विकासन्युज

नेप्सेमा एक लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्त संस्थाको १४.२५ प्रतिशत बोनस अर्थात २ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा

चितवन । भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ । अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको ०५६–५९७००३ मा फोन गरेर ‘रिङ्गटोन’ आएपछि २२२ मा डायल गरेर सेवा लिन सकिनेछ । यो सेवाअन्तर्गत रोग र उपचारसम्बन्धी जानकारीका लागि स्वास्थ्यकर्मी र चिकित्सकसँग परामर्श लिन सकिने उनले बताए । अर्को महिनादेखि भिडियोबाट समेत सेवा दिने योजना अस्पतालले बनाएको उनले जानकारी दिए । यो सेवाअन्तर्गत रोग, उपचार र अस्पतालबाट प्रदान गरिने सेवासम्बन्धी परामर्श लिन सकिने उनको भनाइ छ । सामान्य समस्या लिएर अस्पतालसम्म बिरामी आउन नपरोस् भन्नका लागि सेवा सुरु गरिएको पौडेलले बताए । यसको प्रभावकारितालाई हेरेर सेवा विस्तार गरिनेछ । अस्पतालले फोनबाटै औषधिसम्बन्धी जानकारीसमेत दिन सुरु गरेको छ । पौडेलका अनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म यो सेवा दिन सुरु गरिएको छ । उनका अनुसार औषधिसम्बन्धी साधारण परामर्शका लागि ९८०९१८१३०० वा ०५६–५९७००३ मा फोन गरी १६६ मा डायल गर्न सकिनेछ । बिरामीले औषधिसम्बन्धी जिज्ञासा वा जानकारी फोनबाट लिन पाउने भएपछि सानातिना समस्याका लागि अस्पताल धाउन नपर्ने उनले बताए । अस्पतालका वरिष्ठ फिजिसियन डा. कालिदास अधिकारीका अनुसार घरमा वृद्धवृद्धा मात्रै भएका ठाउँमा औषधि सेवनमा समस्या आउने गरेको छ । ज्येष्ठ नागरिकहरुले एकैजनाले धेरैथरी औषधि खानुपर्ने र छुट्याउन नसक्दा कतिपय थप समस्या लिएरसमेत अस्पताल आउने गरेको उनले बताए । यो सेवाबाट पूरै समाधान नभए पनि केही हदसम्म सहयोग पुग्ने उनको भनाइ छ । उनले भने, ‘परिवारमा ज्येष्ठ नागरिक मात्र हुँदा औषधि खुवाउने विषयमा जान्ने बुझ्ने मान्छेले नियमित परामर्श दिन जरुरी छ ।’ कतिपयले एउटै औषधि दुई पटक खाने, कुनै समय औषधि खान भुल्नेजस्ता समस्याले रोग बल्झने गरेको चिकित्सकहरु बताउँछन् । वरिष्ठ फिजिसियन महेन्द्र अग्रहरीले छोराछोरी विदेशमा रहेर वृद्ध बाबुआमा मात्रै यहाँ भएकामा औषधिको धेरै समस्या आउने गरेको बताए । तोकिएको मात्राअनुसार औषधि नखाँदा समस्या हुने गरेको उनको भनाइ छ । रासस

मीनबहादुरको बयान : राजश्व तिरेरै व्यक्तिबाट जग्गा किनेको हुँ, के गल्ती गरें ?

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफुले व्यक्तिबाटै ललिता निवासको जग्गा खरिद गरेको बयान दिएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका गुरुङले उक्त जग्गा जग्गा सरकारी हो भन्ने जानकारी नभएका र व्यक्तिबाट नै खरिद गरेको बयान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समक्ष दिएका हुन् । यस्तो छ उनको बयानको पूर्णपाठ :  मेरो राम कुमार सुवेदी र शोभाकान्त ढकाल सँग २०६०/२०६१ साल तिर ललिता निवास क्याम्प भित्रको जग्गा खरिद गर्ने समयमा भेटघाट भई चिनजान भएको हो । सो पश्चात ललिता निवास क्याम्प भित्रको जग्गा हामी तिन जनाको संयुक्त नाममा समेत खरिद गरेका हौं । सो पश्चात हामी ३ जना मिली भाटभटेनी डेभलपर्स प्रा.लि. खोली जग्गा बिकासको काम गरेका हौ । भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही संचालनमा रहेको छ । उक्त कम्पनिको संचालकहरुमा म, मेरो श्रीमती साबित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेका छौ । म र मेरी श्रीमती साबित्री गुरुङको नाममा ५१% शेयर रहेको छ भने रामकुमार सुवेदी र शोभाकान्त ढकालको गरी ४९% शेयर लगानी रहेको छ । हामीले ललिता निवास क्याम्प भित्र खरिद गरेको जग्गामा ढल, बाटो, बत्ति आदीको ब्यवस्था गर्न भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. दर्ता गरेका हौं । ललिता निवास क्याम्प भित्रको अं. ५ रोपनी जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि.को नाममा खरिद गरेका हौ । कम्पनीको संचालक समितिको अध्यक्ष भनी तोकिएको छैन । ललिता निवास क्याम्प भित्रको जग्गाहरु हाल साबिक भए पश्चात विभिन्न जग्गा धनीहरुसँग हामीले कम्पनीको नाममा समेत खरिद गरेका हौ । नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा मोही लाग्छ, लाग्दैन मलाई केही थाहा छैन, म अनभिज्ञ रहेको छु । कम्पनीको बहुमत शेयर मेरो नाममा रहे पनि म अन्य ब्यवसायको सिलसिलामा ब्यस्त हुने भएको हुँदा उक्त कम्पनीको काम कारबाही रामकुमार सुबेदीले गर्ने भएको हुँदा बहुमत शेयर मेरो नाममा भए पनि मलाई जानकारी नभएको हो । २०६७ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूको निवास विस्तारको क्रममा काठमाडौं जिल्ला का.म.पा वडा नं.४ को सिट नम्वर १०२५–१५ को साबिक कि.नं.७५ को ५९५.८० ब.मि. जग्गा मध्ये हालको कि.नं. २११ को ९९.३५ ब.मि. र ५९१ को ३३.७९ ब.मि. जग्गा जग्गाधनी पुर्जाको आधारमा खरिद गरेको हो । सो जग्गाहरु ब्यक्तिको नाममा कायम भए पश्चात खरिद गरिएको हो । सो जग्गा के कति रकममा को कसबाट खरिद गरिएको थियो हाल मैले बिर्सिए । मैले ब्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होईन । ललिता निवास क्याम्प भित्रको मेरो, मेरो परिवार तथा मेरो आफन्तको नाममा दर्ता कायम भएको जग्गाहरु खरिद गर्दा स्थलगत रुपमा साँध सिमाना छुट्याईएको थियो । उक्त जग्गाहरुको साँध सिमाना हाल एकिन गर्न सक्दिँन । मोहीहरुको बारेमा मलाई कुनै जानकारी छैन । सो सम्वन्धमा निज रामकुमार सुवेदीलाई थाहा होला । सो जग्गाहरु मेरो परिवार तथा आफन्तहरुको लागी आवास बनाउनको लागी साथै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरको गोदाम घर बनाउनको लागी खरिद गरिएको हो । उक्त समयमा उक्त जग्गाहरुमा जाने बाटो थिएन । सो जग्गासँग जोडिएको जग्गा खरिद गरी बाटो जोड्ने योजनाका कारण पहिले बाटो नभएको जग्गाहरु खरिद गरिएको हो । जग्गा पास गर्नको लागी घरबाटो सिफारिस लिएका थियौ । ललिता निवासको जग्गा म र मेरो परिवारले २०६१ सालको सेरोफेरोमा तत्कालिन जग्गाधनी सँग रहेको जग्गाधनी पुर्जाको आधारमा खरिद गरेका हौं । उक्त सरकारी जग्गा हिनामिना सम्वन्धमा मेरो तथा मेरो परिवारका सदस्यहरुको कुनै संलग्नता रहेको छैन । ललिता निवास क्याम्प भित्रको मेरो तथा मेरो परिबारहरुको नाममा खरिद गरेको जग्गामा मात्र मैले लगानी गरेको हो । निजले आफ्नो बयानमा किन त्यस्तो व्यहोरा लेखाए, मलाई थाहा भएन ।२०६७ सालमा बिशिष्ट व्यक्तिहरुको निवास परिसर बिस्तार गुरुयोजना बमोजिम बिस्तारित क्षेत्रमा म समेतको नाममा रहेको भाटभटेनी डेभलपर्सको नाममा रहेको १० आना २ पैसा जग्गा परेको थियो । सो बापत सट्टापट्टा भनी के कुन कित्ताको के कति क्षेत्रफल सट्टापट्टा आएको थियो मलाई थाहा छैन । म र मेरो परिवारले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी जग्गा खरिद गरेका हौं । मैले तथा मेरो परिबारले जग्गा धनी पुर्जा हेरी नियमानुसारको राजस्व तिरी सम्वन्धित जग्गा धनीहरुलाई नगदै रकम बुझाई जग्गा खरिद गरेका हौ । हाल अं २९ रोपनी जती जग्गा म, मेरो परिबार तथा नातेदारहरुको नाममा दर्ता कायम रहेको छ । म, मेरो परीवार तथा मेरो आफन्तको नाममा खरिद गरेको जग्गामा अं. २÷३ करोड लगानी भएको छ । सो सम्वन्धमा मलाई थाहा छैन । नेपाल सरकारको नामबाट बिभिन्न व्यक्तिहरुको नाममा जग्गा नामसारी, दाखिल खारेज भईसके पश्चात म समेतले साविक जग्गाधनी सँग तोकिएको मोल तिरी जग्गा खरिद गरेको हो । मैले भाटभटेनी सुपर मार्केटको परिसर बाहिर पारिवारीक आवास बनाउने सोच राखि रहेको थिएँ, यकिन मिति याद भएन, २०६० साल माघ महिनाको दिन बिहान पख श्रीमती साबित्री गुरुङ समेतलाई साथमा लिई मर्निङ वाकको क्रममा बालुवाटार पुग्दा चौरमा केही बालबालिकाहरु भलिबल खेल्दै गरेको देखेको थिएँ, उक्त जग्गामा घाँस, घारी र ढल बगिरहेको अवस्था थियो, उक्त जग्गा देख्दा यहाँ पनि खाली जग्गा रहेछ भन्ने थाहा पाएको हुँ, सो को करिब १०/१५ दिन पछि मेरो दाई नाताका रामकाजी कोने, विश्व प्रकाश पण्डित र दिपक भन्ने व्यक्ति समेतले भाटभटेनी स्थित भाटभटेनी सुपर मार्केटको प्राङ्गणमा मलाई भेटी बालुवाटारको जग्गा बिक्रीमा आएको छ, तपाईं पनि खरिद गर्ने भए कुरा गरौं भन्दा मैले मेरो लागि २/३ रोपनी जग्गा राखि दिनु भनेको थिएँ, सो को करिब २/३ दिन पछि शोभाकान्त ढकाल, राम कुमार सुवेदी, विश्व प्रकाश पण्डित, रामकाजी कोने समेत अन्य ३/४ जना मानिसहरु भाटभटेनी स्थित भाटभटेनी सुपर मार्केटको कार्यालयमा आई मलाई भेटी बालुवाटार स्थित शैलजा राणा, सुनिति राणा, रुक्म शमसेर ज.ब.रा., हेमाद्री शमसेर ज.ब.रा., हाटक शमसेर ज.ब.रा. र हेमन शमसेर ज.ब.रा. समेतको नाममा दर्ता कायम रहेको जग्गा खरिद गर्नु पर्यो भनी मलाई प्रस्ताव गरी जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा, नक्सा समेतका आवश्यक कागजात देखाएकोमा मैले कागज हेर्दा जग्गामा मोही समेत देखिएको, एक जनाको नाममा दर्ता रहेको जग्गा अर्को व्यक्तिको नाममा रहेको जग्गाले छेकेको, जग्गामा जाने बाटो समेत नभएकोले यस्तो झमेला भएको जग्गा खरिद गर्न सक्दिँन भन्दा शोभाकान्त ढकाल र राम कुमार सुवेदीले १५ दिन भित्र मोही मिलाउँछौं । राणा परिवारको जग्गा समेत खरिद गर्ने व्यवस्था मिलाउँछौं, तपाईंले जग्गा किन्दा फरक पर्दैन भनि विश्वाश दिलाएको र सो भन्दा अघि नै उक्त क्याम्प भित्रको केही जग्गा निज शोभाकान्त ढकाल, राम कुमार सुवेदी, विश्व प्रकाश पण्डित समेतले खरिद गरिसकेको भनि जानकारी गराएकोले निजहरुले भनेको कुरामा विश्वाश गरी ललिता निवास क्याम्प भित्रको जग्गाहरु नियमानुसार राजस्व तिरी सम्वन्धित जग्गा धनीलाई नगदै रकम दिई खरिद गरेको हुँ । उक्त जग्गामा जानको लागि आवश्यक पहुँच मार्गको लागि समेत निज शोभाकान्त ढकाल र राम कुमार सुवेदीको पहलमा हेमाद्री शमसेर ज.ब.रा. सँग ०-१२-०-० रोपनी जग्गा राम कुमार सुवेदी, शोभाकान्त ढकाल र म समेतको संयुक्त नाममा खरिद गरेका हौं । हाल उक्त ०-१२-०-० रोपनी जग्गा ललिता निवास क्याम्प भित्रको जग्गामा रहेको भाटभटेनी सुपर मार्केटको गोदाम र सो भित्रका अन्य कित्ता जग्गामा जाने बाटोको रुपमा प्रयोग भईरहेको छ । तत्कालिन समयमा निज कुमार रेग्मी म समेतको स्वामित्वमा रहेको व्यवसायको कानूनी सल्लाहकार रहेको र निजले म सँग घर बनाउने प्रयोजनका लागि बालुवाटारमा जग्गा खरिद गर्ने ईच्छा व्यक्त गरेकाले मैले आफ्नो नाममा रहेको उल्लेखित कित्ता र क्षेत्रफलको जग्गा तत्काल चलनचल्तीको मुल्य लिई निजलाई बिक्री गरेको हुँ, के कति रकममा बिक्री गरें, लिखत हेर्दा थाहा हुन्छ । म तथा मेरो परिवारका सदस्यहरु र मेरो स्वामित्वको कम्पनी समेतको नाममा खरिद गरेको ललिता निवास क्याम्पको जग्गा मध्ये कि.नं. ७९ को २१७ व.मि. जग्गा वैशालि ट्रेड लिंकलाई, कि.नं. ८० को ५.९४ ब.मि. जग्गा माया गौचनलाई, कि.नं. ४६६ को २५.८ र कि.नं. ९४ को ४२.७ व.मि. जग्गा नुतन श्रेष्ठलाई, कि.नं. ६३ को ४७.७ व.मि. जग्गा विजेन्द्र जोशीलाई,कि.नं. १२८ को २७४ व.मि., कि.नं. ७० को ९५.४ व.मि. जग्गा संगिता राखेचालाई बिक्री गरेको छु, सो बाहेक अन्य को कसलाई के कति जग्गा बिक्री गरियो, यकिन भन्न सक्दिँन । मैले ललिता निवास क्याम्प भित्रको जग्गा खरिद गर्ने क्रममा २०६० सालको फागुन/चैत्र महिना तिर मात्रै राम कुमार सुवेदी र शोभाकान्त ढकाल समेतलाई चिनेको हुँ, तत्कालिन अवस्थामा म समेतले खरिद गरेको ललिता निवास क्याम्प भित्रको जग्गामा पहुँच मार्गको लागि समेत २०६०÷०६१ साल तिरै शोभाकान्त ढकाल र राम कुमार सुवेदीको पहलमा हेमाद्री शमसेर ज.ब.रा. सँग ०-१२-०-० रोपनी जग्गा राम कुमार सुवेदी, शोभाकान्त ढकाल र म समेतको संयुक्त नाममा खरिद गरेका थियौं, प्रधानमन्त्री निवास परिसर बिस्तारको क्रममा निवास परिसर बाहिरको बाटो २०६७ सालमा मात्र बनेको हो, उक्त बाटो तयार हुँदा तत्काल हामी समेतको स्वामित्वमा रहेको ललिता निवास क्याम्प भित्रको जग्गा हुँदै निर्माण भएको हो भन्ने समेत व्यहोराको बयान ।

रित्तिदै गाउँ, जीर्ण बन्दै घर

भरतपुर । इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी बजार पुगेका छन् । ‘घरमा श्रीमान र श्रीमती मात्रै छौं’, मगरले भने, ‘कोही छोरा भरतपुर त कोही विदेशमा छन् ।’ पहिले १२ घरपरिवार रहेको खानी गाउँमा अहिले पाँच/छ घर मात्रै छन् । केटाकेटी पनि पढ्नका लागि बजार झरिसकेको र गाउँमा बुढापाका मात्रै बाँकी भएको उनको भनाइ छ । सोही वडाको कुयलघारीमा अधिकांश घर खाली छन् । यो भूकम्प प्रभावित ठाउँ पनि हो । भूकम्पपछि यहाँबाट बसाइँसराई गर्ने बढेका थिए । यस ठाउँलाई भूकम्पको जोखिमयुक्त ठाउँ घोषणा गरेपछि झन् गाउँ छाड्ने बढेको कुयलघारीका सन्तुलाल विकले बताए । मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ । पशुपालन र कृषि कर्म पनि घट्दै गएको छ । खानीगाउँ र कोयलघारीमा एक सय आठ घरधुरी छन् । यहाँ मगर, गुरुङ, चेपाङ र दलित समुदायको बसोबास छ । स्थानीय झुमाकुमारीले कोही छोराछोरी पढाउन भन्दै बजार गएको र कोही कमाउन भन्दै विदेश गएपछि गाउँमा चहलपहल कम हुँदै गएको बताइन् । खानीगाउँदेखि नारायगणगढ–मुग्लिन राजमार्ग पाँच किलोमिटर दूरीमा पर्दछ । गाउँमा अहिले मोटरबाटो पुगेको छ । विद्युत्, खानेपानीको सबै सुविधा पनि आइसकेको छ । विकास पुगेपछि पशुपालन र खेतीपाती कम हुँदै गएको कुयलघारीका सेतु विकको भनाइ छ । ‘यहाँका जमिन बाँझै छन् । मानिस सहर पसे । गाउँमा भएकाले पनि काम गर्न छाडे’, उनले भने । मानिसको बसोबास कम हुँदै गएपछि यहाँका घर जीर्ण बन्दै गएको इच्छाकामना गाउँपालिका कार्यपालिका सदस्य परिमाया कामीले बताइन् । युवाहरुले गाउँ छाडेपछि खेती हुन छाडेको छ भने यहाँ उत्पादन हुने फसलले छ महिना पनि नपुग्ने उनको भनाइ छ । पहिले जस्तो उत्पादन पनि हुँदैन त्यसैले बजारबाट सामान किन्नुपर्ने बाध्यता छ । यहाँका मानिसहरु बाख्रा बिक्रीबाट कमाएको र विदेशबाट पठाएको पैसाले जीविकोपार्जन भइरहेको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । ‘किसानका लागि गाउँपालिकाले कृषिका कार्यक्रम ल्याएको छ । तर उक्त सुविधा लिने कोही छैनन्’, उनले भने, ‘गतवर्ष छुट्याइएको बजेट पनि खर्च भएन ।’ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा खोर र गोठ सुधारका कार्यक्रम ल्याएको थियो । उनले पालिकाले गाउँमा बाँझै रहेका खेतबारीमा व्यावसायिक कृषिका लागि योजना बनाएर काम गर्ने बताए । यहाँका मानिस भरतपुर, सिमलढाप र गैँडाकोट लगायतका क्षेत्रमा बसाइसराइ गर्ने गरेका छन् । बसाइसराइ गरी जाने अधिकांशले जमिनसमेत बिक्री गरिसकेका छन् । रासस

महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि, राजस्वमा २५ प्रतिशत छुट

दाङ । कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्नेसम्मको सोच हावी थियो । यसकारण महिलाका नाममा रहने सम्पत्ति भनेको माइतीबाट प्राप्त दाइजो मात्रै हुन्थ्यो । अविवाहिता छोरीलाई पनि अर्काको घर जाने जात भन्दै सम्पत्ति दिने चलन हुँदैनथ्यो । तर त्यो परम्परा अहिले भने तोडिएको छ । सरकारले महिलाको नाममा जग्गा पास गर्दा कर छुट दिने व्यवस्था गरेपछि जग्गामा महिलाको स्वामित्व बढ्दै गएको छ । त्यस्तै कानुनले पनि अंश र वंशमा महिलाको हक स्थापित गरेकै कारणले पनि पछिल्लो समय जग्गामा महिलाको स्वामित्व बढ्दै गएको हो । मालपोत कार्यालय तुलसीपुर दाङका अनुसार गत आर्थिक वर्ष  २०७९/८० मा पाँच हजार आठ सय ११ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । यसमा सहरी क्षेत्रका चार हजार  पाँच सय ७३ जना र ग्रामीण क्षेत्रका एक हजार दुई सय ३८ जना रहेको मालपोत कार्यालय तुलसीपुरका सूचना अधिकारी लक्ष्मी तामाङले जानकारी दिइन् । उनका अनुसार महिलाका नाममा जग्गा पास गर्दा  २३ करोड १४ लाख ४९ हजार ९८ राजस्व छुट भएको छ । त्यसैगरी आव २०७८/७९ मा सहरी क्षेत्रका पाँच हजार नौ सय ७२ र ग्रामीण क्षेत्रका एक हजार आठ सय २७ गरी कूल सात हजार सातसय ९९ जना महिलाका नाममा जग्गा पास गराउँदा आठ करोड ४५ लाख ४० हजार चार सय ७६ राजस्व छुट भएको थियो । ‘कित्ताकाट बन्द हुनु, घरजग्गामा लगानी गर्नेको सङ्ख्या घट्नु जस्ता कारण जिल्लामा जग्गाको कारोबार घटेपनि जति लिखत पारित भए त्यसमा महिलाको पहुँच राम्रो छ’, उनले भने । आर्थिक वर्ष २०७७/७८ मा सहरी क्षेत्रका चार हजार आठ सय ९७ र ग्रामीण क्षेत्रका एक हजार पाँच सय गरी जम्मा पाँच हजार नौ सय दुई महिलाको नाममा जग्गा पास हुँदा  दुई करोड ८६ लाख १० हजार सात सय २३ राजस्व छुट भएको थियो । ‘हामी एकै रथका दुई पाङग्रा हौँ, श्रीमतिका नाममा जग्गा पास गर्दा राजस्वमा २५ प्रतिशत छुट पाइन्छ भने किन पास नगर्ने ? त्यसैले अहिले किन्न लागेको घर जग्गा श्रीमतीको नाममा पास गर्न लागेको छु’, तुलसीपुर उपमहानगरपालिका–६ का ५४ वर्षीय  रामु चौधरीले भने । मालपोत कार्यालयमा आफ्नो नाममा जग्गा पास गर्न आएकी तुलसीपुर–१२ की ४१ वर्षीया विणा रेग्मीले आफ्नो नाममा जग्गा राख्दा सुरक्षित पनि हुने र राजस्वमा पनि छुट पाउने हुँदा अहिले किन्न लागेको घरबासको जग्गा पास गराउन लागेको बताए । महिला सशक्तीकरणको सोचले नै सरकारले महिलाको नाममा जग्गा पास गर्दा राजस्वमा छुट दिने नीति ल्याएको हो, यसबाट महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ साथै महिलाको स्वाभिमान बढेको छ महिला अधिकारकर्मी  विमला शर्माको भनाइ छ । उनका अनुसार सरकारको यो नीतिले सम्पत्तिमा महिलाको पहुँच बढाएको छ भने उनीहरूलाई आत्मनिर्भर बनाउन पनि सहयोगी बनेको छ । रासस

अध्यागमन विभागको महानिर्देशकबाट हटे अधिकारी, गृहमा तानियो

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई उक्त पदबाट हटाइएको छ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा शेर्पासँग च्याट संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई सो पदबाट हटाइएको हो । यससँगै उनलाई गृह मन्त्रालयमा तानिएको छ । मन्त्रालयले यसबारे के भएको हो अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ । २०७९ फागुन १६ मा अध्यागमन विभागको महानिर्देशक बनेका उनी त्यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत थिए प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर तत्कालै विभागको महानिर्देशक बनाइएको थियो । महानिर्देशक अधिकारीको ६० किलो सुन तस्करीका मुख्य योजनाकार मध्ये एक रहेका दावा छिरिङसँग कनेक्सन रहेको समाचारहरू सार्वजनिक भएपछि गृह मन्त्रालयले बिहीबार अधिकारीलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाएर मन्त्रालय तानेको हो । उनलाई मन्त्रालयमा तानेर आन्तरिक छानबिन थालिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ। सिआइबीको छानबिनमा रहेका अधिकारीले सुन तस्कर दावासँग विभिन्न समयमा वीच्याट मार्फत ठुला- ठुला डिलहरू गरेको र दावालाई सघाउ पु¥याएको यथेष्ट प्रमाणहरू फेला परेको सिआइबीका अनुसन्धान अधिकृतहरूले जनाएका छन् ।

अवकाशपछि ड्रागन खेतीमा रमाउँदै बागलुङका पूर्व शिक्षक अर्याल

बागलुङ । शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ७६ वर्षीय उनको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट र कमिज हो । घर्कदो उमेरले चाउरिँदै गएको अनुहार, घट्दो हातपाखुराका तागत । उनको घर छेउको बारीमा पुग्दा लटरम्म फलेका ‘ड्रागन फ्रुट्स’ देखिन्छन् । दुई वर्ष अगाडि लगाएको बिरुवाले अहिले फल दिन थालेपछि उनी दङ्ग छन् । बिहान सबेरैदेखि राति अबेरसम्म बारीमा बिताउने उनलाई खान लाउनको कुनै केही समस्या छैन । जेठो छोराबुहारी अमेरिका र कान्छो छोराबुहारी अष्ट्रेलिया बस्छन् । उनी आफैँ पनि पूर्व शिक्षक पनि हुन् । सानैदेखि नयाँ प्रकारका फलफूल खेतीमा रुचि राख्ने उनले ३८ वर्ष शिक्षण पेसा गरे । १५ वर्ष अगाडि अवकाश भएको उनले दुई वर्ष अगाडिदेखि व्यवसायिक ड्रागन फ्रुट्स खेती गर्न थालेका हुन् । दुई छोरा र दुई छोरीले विवाह गरेर आ-आफ्नो गर्न थालेपछि अहिले घरमा अर्याल श्रीमतीसँग मात्र छन् । बूढेसकालमा सुखले आराम गरेरै खान्छु भने पनि उनलाई सहजै पुग्छ तर उनी बाचुञ्जेल काम गर्नुपर्ने मान्यता राख्छन् । बागलुङको बडिगाड गाउँपालिका-५ का अर्यालले गाउँभन्दा पारि गुल्मीको मुसिकोट नगरपालिका-१ मा ड्रागन फ्रुट्स खेती गरेका छन् । उनको मुसिकोटमा पनि घर छ । गाउँमा दिनप्रति दिन घर रित्तिदैछन् । युवा शक्ति विदेश पलायन भइरहेका छन् भने, गाउँमा भएका बालबालिका र वृद्धवृद्धा पनि छोराछोरीले बजार लगेर राख्न थाले । खेतीयोग्य जमिन वनमाराले ढाक्न थाल्यो । कुनै बेला गरी खाने ठाउँ नहुँदा भोकभोकै बस्ने स्थानीय अहिले उर्वर भूमि बाँझो छोडेर विदेश तथा सहर पसेपछि उनीहरुलाई गाउँमा कसरी फर्काउने भन्ने चिन्ताले अचेल अर्यालाई सताइरहेको छ । विदेश जाने युवा र बजार पस्ने स्थानीयलाई गाउँमा रोक्न आफूले व्यावसायिक रुपमा ड्रागन खेती गर्न थालेको बालकृष्ण बताउँछन् । गाउँका खेतीयोग्य जमिनको सदुपयो गरी उत्पादन वृद्धि गरी गाउँमै लाखौँ कमाउने वातावरण सिर्जना गर्ने उनको भनाइ छ । गाउँघरमा आम्दानीका धेरै स्रोत हुँदाहुँदै पनि युक्त शक्ति विदेश पस्नु गलत भएको अर्याल बताउँछन् । पछिल्लो समय आधुनिक प्रविधिका कारण कृषिलाई सहज बनाएको र उत्पादन बढाउन टेवा पुर्‍याएको भन्दै युवालाई त्यसतर्फ आकर्षित गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । ‘उमेरले केही फरक पार्दैन, शरीरमा बल छ, काम गर्ने सिप छ, मलाई यतिकै बसेर खान पनि पुग्छ तर म बाजुञ्जेल सक्रिय जीवन बिताउनुपर्छ भन्ने लाग्छ, अहिले गाउँका सबै घर बारी खाली हुन थाले, अब मान्छेलाई कसरी गाउँमा टिकाउने होला ?,’ उनले भने, ‘मैले अब गाउँकालाई बजार जानबाट रोक्नुपर्छ, यहीँ मैले लाखौँ कमाए भने, अरुले पनि त्यो सिकेर गाउँमै रोक्न सकिन्छ कि भन्ने लागेको छ, अरुलाई पनि खेती गरी आम्दानी राम्रो हुन्छ भनेर सिकाएको छु ।’ अहिले पनि गाउँमा उनलाई सबैले ‘हेडसर’ भन्छन् । बारीमा काम गर्नुका साथै उनले गाउँ वरपरका युवा र स्थानीयलाई गाउँमै बस्न प्रेरित पनि गर्छन् ।  सरकारले गाउँका मान्छेलाई गाउँमै रोक्न नसके राज्य परनिर्भर भन्ने चिन्ता उनमा छ । आफूले यो खेतीलाई नमूना बनाएर अमेरिका र अष्ट्रेलिया रहेका छोरा बुहारीलाई गाउँ फर्काउने योजना रहेको सुनाए । २० लाखबाट सुरु गरेको ड्रागन फ्रुट्स खेती बढाउँदै जाने सोचमा छन् उनी । उनले लगाएका ड्रागनका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् । पहिलो पटक उत्पादन दिन थालेका बिरुवा यस वर्ष १० क्विन्टल बढी ड्रागन फ्रुट्स बिक्री गर्ने उनको भनाइ छ । ‘यो फल बहुगुणी र पौष्टिक तत्वयुक्त हुन्छ, महँगो पनि पर्छ, मैले पठाउने भनेको काठमाडौँ हो, काठमाडौँमा यसको मूल्य अहिले एक किलोको ६ सयदेखि ८ सय रुपैयाँसम्म पर्छ, अर्को वर्ष यसको दोब्बर तेब्बर फल्ने आँकलन गरेको छ, यसरी गाउँमा फल्ने उत्पादनलाई बजार बठाउन सके गाउँमै पनि लाखौँ आम्दानी गर्न सकिन्छ, विदेशबाट फलफूल आयात गर्न पर्दैन’ उनले भने, ‘खेतबारी आम्दानीका स्रोत हुन् यिनको सही प्रयोग गरेर विदेश गएका छोरा बुहारीलाई गाउँ फर्काउने लक्ष्य छ ।’ उनले गाउँपालिका/नगरपालिकाले कृषकका लागि बनेर करोडौँ बजेट खर्च गरेको भन्दै अहिलेसम्म आफूले कुनै पनि सहयोग नपाएको गुनासो गरे । स्थानीय सरकारले भूगोल र माटो अनुसार कृषकलाई उन्नत जातका बीउबिजन प्रदान गर्ने र समय-समयमा तालिम परामर्श दिएर व्यावसायिक बनाउन प्रेरित गरे धेरै युवा विदेश जानबाट रोकिने उनको भनाइ छ । पछिल्लो समय युवा शक्तिमा स्वदेशमा काम गर्न गाह्रो हुने भन्दै विदेशमा उनीहरुलाई आनन्द नभएको अर्यालले बताए । उनले भने, ‘काम गर्न पर्‍यो, काम गर्ने हो भने लाखौँ कमाउन सकिन्छ, आफ्नो गाउँ घरमा बारीमा काम गर्न लाज मान्ने, विदेश गएर जे गर्न पनि तयार भएर हुन्छ ?, आफ्नो भूमिमा स्वाभिमानका साथ कर्म गर्ने हो भने, लाखौँ रकम यहाँ पनि कमाउन सकिन्छ, मेरा पनि छोरा भतिज विदेश गएका छन्, उनीहरुलाई त्यहाँ आनन्द छैन, जति आनन्द यहाँ छ ।’ रासस

मनाङ सडक : साँझ खुल्यो बिहान अवरुद्ध

मनाङ । हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे, मस्र्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रुपमा रहेका बेँसीसहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको डुम्रे–बँसीसहर–चामे सडक आयोजना कार्यालयका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार सडक निर्माण गर्दैगर्दा माथिबाट पहिरो खस्ने समस्याले बाटो खुलाउनै मुस्किल भएको छ । सबइञ्जिनीयर अधिकारीले भने, ‘एक ठाउँमा सडक सरसफाइ गरिन्छ, अर्को स्थानमा पहिरो खसेर ट्र्याक नै बगाउने गरेको र वर्षाको समयमा भौगोलिक धरातल कमजोर रहेकाले  सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको छ ।’ धरातल कमजोर भएको अवस्थामा साँगुरो बाटोमा दुई सय मिटरमाथिबाट पहिरो खस्दा सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरको उनको भनाइ थियो  । सबइञ्जिनीयर अधिकारीले भने, ‘मनाङ आउने एउटै मात्र सडक छ, यसमा पनि मुख्य सडकसँगै जोडिएर खोलिएका शाखा सडकका कारण समस्या हुने गरेको छ ।’ मुख्य सडकसँग समन्वय नगरी खोलिएका शाखा सडकबाट आउने लेदोसहितको पानीले सडकमा समस्या हुँदै आएको छ ।  सडक अवरुद्ध हुँदा सवारीसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ । यहाँको सडक पूर्णरुपमा ठप्प हुँदा  मनाङ आउने पर्यटक, पथप्रर्दशक र कर्मचारीहरू  बीच बाटोमै अलपत्रमा परेका छन् । छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका किसानले सास्ती भोग्नाका साथै स्याउ, आलु बिक्रीका लागि बजारसम्म पु¥याउन पनि समस्या भएको स्थानीय किसान सोलबहादुर गुरुङले बताए । उनले भने, ‘किसानलाई सबैतिरबाट सास्ती भोग्नुपर्छ, सडकका कारण बारीमा फलेका स्याउ बिक्री गर्न बजारसम्म पु¥याउन सास्ती भएको छ, अर्डर आएको सामान समयमा बजारसम्म पु¥याउनै सकिदैन र आम्दानीभन्दा पनि सामान पु¥याउनमै खर्च बढी लाग्ने गरेको छ ।’ यहाँ उत्पादित स्याउ र आलु बिक्रीका लागि लमजुङ, पोखरा, काठमाडैं, चितवनलगायत देशका ठूला सहरबाट माग हुने गरे पनि उत्पादित वस्तु पु¥याउनुभन्दा बढी सामग्री ढुवानीमा खर्चनुपर्ने अवस्था यहाँका किसानले भोग्दै आएका छन् । रासस