विकासन्युज

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

दमौली । पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो । विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिकाको सहयोगमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका क्रममा राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ । रासस

स्टाइलिश डिजाइन र शक्तिशाली पर्फमेन्श सहित भिभो वाई २७ सर्वोत्कृष्ट

काठमाडौं । आधुनिक युगमा, स्मार्टफोन हाम्रो दैनिक जीवनको अपरिहार्य र महत्वपूर्ण पक्ष बनिसकेको छ । प्रयोगकर्ताहरू राम्रो क्यामेरा क्षमता, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन भएका स्मार्टफोनहरू खोज्छन् । यी उपकरणरू केवल ग्याजेटमा मात्र सिमित नभएर एक विश्वसनीय साथी भइसकेका छन् । हालै, विश्व प्रसिद्ध स्मार्टफोन ब्रान्ड, भिभोले बजारमा आफ्नो वाई सिरिज अन्तर्गत नयाँ स्मार्टफोन – वाई२७ सार्वजनिक गरेको छ । भिभोको यो नयाँ स्मार्टफोनले डिजाइन र कार्यसम्पादनका हिसाबले कुनै सम्झौता नगरी हरेक पक्षमा उत्कृष्ट विशेषता प्रदान गरेको छ । र यो स्मार्टफोन निस्सन्देह नै आजको स्मार्टफोन बजारमा उपलब्ध एक सर्वोत्कृष्ट उपकरण हो । आउनुहोस् यस स्मार्टफोनको बारेमा विस्तृतमा कुरा गरौं । अत्याधुनिक शैली आजको युग, जहाँ सरलता एउटा नयाँ प्रवृति बनेको छ त्यहाँ भिभोले सही उपकरणहरु ल्याएको छ । नयाँ वाई२७ डुअल रिङ्ग डिजाइनको साथ आउँछ, जसले रिङ्गको आकारबाट प्रेरित भएर सुनको जडलाई मसिनो रेखाहरूसँग मर्ज गर्दछ । यसको ज्योमेट्रिक डिस्प्लेले सौन्दर्यशास्त्र तथा सुन्दरताको उल्लेखनीय भावना देखाउँछ । ग्लिटर एजी को म्याट सर्फेस मुलायम भएतापनि स्क्रयाच, एब्रासन र फिंगरप्रिन्ट प्रतिरोधी छ । २.५डी फ्ल्याट फ्रेममा उपलब्ध यो फोन निकै स्लिम छ । हाल, वाई२७ दुई आकर्षक रंगहरू– बरगन्डी ब्ल्याक र सी ब्लू मा उपलब्ध छ । बरगन्डी ब्ल्याकले शानदार वाइन रेड र रिच ब्ल्याक टोनहरू संयोजन गर्दै अन्ततः डिप रेडको सिमरिङ्ग सेडमा रूपान्तरण हुन्छ । अर्कोतर्फ, सी ब्लूले स्पार्कलिंग ब्लू सी को स्फूर्तिदायी र रमाइलो सारलाई झल्काउदै सूर्यको मुनि अन्तर्निहित हुने छाल तथा रत्नहरू जस्तै चम्किन्छ । यी रङले सेरेनिटी, आनन्द र सरसफाईको भावना जगाउँछ । शक्तिशाली पर्फमेन्श पर्फमेन्शको कुरा गर्दा, भिभो वाई२७ निकै प्रभावशाली छ । यसको बलियो ५०००एमएएच ब्याट्री र शक्तिशाली ४४वाट फ्ल्यासचार्ज भएकाले प्रयोगकर्ताहरूले पावर समाप्त हुने चिन्ता नगरी लामो समयसम्म फोन चलाउन सक्छन् । यो स्मार्टफोन दक्ष मिडियाटेक हेलियो जी८५ मोबाइल प्लेटफर्ममा सञ्चालन हुन्छ जसले प्रयोगकर्ताहरूलाई सहज सर्फिङको साथ सशक्त बनाउँछ । स्मार्टफोनले ६जीवी र्याम+ १२८ जीवी रोम सहित पर्याप्त स्टोरेज प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरूलाई स्टोरेज–सम्बन्धित चिन्ताहरूलाई हटाउछ । वाई२७ को उत्कृष्ट विशेषताहरू मध्ये एक यसको विस्तारित र्याम टेक्नोलोजी ३.० हो, जसले ६जीवी र्याम + ६जीवी विस्तारित र्यामलाई समर्थन गर्दछ । यो नयाँ विशेषताले प्रयोगकर्ताहरूलाई पृष्ठभूमिमा सक्रिय एपहरू राख्न अनुमति दिन्छ, जसले गर्दा प्रयोगकर्ताहरु सहजै एक एपबाट अर्को एपमा स्विच गर्न सक्छन् । वाई२७ ६.६४ इन्च एफएचडी+ सनलाइट डिस्प्लेको साथ आउँछ जसले बाहिरी दृश्यतालाई परिष्कृत गर्दै चर्को घाममा पनि स्पष्ट र सहज दृश्य अनुभव सुनिश्चित गर्दछ । २३८८ × १०८० को एफएचडी+ रिजोल्युसनमा, रङहरू तथा हरेक विवरण अझ जीवन्त देखिन्छन् । यो स्मार्टफोनले प्रयोगकर्ताहरूलाई चलचित्र हेर्दा वा गेम खेल्दा एक शानदार दृश्य अनुभव प्रदान गर्दछ । स्पष्ट र तीव्र तस्वीरहरु वाई२७ मा ५०एमपी अल्ट्रा क्लियर क्यामेरा रहेको छ जसले दिन मात्र नभएर रातमा समेत उत्कृष्ट शटहरू खिच्छ । प्रकाश अवस्थाहरू जे भए पनि, प्रयोगकर्ताहरूले अब स्पष्ट तस्बिरहरू क्लिक गर्न सक्छन् जसले अल्ट्रा–शार्प तस्वीरहरूको लागि प्रत्येक विवरणलाई सुन्दरताका साथ क्याप्चर गर्दछ । २एमपी बोकेह क्यामेराले परिस्कृत एल्गोरिदम प्रदान गर्दै, सटीक र परिष्कृत परिणामहरू प्रदान गर्नुका साथै जीवन्त तस्वीरहरु खिच्छ । प्रयोगकर्ताहरूले ८ एमपी फ्रन्ट क्यामेराको साथ उत्तम र स्पष्ट सेल्फीहरू खिच्न सक्छन् । यसको एडभान्स क्यामेरा सुविधाहरूको साथ, वाई२७ ले प्रयोगकर्ताहरूलाई कम प्रकाशको अवस्थामा पनि आफ्ना साथीहरू र परिवारहरूसँग आश्चर्यजनक तथा जीवन्त तस्वीरहरु खिच्न अनुमति दिन्छ । समग्रमा, वाई२७ ले बजारमा राम्रो प्रशंसा कमाएको छ । नेपाली बजारमा रु २३,९९९ मा सार्वजनिक भएको वाइ २७ को उल्लेखनीय सौन्दर्यशास्त्र, र निर्बाध कार्यसम्पादनले यसलाई आफ्ना प्रतिस्पर्धीहरूबाट अलग राखेको छ, प्रयोगकर्ताहरुका लागि हरेक पक्षबाट एक उत्कृष्ट स्मार्टफोन बनेको छ । यसले उत्कृष्टताका सबै मापदण्डहरू पूरा गर्दै कमजोरीहरूको लागि कुनै पनि ठाउँ राखेको छैन । एक पटक फेरि, भिभोले आफ्नो प्रतिष्ठालाई थप सुदृढ गर्दै स्मार्टफोन डिजाइनमा नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धता प्रमाणित गरेको छ । ग्राहकको दृष्टिकोणबाट, यो उच्च गुणस्तरको अलराउन्डर स्मार्टफोन सबै प्रयोगकर्ताहरुका लागि एक शीर्ष छनोट हुनेछ ।

तपाईंलाई थाहा छ ? स्नातक तह पढ्न बैंकबाट बिनाधितो ५ प्रतिशत ब्याजमा ऋण पाइन्छ

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशनसँगै नेपालमा सञ्चालित विश्वविद्यालयहरुले स्नातक तहको भर्ना प्रकृया अगाडि बढाएका छन् । सामान्यतया कक्षा १२ पछि विश्वविद्यालय तहमा के पढ्ने र कहाँ पढ्ने भन्ने विषयमा विद्यार्थीहरुले धारणा तयार गरिसकेका हुन्छन् । आर्थिक अवस्थाको कारणले कक्षा १२ उत्तिर्ण गरेपछि कतिपय विद्यार्थीले पढाइ नै छाडेर अन्य पेसा रोज्ने गर्छन् भने कतिपयले आर्थिक कारणले रोजेको विषय पढ्न पाउँदैनन् । तर, सरकारले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि लक्षित समूहका विद्यार्थीलाई सहुलियत कर्जा दिने व्यवस्था गरेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीले सो सहुलियत ऋणको सहयोग लिन सक्छन् । कति ऋण पाउन सकिन्छ ? नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ सम्बन्धी व्यवस्था गरेको छ । सो कार्यविधि अनुसार विद्यार्थीहरुले बैंकबाट उच्च शिक्षा अध्ययनको लागि पाँच लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्छन् । विशेषगरी काठमाडौंमा रहेका कतिपय प्राविधिक निजी कलेजहरुले केही बैंकहरुसँग सम्झौता गरेर आफ्ना विद्यार्थीहरुलाई सो सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सहजिकरण पनि गरेका छन् । कार्यविधिअनुसार सो ऋण देशभित्रको उच्च शिक्षामा अध्ययन गर्ने लक्षित क्षेत्रको विद्यार्थी सबैले प्राप्त गर्न सक्छन् । कति लाग्छ ब्याज ? कार्यविधिमा विद्यार्थीले बैंकबाट लिने ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’मा कति ब्याज लाग्ने भन्ने विषयमा स्पष्ट व्यवस्था गरिएको छ । कार्यविधिको परिच्छेद २, (५) मा सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा बैंकले आफ्नो आधार दरमा दुई प्रतिशत बिन्दु भन्दा बढी नहुनेगरी ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, सो ऋण उपलब्ध गराउँदा बैंकले बीमा प्रिमियम बापत र कर्जा सुरक्षण शुल्क बापत केही शुल्क लिन सक्छन् । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार बैंकबाट ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ मा बैंकको आधारदरमा दुई प्रतिशत बैंकले ब्याजदर थप्दा हुन आउने अंकमा नेपाल सरकारले उपलब्ध गराउने पाँच प्रतिशत घटाएर हुन आउने ब्याजदर लागु हुन्छ । उदाहरणका लागि साउन महिनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ८.०२ रहेको थियो । सो बैंकले प्रदान गर्ने सहुलियतपूर्ण शैक्षिक कर्जामा आधार दर ८.०२ प्रतिशतमा २ प्रतिशत थप गर्दा १०.०२ प्रतिशत हुन जान्छ । सो ब्याजमा नेपाल सरकारले उपलब्ध गराउने ५ प्रतिशत ब्याज अनुदान घटाउँदा जम्मा ब्याजदर ५.०२ प्रतिशत हुन आउँछ । कुन विद्यार्थीले कसरी पाउन सक्छ सहुलियतपूर्ण ऋण ? कार्यविधिअनुसार ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ प्राप्त गर्न विद्यार्थीले कक्षा १२ उत्तिर्ण गरेको तर, २५ वर्ष ननाघेको हुनुपर्छ । आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थीले स्वदेशकै कुनै कलेज वा विश्वविद्यालयमा अध्ययन गरिरहेको वा गर्ने हुनुपर्छ । यो सहुलियत ऋण प्राप्त गर्न विद्यार्थीले आर्थिक रुपमा विपन्न भएको, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस र अध्ययन गरेको शैक्षिक संस्थामा भर्ना भएको वा हुन योग्य रहेको कागजातको प्रतिलिपि बैंकमा पेश गर्नुपर्ने हुन्छ । प्रकृया पुरा गरेर बैंकबाट लिइने सहुलियतपूर्ण शिक्षा कर्जामा ब्याज अनुदानको व्यवस्था पाँच वर्षसम्मको लागि हुने र कर्जाको प्रकृतिअनुसार बैंकले अवधि निर्धारण गर्नसक्ने कार्यविधिमा उल्लेख गरिएको छ । आवश्यक कागजात पेश गरिसकेपछि पनि बैंकहरुले ऋण प्रवाह नगरेमा विद्यार्थीले आफ्नो गुनासो नेपाल राष्ट्र बैंकको केन्द्रीय समन्वय तथा अनुगमन समितिको सचिवालयमा सम्पर्क गर्न सकिने कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार विद्यार्थीले उच्च शिक्षा अध्ययनको लागि बैंकबाट ऋण लिन कुनैपनि प्रकारको धितो राख्नुपर्दैन । त्यसको लागि एकाघरका सदस्य जमानीमा बसे हुने व्यवस्था कार्यविधिमा रहेको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ताले कार्यविधिमा ‘उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा’ सम्बन्धी व्यवस्था भएपनि घनिभूत हिसाबले कार्यान्वयनमा नआएको बताएका छन् । उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्थासम्बन्धी पुनरावलोकन गर्ने विषय समावेश गरेकाले आगामी दिनमा परिमार्जन हुनसक्ने समेत बताए । विद्यार्थीले सहुलियपूर्ण कर्जा लिएर ४ वर्षसम्म भुक्तान नगरेमा उसको राहदानी रोक्का गर्ने, कालोसूचीमा राख्ने र चलअचल सम्पत्ति रोक्का राख्ने लगायतका व्यवस्था कार्यविधिमा गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ [pdf id=432006]

समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने, सेयर कारोबार रोक्का

बनेपा । समता घरेलु लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट पत्र लघुवित्त वित्तीय संस्थालाई एक्वायर अर्थात प्राप्ती गर्ने भएको छ । जसको लागि दुबै लघुवित्तले भदौ ७ गते बिहान १० बजे प्रारम्भिक समझदारी पत्र अर्थात एमओयूमा हस्ताक्षर समेत गरिसकेका छन् । प्रारम्भिक समझदारी भएसँगै मनकामना स्मार्ट लघुवित्तका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का भएको छ । मनकामना स्मार्ट लघुवित्तमा दुई जना अधारभूत सेयरधनी रहेका छन् । जसमा अजय गोयनको ८.०४ प्रतिशत सेयर स्वामित्व र अमित कुमार गोयनको ५.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ । हालसम्म संस्थाको चुक्ता पुँजी १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ छ । प्राप्ति पश्चात् कायम हुने समता घरेलु लघुवित्तको कुल चुक्ता पुँजी ५७ करोड ५९ लाख रुपैयाँ र कुल शाखा संख्या ९९ वटा हुनेछ । हाल समता घरेलु लघुवित्तले ३ करोड ३२ लाख ८५ हजार ६ रुपैयाँसय बराबरको साधारण शेयर सर्वसाधारणहरुमा थप सार्वजनिक निष्काशन (फर्दर पव्लिक इस्यु) गर्ने गरि प्रक्रिया अघि बढाईएको जानकारी कम्पनी सचिव विश्व श्रेष्ठले बताए । समता घरेलु लघुवित्तको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा र मनकामना स्मार्ट लघुवित्तको रजिष्टर्ड कार्यालय रुपन्देहीको सिद्धार्थनगरमा रहेको छ ।

यस्तो छ बिहीबारको तरकारी तथा फलफूलको मूल्य [सूचीसहित]

काठमाडौं । तरकारी र फलफूलको भाउ दिनप्रतिदिन बढिरहेको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार बिहीबार नेपाली  ठुलो गोलभेँडा नेपाली एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने भारतीय गोलभेँडा १५० रुपैयाँमा कारोबार भइरहेको छ । लोकल सानो गोलभेँडा भने  ५५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसै गरी रातो आलु ५१ रुपैयाँ, भारतीय आलु ३५ रुपैयाँ ६७ पैसा र मुडेको आलु ४६ रुपैयाँ ६० पैसामा कारोबार भएको छ ।  प्याज सुकेको (भारतीय) ७७ रुपैयाँ ६० पैसा, गाजर ११६ रुपैयाँ ६७ पैसा, बन्दा ५५ रुपैयाँमा कारोबार भइरहेको छ । [pdf id=432117]

कम गुणस्तरको दाना उत्पादन गर्ने दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर

चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो । उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए । उनीहरूलाई दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो । दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरी मुद्दा दर्ता गरिएको उनले बताए । कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिम दानाको नमूना संकलन गरी २८ कम्पनीको परीक्षणका लागि पठाएको थियो । यस्तै गत आवमा यहाँका अन्य दुई उत्पादक कम्पनीलाई कारबाहीको सिफारिस गरिएको थियो । चिया र मह उत्पादन गर्ने कम्पनीबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए । यस्तै कार्यालयले गत आवमा एक सय विभिन्न खाद्यान्नको नमूना संकलन गरी परीक्षणका लागि पठाएको छ । पचासी पटक खाद्य बजार अनुगमन, २४ पटक दाना बजार अनुगमन, ६० वटा होटलको अनुगमन, ५९ खाद्य उद्योग र १४ दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिएको उनले जानकारी दिए । चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको अधिकारीले बताए । रासस

शनिबारदेखि मौसममा सुधार आउने

काठमाडौं । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म  झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । ‘आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट मौसम सुधार हुदैँ जानेछ’, मौसमविद् पौडेलले भने। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङहित भारी वर्षाको समेत सम्भावना छ । साथै रातिको समयमा कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । शुक्रबार दिउँसो देशभर बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका  केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

एकै पटक १०३ ठाउँको घरजग्गा बेच्दै एनआइसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंकले गैह्रक बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा बिक्री गर्ने भएको हो । बैंकका अनुसार विभिन्न १०३ ठाउँको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्नेछ । उक्त सम्पत्ति बिक्रीका लागि ७ दिनभित्र शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले उक्त गैह्र बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बिक्री गरिने बताएको छ । उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले ७ दिन भित्र गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।