीहरूले हामीलाई ठगेको रु तीन लाख नौ हजार छ सय पुगेको हो ।’ वर्क पर्मिटका लागि तत्काल पैसा चाहिने भन्दै अञ्जानले आफूहरूसँग रकम मागेबमोजिमको रु एक लाख रकम प्रदान गरेको र राहदानीको मितिसमेत सकिन लागेकाले नयाँ राहदानी बनाएको अधिकारीको भनाइ छ । ‘सन् २०२४ मा श्रीमानको राहदानीको मिति सकिँदै थियो,’ अधिकारीले भनिन्- ‘हतारहतार गर्दै नयाँ राहदानी बनाएर अञ्जानलाई जिम्मा लगायौँ । राहदानी लगेसँगै अञ्जान बेपत्ता बने । हामी अहिले ऋणले घरको न घाटको भएका छौँ । सयकडा तीन रुपैयाँ ब्याजले पैसा खोजेको थियो । अहिले दिनहुँ साहु घरमै आएर पैसा माग्छन् । न साँवा तिर्न सकियो न ब्याज तिर्न सकियो । हाम्रो त उठिबास नै लाग्यो ।’ ‘घिमिरे र बरालले आफूहरूलाई ठगी गर्दै उठिबास लगाएसँगै न्यायको खोजीमा पटकरपटक जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी धायौँ,’ अधिकारीले भनिन्- ‘हाम्रो आवाज कसैले सुनेन, अनि मिडिया गुहारेका हौँ हामीलाई अन्याय भएको लेखिदिनुपर्यो ।’ ‘श्रीमान्लाई विदेश पठाएसँगै जीविकोपार्जनमा सहज हुने कत्रो सपना थियो,’ अधिकारीले गहभरि आँसु पार्दै भनिन्, ‘अहिले ठगले हामीलाई न घरको बनाए न घाटको ।’ अधिकारीसँगै ठगिनेमध्येका शिवसताक्षी-१० का दीपककुमार कोइरालाको पनि व्यथा उस्तै छ । रोमानिया जाने सुन्दर सपना बोकेर रु ७० हजारसहित कोइरालाले पनि राहदानी धर्म तिम्सिनालाई थमाए । तिम्सिनाले पनि कोइरालालाई ‘हेड अफिस’को सर भन्दै उनै अञ्जान बरालसँग जोडाएका थिए । युरोपको काम हेर्न अञ्जान भएको र आफूले खाडी र मलेसियाको मात्रै काम हेर्ने भए पनि ‘हामी दुवैले सहकार्य गरेर अफिस चलाएकाले तपाईंको रकम फस्दैन’ भन्दै सुरुमा राहदानीसहित रु ५० हजार लिएको र पछि वर्क पर्मिटका लागि दुई सय यूरो पठाउनुपर्छ भन्दै रु २० हजार लिएको कोइरालाको भनाइ छ । ‘हाम्रो एउटै गाउँ हो डराउनुपर्दैन, पहिला मेरो खगोल मेनपावर थियो अहिले युरोपको पनि काम हेर्न गरी यो मेनपावर चलाएका हौँ’ तिम्सिनाको भनाइ उदृत गर्दै कोइरालाले भने, ‘तपाईंको वर्क पर्मिट साउन १५ गते आइसक्छ । भदौको पहिलो हप्ता दिल्ली जानुपर्छ तयारी अवस्थामा बस्नू ।’ कोइरालाका अनुसार उनी अहिले एकाएक बेपत्ता बने । उनले भनेको वर्क पर्मिट पनि नक्कली हरेछ । घरमा जाँदा उनी भेटिँदैनन् । अफिस पनि महिनौँदेखि बन्द गरेर उनी फरार भएका छन् । यता कनकाई नगरपालिका-३ का अमित काफ्लेको पनि रोमानिया जाने योजना सपनामा परिणत भएको छ । उनलाई पनि सोही गिरोहले ठगी गरेको बताइएको छ । आफूले पनि अञ्जान बराललाई राहदानीसहित रु ५० हजार बुझाएको तर अहिले उनी एक वर्षदेखि सम्पर्कविहीन भएको काफ्लेको भनाइ छ । आफ्नै गाउँका भाइ सुसान भट्टराईमार्फत बरालसँग सम्पर्क भएको र बराललाई आफूले एनआइसी एसिया बैंकमार्फत रकम प्रदान गरेको काफ्लेको भनाइ छ । “रोमानियाको हम्बोर्ड भन्ने कम्पनीबाट अफर लेटर आएको भन्दै सुरुमा मलाई त्यो लेटर देखााएर अल्मल्याइयो । पछि बुझ्दा त्यो नाम गरेको कम्पनी नै रोमानियामा रहेनछ”, उनले भने । रोमानियामा रहेका आफ्ना साथीभाइलाई आफर लेटर पठाएर त्यो कम्पनीको विषयमा बुझ्न लगाउँदा अफर लेटरको लोकेशनमा कम्पनी नै नरहेको काफ्लेको दाबी छ । ‘उनीहरूले दिएको मसँग वर्क पर्मिट पनि छ तर, त्यो वर्क पर्मिट पनि नक्कली छ,’ काफ्लेले भने- ‘हम्बोर्ड कम्पनी देखाएर मलाई जीएमडी इन्डस्ट्रीको वर्क पर्मिट दिइएको छ । वर्क पर्मिटमा भएको त्यसको दर्ता नम्बर कोड गुगलले अर्कै कम्पनीको नाम अस्तर भन्ने देखाउँछ । त्यस आधारमा पनि म ठगिएँछु भन्ने लागेर एजेन्ट र मेनपावर कम्पनी पुग्दा उनीहरू मेनपावर बन्द गरेर फरार भइसकेछन् ।’ वैदेशिक रोजगारीमा जाने सुन्दर सपना सजाएर रकम बुझाएकामध्ये अधिकारी, कोइराला र काफ्ले प्रतिनिधि मात्रै हुन् । उनीहरूजस्ता धेरैलाई माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीका सञ्चालकले ठगी गरेको पीडितले आरोप लगाएका छन् । ओशो वर्ल्ड कन्सल्टेन्सीका नाममा लक्ष्मीप्रसाद बराल (अञ्जान) पदम योङ्हाङ, धर्म तिम्सिना र लक्ष्मण घिमिरेको गिरोहले आफूहरूबाट लाखौँ रूपैयाँ ठगेको पीडितहरूले बताएका छन् । उनीहरूबाट ठगिनेमा कनकाई नगरपालिका-३ निवासी सविना कोइराला भट्टराई (रोमानिया- रु एक लाख), कनकाई-३ कै सुभद्रा न्यौपाने कोइराला (रोमानिया- रु ५० हजार), कनकाई नगरपाालिका- ३ कै चिरञ्जीवी महत्तो (माल्टा- रु एक लाख), बिर्तामोड नगरपालिका-४ का विनोद उप्रेती (माल्टा- रु एक लाख), बुद्धशान्ति गाउँपालिका- ५ का गोविन्द ढुङ्गाना (माल्टा- रु एक लाख), मेची नगरपालिका-९ का ओम प्रकाश भण्डारी (माल्टा- रु एक लाख), बुद्धशान्ति गाउँपालिका निवाासी योगेश कोइराला (माल्टा- रु एक लाख), बिर्तामोड नगरपालिका-४ का विकास उप्रेती (रोमानिया- रु ७० हजार), शिवसताक्षी नगरपालिका- १० का दीपककुमार कोइराला (रोमानिया- रु ७० हजार) सहित राहदानी लगेको बताइएको छ । त्यस्तै ठगीमा पर्नेमध्ये अर्जुनधाराका रोमन सापकोटा (रोमानिया- रु ५० हजार), शिवसताक्षी-१० का गङ्गाप्रसाद पराजुली (रोमनिया- रु ७० हजार) कनकाई-४ का दुर्गाप्रसाद कोइराला (रोमानिया- रु ७० हजार), बुद्धशान्ति-२ का लक्ष्मीप्रसाद नेपाल (रोमानिया- रु दुई लाख), कनकाई नगरपालिका-३ का किरण कुमाल (रोमानिया- रु ५० हजार), कनकाई-३ का अशोक थापा (रोमानिया- रु ३० हजार), कनकाई-३ का डिकबहादुर भुजेल (रोमानिया- रु ५० हजार) सहित ७० जनाभन्दा धेरैको राहदानीसहित लाखौँ रुपैयाँ लिएर बेपत्ता बनेको पत्रकार भेटघाटमा जानकारी दिइयो । ठगी आरोप लागेका चारै जना अहिले सम्पर्कमा नरहेको पीडितको भनाइ छ । यो समाचार तयार गर्ने क्रममा उनीहरूले प्रयोग गर्दै आएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनीहरूको मोबाइल स्वीच अफ रहेको पाइएको छ । रासस

गण्डकीमा ९८ प्रतिशत घरमा बिजुली, यसै वर्ष उज्यालो प्रदेश घोषणा

कास्की । गण्डकी प्रदेशमा आधुनिक ऊर्जाको पहुँच विस्तार गरी प्रदेशलाई उज्यालो प्रदेश घोषणाका लागि सरकारले काम अघि बढाएको छ । प्रदेशमा विद्युत्को पहुँच नपुगेका दुई हजार आठ सय ८४ घरधुरीमध्ये बागलुङको ढोरपाटन नगरपालिकाका तीन सय ९१ घरधुरीमा विद्युत् विस्तारको काम सुरु भएको छ । बाँकी घरमा समेत यसै वर्षभित्र विस्तार गरिसक्ने ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको तयारी छ । ऊर्जा तथा जल स्रोतमन्त्री सरस्वती अर्याल तिवारीका अनुसार ढोरपाटन नगरपालिका-६ छेन्तुङका ती घरमा घरेलु सौर्य ऊर्जा जडान सुरुआत गरिएको र मङ्सिरभित्र बत्ती बल्नेछ । अहिलेसम्म करिब ९८ प्रतिशतको पहुँचमा बिजुली पुगेको बताइन्छ । मन्त्रालयमा एक सय दिनमा भएका गरेका कार्यप्रगति आज सार्वजनिक गर्न आयोजित कार्यक्रममा मन्त्री अर्यालले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा प्रदेशभर आधुनिक ऊर्जा विस्तार गरिने बताए । उनले भने, ‘उज्यालो गण्डकी प्रदेश यथाशीघ्र घोषणाका लागि सङ्घ सरकारसँग समेत सहकार्य गरेका छौँ । विद्युत् प्राधिकरणको बिजुली विस्तार हुन सम्भव ठाउँसम्म बिजुली पु¥याउने छौँ, प्राधिकरणले विस्तार नगर्ने ठाउँमा हामी सोलार बत्ती भए पनि पुर्याउँछौँ ।’ मन्त्रालयले पानीका लागि घण्टौँसम्म डोकोमा गाग्री बोक्नुपर्ने बाध्यता हटाइने जनाएको छ । एक गाग्री पानीका लागि बिहानभर पालो पर्खनुपर्ने बाध्यता हटाउनका लागि अभियानका रूपमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरिने मन्त्री तिवारीले बताए । मन्त्रालयले प्रदेशका ११ वटै जिल्लाका स्थानीय तहलाई परिपत्र गरी आफ्नो पालिकामा पानीको स्रोत अभावले समस्या भएका ठाउँको पठाउन आग्रह गरेको थियो । स्थानीय तहले पठाएका आधारमा डोकोमा गाग्री बोक्नुपर्ने बाध्यता हटाउनका लागि यस वर्ष बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । ‘पानीको अभाव भएका ठाउँमा यस वर्ष योजना दिएका छौँ,’ मन्त्री तिवारीले भने, ‘जतिसक्दो छिटो आधारभूत खानेपानीको समस्या समाधान हुन्छ । डोकोमा गाग्री बोकेर अब हिँड्नुपर्दैन ।’ चालु वर्षमा सिँचाइ तथा नदी नियन्त्रणतर्फ रु १० लाखभन्दा कम बजेट विनियोजन नगरिएको मन्त्री अर्यालले बताए । विगतका वर्षमा दुई लाखसम्मका योजनासमेत कार्यान्वयन गरिएको भन्दै उनले यस वर्ष त्यस्ता टुक्रे योजनालाई निरुत्साहित गरिएको जानकारी दिए । मन्त्रालयले दुई सय ४० लिफ्टिङ आयोजनाका लागि दुई करोड रुपैयाँ अनुदान दिएको जनाएको छ । त्यसैगरी गत वर्ष १७ हजार तीन सय ४८ घरधुरीमा निजी धारा जडान गरिएको र ९० हजार दुई सय जनसङ्ख्या लाभान्वित भएका छन् । ऊर्जा मन्त्रालयले गत वर्ष ८५ दशमलव ४४ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयका सचिव इन्जिनियर डा सन्तोष कैनीले बताए । उनका अनुसार गण्डकीका अन्य मन्त्रालयमध्ये धेरै वित्तीय प्रगति हासिल भएको छ । रासस

चन्द्रमामा पुगेर भारतले रच्यो इतिहास, पानीमा आधारित बरफको खोजी गर्ने लक्ष्य

नयाँदिल्ली । भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनेर अन्तरिक्ष यात्रामा इतिहास रचेको छ । आज भारतको चन्द्रयान-३ चन्द्रमामा अवतरण गरेको हो । नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ । चन्द्रयान-३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो जसले भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् । यदि चन्द्रयान-३ सफलतापूर्वक अवतरण भएसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो देश भएको छ । रुसको लुना-२५ चन्द्रमाको सोही क्षेत्रमा अवतरण हुने क्रममा दुर्घटना भएको केही दिनपछि भारतको यो महात्वाकांक्षी प्रयास सार्वजनिक भएको हो । चन्द्रमाको दक्षिणी ध्रुवमा हिमजलको खोजी चन्द्रयान-३ को मुख्य लक्ष्य भएका बताउँदै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले त्यहाँ सधैँ छायामा रहने सतह अधिक रहेका र उक्त क्षेत्रमा पानीको सम्भावना रहेको जनाएको छ । अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् । सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान-२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो । त्यतिबेला चन्द्रयान-२ चन्द्रमाको सतहमा खसेको थियो । त्यसैले आज भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान-३ मा छ । सन् १९६२ को जनवरी २३ मा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अन्तरिक्ष अनुसन्धानका निम्ति राष्ट्रिय समिति गठन गरेर भारतलाई अन्तरिक्ष युगतर्फको पहिलो यात्रामा निस्कन अभिप्रेरित गरेका हुन् । रासस/एएनआई