काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयमा एक वर्षमा नै पौने करोडको डिजेल पेट्रोल खर्च भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले गत आर्थिक वर्ष ०७९/८० मा ७८ लाख १५ हजार दुई सय ५८ रुपैयाँ १३ पैसाको इन्धन खर्च गरेको हाे ।
४० जना कर्मचारी कार्यरत उक्त कार्यालयले मासिक ८ देखि ९ लाख रुपैयाँ बराबरको इन्धन खर्च भएको देखिन्छ । प्राप्त विवरणमा रोचक पक्ष त के छ भने ४० जना कर्मचारी रहेको उक्त कार्यालयले गत आर्थिक वर्षमा ९४ वटा सवारी साधनका लागि इन्धन वितरण गरेको छ ।
कार्यालयमा काम गर्ने ८ जना कर्मचारीले गत आर्थिक वर्षमा १३ सय लिटर भन्दा धेरै इन्धन लिएको विवरणमा उल्लेख छ । मेलम्ची खानेपानी आयोजना–दोस्रो रुपमा रहेको सो कार्यालयमा काम गर्ने अधिकांश प्राविधिक कर्मचारी भएपनि प्रशासन तथा लेखा समूहका कर्मचारीहरुले पनि अधिक मात्रामा इन्धन लिने गरेको पाइएको छ । जुन कर्मचारीहरुको फिल्ड भ्रमण अनिवार्य हुँदैन ।
कार्यालयले गत आर्थिक वर्षमा खर्च गरेको इन्धन

बा १ छ च ७९६६ नम्बरको सवारी साधनलाई कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा धेरै १६ सय ४५ लिटर इन्धन दिएको छ । जसलाई कार्यालयका प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले प्रयोग गर्छन् । त्यस्तै कार्यालयबाट दोस्रो धेरै इन्धन आयोजना प्रमुख राजेन्द्र सापकोटाले प्रयोग गर्ने सवारी साधनलाई प्रदान गरिएको छ । सूचनाअनुसार उनले प्रयोग गर्ने बा १७ च ६६६२ नम्बरको सवारी साधनलाई कार्यालयले गत आर्थिक वर्षमा १५ सय ७७ लिटर इन्धन प्रदान गरेको छ ।
कार्यालयका आयोजना प्रवन्धक राजेश कुशबाहलाई १४ सय ७० लिटर, इन्जिनियर सुमन कर्माचार्यलाई १४ सय ११, आयोजना प्रवन्धक सुजाता जोशीलाई १४ सय चार लिटर र परामर्शदाता हिमेशआनन्द वैद्यलाई १४ सय ५७ लिटर इन्धन आयोजना कार्यालयले गत आर्थिक वर्षमा उपलब्ध गराएको थियो ।
इन्जिनियर सुरेश श्रेष्ठले सबैभन्दा बढी ४ लाख ३२ हजार ३२१ रूपैयाँ इन्धन सुविधा लिएका छन् । ११ महिनामा लिएकाे याे सुविधा मासिक ३९ हजार ३०२ रूपैयाँ हुन्छ । सरकारी संस्थामा इन्जिनियरकाे मासिक तलव ४३ हजार ८०० रूपैयाँ हुन्छ ।
कार्यालयमा काम गर्ने अन्य ९ जना कर्मचारीहरुले पनि गत आर्थिक वर्षमा एक हजार लिटर भन्दा धेरै इन्धन लिएको प्राप्त सूचनामा उल्लेख छ । कार्यालयका प्रशासन शाखा प्रमुख बमले आफ्नो सवारी साधन अन्य कर्मचारीहरुले पनि आवश्यकताअनुसार प्रयोग गर्ने भएकाले इन्धन खर्च बढी देखिन आएको तर्क गर्छन । साथै उनले सो कार्यालयले फिल्डमा बढी काम गर्ने भएकाले पनि इन्धन खर्च बढी देखिन आएको दाबी गरेका छन् ।
प्रमुख बमका अनुसार कार्यालयले कर्मचारीहरुलाई वार्षिक रुपमा एक सय लिटर डिजेल र ६४ लिटर पेट्रोल उपलब्ध गराउने व्यवस्था रहेको छ । तर, केही सीमित कर्मचारीहरुले भने तोकिएको सीमा भन्दा धेरै इन्धन लिएको सूचनामा उल्लेख गरिएको छ । आयोजनामा प्रयोग भएका सवारी साधन पुराना भएर पनि इन्धन बढी लागेको प्रमुख बमले प्रतिक्रिया दिएका छन् ।
सवारी साधनको मर्मतमा पनि अधिक खर्च
आयोजना कार्यालयले गत आर्थिक वर्षमा कार्यालयमा भएका सवारी साधनको मर्मत खर्चमा पनि अधिक खर्च भएको विवरणमा उल्लेख छ । विवरण अनुसार कार्यालयले गत आर्थिक वर्षमा ५७ लाख ६ हजार २०३ रुपैयाँ खर्च गरेको छ । जुन सवारी साधनहरुले धेरै इन्धनमा खर्च गरेका छन् । तिनै सवारी साधनहरुले मर्मतमा पनि बढी खर्च गरेको सूचनामा उल्लेख छ ।


smart