विकासन्युज

तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । बसमा सवार २६ जनामध्ये ३ जनाको घटनास्थलमा तथा ३ जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । उनीहरु पशुपतिनाथको दर्शन गरी घर फर्किँदै थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एलआईसी नेपालले सार्वजनिक गर्याे नयाँ बोनसदर, बीमितले ६४ रुपैयाँसम्म पाउने

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेपछि एलआईसी नेपालले आर्थिक वर्ष २०७८/२०७९ को नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले उक्त आवको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन गरी कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन अनुसार सो मात्राको बोनसदर दिने घोषणा गरेको हो । सो प्रतिवेदनलाई प्राधिकरणले भदौ ३ गते गते स्वीकृत गरिसकेको इन्स्योरेन्सले जनाएको छ । कम्पनीको मुनाफामा सारिक हुने गरी प्रतिहजार न्युनतम ४१ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको हो । कम्पनीले सावाधिक, जीवन बीधा, जीवन साथी, जीवन श्री योजनामा प्रतिहजार न्युनतम ५१ रुपैयाँदेखि अधिकतम ६१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमध्ये ५ देखि ९ वर्ष अवधिको ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वर्षदेखि माथिको ६१ रुपैयाँ बोनस तोकेको छ । यस्तै, जीवन आन्नद बीमा योजनामा कम्पनीले प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले ५ देखि ९ वर्ष अवधिको ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको प्रतिहजार ६० रुपैयाँ बोनसद तोकेको हो । यस्तै, बाल सावाधिक ३४९ बीमा योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनसदर तोकेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षदेखि माथिको प्रतिहजार ६४ रुपैयाँ बोनसदर प्रदान गर्ने बताएको छ । धन वृष्टि योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, धन फिर्ता बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । बाल ममता र बाल स्नेह योजनामा कम्पनीले १५ वर्षसम्म अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर प्रदान गर्नेछ । जविन तरंग र नयाँ जीवन तरंग बीमा योजनामा कम्पनीले १० वर्ष अवधिको प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको ५१ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ । यस्तै, लघु सावाधिक योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । जीवन बचत योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ र २५ वर्ष माथिको प्रतिहजार ६१ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले हिमालयन एभरेष्टको सेयर बेच्दै

काठमाडौं । नेपाल इनभेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी वहादुर पाँडेले हिमायलन एभरेष्ट इन्स्योरेन्सको सेयर बिक्री गर्ने भएका छन् । हिमायलन एभरेष्ट इन्स्योरेन्सका संस्थापक सेयरधनी पाँडे आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । पाँडेले आफ्नो नाममा रहेको ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । दोश्रो बजारमा खुला कारोबार नहुने भएकाले सो सेयर बिक्री गर्न पाँडेले संचालक समितिमा निवेदन दिएका थिए । सो सेयरमा संस्थापक सेयरधनीहरुको पहिलो हक रहने छ । उनले बिक्रीमा राखेको सेयरको मूल्य प्रतिकित्ता २ सय रुपैयाँ तोकिएको छ । त्यसैले सो मूल्य नघट्ने गरी खरीद गर्न ईच्छुक संस्थापकले आवेदन पेश गर्नु पर्नेछ । ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन आग्रह गरिएको छ ।

अमेरिकी डलरको प्रभुत्व अन्त्य गर्ने ब्राजिलको प्रस्ताव, चिनियाँ युआन प्रयोग गर्ने

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी डलरको प्रभुत्वको सामना गर्न ब्रिक्स मुलुकका लागि साझा व्यापारिक मुद्रा सिर्जना गर्न आह्वान गरेका छन् । ‘ब्रिक्स बिजनेस फोरम लिडर्स डायलग’मा लुला दा सिल्भाले ब्रिक्स राष्ट्रहरूबीच सीमापार व्यापारका लागि साझा मुद्रा निर्माण गर्न वकालत गर्दै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको विकल्प खोज्नुपर्ने बताए । उनले उदीयमान राष्ट्रहरुबीचको व्यापारलाई सहज बनाउन साझा मुद्राको प्रयोग गरिने बताए । लुला डा सिल्भाले भने, “हामी ब्रिक्स एक बहुपक्षीय संस्था बनोस् भन्ने चाहन्छौं, न कि कुनै विशेष क्लब । हामी केवल आफूलाई व्यवस्थित गर्न चाहन्छौं ।” उनले गत अप्रिलमा व्यापारमा अमेरिकी डलरको निर्भरता कम गर्न सम्भवतः साझा क्षेत्रीय मुद्रा वा यस्तै संयन्त्र सिर्जना गर्ने प्रस्ताव गरेका थिए । ब्राजिलका राष्ट्रपतिले आफ्नो सरकारले अर्जेन्टिनासँगको व्यापारमा चिनियाँ युआन प्रयोग गर्ने सम्भावनाबारे विचार गरिरहेको घोषणा गरेका थिए । उनले भने, “हामी कुनै एक देशमा निर्भर हुन सक्दैनौं जहाँ डलर छ, जसले डलरमा अधिक पैसा प्रचलनमा ल्याउँछ, र हामी त्यो मुद्राको उतारचढावबाट बाँच्न बाध्य छौं । यो सही होइन ।”

ब्रिक्समा सामेल हुन २ दर्जन देशले दिए आवेदन, थप शक्ति आर्जन गर्ने

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्सका पाँच राष्ट्रले क्लबलाई नयाँ सदस्यका रुपमा विस्तार गर्न तयार रहेको बताएका छन् । ब्रिक्स विश्वका पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरूः ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्ने गरि तयार पारिएको संक्षिप्त रूप हो । यस संगठनलाई विस्तार गर्ने आह्वान जोहानेसबर्गमा भएको तीन दिने शिखर सम्मेलनको एजेन्डामा हावी भएको छ । संयुक्त राज्य अमेरिकासँग बढ्दो प्रतिस्पर्धाका बीच चीनले ब्रिक्सलाई द्रूत गतिमा बढाउन खोजिरहेको छ तर समूहको अर्को प्रमुख शक्ति भारत आफ्नो भूराजनीतिक प्रतिद्वन्द्वीको मनसायबाट सतर्क छ । विश्वको जनसङ्ख्याको ४० प्रतिशत र विश्व अर्थतन्त्रको एक चौथाइ हिस्सा ओगटेको ब्रिक्समा सामेल हुन करिब २ दर्जन देशले औपचारिक रूपमा आवेदन दिएको अधिकारीहरूले बताएका छन् । जोहानेसबर्गमा भइरहेको सम्मेलनमा करिब ५० राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहितका ब्रिक्स नेताहरू सहभागी भएका छन् । सम्मेलनमा चीनको तफैबाट राष्ट्रपति सी चिन फिङ, भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी, ब्राजिलको तर्फबाट राष्ट्रपति लुइस इनासियो लुला डा.सिल्भा र अफ्रिकाका तर्फबाट राष्ट्रपति रामाफोसा सहभागी छन् भने रूसी राष्ट्रपति भ्लादिर पुटिनले भने उनी लगाइएको प्रतिबन्धका कारण सदस्य तथा आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई पर्नसक्ने वैधानिक समस्या जारी युक्रेनविरूद्धको युद्धलाई मध्यनजर राख्दै सम्मेलनलाई भर्चुअलमाध्यमबाट सम्बोधन गर्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सीले भने, “विश्वव्यापी शासनलाई अझ न्यायपूर्ण र समतामूलक बनाउन हाम्रो शक्ति र बुद्धिलाई तन्क्याउनुपर्छ ।” यसबाट समूहले थप शक्ति आर्जन गर्ने उनको धारणा रहेको छ । त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “हामी समूहलाई विस्तार गर्ने सङ्घारमा उभिएका छौं ।” उनले ब्रिक्सको उद्देश्य र भावनासँग अघि बढ्न चाहने सबैलाई प्रक्रियागतरूपमा सामेल गर्न भारत खुला रहेको बताए । ब्रिक्स ठूला र साना अर्थतन्त्र, प्रजातान्त्रिक र अधिनायकवादी राज्यहरूको भिन्न मिश्रण हो, तर पश्चिमा नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिने सामूहिक इच्छा छ । यो समूह सहमतिमा चल्छ र अधिकारीहरूले ब्रिक्स नेताहरूले नयाँ सदस्यहरूलाई स्वीकार गर्ने मापदण्डमा छलफल गरिरहेको बताएका छन् ।

राजस्व असुलीमा आक्रामक बन्दै महानगर, पहिलो महिनामै उठायो ६५ करोड

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा ६५ करोड ४२ लाख रुपैयाँ बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड रुपैयाँमात्र राजस्व असुल गरेको कामपाले अहिले राजस्व बढाएको छ । चालु आवका लागि कामपाले १० अर्ब ८१ करोड रुपैयाँको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको पहिलो महिनामा २० करोड रुपैयाँले बढी हो । चालु आवको पहिलो महिनामा सबैभन्दा बढी ३१ करोड रुपैयाँ घरबहाल करबाट असुल भएको काफ्लेको भनाइ छ । सम्पत्ति करमा १२ करोड रुपैयाँ असुल भएको छ । सबैभन्दा कम न्यायिक दस्तुरमा ३५ हजार रुपैयाँ मात्र असुल भएको छ । बहाल कर तिर्ने करदाता बढेकाले पछिल्लो समय कामपाको राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेले जानकारी दिए । उनका अनुसार विगतका वर्षमा भन्दा अहिले करदाता पनि निकै नै बढेका छन् । अहिले कामपामा ३ लाखभन्दा बढी करदाता छन् । समयमा नै कर तिर्नका लागि कामपाले ३२ वटै वडा कार्यालयमा बिहान बेलुका वडा सदस्य र कर्मचारीको नेतृत्वमा उत्प्रेरित गर्ने काम पनि गरिरहेको छ । कामपाले समयमा नै कर असुल गराउनका लागि गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो । बहाल कर निर्देशिका जारी भएसँगै कर तिर्ने करिब ५१ हजार करदाता बढेका छन् । उक्त सङ्ख्या निर्देशिका जारी भएपछि मात्रै झन्डै एक हजारले बढेका हुन् । निर्देशिकाअनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्बन्धित वडा कार्यालयसँग लिखित सम्झौता गर्नुपर्छ । कामपाले सम्पत्ति कर, घरजग्गा, बहाल, व्यवसाय र मनोरञ्जनसहित ३६ शीर्षकमा कर असुल गर्दै आएको छ । कामपाले आव २०७९/८० मा १० अर्ब २५ करोड ४१ लाख रुपैयाँ राजस्व असुल गरेको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजस्व लक्ष्यअनुसार नै उठे पनि सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कम आउँदा समग्र राजस्व गत आवमा घटेको छ ।

‘तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो’

काठमाडौं । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा अथवा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई सब त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ । बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो छ । त्यही छाँगोको पानी कटाउने रेलिङ बिनाको सानो पुल छ । पुल भएको नजिकै सडकमा दुई मिटर जति लम्बाइको खाल्डो छ । पुल र छहराले गर्दा त्यो स्थानबाट दोहोरो सवारी पास हुन हम्मेहम्मे छ । प्रहरी उपरीक्षक गौतम भन्छन्, “कि त अगाडिको गाडी उछिन्ने क्रममा अनियन्त्रित भयो कि खाल्डो छलाउन खोज्दा चालक आत्तिएर बस अनियन्त्रित भयो । सडक र चालककै कमजोरीले दुर्घटना भएको हुनसक्छ ।” रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रो पटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ । काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा दुई जना महिलासहित ८ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । १ जना बेपत्ता भएको आशङ्कामा खोजीकार्य जारी छ ।

घुस रकमसहित नापीका अमिन कार्यकक्षबाटै पक्राउ

काठमाडौं । सिरहाको लहानस्थित नापी कार्यालयका अमिन दीपरञ्जन यादव १९ हजार रुपैयाँ घुस रकमसहित बुधबार दिउँसो पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले यादवलाई उक्त घुस रकमसहित कार्यकक्षबाटै पक्राउ गरेको हो । जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारले छापा मारी निज यादवले सेवाग्राहीबाट १० हजार लिइसकेको अवस्थामा उनलार्ई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले एक विज्ञप्ति जारी गरी प्रष्ट पारेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उक्त विज्ञप्तिमा उल्लेख छ । केही समयअघि पनि अख्तियारले सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृतलाई रु एक लाख घुससहित पक्राउ गरेको थियो ।