विकासन्युज

मलेसियामा १८ वर्षदेखि सम्पर्कविहीन गोपाल, खाेजी गरिदिन परिवारकाे अपिल

झापा । वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका– ६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ । राज ओभरसिज मेनपावर कम्पनीमार्फत २०६१ चैत ८ गते घिमिरे ‘प्रोडक्सन अपरेटर’ कामका लागि श्रम अनुमति पत्र पाएर मलेसिया गएका थिए । मलेसिया पुगेको एक सातापछि आफूमाथि ‘गैरकानुनी कामदार’ भएको आरोप लागेको जानकारी घरमा पठाएका उनको त्यसपछिको वास्तविक अवस्थाबारेमा परिवारसमेत बेखबर छ । ‘गैरकानुनी कामदार’ भएको आरोप लागेपछि घिमिरेले सम्पर्क गरेर आफू अप्ठ्यारोमा रहेको पटकपटक जानकारी दिने गरेको र विगत छ वर्षयता सम्पर्कसमेत टुटेको उनकी आमा सानी ढकाल घिमिरेले बताइन् । विदेश जाँदा १९ वर्षका घिमिरेको उमेर अहिले ३७ वर्ष पुगिसकेको छ । ‘छ वर्षदेखि छोराको कुनै खुटखबर छैन’, उनले भनिन्, ‘मलेसिया पुगेको सात–आठ दिनमै ‘इलिगल’ भएको आरोप लगायो आमा भनेर फोन गरेको थियो, अहिले मेरो छोरा जे–जस्तो अवस्थामा भए पनि खोजी गरिदिनुप¥यो ।’ वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीको कुनै गल्तीका कारण ‘गैरकानूनी’ कामदारको आरोपमा घिमिरे मलेसियाको कुनै जेलमा हुनसक्ने परिवारको आशङ्का छ । उनकी आमाले मेनपावर कम्पनीसँग भएका विभिन्न सम्झौताका कागजपत्र र फोटो बोकेर विभिन्न निकाय तथा जनप्रतिनिधिको ढोका ढक्ढकाइसकेको बताइन् । तैपनि कतैबाट अहिलेसम्म उद्धार एवं खोजीको पहल नभएको उनको गुनासो छ । ‘वडाध्यक्षलाई भेटेँ, पुलिसलाई भेटेँ’, उनले भनिन्, ‘सबैले कुरा सुन्नुभयो, कागजपत्र हेर्नुभयो र हुन्छ खोजी गर्न लगाइदिउँला भन्नुहुन्छ, काम चाहिँ कसैले पनि गरिदिनु भएन ।’ उनले छोराको खोजी गरेर उद्धार गरिदिन नेपाल सरकारसँग अनुरोध गरेकी छिन् । मलेसियाको ‘एक्सडी एसडिएन बिएचडी’ नामक कम्पनीमा मासिक आधारभूत सात सय आरएम पारिश्रमिक दिने भनेर राज ओभरसिज प्रालिले घिमिरेलाई मलेसिया पु¥याएको रोजगारसम्बन्धी सम्झौता पत्रबाट थाहा भएको छ । घिमिरेको पासपोर्ट नं २४०१३४७ रहेको छ । रोजगारसम्बन्धी सम्झौतापत्रमा मलेसियाको क्वालालम्पुरस्थित तत्कालीन शाही नेपाली राजदूतावासले प्रमाणित गरी छापसमेत लगाएको छ । श्रम तथा रोजगार प्रवद्र्धन विभागले २०६१ चैत ८ गते दिएको अन्तिम स्वीकृति पत्रअनुसार राज ओभरसिज प्रालिमार्फत झापाका घिमिरेलगायत २९ नेपाली युवा एकैखेपमा मलेसिया गएको पुष्टि भएको छ । ती सबै नेपाली कामदार मलेसियाको एक्सडी एसबी कम्पनीमा काम गर्नका लागि भनेर गएका थिए । घिमिरेसँगै मलेसिया गएका अन्य नेपालीमा भीमबहादुर तामाङ, विनोद लिम्बू, बुद्धबहादुर भारती, छम्मसिंह थापा, धनसिंह विष्ट, गणेश भण्डारी, गौरी भण्डारी, गेदलाल मगर, गौरीप्रसाद थापा, गुरुराज पौडेल, लक्ष्मणप्रसाद कहर, लोकबहादुर रानामगर, मदनसिंह विष्ट, मनोज सुवेदी, मोहनप्रसाद खतिवडा, नवराज वस्ती, नीरबहादुर लिम्बू, ओमबहादुर ढकाल, पदमसुन्दर बुढाथोकी, पौरसिंह विष्ट, प्रकाश भुजेल, रविन राई, राजु गिरी, सन्तबहादुर खड्का, सुदर्शन बस्ताकोटी, सुनिल थापा, तेजबहादुर घर्ती र तीलबहादुर दाहाल रहेको वैदेशिक रोजगार विभागले जारी गरेको अन्तिम स्वीकृति पत्रमा उल्लेख छ । रासस

सर्भेयरको परीक्षामा सामेल हुन सूचीकृत हुनैपर्ने, प्राधिकरणले तोक्यो समय सीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यसअघि तालिम लिएका व्यक्तिलाई परीक्षामा सामेल हुन यस्तो आग्रह गरेको हो । बीमा ऐन, २०७९ जारी भए पश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम प्राधिकरणले उक्त आग्रह गरेको हो । जसमा योभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको तालिम दिएका व्यक्तिहरुले सर्भेयरको परीक्षा दिन पाउने छन् । त्यसको लागि बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपि सहितको निवेदन १५ दिनभित्र इमेलमा पठाइसक्नु पर्ने समेत प्राधिकरणले जानकारी गराएको छ । यससँगै तालिम लिएका व्यक्तिहरुले आगामी भदौ २६ गतेभित्र [email protected] मा इमेल गर्न सक्नेछन् ।

नबिल र ग्लोबल आइएमईबीच पहिलो बन्ने प्रतिस्पर्धा, २० बैंकमध्ये कुन सूचकमा कुन अगाडि ?

काठमाडौं । वाणिज्य बैंकको बिग मर्जरले पहिलो बन्ने हुटहुटी बैंकहरुमा देखिन्छ । अधिकांश सूचकमा पहिलो बनेर वाणिज्यहरुमा ‘लिड’ गर्ने प्रतिस्पर्धा यतिखेर बैंकिङ क्षेत्रमा चलेको छ । परिणामस्वरुप एक बैंकले अर्कोे बैंकसँग मर्जर तथा प्राप्ति गर्ने शिलसिला रोकिएको छैन । अहिले सबैभन्दा बढी प्रतिस्पर्धा ग्लोबल आइएमई र नबिल बैंकमा देखिएको छ । यी दुई बैंकबीच विभिन्न सूचकमा पहिलो बन्ने प्रतिस्पर्धा देखिन्छ । त्यही रणनीतिका साथ यी दुई बैंक लागेका छन् । यस्तै, तेस्रो चोथो बन्ने प्रतिस्पर्धा पनि बैंकहरुबीच चलिरहेको छ । विभिन्न सूचकहरुको आधारमा बैंकहरुले आफु पहिलो भनेर पनि घोषणा गर्दै आएका छन् । आज हामीले कुन सूचकमा कुन बैंक पहिलो भन्ने सामग्री तयार पारेका छौं । गत वर्ष बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँभन्दा बढी नाफा र १ खर्ब ८७ करोड रुपैयाँ बढी ब्याज आम्दानी गरे । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा २५ प्रतिशत बढेको भएपनि लाभांश वितरण क्षमतामा भने ह्रास आएको छ । गत वर्ष बैंकहरुलले ब्याज आम्दानीसँगै नाफा उल्लेख्य बढाए पनि लाभांश क्षमता कम हुँदा सेयरधनीहरु भने रुष्ट बनेका छन् । उच्च ब्याजदर भएको बेला कर्जाका ऋणीहरु मर्कामा परे भने निक्षेपकर्ताले खासै लाभ लिन सकेनन् । बैंकहरुले अर्बाैं रुपैयाँ नाफा गरेपनि सो रकम कहाँ खर्च भयो भनेर प्रश्न चिन्ह खडा भएको छ । लगानीकर्ता अम्बिर बोगटी पनि बैंकहरुले अर्बाै रुपैयाँ नाफा गर्दा पनि सेयरधनीलाई भने न्यून प्रतिफल वितरण गर्ने गरेको गुनासो गर्छन् । उनी बैंकले गरेको नाफा सरकारलाई कर तिर्न र कर्मचारीलाई तलबभत्ता मात्रै दिन ठिक्क हुने गरेको बताउँछन् । गत वर्ष बैंकहरुको ब्याजरद उच्च थियो । कर्जाको ब्याजदर उच्च हुँदा निक्षेपकर्तालाई कम ब्याज प्रदान गरे । तर, बैंकहरुले ब्याजदर उच्च हुँदा व्यवसायीसँग ब्याज रकम उठाए । निक्षेपकर्तालाई थोरै मात्रै ब्याज दिए । तर बैंकहरुले गरेको ब्याज आम्दानीबाट कर्मचारी र सरकारलाई कर तिरेर सेयरधनीहरुले लाभांश नपाउने स्थिती रहेको उनको भनाइ छ । ‘व्यवसायीहरु घाटामा छन्, कतिपय व्यवसायी टाट पल्टिएका छन् तर, बैंकहरुले नाफा नै गरेका छन्, तैपनि बैंकहरुले सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता कम छ,’ । उनले भने । चुक्ता पूँजीमा ग्लोबल आइएमई अगाडि गत असारसम्म २० वटा बैंकहरुको चुक्ता पूँजी ३ खर्ब ६९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको छ । यस बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ अर्ब १२ करोड, नबिल बैंकको २७ अर्ब ५ करोड, कुमारी बैंकको २६ अर्ब २२ करोड, प्रभु बैंकको २३ अर्ब ५४ करोड, लक्ष्मी सनराइज बैंकको २१ अर्ब ६७ करोड र हिमालयन बैंकको २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । यस्तै, प्राइम बैंकको १९ अर्ब ४० करोड, कृषि विकास बैंकको १८ अर्ब ८८ करोड, एनएमबि बैंकको १८ अर्ब ३६ करोड, राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड, सिटिजन्स बैंकको१४ अर्ब २० करोड, सिद्धार्थ बैंकको १४ अर्ब ८ करोड, नेपाल बैंकको १४ अर्ब ८ करोड, सानिमा बैंकको १२ अर्ब ४६ करोड र एनआईसी एशिया बैंकको ११ अर्ब ५६ करोड रुपैयाँ पूँजी रहेको छ । यस्तै, एभरेष्ट बैंकको १० अर्ब ६९ करोड, माछापुच्छ्रे बैंकको १० अर्ब २५ करोड, नेपाल एसबिआई बैंकको १० अर्ब १२ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९ अर्ब ४२ करोड रुपैयाँ पूँजी रहेको छ । जगेडा कोषमा राष्ट्रिय वाणिज्य बैंक बलियो गत असारसम्म वाणिज्य बैंकको जगेडा कोषमा २ खर्ब ६३ अर्ब ५० करोड रुपैयाँ सञ्चिती छ । जसमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको जगेडा रकम ३६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यस्तै, नबिलको २७ अर्ब ७ करोड, एनआईएमबिको २३ अर्ब ८९ करोड, नेपाल बैंकको २० अर्ब ९१ करोड, ग्लोबल आइएमईको १९ अर्ब ९५ करोड, हिमालयनको १४ अर्ब ९१ करोड र एनआईसी एशियाको १४ अर्ब ३८ करोड र लक्ष्मी सनराइज बैंकको १४ अर्ब रुपैयाँ जगेडा कोषमा सञ्चिती छ । यस्तै, कृषि विकासको ११ अर्ब ७२ करोड, कुमारीको ११ अर्ब ३७ करोड, सिद्धार्थको १० अर्ब ५७ करोड, एभरेष्टको १० अर्ब २२ करोड, प्रभुको १० अर्ब २ करोड, प्राइमको ८ अर्ब ८० करोड, एनएमबिको ८ अर्ब ७४ करोड र स्ट्याण्डर्ड चार्टर्डको ८ अर्ब १ करोड रुपैयाँ जगेडा कोषमा छ । यस्तै, सिटिजन्सको ७ अर्ब ११ करोड, एसबिआईको ७ अर्ब, माछापुच्छ्रेका ७ अर्ब ६ करोड र सानिमाको ४ अर्ब ७० करोड रुपैयाँ जगेडा कोष छ । कर्जा निक्षेपमा ग्लोबल अगाडि गत वर्षसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५० खर्ब ४ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये ग्लोबल आइएमईले ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा धेरै निक्षेप संकलन र कर्जा प्रवाह गर्ने बैंक हो । यस्तै, नबिल बैंकले ३ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब कर्जा, एनआईएमबिले ३ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब कर्जा, राष्ट्रिय वाणिज्यले ३ खर्ब २१ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब कर्जा र कुमारीले ३ खर्ब १६ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका छन् । यस्तै, एनआईसी एशियाले ३ खर्ब ११ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६२ अर्ब कर्जा, लक्ष्मी सनराइजले २ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५३ अर्ब कर्जा, प्रभुले २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब कर्जा, हिमालयनले २ खर्ब ७५ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब कर्जा र नेपाल बैंकले २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ अर्ब ७८ अर्ब कर्जा प्रवाह गरेका छन् । यस्तै, सिद्धार्थले २ खर्ब २३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा, एनएमबिले २ खर्ब १० अर्ब निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब कर्जा, कृषि विकासले १ खर्ब ९९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब कर्जा, एभरेष्टले १ खर्ब ९७ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब कर्जा, सानिमाले १ खर्ब ७५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब कर्जा र प्राइमले १ खर्ब ८४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब कर्जा प्रवाह गरेका छन् । यस्तै, सिटिजन्सले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब कर्जा, माछापुच्छ्रेको १ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब कर्जा, एसबिआईको १ खर्ब ५० अर्ब निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब कर्जा र स्ट्याण्डर्ड चार्टर्डको १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ७७ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । ब्याज आम्दानीमा नबिल अगाडि गत आर्थिक वर्ष २०७९/८० मा बैंकहरुले १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । जसमध्ये नबिल बैंकले १७ अर्ब ९८ करोड रुपैयाँ ब्याज आम्दानी गरेर अग्रस्थानमा छ । यस्तै, ग्लोबल आइएमईले १७ अर्ब ११ करोड, एनआईसी एशियाले १२ अर्ब ३७ करोड, राष्ट्रिय वाणिज्यले १२ अर्ब ३५ करोड, एनआईएमबिले १२ अर्ब २७ करोड र कुमारीले ११ अर्ब १ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यस्तै, प्रभुले १० अर्ब २५ करोड, हिमालयनले ९ अर्ब ९३ करोड, नेपाल बैंकले ९ अर्ब ४ करोड, एनएमबिले ८ अर्ब ३४ करोड, सिद्धार्थले ८ अर्ब १७ करोड, कृषि विकासले ८ अर्ब ८ करोड र एभरेष्टले ७ अर्ब ४४ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । यस्तै, प्राइमले ७ अर्ब २७ करोड, सानिमाले ६ अर्ब ४८ करोड, स्ट्याण्डर्ड चार्टर्डले ५ अर्ब ९५ करोड, सिटिजन्सले ५ अर्ब ८५ करोड, एसबिआईले ५ अर्ब ७६ करोड, लक्ष्मी सनराइजले ५ अर्ब ५० करोड र माछापुच्छ्रे ५ अर्ब ३८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । खुद नाफामा पनि नबिल बलियो गत वर्ष वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ नाफा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक अग्रस्थानमा छ भने ग्लोबल आइएमई बैंकले पच्छ्याई रहेको छ । नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ भने ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया र एनआईएमबिले ४ अर्बभन्दा बढी नाफा गरेका छन् । लाभांश क्षमतामा एभरेष्ट नम्बर वान गत असारसम्म बैंकहरुको कूल वितरणयोग्य ३१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । सो आधारमा गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार बैंकहरुको लाभांश क्षमता १२.५५ प्रतिशत देखिएको छ । गत वर्षको नाफाबाट सेयरधनीहरुलाई एभरेष्ट बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने देखिएको छ । एभरेष्ट बैंकको लाभांश क्षमता सर्वाधिक ४०.५ प्रतिशत छ । यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकको लाभांश क्षमता ३१.९९ प्रतिशत छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २९ प्रतिशत, कृषि विकास बैंकको १९.८९ प्रतिशत, सानिमा बैंकको १७.७३ प्रतिशत, माछापुच्छ्रे बैंकको १५.२९ प्रतिशत, नेपाल एसबिआई बैंकको १३.९३ प्रतिशत, नबिल बैंकको १४.६४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.५९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८.९४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८.२७ प्रतिशत र एनएमबि बैंकको ८.२८ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, सिटिजन्स बैंकको ७.३ प्रतिशत, नेपाल बैंकको ६.६२ प्रतिशत, सिद्धार्थ बैंकको ५.६५ प्रतिशत, प्राइम बैंकको १.०६ प्रतिशत, प्रभु बैंकको ०.६९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.४६ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, दुइटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएकाले लाभांश क्षमता पनि ऋणात्मक छ । हिमालयन बैंकको ३.२८ प्रतिशत र कुमारी बैंकको ३.२३ प्रतिशत लाभांश क्षमता ऋणात्मक भएको हो । एनआईसी एसिया प्रतिसेयर आम्दानीमा अगाडि वाणिज्य बैंकमध्ये प्रतिसेयर आम्दानीका आधारमा एनआइसी एसिया बैंक पहिलो र स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो तथा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी ४०.२२ रुपैयाँ बराबर छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी ३७.३९ रुपैयाँ छ भने राष्ट्रिय वाणिज्य बैंकको ३३.९६ रुपैयाँ बराबर छ । त्यस्तै एभरेष्ट बैंकको ३१.७२, नबिल बैंकको २७.८२, नेपाल बैंकको २३.२२, सिद्धार्थ बैंकको २२.६४, नेपाल एसबीआई बैंकको २२.१४, सानिमा बैंकको २१.०२, कृषि विकास बैंकको २०.६२, ग्लोबल आइएमई बैंकको २०.२८, लक्ष्मी सनराइज बैंकको १९.४४, एनएमबी बैंकको १८.०५, माछापुच्छ्रे बैंकको १५.०५ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । गत वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिसेयर आम्दानी १६.०७, सिटिजन्स बैंकको १५.५९, हिमालयन बैंकको १५.०८, प्रभु बैंकको १२, प्राईम बैंकको ११.६६ र कुमारी बैंकको ७.४६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । खराब कर्जा कम गर्नेमा एभरेष्ट गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म बैंकहरुको खराब कर्जा औसत ३ प्रतिशत कायम भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एनपीएल १.४५ प्रतिशतले बढेर ३ प्रतिशत कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुको एनपीएल औषत १.२५ प्रतिशत थियो । गत असारसम्म एभरेष्ट बैंकको ०.७९ प्रतिशत र एनआईसी एशिया बैंकको ०.८० प्रतिशतमा कायम राखेको छ । यस्तै, सानिमा बैंकको १.३ प्रतिशत, नबिल बैंकको १.२३ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.१७ प्रतिशत पुगेको छ । गत असारसम्म कुमारी बैंकको ४.७७ प्रतिशत, हिमालयन बैंकको ४.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.३५ प्रतिशत, प्राइम बैंकको ४.२३ प्रतिशत, प्रभु बैंकको ४.१६ प्रतिशत, सिटिजन्स बैंकको ३.१९ प्रतिशत र ग्लोबल आइएमई बैंकको ३.१९ प्रतिशत एनपीएल रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको २.९५ प्रतिशत, नेपाल बैंकको २.८५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २.८१ प्रतिशत, एनएमबि बैंकको २.७२ प्रतिशत, कृषि विकास बैंकको २.४८ प्रतिशत, नेपाल एसबिआई बैंकको २.४३ प्रतिशत, माछापुच्छ्रे बैंकको २.१२ प्रतिशत र सिद्धार्थ बैंकको २.०१ प्रतिशत पुगेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आरओई उच्च गत असारसम्म बैंकहरुको रिटर्न अन ईक्विटी (आरओई) औषत १२.०९ प्रतिशत छ । जसमध्ये सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकको २१.१७ प्रतिशत छ । यस्तै, एनआईसी एशियाको १८.६१ प्रतिशत, सानिमाको १५.६३ प्रतिशत, नबिलको १४.८९ प्रतिशत, सिद्धार्थ १२.३२ प्रतिशत, ग्लोबल आइएमई १४.१ प्रतिशत, एसबिआईको १३.५३ प्रतिशत आरओई छ ।

यी हुन् बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी (सूचीसहित)

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । बिहीबार एक सूची सार्वजनिक गर्दै सीआईबीले २८६ जनाको नाम, ठेगाना र उमेरसँगै कैफियत पनि उल्लेख गर्दै प्रतिवादी बनाउन राय दिएको हो । यी हुन् २८६ प्रतिवादी : [pdf id=432220]

तनहुँमा अङ्गुरखेती : पहिलो वर्ष १८ लाखको उत्पादन

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबिसेमा १८ लाख मूल्यबराबारको अंगुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अंगुर उत्पादन गरेका हुन् । गत वर्ष उनले ७० रोपनी जग्गा खरिद गरेर व्यावसायिक अंगुरखेती थालेका थिए । ‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’ फार्म स्थापना गरी सुरुमा एक करोड ५० लाख लगानी गरेको सञ्चालक कार्कीले जानकारी दिए । ‘नौ हजार किलो अंगुर उत्पादन भएको छ,’ उनले भने, ‘बजारको मूल्यअनुरुप प्रतिकिलो दुई सय रुपैयाँका दरले उक्त मूल्यको अंगुर उत्पादन भएको हो ।’ उक्त क्षेत्रमा करिब ९ हजार पाँच सय बिरुवा रोपिएको छ । कम्पनीले वार्षिक १० हजार किलो अंगुर उत्पादन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको नजिक-नजिक पुग्न सफल भएको उनले बताए । ‘जिल्लामा उत्पादन भएको सबै अंगुरबाट वाइन उत्पादन गर्न धादिङ पठाइएको छ,’ उनले भने, ‘कम्पनीले सात सय ५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ ।’ धादिङको थाँक्रे गाउँपालिका-१० जुङेखोला केवलपुरमा १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अंगुरखेती गरी वाइन उत्पादन गरिँदै आएको छ । कम्पनीले धादिङमा ३८ करोड ५० लाखको लागतमा अंगुरखेती र वाइन उत्पादन गर्दै आएको हो । वाइन बजारमा प्रतिबोतल एक हजार दुई सयमा बिक्री भइरहेको उनले बताए । ‘हामीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ,’ उनले भने, ‘यसले पनि अंगुरखेतीलाई प्रोत्साहन गरेको छ ।’ वर्षमा एक पटक अंगुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट र बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायतका कार्य गर्ने गरिएको छ । फार्ममा विभिन्न ३२ प्रजातिका अंगुरखेती गरिए पनि ८ देखि १० प्रजातिका अंगुरले मात्रै राम्रो उत्पादन दिएको कार्कीले बताए । फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायतका जातका अंगुर छन् । अंगुरको बोटमा चैत, वैशाखमा फूल फूल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुने फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले बताइन् । फागुनदेखि फूल खेल्ने र असार पहिलो सातासम्म फल टिप्न सकिने छ । फार्ममा दैनिक ज्यालादारीमा आवश्यकता अनुरुप स्थानीय मानिसले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म शीर्षअन्तर्गत १२ फार्ममा पर्न सफल भई ५५ लाख अनुदानसमेत प्राप्त गरिसकेको सञ्चालक कार्कीले बताए । घिरिङको माटोमा अंगुर उत्पादन राम्रो हुने भएपछि किसानलाई पनि खेतीतर्फ प्रोत्साहन गर्न पालिकासँग समन्वय भइरहेको कृषि शाखा अधिकृत रवि रामदामले बताएका छन् । यस क्षेत्रको हावापानी र माटो अंगुरखेतीका लागि उपयुक्त मानिएकाले किसानलाई यसतर्फ आकर्षित गराउन लागिएको सो गाउँपालिकाले जनाएको छ । रासस

मच्छेगाउँमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । उनका अनुसार तमाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उनलाई आक्रमण गरेको हो । घाइते तामाङको उपचार भइरहेको छ । यसैगरी आक्रमण गर्ने चितुवासमेत घाइते भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । रासस

नेप्से परिसूचक घट्दा कारोबार बढ्यो, सोल्टी होटलको सेयर सर्वाधिक किनबेच

काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले घटी हो । परिसूचक घटेको बजारमा कारोबार रकम भने बढेको छ । बुधबार १ अर्ब ५१ करोडको कारोबार भएको बजारमा बिहीबार एक अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २७५ वटा स्क्रीप्स कारोबारमा आएको बिहीबारको बजारमा सोल्टी होटलको सर्वाधिक सेयर किनबेच भएको छ । होटलको एकैदिन ७ करोड ८७ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कित्ताको आधारमा पनि सोल्टी होटलकै सर्वाधिक किनबेच भएको छ । जसको एकैदिन एक लाख ७० हजार २१८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसको सेयर मूल्य भने ७.९० रुपैयाँले घटेर अन्तिम कारोबार प्रतिकित्ता ४५५.१० रुपैयाँमा भएको छ । बिहीबार टप गेनरको शीर्ष स्थानमा कुथेली बुखारी स्मल हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा मौलुङ हाइड्रोपावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता १६२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । दुई दिन लगातार हरियाली छाएको बजार बिहीबार राताम्मे देखिएको छ । कारोबारमा आएका सबै उपसूचकहरु घट्दा बजार राताम्मे भएको हो ।

बेथानचोक गाउँपालिकाका किसानलाई दुधमा अनुदान

काभ्रे । बेथानचोक गाउँपालिकाका किसानलाई दुध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दुध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दुधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन् । आधुनिक कृषि सहकारी संस्थाले थानी महांकाल डेरीमार्फत दुध बिक्री गर्ने कृषकलाई अनुदान रकम वितरण गरेको हो । सहकारीले थप अनुदान माग गरेको १० लाख ५८ हजार ३६ लिटर दुधमध्ये १० लाख ५२ हजार लिटर दुधमा अनुदान रकम प्राप्त गरेको बेथानचोक-२ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । उनका अनुसार सहकारीमा आबद्ध किसानलाई बागमती प्रदेश सरकारले दुध उत्पादनमा आधारित रही प्रतिलिटर दुधमा तीन रुपैयाँ ५६ पैसा अनुदान दिएको रकम हस्तान्तरण गरिएको हो । यस्तै सहकारीमार्फत बेथानचोकको २ र ३ नं वडाका एक सय ९६ किसान र पनौती नगरपालिकाका ९९ किसानले थप अनुदान रकम पाएका छन् । सहकारीले १० लाख ५८ हजार लिटर दुधमा ३७ लाख ४८ हजार पाँच सय ८३ अनुदान रकम पाएकामा बेथानचोकका किसानले २६ लाख नौ हजार ६ सय १५ र पनौतीका किसानले ११ लाख ३८ हजार ९ सय ३८ प्राप्त गरेका हुन् । एक किसानले कम्तीमा चार हजार तीन सय ४३ देखि अधिकतम ५० हजारसम्म अनुदान पाएका हुन् । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वर्ष दिन किसानले बिक्री गरेको दुधको परिमाणका आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानलाई पशुपालनमा आकर्षित गरी थप दुध उत्पादन गर्न उत्प्रेरणा दिएको बताए । उनले युवा तथा किसानलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम र तथ्यांक संकलन सकिएपछि ‘किसान परिचयपत्र’ वितरण गरिने तयारी गरिएको जानकारी दिए । रासस