काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफुले व्यक्तिबाटै ललिता निवासको जग्गा खरिद गरेको बयान दिएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका गुरुङले उक्त जग्गा जग्गा सरकारी हो भन्ने जानकारी नभएका र व्यक्तिबाट नै खरिद गरेको बयान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समक्ष दिएका हुन् ।
यस्तो छ उनको बयानको पूर्णपाठ :
मेरो राम कुमार सुवेदी र शोभाकान्त ढकाल सँग २०६०/२०६१ साल तिर ललिता निवास क्याम्प भित्रको जग्गा खरिद गर्ने समयमा भेटघाट भई चिनजान भएको हो । सो पश्चात ललिता निवास क्याम्प भित्रको जग्गा हामी तिन जनाको संयुक्त नाममा समेत खरिद गरेका हौं । सो पश्चात हामी ३ जना मिली भाटभटेनी डेभलपर्स प्रा.लि. खोली जग्गा बिकासको काम गरेका हौ । भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही संचालनमा रहेको छ । उक्त कम्पनिको संचालकहरुमा म, मेरो श्रीमती साबित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेका छौ । म र मेरी श्रीमती साबित्री गुरुङको नाममा ५१% शेयर रहेको छ भने रामकुमार सुवेदी र शोभाकान्त ढकालको गरी ४९% शेयर लगानी रहेको छ । हामीले ललिता निवास क्याम्प भित्र खरिद गरेको जग्गामा ढल, बाटो, बत्ति आदीको ब्यवस्था गर्न भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. दर्ता गरेका हौं ।
ललिता निवास क्याम्प भित्रको अं. ५ रोपनी जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि.को नाममा खरिद गरेका हौ । कम्पनीको संचालक समितिको अध्यक्ष भनी तोकिएको छैन । ललिता निवास क्याम्प भित्रको जग्गाहरु हाल साबिक भए पश्चात विभिन्न जग्गा धनीहरुसँग हामीले कम्पनीको नाममा समेत खरिद गरेका हौ । नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा मोही लाग्छ, लाग्दैन मलाई केही थाहा छैन, म अनभिज्ञ रहेको छु । कम्पनीको बहुमत शेयर मेरो नाममा रहे पनि म अन्य ब्यवसायको सिलसिलामा ब्यस्त हुने भएको हुँदा उक्त कम्पनीको काम कारबाही रामकुमार सुबेदीले गर्ने भएको हुँदा बहुमत शेयर मेरो नाममा भए पनि मलाई जानकारी नभएको हो । २०६७ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूको निवास विस्तारको क्रममा काठमाडौं जिल्ला का.म.पा वडा नं.४ को सिट नम्वर १०२५–१५ को साबिक कि.नं.७५ को ५९५.८० ब.मि. जग्गा मध्ये हालको कि.नं. २११ को ९९.३५ ब.मि. र ५९१ को ३३.७९ ब.मि. जग्गा जग्गाधनी पुर्जाको आधारमा खरिद गरेको हो ।
सो जग्गाहरु ब्यक्तिको नाममा कायम भए पश्चात खरिद गरिएको हो । सो जग्गा के कति रकममा को कसबाट खरिद गरिएको थियो हाल मैले बिर्सिए । मैले ब्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होईन । ललिता निवास क्याम्प भित्रको मेरो, मेरो परिवार तथा मेरो आफन्तको नाममा दर्ता कायम भएको जग्गाहरु खरिद गर्दा स्थलगत रुपमा साँध सिमाना छुट्याईएको थियो । उक्त जग्गाहरुको साँध सिमाना हाल एकिन गर्न सक्दिँन । मोहीहरुको बारेमा मलाई कुनै जानकारी छैन । सो सम्वन्धमा निज रामकुमार सुवेदीलाई थाहा होला । सो जग्गाहरु मेरो परिवार तथा आफन्तहरुको लागी आवास बनाउनको लागी साथै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरको गोदाम घर बनाउनको लागी खरिद गरिएको हो । उक्त समयमा उक्त जग्गाहरुमा जाने बाटो थिएन । सो जग्गासँग जोडिएको जग्गा खरिद गरी बाटो जोड्ने योजनाका कारण पहिले बाटो नभएको जग्गाहरु खरिद गरिएको हो । जग्गा पास गर्नको लागी घरबाटो सिफारिस लिएका थियौ । ललिता निवासको जग्गा म र मेरो परिवारले २०६१ सालको सेरोफेरोमा तत्कालिन जग्गाधनी सँग रहेको जग्गाधनी पुर्जाको आधारमा खरिद गरेका हौं ।
उक्त सरकारी जग्गा हिनामिना सम्वन्धमा मेरो तथा मेरो परिवारका सदस्यहरुको कुनै संलग्नता रहेको छैन । ललिता निवास क्याम्प भित्रको मेरो तथा मेरो परिबारहरुको नाममा खरिद गरेको जग्गामा मात्र मैले लगानी गरेको हो । निजले आफ्नो बयानमा किन त्यस्तो व्यहोरा लेखाए, मलाई थाहा भएन ।२०६७ सालमा बिशिष्ट व्यक्तिहरुको निवास परिसर बिस्तार गुरुयोजना बमोजिम बिस्तारित क्षेत्रमा म समेतको नाममा रहेको भाटभटेनी डेभलपर्सको नाममा रहेको १० आना २ पैसा जग्गा परेको थियो । सो बापत सट्टापट्टा भनी के कुन कित्ताको के कति क्षेत्रफल सट्टापट्टा आएको थियो मलाई थाहा छैन । म र मेरो परिवारले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी जग्गा खरिद गरेका हौं । मैले तथा मेरो परिबारले जग्गा धनी पुर्जा हेरी नियमानुसारको राजस्व तिरी सम्वन्धित जग्गा धनीहरुलाई नगदै रकम बुझाई जग्गा खरिद गरेका हौ । हाल अं २९ रोपनी जती जग्गा म, मेरो परिबार तथा नातेदारहरुको नाममा दर्ता कायम रहेको छ । म, मेरो परीवार तथा मेरो आफन्तको नाममा खरिद गरेको जग्गामा अं. २÷३ करोड लगानी भएको छ ।
सो सम्वन्धमा मलाई थाहा छैन । नेपाल सरकारको नामबाट बिभिन्न व्यक्तिहरुको नाममा जग्गा नामसारी, दाखिल खारेज भईसके पश्चात म समेतले साविक जग्गाधनी सँग तोकिएको मोल तिरी जग्गा खरिद गरेको हो । मैले भाटभटेनी सुपर मार्केटको परिसर बाहिर पारिवारीक आवास बनाउने सोच राखि रहेको थिएँ, यकिन मिति याद भएन, २०६० साल माघ महिनाको दिन बिहान पख श्रीमती साबित्री गुरुङ समेतलाई साथमा लिई मर्निङ वाकको क्रममा बालुवाटार पुग्दा चौरमा केही बालबालिकाहरु भलिबल खेल्दै गरेको देखेको थिएँ, उक्त जग्गामा घाँस, घारी र ढल बगिरहेको अवस्था थियो, उक्त जग्गा देख्दा यहाँ पनि खाली जग्गा रहेछ भन्ने थाहा पाएको हुँ, सो को करिब १०/१५ दिन पछि मेरो दाई नाताका रामकाजी कोने, विश्व प्रकाश पण्डित र दिपक भन्ने व्यक्ति समेतले भाटभटेनी स्थित भाटभटेनी सुपर मार्केटको प्राङ्गणमा मलाई भेटी बालुवाटारको जग्गा बिक्रीमा आएको छ, तपाईं पनि खरिद गर्ने भए कुरा गरौं भन्दा मैले मेरो लागि २/३ रोपनी जग्गा राखि दिनु भनेको थिएँ, सो को करिब २/३ दिन पछि शोभाकान्त ढकाल, राम कुमार सुवेदी, विश्व प्रकाश पण्डित, रामकाजी कोने समेत अन्य ३/४ जना मानिसहरु भाटभटेनी स्थित भाटभटेनी सुपर मार्केटको कार्यालयमा आई मलाई भेटी बालुवाटार स्थित शैलजा राणा, सुनिति राणा, रुक्म शमसेर ज.ब.रा., हेमाद्री शमसेर ज.ब.रा., हाटक शमसेर ज.ब.रा. र हेमन शमसेर ज.ब.रा. समेतको नाममा दर्ता कायम रहेको जग्गा खरिद गर्नु पर्यो भनी मलाई प्रस्ताव गरी जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा, नक्सा समेतका आवश्यक कागजात देखाएकोमा मैले कागज हेर्दा जग्गामा मोही समेत देखिएको, एक जनाको नाममा दर्ता रहेको जग्गा अर्को व्यक्तिको नाममा रहेको जग्गाले छेकेको, जग्गामा जाने बाटो समेत नभएकोले यस्तो झमेला भएको जग्गा खरिद गर्न सक्दिँन भन्दा शोभाकान्त ढकाल र राम कुमार सुवेदीले १५ दिन भित्र मोही मिलाउँछौं । राणा परिवारको जग्गा समेत खरिद गर्ने व्यवस्था मिलाउँछौं, तपाईंले जग्गा किन्दा फरक पर्दैन भनि विश्वाश दिलाएको र सो भन्दा अघि नै उक्त क्याम्प भित्रको केही जग्गा निज शोभाकान्त ढकाल, राम कुमार सुवेदी, विश्व प्रकाश पण्डित समेतले खरिद गरिसकेको भनि जानकारी गराएकोले निजहरुले भनेको कुरामा विश्वाश गरी ललिता निवास क्याम्प भित्रको जग्गाहरु नियमानुसार राजस्व तिरी सम्वन्धित जग्गा धनीलाई नगदै रकम दिई खरिद गरेको हुँ ।
उक्त जग्गामा जानको लागि आवश्यक पहुँच मार्गको लागि समेत निज शोभाकान्त ढकाल र राम कुमार सुवेदीको पहलमा हेमाद्री शमसेर ज.ब.रा. सँग ०-१२-०-० रोपनी जग्गा राम कुमार सुवेदी, शोभाकान्त ढकाल र म समेतको संयुक्त नाममा खरिद गरेका हौं । हाल उक्त ०-१२-०-० रोपनी जग्गा ललिता निवास क्याम्प भित्रको जग्गामा रहेको भाटभटेनी सुपर मार्केटको गोदाम र सो भित्रका अन्य कित्ता जग्गामा जाने बाटोको रुपमा प्रयोग भईरहेको छ । तत्कालिन समयमा निज कुमार रेग्मी म समेतको स्वामित्वमा रहेको व्यवसायको कानूनी सल्लाहकार रहेको र निजले म सँग घर बनाउने प्रयोजनका लागि बालुवाटारमा जग्गा खरिद गर्ने ईच्छा व्यक्त गरेकाले मैले आफ्नो नाममा रहेको उल्लेखित कित्ता र क्षेत्रफलको जग्गा तत्काल चलनचल्तीको मुल्य लिई निजलाई बिक्री गरेको हुँ, के कति रकममा बिक्री गरें, लिखत हेर्दा थाहा हुन्छ ।
म तथा मेरो परिवारका सदस्यहरु र मेरो स्वामित्वको कम्पनी समेतको नाममा खरिद गरेको ललिता निवास क्याम्पको जग्गा मध्ये कि.नं. ७९ को २१७ व.मि. जग्गा वैशालि ट्रेड लिंकलाई, कि.नं. ८० को ५.९४ ब.मि. जग्गा माया गौचनलाई, कि.नं. ४६६ को २५.८ र कि.नं. ९४ को ४२.७ व.मि. जग्गा नुतन श्रेष्ठलाई, कि.नं. ६३ को ४७.७ व.मि. जग्गा विजेन्द्र जोशीलाई,कि.नं. १२८ को २७४ व.मि., कि.नं. ७० को ९५.४ व.मि. जग्गा संगिता राखेचालाई बिक्री गरेको छु, सो बाहेक अन्य को कसलाई के कति जग्गा बिक्री गरियो, यकिन भन्न सक्दिँन । मैले ललिता निवास क्याम्प भित्रको जग्गा खरिद गर्ने क्रममा २०६० सालको फागुन/चैत्र महिना तिर मात्रै राम कुमार सुवेदी र शोभाकान्त ढकाल समेतलाई चिनेको हुँ, तत्कालिन अवस्थामा म समेतले खरिद गरेको ललिता निवास क्याम्प भित्रको जग्गामा पहुँच मार्गको लागि समेत २०६०÷०६१ साल तिरै शोभाकान्त ढकाल र राम कुमार सुवेदीको पहलमा हेमाद्री शमसेर ज.ब.रा. सँग ०-१२-०-० रोपनी जग्गा राम कुमार सुवेदी, शोभाकान्त ढकाल र म समेतको संयुक्त नाममा खरिद गरेका थियौं, प्रधानमन्त्री निवास परिसर बिस्तारको क्रममा निवास परिसर बाहिरको बाटो २०६७ सालमा मात्र बनेको हो, उक्त बाटो तयार हुँदा तत्काल हामी समेतको स्वामित्वमा रहेको ललिता निवास क्याम्प भित्रको जग्गा हुँदै निर्माण भएको हो भन्ने समेत व्यहोराको बयान ।