दरबार हाइस्कूलले शुरु गर्यो ‘रोवोटिक्स कोडिङ’ कक्षा
काठमाडौं । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । कामपा सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ‘ब्लक’मा आधारित कोडिङ सिकाइएको छ । त्यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई ‘पाइथन प्रोग्रामिङ’ सिकाइएको छ । विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् । महानगरपालिकाका १४ विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूका काम विश्वका एक सय ६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ कक्षाले विद्यार्थीमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुने विद्यालयका प्रधानाध्यापक सारदा पौडेलले जानकारी दिए । उनका अनुसार कक्षाका लागि बितेका हप्तामा अभिमुखीकरण गराइएको थियो । कक्षामा विद्यार्थीको गहिरो चाख देखिन्थ्यो । उनीहरू विषयवस्तुप्रति उत्साहित थिए । शिक्षकसँग अन्तरक्रियात्मक हुनुले यसलाई स्पष्ट पारेका थिए । यी कक्षाहरू कामपाको ‘बुक फ्रि फ्राइडे’अन्तर्गत सञ्चालन भएका हुन् । डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले ‘डिजिटल एन्ड वियोण्ड’सँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ । यस कार्यक्रममा लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी छन् । क्लबका विद्यार्थीले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्छन् । कामपाको ‘बुक फ्रि फ्राइडे’अन्तर्गग शुक्रबार सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्रस्तरमा ‘डेङ्गी’ शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कामपाले जीवनउपयोगी शिक्षा दिने मुख्य उद्देश्यअनुरूप गत वैशाखदेखि ८९ वटै विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।
ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती लिने गिरोह पक्राउ
काठमाडौं । नेपाल प्रहरीले ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत जेठ १२ गते नेपालबाट ‘सिजनल भिषा’मा वैदेशिक रोजगारीका क्रममा सर्बिया गएका तीन नेपालीलाई बन्धक बनाएर रकम फिरौती माग्ने चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन् । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले सर्बियामा गएका पीडितले चित्त बुझ्दो रोजगार तथा तलब सुविधा नपाएपछि लुकीछिपी ग्रीस प्रवेश गर्न खोज्दा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानीले अपहरण गरी डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना र डर त्रास देखाइ ज्यान मार्ने धम्की दिइ फिरौती १५ हजार मागेकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका कुँवर नेपालमा फिरौती रकम लिने, अर्याल नेपालमा फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क गर्ने, बेलबासे दुबईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने र थापा दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनी सम्पर्क गर्न भूमिका खेलेको प्रहरीको अनुसन्धानमा खुलेको प्रवक्ता अधिकारीले बताए । प्रहरीले ग्रीसमा बन्धक बनाइ राखेका पीडितलाई सकुशल उद्धार गरेको छ । पक्राउ चारै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिआइबीले वैदेशिक रोजगारीका लागि विदेश जाँदा सरकारको श्रम स्वीकृति भएको देशमा मात्र आवश्यक कानूनी प्रक्रिया पूरा गरी जान अनुरोध गरेको छ । –––
हुलास वायरले सम्पन्न गर्यो संवर्धन समारोह
काठमाडौं । हुलास वायर इण्डष्ट्रिजले शुक्रबार इटहरीस्थित वेष्टनमा हुलास वायर “संवर्धन समारोह” सम्पन्न गरेको छ । कम्पनीले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा को प्रमुख आतिथ्यमा उक्त समारोह सम्पन्न गरेको हो । हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, हुलास वायरका अध्यक्ष श्रीमती राजलक्ष्मी गोल्छा तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायरको लोगो तथा विज्ञापनको भिडियो सामुहिक रुपमा रिमोटद्वारा स्विचिंग गरि समारोहको उद्घाटन गरे । सो कार्यक्रममा लामो समयदेखि कम्पनीमा आवद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरुलाई अध्यक्ष राजलक्ष्मी गोल्छा, प्रमुख अतिथि मुख्यमन्त्री उद्धव थापा, ब्रान्ड एम्बेस्डर क्याप्टेन विजय लामा, एमडी युक्ति गोल्छाद्धारा स-सम्मान कदरपत्र वितरण गरिएको थियो
बेष्ट फाइनान्सले विभिन्न गुठीलाई दियो पाँच लाख सहयोग
काठमाडौं । नेवारी मौलिक परम्परागत धिमे बाजाको संरक्षणका लागि बेष्ट फाइनान्स कम्पनी लिमिटेडले उपत्यकाका विभिन्न गुठीलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० वटा गुठीलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो । कम्पनीका प्रमुख लगानीकर्ता गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष राजेन्द्रकुमार शर्माले गुठीका प्रतिनिधिलाई चेक हस्तान्तर गरे । उनले कला र संस्कृतिको संरक्षण प्रवर्द्धन नभएसम्म मुलुक समृद्ध नहुने भन्दै यस कार्यमा सबै जुट्नुपर्ने खाँचो औँल्याए । उनले काठमाडौं उपत्यकाको नेवारी संस्कृति पर्यटनको उपज भएकाले कला र संस्कृतिको जगेर्ना गर्दै राष्ट्रलाई योगदान दिन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष खिमलाल पौडेलले काठमाडौं उपत्यकाको सम्भाव्यता विश्वकै समृद्ध सभ्यता रहेको भन्दै यसको जगेर्ना गर्न अहिलेको पुस्ताको ध्यान जानुपर्ने खाँचो औँल्याए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेशसिंह भण्डारीले देशको गौरवको रुपमा रहेको नेपाली भाषा, संस्कृति र सम्पदाको संरक्षण प्रवर्द्धनमा कम्पनीले भूमिका खेल्दै आएको विश्वास व्यक्त गरे । कम्पनीका सञ्चालक समिति सदस्य श्रीराम श्रेष्ठले समाजमा रहेका सबै जाती, धर्म र संस्कृति संरक्षणका लागि सबैको सक्रिय भूमिका चाहिने बताए । भिंद्योलाछी युथ क्लबका अध्यक्ष तरिकाजी अवालेले धिमैबाजामा मात्र नभई अन्य कला र संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने खाँचो औँल्याए । रासस
नरैनापुर गाँउपालिकाले सम्पन्न गर्यो पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी
नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न भएको हो । बिहिबार र शुक्रबार गरी दुई दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आर्थिक वर्षमा आ-आफ्नो वडामा गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिए । समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गर्ने पालिका भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तोसुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिए । गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षमा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सूचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाँउपालिकालाई नमुना स्वास्थ्य गाँउपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मेगा स्टक मार्केट्सले शुरु गर्यो ब्रोकर सेवा, लगानीकर्ताले आइतबारदेखि कारोबार गर्न सक्ने
काठमाडौं । मेगा स्टक मार्केट्सले धितोपत्र दलाल सदस्य नं ७५ बाट धितोपत्र दलाल सेवा शुरु गरेको छ । नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरेको मेगा स्टकले शुक्रबार अर्थात भदौ ८ गतेदेखि सेवा शुरु गरेको हो । होटल एलोफ्टमा एक कार्यक्रम आयोजना गर्दै उक्त स्टक मार्केट्सको उद्घाटन गरिएको हो । यससँगै भदौ १० गते आइतबारका दिनबाट लगानीकर्ताले ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन् । सोका लागि ग्राहकले यो लिंकमा लगइन गर्नुपर्ने हुन्छ । कार्यक्रमको अवसरमा कम्पनीले सुशासन, नियम परिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । धितोपत्र दलाल सेवालाई विकेन्द्रीकरण गर्ने तथा पूँजीबजारको विकासलाई टेवा पुर्याउँदै कम्पनीलाई शीर्ष धितोपत्र व्यवसायी बनाउनेमा केन्द्रीत रहने कम्पनीले जानकारी गराएको छ । उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुले कम्पनीलाई सफलताको शुभकामना दिँदै लगानीकर्ताको हकहित संरक्षणमा केन्द्रीत हुने, पूँजीबजारको बिकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
सेल्स र मार्केटिङ्गमा उत्कृष्ट गर्ने ११ संस्था र १० व्यक्ति सम्मानित, को को ?
काठमाडौं । सन् २०२३ मा सेल्स र मार्केटिङ्गमा उत्कृष्ट गर्ने ११ संस्था र १० व्यक्ति सम्मानित भएका छन् । ग्रोथ सेलर्स प्रा.लि. को भगिनी संस्था ग्रोथ लिडरशीप एकेडेमीले सेल्स समिट २०२३ अन्तर्गत सेल्स र मार्केटिङ्गमा उत्कृष्ट गरेका ११ संस्था र १० व्यक्तिलाई शुक्रबार सम्मान गरेको हो । जसमध्ये संस्थातर्फबाट ११ जना सम्मानित भएका छन् । जसमा बैंकिङ क्षेत्रबाट नबिल बैंक, इन्स्योरेन्सबाट एनएलजी इन्स्योरेन्स कम्पनी, आईटी अर्थात प्रविधिको क्षेत्रबाट फ्युजमेसिन नेपाल, इन्टरनेट सेवा प्रदायकको तर्फबाट वर्ल्ड लिंक कम्युनिकेसन, एफएमसीजी म्यानुफ्याक्चरिङ क्षेत्रको सीजी फुड्स् (नेपाल), औद्योगिक उत्पादन क्षेत्रको शिवम् सिमेन्टस्, मल्टीनेशन कम्पनीमा यूनिलिभर नेपाल, फार्मास्युटिकल्सको तर्फबाट नेपाल फार्मास्युटिकल ल्याब्रोटोरी, कन्स्ट्रक्सनको तर्फबाट सीई कन्स्ट्रक्सन, होटल क्षेत्रबाट सोल्टी होटल काठमाडौं र एनसेल सम्मानित भएका छन् । एनसेल संस्थागत मार्केटिङ एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो भने अन्य कम्पनीहरु अर्गनाइजेशनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएका हुन् । त्यस्तै, व्यक्तितर्फबाट १० जना सम्मानित भएका छन् । जसमा यसोदा फुड्सको रमेश विष्ट, सिवम् सिमेन्टका निखिर अग्रवाल, सूर्य नेपालका बाल कृष्ण गुरुङ, सिद्धार्थ बैंकका रामेश्वर प्रसाद बस्याल, शिखर इन्स्योरेन्सका पुस्कर महत, नेपाल क्लियरिङ हाउसका विवेक गिरी, डिशहोमका रमेश सापकोटा, नेशनल हेल्थ केयरका अजय पाण्डे, सोल्टी होटलका हरिस भट्ट र डावर नेपालका अभय गोर्खाली सम्मानित भएका छन् । डावर नेपालका गोर्खाली व्यक्तिगत मार्केटिङ एक्सिलेन्स अवार्डबाट सम्मानित भएका हुन् भने बाँकी व्यक्तिगत सेल्ट एक्सिलेन्स अवार्डबाट सम्मानित भएका हुन् ।
क्यानको बागमती प्रदेश अध्यक्षमा पारस खड्काको उम्मेदवारी घोषणा
oकाठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बागमती प्रेदेशको अध्यक्षमा उम्मेदवारीकाे घोषणा गरेको छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा उम्मेद्वारीकाे घोषणा गरेका हुन्। उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् । उनले आफुलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने पनि बताएका छन् ।