नबिल र ग्लोबल आइएमईबीच पहिलो बन्ने प्रतिस्पर्धा, २० बैंकमध्ये कुन सूचकमा कुन अगाडि ?

<p>काठमाडौं । वाणिज्य बैंकको बिग मर्जरले पहिलो बन्ने हुटहुटी बैंकहरुमा देखिन्छ । अधिकांश सूचकमा पहिलो बनेर वाणिज्यहरुमा ‘लिड’ गर्ने प्रतिस्पर्धा यतिखेर बैंकिङ क्षेत्रमा चलेको छ । परिणामस्वरुप एक बैंकले अर्कोे बैंकसँग मर्जर तथा प्राप्ति गर्ने शिलसिला रोकिएको छैन । अहिले सबैभन्दा बढी प्रतिस्पर्धा ग्लोबल आइएमई र नबिल बैंकमा देखिएको छ । यी दुई बैंकबीच विभिन्न [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकको बिग मर्जरले पहिलो बन्ने हुटहुटी बैंकहरुमा देखिन्छ । अधिकांश सूचकमा पहिलो बनेर वाणिज्यहरुमा ‘लिड’ गर्ने प्रतिस्पर्धा यतिखेर बैंकिङ क्षेत्रमा चलेको छ । परिणामस्वरुप एक बैंकले अर्कोे बैंकसँग मर्जर तथा प्राप्ति गर्ने शिलसिला रोकिएको छैन ।

अहिले सबैभन्दा बढी प्रतिस्पर्धा ग्लोबल आइएमई र नबिल बैंकमा देखिएको छ । यी दुई बैंकबीच विभिन्न सूचकमा पहिलो बन्ने प्रतिस्पर्धा देखिन्छ । त्यही रणनीतिका साथ यी दुई बैंक लागेका छन् । यस्तै, तेस्रो चोथो बन्ने प्रतिस्पर्धा पनि बैंकहरुबीच चलिरहेको छ । विभिन्न सूचकहरुको आधारमा बैंकहरुले आफु पहिलो भनेर पनि घोषणा गर्दै आएका छन् । आज हामीले कुन सूचकमा कुन बैंक पहिलो भन्ने सामग्री तयार पारेका छौं ।

गत वर्ष बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँभन्दा बढी नाफा र १ खर्ब ८७ करोड रुपैयाँ बढी ब्याज आम्दानी गरे । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको नाफा २५ प्रतिशत बढेको भएपनि लाभांश वितरण क्षमतामा भने ह्रास आएको छ ।

गत वर्ष बैंकहरुलले ब्याज आम्दानीसँगै नाफा उल्लेख्य बढाए पनि लाभांश क्षमता कम हुँदा सेयरधनीहरु भने रुष्ट बनेका छन् । उच्च ब्याजदर भएको बेला कर्जाका ऋणीहरु मर्कामा परे भने निक्षेपकर्ताले खासै लाभ लिन सकेनन् । बैंकहरुले अर्बाैं रुपैयाँ नाफा गरेपनि सो रकम कहाँ खर्च भयो भनेर प्रश्न चिन्ह खडा भएको छ ।

लगानीकर्ता अम्बिर बोगटी पनि बैंकहरुले अर्बाै रुपैयाँ नाफा गर्दा पनि सेयरधनीलाई भने न्यून प्रतिफल वितरण गर्ने गरेको गुनासो गर्छन् । उनी बैंकले गरेको नाफा सरकारलाई कर तिर्न र कर्मचारीलाई तलबभत्ता मात्रै दिन ठिक्क हुने गरेको बताउँछन् ।

गत वर्ष बैंकहरुको ब्याजरद उच्च थियो । कर्जाको ब्याजदर उच्च हुँदा निक्षेपकर्तालाई कम ब्याज प्रदान गरे । तर, बैंकहरुले ब्याजदर उच्च हुँदा व्यवसायीसँग ब्याज रकम उठाए । निक्षेपकर्तालाई थोरै मात्रै ब्याज दिए । तर बैंकहरुले गरेको ब्याज आम्दानीबाट कर्मचारी र सरकारलाई कर तिरेर सेयरधनीहरुले लाभांश नपाउने स्थिती रहेको उनको भनाइ छ ।

‘व्यवसायीहरु घाटामा छन्, कतिपय व्यवसायी टाट पल्टिएका छन् तर, बैंकहरुले नाफा नै गरेका छन्, तैपनि बैंकहरुले सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता कम छ,’ । उनले भने ।

चुक्ता पूँजीमा ग्लोबल आइएमई अगाडि

गत असारसम्म २० वटा बैंकहरुको चुक्ता पूँजी ३ खर्ब ६९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको छ । यस बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३४ अर्ब १२ करोड, नबिल बैंकको २७ अर्ब ५ करोड, कुमारी बैंकको २६ अर्ब २२ करोड, प्रभु बैंकको २३ अर्ब ५४ करोड, लक्ष्मी सनराइज बैंकको २१ अर्ब ६७ करोड र हिमालयन बैंकको २१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।

यस्तै, प्राइम बैंकको १९ अर्ब ४० करोड, कृषि विकास बैंकको १८ अर्ब ८८ करोड, एनएमबि बैंकको १८ अर्ब ३६ करोड, राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड, सिटिजन्स बैंकको१४ अर्ब २० करोड, सिद्धार्थ बैंकको १४ अर्ब ८ करोड, नेपाल बैंकको १४ अर्ब ८ करोड, सानिमा बैंकको १२ अर्ब ४६ करोड र एनआईसी एशिया बैंकको ११ अर्ब ५६ करोड रुपैयाँ पूँजी रहेको छ । यस्तै, एभरेष्ट बैंकको १० अर्ब ६९ करोड, माछापुच्छ्रे बैंकको १० अर्ब २५ करोड, नेपाल एसबिआई बैंकको १० अर्ब १२ करोड र स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९ अर्ब ४२ करोड रुपैयाँ पूँजी रहेको छ ।

जगेडा कोषमा राष्ट्रिय वाणिज्य बैंक बलियो

गत असारसम्म वाणिज्य बैंकको जगेडा कोषमा २ खर्ब ६३ अर्ब ५० करोड रुपैयाँ सञ्चिती छ । जसमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको जगेडा रकम ३६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यस्तै, नबिलको २७ अर्ब ७ करोड, एनआईएमबिको २३ अर्ब ८९ करोड, नेपाल बैंकको २० अर्ब ९१ करोड, ग्लोबल आइएमईको १९ अर्ब ९५ करोड, हिमालयनको १४ अर्ब ९१ करोड र एनआईसी एशियाको १४ अर्ब ३८ करोड र लक्ष्मी सनराइज बैंकको १४ अर्ब रुपैयाँ जगेडा कोषमा सञ्चिती छ ।

यस्तै, कृषि विकासको ११ अर्ब ७२ करोड, कुमारीको ११ अर्ब ३७ करोड, सिद्धार्थको १० अर्ब ५७ करोड, एभरेष्टको १० अर्ब २२ करोड, प्रभुको १० अर्ब २ करोड, प्राइमको ८ अर्ब ८० करोड, एनएमबिको ८ अर्ब ७४ करोड र स्ट्याण्डर्ड चार्टर्डको ८ अर्ब १ करोड रुपैयाँ जगेडा कोषमा छ । यस्तै, सिटिजन्सको ७ अर्ब ११ करोड, एसबिआईको ७ अर्ब, माछापुच्छ्रेका ७ अर्ब ६ करोड र सानिमाको ४ अर्ब ७० करोड रुपैयाँ जगेडा कोष छ ।

कर्जा निक्षेपमा ग्लोबल अगाडि

गत वर्षसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५० खर्ब ४ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब २२ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये ग्लोबल आइएमईले ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा धेरै निक्षेप संकलन र कर्जा प्रवाह गर्ने बैंक हो ।

यस्तै, नबिल बैंकले ३ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब कर्जा, एनआईएमबिले ३ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ३ अर्ब कर्जा, राष्ट्रिय वाणिज्यले ३ खर्ब २१ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब कर्जा र कुमारीले ३ खर्ब १६ अर्ब निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका छन् ।

यस्तै, एनआईसी एशियाले ३ खर्ब ११ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६२ अर्ब कर्जा, लक्ष्मी सनराइजले २ खर्ब ९६ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५३ अर्ब कर्जा, प्रभुले २ खर्ब ८९ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब कर्जा, हिमालयनले २ खर्ब ७५ अर्ब निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब कर्जा र नेपाल बैंकले २ खर्ब ४४ अर्ब निक्षेप संकलन गरी १ अर्ब ७८ अर्ब कर्जा प्रवाह गरेका छन् ।

यस्तै, सिद्धार्थले २ खर्ब २३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब कर्जा, एनएमबिले २ खर्ब १० अर्ब निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब कर्जा, कृषि विकासले १ खर्ब ९९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब कर्जा, एभरेष्टले १ खर्ब ९७ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब कर्जा, सानिमाले १ खर्ब ७५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब कर्जा र प्राइमले १ खर्ब ८४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब कर्जा प्रवाह गरेका छन् ।

यस्तै, सिटिजन्सले १ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब कर्जा, माछापुच्छ्रेको १ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब कर्जा, एसबिआईको १ खर्ब ५० अर्ब निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब कर्जा र स्ट्याण्डर्ड चार्टर्डको १ खर्ब १७ अर्ब निक्षेप संकलन गरी ७७ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

ब्याज आम्दानीमा नबिल अगाडि

गत आर्थिक वर्ष २०७९/८० मा बैंकहरुले १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । जसमध्ये नबिल बैंकले १७ अर्ब ९८ करोड रुपैयाँ ब्याज आम्दानी गरेर अग्रस्थानमा छ । यस्तै, ग्लोबल आइएमईले १७ अर्ब ११ करोड, एनआईसी एशियाले १२ अर्ब ३७ करोड, राष्ट्रिय वाणिज्यले १२ अर्ब ३५ करोड, एनआईएमबिले १२ अर्ब २७ करोड र कुमारीले ११ अर्ब १ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।

यस्तै, प्रभुले १० अर्ब २५ करोड, हिमालयनले ९ अर्ब ९३ करोड, नेपाल बैंकले ९ अर्ब ४ करोड, एनएमबिले ८ अर्ब ३४ करोड, सिद्धार्थले ८ अर्ब १७ करोड, कृषि विकासले ८ अर्ब ८ करोड र एभरेष्टले ७ अर्ब ४४ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।

यस्तै, प्राइमले ७ अर्ब २७ करोड, सानिमाले ६ अर्ब ४८ करोड, स्ट्याण्डर्ड चार्टर्डले ५ अर्ब ९५ करोड, सिटिजन्सले ५ अर्ब ८५ करोड, एसबिआईले ५ अर्ब ७६ करोड, लक्ष्मी सनराइजले ५ अर्ब ५० करोड र माछापुच्छ्रे ५ अर्ब ३८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।

खुद नाफामा पनि नबिल बलियो

गत वर्ष वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ नाफा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक अग्रस्थानमा छ भने ग्लोबल आइएमई बैंकले पच्छ्याई रहेको छ । नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ भने ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया र एनआईएमबिले ४ अर्बभन्दा बढी नाफा गरेका छन् ।

लाभांश क्षमतामा एभरेष्ट नम्बर वान

गत असारसम्म बैंकहरुको कूल वितरणयोग्य ३१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । सो आधारमा गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार बैंकहरुको लाभांश क्षमता १२.५५ प्रतिशत देखिएको छ । गत वर्षको नाफाबाट सेयरधनीहरुलाई एभरेष्ट बैंकले सबैभन्दा धेरै लाभांश वितरण गर्ने देखिएको छ । एभरेष्ट बैंकको लाभांश क्षमता सर्वाधिक ४०.५ प्रतिशत छ । यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकको लाभांश क्षमता ३१.९९ प्रतिशत छ ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २९ प्रतिशत, कृषि विकास बैंकको १९.८९ प्रतिशत, सानिमा बैंकको १७.७३ प्रतिशत, माछापुच्छ्रे बैंकको १५.२९ प्रतिशत, नेपाल एसबिआई बैंकको १३.९३ प्रतिशत, नबिल बैंकको १४.६४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.५९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ८.९४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८.२७ प्रतिशत र एनएमबि बैंकको ८.२८ प्रतिशत लाभांश क्षमता रहेको छ ।

यस्तै, सिटिजन्स बैंकको ७.३ प्रतिशत, नेपाल बैंकको ६.६२ प्रतिशत, सिद्धार्थ बैंकको ५.६५ प्रतिशत, प्राइम बैंकको १.०६ प्रतिशत, प्रभु बैंकको ०.६९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ०.४६ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, दुइटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएकाले लाभांश क्षमता पनि ऋणात्मक छ । हिमालयन बैंकको ३.२८ प्रतिशत र कुमारी बैंकको ३.२३ प्रतिशत लाभांश क्षमता ऋणात्मक भएको हो ।

एनआईसी एसिया प्रतिसेयर आम्दानीमा अगाडि

वाणिज्य बैंकमध्ये प्रतिसेयर आम्दानीका आधारमा एनआइसी एसिया बैंक पहिलो र स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो तथा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी ४०.२२ रुपैयाँ बराबर छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी ३७.३९ रुपैयाँ छ भने राष्ट्रिय वाणिज्य बैंकको ३३.९६ रुपैयाँ बराबर छ ।

त्यस्तै एभरेष्ट बैंकको ३१.७२, नबिल बैंकको २७.८२, नेपाल बैंकको २३.२२, सिद्धार्थ बैंकको २२.६४, नेपाल एसबीआई बैंकको २२.१४, सानिमा बैंकको २१.०२, कृषि विकास बैंकको २०.६२, ग्लोबल आइएमई बैंकको २०.२८, लक्ष्मी सनराइज बैंकको १९.४४, एनएमबी बैंकको १८.०५, माछापुच्छ्रे बैंकको १५.०५ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ ।

गत वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिसेयर आम्दानी १६.०७, सिटिजन्स बैंकको १५.५९, हिमालयन बैंकको १५.०८, प्रभु बैंकको १२, प्राईम बैंकको ११.६६ र कुमारी बैंकको ७.४६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ ।

खराब कर्जा कम गर्नेमा एभरेष्ट

गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म बैंकहरुको खराब कर्जा औसत ३ प्रतिशत कायम भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एनपीएल १.४५ प्रतिशतले बढेर ३ प्रतिशत कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुको एनपीएल औषत १.२५ प्रतिशत थियो ।

गत असारसम्म एभरेष्ट बैंकको ०.७९ प्रतिशत र एनआईसी एशिया बैंकको ०.८० प्रतिशतमा कायम राखेको छ । यस्तै, सानिमा बैंकको १.३ प्रतिशत, नबिल बैंकको १.२३ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.१७ प्रतिशत पुगेको छ ।

गत असारसम्म कुमारी बैंकको ४.७७ प्रतिशत, हिमालयन बैंकको ४.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.३५ प्रतिशत, प्राइम बैंकको ४.२३ प्रतिशत, प्रभु बैंकको ४.१६ प्रतिशत, सिटिजन्स बैंकको ३.१९ प्रतिशत र ग्लोबल आइएमई बैंकको ३.१९ प्रतिशत एनपीएल रहेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको २.९५ प्रतिशत, नेपाल बैंकको २.८५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २.८१ प्रतिशत, एनएमबि बैंकको २.७२ प्रतिशत, कृषि विकास बैंकको २.४८ प्रतिशत, नेपाल एसबिआई बैंकको २.४३ प्रतिशत, माछापुच्छ्रे बैंकको २.१२ प्रतिशत र सिद्धार्थ बैंकको २.०१ प्रतिशत पुगेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको आरओई उच्च

गत असारसम्म बैंकहरुको रिटर्न अन ईक्विटी (आरओई) औषत १२.०९ प्रतिशत छ । जसमध्ये सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकको २१.१७ प्रतिशत छ । यस्तै, एनआईसी एशियाको १८.६१ प्रतिशत, सानिमाको १५.६३ प्रतिशत, नबिलको १४.८९ प्रतिशत, सिद्धार्थ १२.३२ प्रतिशत, ग्लोबल आइएमई १४.१ प्रतिशत, एसबिआईको १३.५३ प्रतिशत आरओई छ ।

Share News