‘उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोगले मानसिक समस्या पूर्ण रुपमा निको हुन्छ’
पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामिको संख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरुका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरु बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । मानिस पूर्ण रुपमा स्वस्थ रहनको लागि शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुनुपर्छ । कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन । कुनै व्यक्ति शारीरिक रुपमा स्वस्थ भइकन मन, विचार, सोच, व्यवहारमा तादम्यता राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्यता कायम गरेको छ, व्यक्तिको व्यवहार, सोच त्यो सँग मेल खान्छ, आफ्नो पोटेन्सियल, स्ट्रेन्थ, कमजोरपन सहज रुपमा चाल पाउँछ, त्यसलाई मनन गर्नसक्छ, आफू, परिवार र समाजलाई केही योगदान गर्नसक्छ भने त्यो अवस्थामा व्यक्तिको मानसिक रुपमा स्वस्थ भएको बुझिन्छ । प्रस्तुत छ, मानसिक समस्याका कारण र समाधान लगायत विषयमा केन्द्रित रहेर ललितपुरस्थित मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश : मानसिक रोग भनेको के हो ? मानिस पूर्ण रुपमा स्वस्थ रहनको लागि शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुनुपर्छ । कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन । कुनै व्यक्ति शारीरिक रुपमा स्वस्थ भइकन उसको मन, विचार, सोच, व्यवहारमा तादम्यता राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्यता कायम गरेको छ, व्यक्तिको व्यवहार, सोच त्यो सँग मेल खान्छ, आफ्नो पोटेन्सियल, स्ट्रेन्थ, कमजोरपन सहज रुपमा चाल पाउँछ,त्यसलाई मनन गर्नसक्छ, आफू, परिवार र समाजलाई केही योगदान गर्नसक्छ भने यो अवस्थामा व्यक्तिको मानसिक रुपमा स्वस्थ भएको बुझिन्छ । मानसिक रोग भनेको यो अवस्थाबाट विचलित भएको अवस्था हो । व्यक्तिको मन, वचन, कर्म, व्यवहार आपसमा तादम्यता राख्दैन । सोच अर्कै खालको छ, उसको सामान्य मानिसको भन्दा व्यवहार अर्कै खालको छ, जसले उसलाई, परिवार, समाजलाई अफ्ठ्यारो पा¥यो । सामाजिक पेशागत काममा अफ्ठ्यारो पर्न थाल्यो भने व्यक्ति मानसिक रुपमा स्वस्थ छैन भनेर बुझ्नुपर्छ । अस्पतालले कस्ता–कस्ता खालका सेवा प्रवाह गर्दैै आएको छ ? मानसिक स्वास्थ्यका समस्याहरु धेरै खालका हुन्छन् । मानसिक स्वास्थ्यको आयाम एकदमै वृहत छ । सामान्य अवस्थामा भोक, निन्द्रा गडबड हुनेदेखि लिएर कडा खालको विक्षिप्तता उत्पन्न गराउने रोगसम्म मानसिक समस्याले ओगट्छ । ती धेरै हजारौं समस्याहरु मध्ये हाम्रो अस्पताल चाहीँ केन्द्रिय मानसिक अस्पताल भएको हिसावले अलि कडा खालका मानसिक रोगीहरुको उपचारमा बढी केन्द्रित छ । भनाइको मतलव अन्य अस्पतालहरुमा पनि मानसिक समस्याको उपचार त हुन्छ । ती अस्पतालहरुमा उपचार हुन नसकेर अथवा केन्द्रिय मानसिक अस्पतालको हिसावले यो समस्याको उपचार गर्न मानसिक अस्पतालमै लैजानुपर्छ भन्ने हिसावले सोचेर ल्याइएका बिरामी अलिक गम्भिर प्रकृतिका मानसिक रोगका बिरामीहरु आउनुहुन्छ । जस्तो डिप्रेसनमा पनि अलिक कडा खालका डिप्रेसनका समस्याहरु, एन्जाइटीमा पनि त्यस्तै खालका, विक्षिप्तता उत्पन्न गराउने रोगहरु डिसअर्डर, साइकोसी समूहमा पर्ने सिजोफ्रेनिया लगायतका रोगहरु, लागुपदार्थ दुव्र्यसनिको कारणले गर्दा आएका कडा खालका मानसिक रोगहरु, छारे रोगका समस्याहरु यी यस्ता खालका समस्याको उपचार यस अस्पतालमा हुन्छ । मानसिक रोगको उपचार पद्धति कस्तो हुन्छ ? यो स्वास्थ्यको समस्या हो भनिसकेपछि यसको उपचार त पक्कै पनि छ । मानसिक रोग स्वास्थ्यका अन्य समस्याहरु जस्तै हो । अलिकति केही फरक त छ । मुख्य रुपमा हाम्रो अस्पतालबाट प्रवाह हुने सेवा भनेको औषधि उपचारकै सेवा हो । कडा खालका मानसिक रोगहरु उपयुक्त समयमा उपचारको पहुँचमा आउनुभयो भने निको हुन्छ । र, हामीले अपनाएको मुख्य उपचार पद्धति भनेको औषधि उपचार हो । त्यो बाहेक केही मानसिक स्वास्थ्य समस्याहरु जसलाई मनोपरामर्श भनिन्छ । साइकोलोजिकल उपचार पद्धतिको उपचारले पनि केही हदसम्म फाइदा गर्नसक्छ । त्यो उपचार पद्यतिपनि हामीसँग उपलब्ध छ । अनी कतिपय अवस्थामा औषधि उपचारबाट त्यति प्रभावकारी नभएका रोगहरु हिजो आज विज्ञान प्रविधिको विकासले न्युरोमोडुलेसनमा आधारीत उपचार पद्यति भित्र्याएका छौं । ती उपचार पद्धतिमा हामिले जस्तो पहिलेदेखि सुन्ने गरिएको विद्युतीय उपचार पद्धति, म्याग्नेटिक उपचार पद्धति पनि छ । औषधि उपचार, मनोवैज्ञानिक उपचार र न्युरोमोडुलेसन यो तीन वटा मुख्य उपचार पद्धति हामिले अवलम्वन गरेका छौं । नेपालमा मानसिक रोगको अवस्था कस्तो पाउनुभएको छ ? मानसिक स्वास्थ्यको समस्या विगतमा पनि थियो । अहिलेपनि छ, पछि पनि रहन्छ । मानसिक स्वास्थ्यका समस्याहरु बढ्दैछन् । मानसिक स्वास्थ्यलाई मान्छेले हेर्ने दृष्टिकोण पनि बिस्तारै परिवर्तन हुँदै आएर जागरुक पैदा भएर स्वास्थ्यको ख्याल गर्ने हिसावले मेन्टल हेल्थको जगेर्ना गर्ने र उपचारमा आउने प्रवृत्तिपनि बढेको छ । यसरी हेर्दा मानसिक स्वास्थ्यका समस्या बढ्दै पनि छन् । र, औषधि उपचारका लागि अस्पताल आउने क्रम पनि बढ्दैछ । कस्ता खालका मानसिक समस्या भएका बिरामीहरु यस अस्पताल आउने गर्नुहुन्छ ? यस अस्पतालमा कडा खालका मानसिक रोगिहरु उपचारका लागि आउनुहुन्छ । समाजमा कस्ता खालका रोगहरु बढी छन् भन्ने कुरा गर्न जरुरी छ । हाम्रो समाजमा व्याप्त मानसिक समस्यामा धेरैमा एन्जाईटी डिस्अर्डर, डिप्रेसन, लागुपदार्थ दुव्र्यसनसँग सम्बन्धित स्वास्थ्य समस्या व्यापक रुपमा छ । अहिले कडा खालको मानसिक रोग बढ्दो क्रममा छ । जस्तोः साइकोसी समूहका, एपिलेप्सी, बालबालीकामा देखिने मानसिक स्वास्थ्यका समस्याहरु लगायत । अहिले हाम्रो औषत आयुु बढ्दै गएको अवस्थामा वृद्धवृद्धामा देखिने मानसिक स्वास्थ्यका समस्याहरुपनि धेरै छन् । अस्पतालमा आउने बिरामीको कुरा गर्नुपर्दा यी रोगहरुमा पनि अलिकति कडा खालका रोग । डिप्रेसनमा पनि सिभियर खालको डिप्रेसन, एन्जाईटिमा पनि एक्स्ट्रिम एन्जाइटी, प्यानिक डिस्अर्डर यस्ता खालका आउँछन् । यस्तै, साइकोसी, एपीलेप्सीमा छारे,मीर्गी भएकाहरुपनि आउनुहुन्छ । मानसिक समस्या भन्ने कि मानसिक रोग ? विश्व स्वास्थ्य संगठनले के भन्छ भने मेन्टल एण्ड बिहेभियर डिस्अर्डर भन्छ । अहिले आएर नयाँ माहोल पनि आएको छ, मेन्टल हेल्थ कन्डिसन भन्नुपर्छ भन्नेपनि आएको छ । मानसिक स्वास्थ्यको अवस्था वा अस्वस्थताको अवस्था भन्ने कुराहरुपनि अगाडी आइरहेको छ । कुरा जे भएपनि मानसिक स्वास्थ्यको समस्या समस्या नै हो । जसका केही कारणहरुपनि छन् । जसको निराकरण, समाधानका उपायहरु पनि छन् । यसको रोकथाम गर्न सकिन्छ । कारणलाई हामीले आइडेन्टीफिकेसन गर्नसक्यौं र त्योबाट टाढा रहनसक्यौं भने मानसिक स्वास्थ्यको समस्याबाट जोगिन सकिन्छ । स्वास्थ्यको समस्या आइसकेपछि उपचार पनि छ । मानसिक समस्याका बिरामीहरु बढ्दै गएका हुन् ? मानसिक स्वास्थ्यको समस्याका कारणहरु त्यहाँ भित्र अन्तरनिहीत समस्याको जड के हो भनेर पनि केलाउन जरुरी छ । स्वास्थ्यका अरु समस्याहरु जस्तैः व्याक्टेरिया, भाइरस पर्टीकुुलर चिज हुँदैन यसमा । बायोलोजिकल कारणमा जैविक कारण भनौँ न मान्छेको शरीरको संरचना, मस्तिष्कको संरचना, मस्तिष्कमा हुने न्युरो केमिकल ब्यालेन्सको कुराहरु एउटा हुन्छन्, अनुवंशिकताका कुराहरु एउटा हुन्छन् । सामाजिक कारणहरु पारिवारिक विखण्डन, वैदेशिक रोजगार, लागुपदार्थ दुव्र्यसनी, मानिसहरुको महत्वाकांक्षी धेरै हुने, त्यसको फुलफिल कम हुने, बेरोजगारी यी सबै कुराहरु सामाजिक कारणहरु हुन् । त्यसै गरेर साइकोलोजिक कारण पनि हुन्छ, जस्तो व्यक्तिले समस्यालाई हेर्ने दृष्टिकोण, व्यक्तिको व्यक्तित्व यी कुराहरुपनि हुन्छन् । जसले गर्दा मानसिक रोग निम्तिन्छ । यसलाई चाहीँ हाम्रै अस्पतालमा होस् या समुदायमा होस् जहाँसुकै पनि निराकरण गरेर उपचार गर्नका निम्ती बायोलोजिकल, साइकोलोजिकल र सोसल यी सबै कुराहरुबाट अप्रोच गर्नुपर्छ । यो मेजर हेल्थको इस्युु त हो । सँगसँगै यहाँ सोसोलोजिकल पनि जोडिन्छ । समाजको संरचना कस्तो छ ? त्यहाँका नीतिनियम, कानूनहरु कस्तो छ ? लागुपदार्थको दुव्र्यसनि कत्तिको हुन्छ ? तनाव व्यवस्थापनको स्थिति के छ ? राज्य कत्तिको कल्याणकारी छ ? यी कुरामा पनि भर पर्छ । त्यसैले बायोलोजिकल कारणलाई हेल्थ इस्युबाट एड्रेस गर्नुप¥यो । रोगका लक्षण देखिएपछि उपचार गर्नुप¥यो । कारण पत्ता लगाउनुप¥यो । निश्चित समयअबधिसम्म औषधि सेवन गराउनुप¥यो । निको भएको छ की छैन वाच गर्नुप¥यो भने सामाजिक कारणहरुमा त भुमिका सबैको छ नि । राज्यको पनि छ, समाजको पनि छ । यो कुरामा सबै जना लाग्नुपर्छ । साइकोलोजिकलमा चाहीँ व्यक्तिको सहन गर्ने क्षमता,व्यक्तित्व विकासका कुराहरु फेरि समाजसँगै जोडिएर आउँछ । कस्तो परिवारमा बच्चा हुर्केको छ ? बुवा आमा बिचको सम्बन्ध कस्तो थियो ? विद्यालयमा शिक्षकले कस्तो व्यवहार गर्नुहुन्छ ? साथी साथी बीचको सम्बन्ध । समग्रमा सबै कुरा हेर्नुपर्छ । र राज्यको नीति पनि त्यतै जानुपर्छ जस्तो लाग्छ । समाजमा अमनचयनको स्थिति कायम हुने, बेरोजगारीको स्थिति नहुने, पारिवारीक विखण्डन नहुने स्थिति, यी कुरालेपनि मानसिक स्वास्थ्यको जगेर्नामा भुमिका खेल्छन् । सोसल मिडियाको अत्यधिक प्रयोगले केही कुराहरु फाइदापनि ल्यायो । बेफाइदापनि सँगसँगै भइरहेको छ । यसले पनि मान्छेलाई मानसिक रुपमा अस्वस्थ बनाउने कुरा भएको छ । सोसल मिडियाको प्रयोग होसीयारीपूर्वक गर्नुपर्छ । रिलायबल कुराहरु मात्रै हेर्ने गर्नुपर्छ । लामो समय लागुपदार्थ दुव्र्यसनी हुने हिसाबले सोसल मिडियामा लत पर्ने हिसावले प्रयोग गर्नुहुँदैन । कुनैपनि व्यक्तिले पनि रचनात्मक काममा भाग लिने, तनाव व्यवस्थापन गर्ने कुराहरु, पर्याप्त मात्रामा सुत्ने, पोषिला खानेकुराहरु खाने, आफन्तहरुसँग टचमा रहने, मनका कुराहरु शेयर गर्ने, गफ गर्ने, यी कुराहरुको पनि त्यत्तिकै महत्व हुन्छ । कडा खालको मानसिक रोग लाग्यो भने आफूलाई याद हुँदैन । परिवारले उहाँहरुलाई तुरुन्तै स्वास्थ्य संस्थामा लिएर जानुपर्छ । र, आफूलाई पनि मन, व्यवहार, वचनमा तादम्यता छैन, केही असहज महशुस हुन लाग्यो, दिग्दारीले छाउन लाग्यो, बिना कारण डर लाग्न थाल्यो, निराशाजनक सोच आउन थाल्यो, जीवन प्रतिको मोह हराउँदै गयो भने कतै म मानसिक रोग, डिप्रेसनको सिकार त भएको होइन भनेर परामर्श लिन जानुपर्छ, हच्किनु हुँदैन । लुकाउनुपर्ने कुरो छैन नि यो । परामर्शले मानसिक रोगको समाधान हुन्छ ? बायोलोजिकल उपचार, साइकोलोजिकल उपचार र सोसल एप्रोच सबै मिल्यो भने अधिकांश मानसिक रोगहरु निको हुन्छन् अथवा नियन्त्रणमा आउँछन् । र, मान्छेले आफ्नो जीवन सहज रुपमा बनाउन र पेशा व्यवसाय गरेर जीवनलाई इन्ज्वय गर्नसक्छ । विभेद गर्न जरुरी छैन । उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्ण रुपमा उपचार सम्भव छ । हरेक व्यक्तिको जीवनमा सधै खुशी मात्रै आउँछ भन्ने छैन । कहिले तनाव हुन्छ, कहिले निराशा हुन्छ, त्यो भन्दैमा व्यक्तिमा मानसिक रोग लाग्यो भन्न मिल्दैन । मनोरोगका लक्षणहरु केही आउँदापनि डिस्अर्डर वा रोग हो भन्नलाई केहि क्राइटेरीया फुलफिल हुनुपर्छ । जसलाई डायग्नोसिस गर्ने काम फिजिसियनहरुले गर्नुहुन्छ । कतिपय अवस्थामा दैनिक रुपमा हुने तनाव व्यवस्थापन गर्न व्यक्ति आफैँ सक्षम हुन्छ । जस्तो कुनै उपलब्धिमा हामी धेरै खुशी हुन्छौँ, आफन्तहरु गुमायौं भने तनावमा हुन्छौँ, पीर पर्छ त्यो मानसिक रोग होइन । त्यो नर्मल इमोस्नल रियाक्शन भयो । यो बाट व्यक्तिबाट अगाडी बढ्यो र उसको सोसियल, अकुपेसन, फङ्सनिङमा समस्या पर्न थाल्यो भने अलिकति सामान्य जीवनबाट फरक देखिन थाल्यो भने मानसिक रोग भनेर जान्नुप¥यो । आफूले वा आफन्तले पहिचान गर्नुप¥यो । छिट्टै उपचारको दायरमामा, मनोपरामर्शको दायरामा आउनुप¥यो । हरेक कुराको समाधान छ । अस्पतालको आगामी योजना छ, कसरी बिरामीहरुले सेवा पाइरहेका छन् ? यो अस्पताल केन्द्रिय अस्पताल हो । नेपालको जनसंख्याको अनुपातमा शैय्या संख्या अपुग छ । यसलाई स्तरोन्नति गर्न ढिला भइसकेको छ । हाम्रो ५० शैय्याको अस्पताल हो । ओपिडीमार्फत हामीले यथेस्ट सेवा दिएका छौं । अस्पतालमा आउने बिरामीलाई मनोचिकित्सकले हेरेर जाँच पड्ताल गर्नुहुन्छ र, उपचार प्रक्रिया अघि बढाउनुहुन्छ । भर्ना हुनका लागि जति भर्ना हुनुपर्ने बिरामी आउनुुहुन्छ, सबैलाई एकै चोटी भर्ना गर्नसक्ने स्थिति छैन । ओपिडीको हिसावले १३ जना साइक्याट्रिक्स हुनुहुन्छ । दुई जना साइकोलोजिस्स्ट हुनुहुन्छ, काउन्सिलर हुुनुहुन्छ । दैनिक एक सय ५० देखि दुई सय जनाले ओपीडी सेवा लिनुहुन्छ । लागुपदार्थ दुव्र्यसनीहरुलाई पनि सब्स्टीच्युस्नल उपचार पद्यतीबाट पनि सेवा प्रवाह गरेका छौँ । इमरजेन्सी सेवामा ६ वटा शैय्या रहेको छ । एउटै मात्रै केन्द्रीय अस्पताल भएका कारण हाम्रो अस्पताललाई स्तरोन्नति गरेर राष्ट्रिय स्तरको मानसिक स्वास्थ्य प्रतिष्ठानको रुपमा विकास गर्ने योजना छ । त्यसको लागि मानसिक अस्पतालको अहिलेको संरचना अपुग हुन्छ । यो अस्पताल हाता भित्रै १५० शैय्या पु¥याउने लक्ष्य छ । सायद यो वर्ष काम शुरु हुनसक्छ । प्रतिष्ठान बनाउन जग्गाको खोजि गरिरहेका पनि छौँ । मानसिक रोगको पनि उपचार छ । उपचार गरेपछि राम्रो जीवनयापन बिताउन सकिन्छ । खुलेर आफ्नो समस्या बताउने र उपचार लिने गर्नुपर्छ । वार्षिक रुपमा ओपिडीमार्फत ३० हजार जनाले सेवा लिनुहुन्छ । एक वर्षको अवधिमा ७ सय जनाको भर्ना गरेर उपचार गर्छौं । मानसिक रोगले उमेर लिङ्ग कसैलाई छोड्दैन । रोगमा देखिने लक्षण फरक पर्न सक्छन् । हाम्रो अस्पतालमा आउने अधिकांश बिरामीहरु निको भएर स्थिर भएर घर जाने गर्नुभएको छ ।
सिपालु गृह श्रमिकका फेरिएका दैनिकी
काठमाडौं । वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउदैँ आएकी छन्। उक्त कार्यबाट उहाँले मासिक ४० हजारसम्म आम्दानी गर्छिन्। श्रीमायालाई मासिक ४० हजार कमाउनका लागि नत नियमित कार्यालय धाउन पर्छ नत कसैको नमिठो बचन नै सुन्नुपर्छ । उनी भान्साको काम सकेपछि बचेको समयमा घरमै बसेर भगवान्लाई चढाउने पूजा सामग्री बनाउँदै राम्रो आम्दानी गर्छिन् । श्रीमायाले दैनिक २५ वटासम्म पूजा सामग्री ‘चोप्पेन’ बनाउँछिन् । जसलाई उनले प्रतिगोटा ५० मा बेच्दै आउनुभएको छ । बौद्धमा बस्ने श्रीमाया उमेरले ५० काटिसकेकी छिन् तर उनीमा चोप्पेन बनाउने जाँगर भने पहिलेजस्तै नै छ । श्रीमाया गृह श्रमिक हुँ भन्दा आफूलाई आनन्द आउने बताउँछिन् । आफ्नो घरमा बसेर राम्रो आम्दानी भएकोमा उनी खुसी छन् । श्रीमाया भन्छिन् –जति बेला कोरोनाको कारण मठ मन्दिर र पूजाआजा ठप्प थियो त्यस समयमा भने व्यापार कम थियो अहिले पुरानै लयमा व्यापर फर्किएको छ । काम गर्ने उत्साह छ उनीमा प्रष्ट देखिन्छ । श्रीमाया आफ्नो कामप्रति खुसी छिन् । ‘शरीरले सक्दासम्म यही काम गर्छु, धर्म र पैसा दुवै कमाइने । सोह्र वर्ष पहिले काम सुरु गर्दा सबै परिवार यही पेसामा लागेका थियौँ । यसकै आम्दानीले छोराछोरी बढेर विदेश पलायन भए । अहिले म एक्लैले गर्छु तर यस पेसालाई मेरो उच्च सम्मान छ’, श्रीमायाले खुसी हुँदै विगत सुनाइन् । त्यस्तै काठमाडौंको मूलपानीमा विगत ३० वर्षदेखि सिलाइकटाइको काम गर्दै आएकी मञ्जु गजुरेल पनि गृह श्रमिकको रुपमा काम गर्न पाउँदा दङ्ग छिन् । उनले सुरुमा एक्लै काम थालिन् । अहिले ११ जना गृह श्रमिकको समूहको अगुवाइमा उक्त काम समाल्दै आएकी छन् । एक्लैभन्दा समूहमा काम गर्दा सहज भएको उनको अनुभव छ । नाम खुलेर भन्न नसक्ने महिला समूहमा आएका थिए । विस्तारै श्रम बेचेर आम्दानीको स्रोत पहिचान गर्न थालेपछि महिलामा आत्मविश्वासबढ्दै गएको गजुलेल बताउँछिन् । ‘आफ्नो हातमा सीप नहुँदा आर्थिकरुपमा निकै खुम्चिन परेको थियो, अहिले भने आफ्ना लागि कसैसँग माग्नुपरेको छैन, उल्टै परिवारलाई सहयोग गर्दै आएको छु’, खुसीका साथ उनले भनिन् । यद्यपी पछिल्लो समय उहाँलाई चिन्ता थपिएको छ । कोरोनापछि उत्पादन भएका सामग्रीले राम्रो बजार नपाउँदा उनीमा चिन्ता थपिएको हो । गजुरेलको समूहले गृह श्रमिकको रुपमा नेपाली दौरा सुरुवाल र साना बालबालिकाको लागि न्यानो कपडा सिलाउँदै आएको छ । उत्पादन गर्नुभएको सामग्री न्युरोडमा बिक्री वितरण हुने गरेको उनी बताउँछिन् । गजुरेलले भनिन्, ‘पहिलेजस्तो होइन अहिले बजारमा प्रतिस्पर्धा छ, उत्पादन भएका सामग्री कति बेला घरमा थन्कने र बजार नपाउने हो पत्तो छैन ।’ उनले स्थानीय सरकारसमक्ष अनुरोध गर्दै उत्पादन भएका सामग्री बिक्रीको सुनिश्चितता गरिदिए काम गर्ने वातावरण थप सहज हुने आशा व्यक्त गरिन् । गृह श्रमिकले ढुक्कका साथ सामग्री उत्पादन गर्न सक्ने गरी वातावरण बन्दिए हुन्थ्यो भन्छिन्, गजुरेल । त्यसैगरी, जोरपाटीमा बस्ने शान्ता कोइरालाले पनि विगत दश वर्षदेखि गृह श्रमिकको रुपमा काम गर्दै आएकी छन् । उनले स्वागतका लागि प्रयोग गर्ने खादा बनाउने काम गर्दै आएकी छन् । कोइराला घरमा बसेरै राम्रो आम्दानी हुनेभएपछि घरखर्च चलाउन सहज भएको बताउनुहुन्छ । खादा बनाउनका लागि मेहनेत र लगानी धेरै छ त्यसको आधारमा सामग्रीको बजार छैन भन्छिन्, उनी । ‘लामो समयदेखि गृह श्रमिकको रुपमा काम गरेकालाई सरकारले केही दिन बिरामी भएर बस्दा पनि गाँस बासमा समस्या नहुने गरी थोरै केही आर्थिक व्यवस्था गरिदिए हुन्थ्यो’, उनले स्थानीय सरकारसँग आशा व्यक्त गरिन् । गृह श्रमिककै रुपमा बूढानीलकण्ठमा विगत पाँच वर्षदेखि फाइबर माला बनाउने रञ्जु तामाङले भने अन्य गृह श्रमिकले भन्दा फरक कहानी सुनाइन् । प्रयोग भइसकेका फाइबरका झोलाबाट घर सजावटको माला बनाउँदै आएकी उनले आफूले उत्पादन गरेका फाइबर मालाले बजार नपाएकोप्रति दिनरात चिन्ता लागिरहेको बताए । ‘झोलाबाट माला बनाउन सिक्दा आफूले ऋण खोजेर सिकेको र अहिले बनाउनको लागि पनि उत्तिकै मेहनत गर्नुपर्छ । जति मेहनत गरेर माला तयार गरे पनि किन्ने मान्छेको अभाव छ’, उनले भनिन् । तामाङका अनुसार विशेष गरी घर सजावटको लागि बढी प्रयोग हुने उक्त माला बनाउनका लागि कम्तीमा पनि दुई दिनको समय लाग्छ । यसरी तयार गरेको सामग्री सहज बिक्री हुन भने निकै कठिन छ । एकल महिला उनलाई मेहनतका साथ तयार गरिएका माला समयमा नै बिक्री नहुँदा दैनिक घर खर्च चलाउन पनि समस्या पर्ने गरेको छ । तामाङ भन्छिन्, ‘कहिले कहिले चिनजानको साथीभाइबाट मालाको माग हुने गरेको भए पनि व्यावसायिकरुपमा यसले बजार पाउन भने सकेको छैन ।’ गृह श्रमिकका सामग्रीको बजारीकरण सहज बनाइदिन उनले सरकारसँग आग्रह गरेकी छन्। तयार गरेको लामो समयसम्म पनि माला बिक्री नहुँदा लागत मूल्यभन्दा कममा माला बेच्नुपरेको गुनासो उनले सुनाइन् । तामाङले बजार नपाउँदा १२ सय पर्ने माला पाँच सयमा बेच्दै आएकी छन् । पछिल्लो समय गृह श्रमिक एक्लैएक्लै घरमा बसेरभन्दा पनि श्रमिककै अगुवाइ गर्ने विभिन्न संस्था सवा नेपाल, क्लास नेपाल, होमनेट नेपाल नामक संस्थामा आबद्ध भएर काम गर्दै आएकी छन्। यसरी काम गर्दा थप ऊर्जा थपिने गृह श्रमिक चन्द्रिका भट्टराईले अनुभव सुनाइन् । गृह श्रमिकको अवस्था अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएओ) महासन्धि, १७७ का अनुसार गृह श्रमिक भन्नाले रोजगारदाताको कार्यस्थलबाहेक कामदारको घर वा निजले छनोट गरेको स्थानमा बसेर पारिश्रमको लागि श्रम गर्ने व्यक्तिलाई बुझाउँछ । आइएलओले सन् २०१९ मा गरेको अध्ययन अनुसार विश्वभर २६ करोडभन्दा बढी गृह श्रमिक छन् । जसमा तीन कारोड ५० लाखले विकसित देशको प्रतिनिधित्व गर्छन् । यो सङ्ख्या विश्वव्यापी श्रम शक्तिका श्रमिकमध्ये आठ प्रतिशत हो । तीमध्ये १४ करोड ७० लाख महिला छन् । नेपालको सन्र्दभमा केन्द्रीय तथ्याङ्क विभागका अनुसार जम्मा श्रम शक्तिको १९ दशमलव दुई प्रतिशत गृह श्रमिक रहेका छन् । जसमा ७० प्रतिशतभन्दा बढी हिस्सा महिला छन् । होमनेट दक्षिण एसियाको अनुमान अनुसार दक्षिण एसियाका भारत, बङ्गलादेश, पाकिस्तान र नेपालमा मात्र छ करोड ७० लाख गृह श्रमिक रहेका छन् । गत वैशाखमा होमनेट इन्टरनेस्नलको आयोजनामा काठमाडौंमा गृह श्रमिक सम्मेलन भएको थियो । जहाँ २९ देशका एक सय २७ जना गृह श्रमिक सहभागी थिए । होमनेट साउथ एसियाको क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले गृह श्रमिकको थप व्यवस्थापनको पाटो अझै चुनौती रहेको बताइन् । श्रमिकले मेहनेतका साथ उत्पादन गरेका सामग्रीकोे उपयुक्त बजार व्यवस्थापनको पाटो मिलाउनको लागि सम्बन्ध भएका निकायले ध्यान दिनुपर्नेमा जोड दिइन् । तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटीले आफूले नगरपालिकामा श्रम डेक्सको स्थापना गरेको जानकारी दिँदै यसका लागि काठमाडौं उपत्यकाको अन्य स्थानीय तहसँग पनि समन्वय गरेर गृह श्रमिकको हक हितमा काम गर्ने प्रतिबद्धता जनाइन् । रासस ।
बेतनामा फेला पर्यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा
मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् । ‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर’, वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए। सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो । जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ । उक्त अनुसन्धान टोलीका एक सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आइयुसीएन’मा अति सङ्कटापन्न प्रजातिको रुपमा सूचीकृत रहेको बताए । नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा करिब दुई दर्जनको सङ्ख्यामा रहेको अनुसन्धान टोलीका सदस्य तपिल प्रकाश राईले जानकारी दिए। भारत र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयूर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ तर फरक प्रजातिको रहेको राईले बताए । ठूला प्रजातिको संरक्षणमा सरकारले चासो देखाए पनि कछुवाका लागि भने ध्यान नदिएको अनुसन्धानकर्ताहरु बताउनुहुन्छ । सरकारीस्तरबाटै यो प्रजाति संरक्षणका लागि चासो हुनुपर्ने उनीहरुको माग रहेको छ । हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् । तराईका केही जिल्लामा मात्र भेटिने मयूर प्वाँखे कछुवा अन्यन्त्रको तुलनामा पूर्वी नेपालमा बढी मात्रामा भेटिने गरेको छ । सिमसारमा कृतिम संरचना निर्माण गर्दा बासस्थान विनाश हुँदै गएको र चोरी तस्करी नियन्त्रण हुन नसक्दा यसको अस्तित्व लोप हुने खतरा रहेको छ । सर्वाहारी यो कछुवा आइयुसीएन रेड लिस्टमा सङ्कटापन्न सूचीमा छ अर्थात् यो प्रजातिको कछुवा र बाघ दुवै एउटै सूचीमा छन् । ‘बाघको संरक्षणमा जति महत्व छ, यो कछुवा संरक्षणमा पनि त्यति नै महत्व छ । ठूलो टाउकोे पिठ्युँ (खपटा)मा बुट्टाजस्तो देखिने ठ्याक्कै, मयूरको प्वाँखको बीच भागको आँखाजस्तो देखिने बुट्टा बाहिरी अवारण हेर्दै थाहा हुन्छ मयूर प्वाँखे कछुवा”, स्थानीय बेलबारी–९ का काचिलाल धिमालले बताए । फाट्टफुट्ट मात्र देखिएको यो मयूरको प्वाँखे कछुवा अन्य कछुवाकै रुपमा लिइएको र यसको महत्वबारे आफूलाई थाहा नभएको धिमाल बताउँछन् । ‘बेतना सिमसारमा घुम्न आउने पर्यटकले भुजा, सोयाबिनलगायत चारोको रुपमा सिमसारमा हालेपछि त्यही खान माछा सँगसँगै कछुवा पनि आउँछन् तर चारो हाल्ने बित्तिकै खान आइहाल्छ भन्ने हुँदैन तर लामो समय पर्खिएर हेर्दा भने पक्कै देखिन्छ’, बेतना सिमसारका कर्मचारी प्रमुख धनबहादुर राईले बताए । नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने मयूर प्वाँखे कछुवा नेपालमा पाइने कछुवा प्रजातिभन्दा केही ठूलो हुन्छ । रातको समयमा सक्रिय हुने यो प्रजातिले शङ्के किरा, माछा, गड्यौलालगायत स–साना प्रजाति खान्छ । एक पटकमा २० देखि ३० वटासम्म फुल पार्छ । अगस्ट र नोभेम्बर महिनामा फुल पार्ने र जुनदेखि जुलाइमा कोरल्छ । दलदलमा बस्ने यो कछुवाले माटोमुनि नै बस्न रुचाउँछ । भालेभन्दा पोथी केही ठूलो हुने यो प्रजातिको कछुवा नेपालमा अधिक चोरी शिकार हुने प्रजातिभित्र पर्छ । यो प्रजातिको बारेमा अध्ययन अनुसन्धान कम हुँदा यसको अवस्थाबारे थाहा हुन छाडेको छ । विसं २०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको एक विवरणमा उक्त प्रजातिको कछुवा सुनसरी, चितवन र बर्दियामा पाइने उल्लेख छ ।
गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले भने, ‘गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले नियमावलीमा विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो पर्ने प्रावधान नराख्ने तर केही प्राविधिक समस्या देखापरे सहजीकरण गर्न सरकार तयार रहेको बताए । भेटमा सङ्घका कार्यकारी अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली यथाशक्य छिटो निर्माण गरी नागरिकता प्राप्तिका लागि मार्गप्रशस्त गरिदिन हुन अनुरोध गरे । नियमावलीमा राखिने प्रावधान अप्ठ्यारा भए नागरिकता लिँदा झन्झटिलो हुने भएकाले निर्माण चरणदेखि नै सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । अध्यक्ष केसीले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता दिइने व्यवस्था मिलाउन र नागरिकताको ढाँचा अन्य नेपालीले पाउने नागरिकताजस्तै बनाई प्रमाणपत्रको किसिममा ‘गैरआवासीय’ लेख्दा उपयुक्त हुने सुझाव दिए । सङ्घले अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव गृह मन्त्रीसमक्ष प्रस्तुत गरेको थियो । सरकारले विदेशमा बस्ने नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्थाअनुरुप ऐन जारी गरे पनि त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माणकै चरणमा रहेकोले त्यसमा सङ्घले आफ्ना सुझाव पेश गरेको हो । भेटमा कार्यकारी अध्यक्ष केसीसहित उपाध्यक्ष डिबी क्षेत्री, आइसिसी युवा संयोजक अब्दुल बासिद, युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनसिसी थाइल्याण्डका भविन्द्र बस्नेत, पूर्वसल्लाकार टिबी कार्की, एनसिसी थाइल्याण्डका पूर्वयुवा संयोजक दिपेश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतलगायतको उपस्थिति थियो ।
ओटीटीमा ‘महापुरुष’
काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी (ओभर द टप) प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे । सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटीटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए तर विदेशी एपमा दर्शक झुम्दा सोही प्रकृतिका नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले दर्शक पाएनन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए। शुक्रबारदेखि ‘महापुरुष’ प्रदर्शनमा आएको जानकारी दिँदै अध्यक्ष लामिछानेले नयाँ सामग्री आउँदा दर्शक बढ्ने जानकारी दिए । ‘चलचित्र भवनमा जस्तै ओटीटीमा पनि दर्शक बढिरहेका छन् । युट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि विस्तारै बानीको विकास भइरहेको छ’, अध्यक्ष लामिछानेले भने । अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठूलो सङ्ख्यामा दर्शक रहेको बताउँदै यसको विस्तारमा ध्यान दिन आग्रह गरे। उनले भने, ‘हामी कहाँ नयाँ बजार विकसित भइरहेको ओटीटीमा दर्शकलाई आकर्षित गर्न हामी सबैको हुनुपर्छ । मेरो पहिलो चलचित्र प्रदर्शनमा आएको छ, उत्साहित छु ।’ प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ मा राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापालगायतका कलाकारले अभिनय गरेका छन्।
विश्वव्यापी रूपमा फास्टेस्ट ग्रोइङ्ग अटोमोटिभ ब्राण्ड ‘सेरेस’ नाडामा लन्च हुँदै
काठमाडौं । ब्राण्ड डाइरेक्टरीले हरेक वर्ष विश्वव्यापी रूपमा शीर्ष पाँच हजार कम्पनीहरूको प्रदर्शन मूल्याङ्कन गर्दछ। सोहि ब्राण्ड डाइरेक्टरीद्वारा तयार पारिएको २०२३ को वार्षिक प्रतिवेदन अनुसार सोकोन (हाल सेरेस) एक सफल अटोमोबाइल कम्पनी बन्न सफल भएको छ। साथै २०२२ पछि सबैभन्दा छिटो बढिरहेको र वार्षिक रुपमा २१ प्रतिशत बढी गाडीहरु बेचिरहेको छ। प्रतिबद्धता, नवीनता र उत्कृष्टताको अटुट प्रयास पछि सेरेस द्रुत गतिमा विस्तार हुने अटोमोबाइल ब्राण्ड बन्न सफल भएको छ। विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी हुनु सेरेसलाई थप उचाईमा पुर्याएको छ। सोहि साझेदारी स्वरूप सेरेसले डिजिटल समाधान, स्मार्ट प्रविधि र कनेक्टिभिटीका लागि हुवावेको टेक्नोलोजी प्रयोग गरी आफ्ना ग्राहकहरुलाई सिमलेस तथा इन्टेलिजेन्ट ड्राइभिङ अनुभव प्रदान गर्दै आइरहेको छ। सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ। इभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालिन लक्ष्य लिएको छ। सेरेस नविनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एण्ड डेभलपमेन्ट विंग’ लाई संचालन गर्दै आएको छ। ‘ड्राइभिङ’लाई थप पर्यावरण-मैत्री र व्यावहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। आउँदो २६ भाद्रबाट सुरु हुन गइरहेको नाडा अटो सोमा लन्च गर्ने भनिएको सेरेसलाई नेपालमा भने एमएडब्लु ग्रुपले भित्र्याउन लागेको हो। सेरेस ३ को टेस्ट(ड्राइव तथा अनुभवका लागि सेरेसको बुथमा ‘ए-६’ सम्पर्क गरी बिस्तृत जानकारी लिन सकिने कम्पनिले जनाएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार १० अर्बको विकास ऋणपत्र जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । घटीमा रू पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रू पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुनेछ ।
दरबार हाइस्कूलले शुरु गर्यो ‘रोवोटिक्स कोडिङ’ कक्षा
काठमाडौं । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । कामपा सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ‘ब्लक’मा आधारित कोडिङ सिकाइएको छ । त्यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई ‘पाइथन प्रोग्रामिङ’ सिकाइएको छ । विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् । महानगरपालिकाका १४ विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूका काम विश्वका एक सय ६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिन्छ । रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ कक्षाले विद्यार्थीमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीमा तार्किक क्षमता बढ्नेछ । चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुने विद्यालयका प्रधानाध्यापक सारदा पौडेलले जानकारी दिए । उनका अनुसार कक्षाका लागि बितेका हप्तामा अभिमुखीकरण गराइएको थियो । कक्षामा विद्यार्थीको गहिरो चाख देखिन्थ्यो । उनीहरू विषयवस्तुप्रति उत्साहित थिए । शिक्षकसँग अन्तरक्रियात्मक हुनुले यसलाई स्पष्ट पारेका थिए । यी कक्षाहरू कामपाको ‘बुक फ्रि फ्राइडे’अन्तर्गत सञ्चालन भएका हुन् । डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले ‘डिजिटल एन्ड वियोण्ड’सँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको छ । यस कार्यक्रममा लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी छन् । क्लबका विद्यार्थीले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्छन् । कामपाको ‘बुक फ्रि फ्राइडे’अन्तर्गग शुक्रबार सामुदायिक र संस्थागत सबै विद्यालयका विद्यार्थी सहभागी गराएर स्रोत केन्द्रस्तरमा ‘डेङ्गी’ शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कामपाले जीवनउपयोगी शिक्षा दिने मुख्य उद्देश्यअनुरूप गत वैशाखदेखि ८९ वटै विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।