आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम क्षेत्रबाट मौसम केही सुधार हुँदै गएको र आजदेखि मौसममा केही सुधार आउने मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । उनले भने, ‘लगातारको वर्षा भने आजबाट रोकिने छ, तर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहने छ ।’ आज दिउँसो मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो । गए राति कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको र अहिले कोशी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।
पीपीपी मोडलमा खुल्यो ‘तिलगंगा आइ सिटी सेन्टर’, तिलगंगाको सेवालाई देशभर विस्तार गरिँदै
काठमाडौं । तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको हो । तिलगंगाले आफ्नो सेवालाई विकेन्द्रिकरण गर्दै देशभर विस्तार गर्ने उद्देश्य अनुरुप नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं पर्यटन समितिका सभापति देशबन्धु वस्नेत (अजित)को लगानी रहेको एबी होल्डिङ्स अन्तरगतको एबी आईकेयरसँगको सहकार्यमा पीपीपी मोडलमा तिलगंगा सिटी आई सेन्टर संचालमा ल्याएको हो । पहिलो पटक काठमाडौंको चुच्चेपाटीमा रहेको दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आई केयर संचालनमा ल्याएको हो । उक्त सेन्टरको तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले संयुक्त रुपमा गरेका हुन् । आखाँका विरामीहरुलाई सरल र सहज रुपमा सेवा दिने उद्देश्यले पीपीपी मोडलमा तिलगंगालाई देशभर विस्तार गर्न लागिएको तिलगंगाल आँखा अस्पतालका कार्यकारी निर्देशक प्राडा सन्दुक रुईतले बताए । ‘यो तिलगंगाको पीपीपी मोडलको पहलो अबधारण हो । यस तिलगंगाको जनशक्ति र निजी क्षेत्रको लगानीमा हामीले हाम्रो सेवालाई देशभर विस्तार गर्नेछौं,’ उक्त सेन्टरको उद्घाटन कार्यक्रममा उनले भने, ‘अबका दिनमा एबी आई केयरसँगको पीपीपी मोडलमा तिलगंगा सिटी आईकेयरलाई देशभर विस्तार गरी आँखाका विरामीलाई सेवा दिनेछौ ।’ सेन्टरले आँखा सम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि आवश्यक सेवाहरू प्रदान गर्दछ । उक्त सेन्टरबाट आँखा सम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष जनशक्तिहरुद्वारा आँखाको जाच गराउँनुका साथै नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू दिनेछ । यसैगरी मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धी र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भिजन थेरापीको सेवासुविधाहरु समेत उक्त सेन्टरले प्रदान गर्नेछ । साथै, कार्यक्रममा प्राडा रुईतले संस्थाको मूल दर्शन भनेकै बिरामीहरुलाई केन्द्रबिन्दुमा राखेर उपचार दिनु रहेको भन्दै प्रत्येक सेवाग्राहीलाई उचित आँखा स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ थप नयाँ प्रविधि र पद्धतीको परिकल्पना गरिएको बताए । ‘क्वालिटी आई सर्भिस एट योर डोरस्टेप’ भन्ने मूल मन्त्रलाई अनुसरण गर्दै आफ्नो सेवालाई नेपालभर पुर्याउने अठोट लिएका छौं,’ उनले भने, ‘अबका दिनमा तिलगंगा सिटी आइ सेन्टरले सम्पूर्ण बिरामीको पहुँचमा पुग्ने गरि काम गर्नेछ ।’ पीपीपी मोडलमा उक्त आईसेन्टरको स्थापनासँगै स्वाथ्य क्षेत्रमा निजी क्षेत्रको भुमिका बढ्दै जाने र त्यसले अबका दिनमा विरामीलाई सहज रुपमा सेवा प्रदान गर्नै सकिन तिलगंगाल सिटी आईसेन्टरका प्रबन्ध निर्देशन देशबन्धु वस्नेतले बताए । ‘हामीले तिलगंगा आँखा अस्पताको सेवालाई विरामी माझ अझै सहज रुपमा पुर्याउन पीपीपी मोडलमा उक्त आई सेन्टर संचालमा ल्याएका छौं,’ उनले भने, ‘अबका दिनमा उक्त सेन्टरलाई देशभर विस्तार गर्ने छौं जसले गर्र्दा तिलगंगाको सेवा लिन देशभरबाट काठमाडौं धाईरहनुपर्ने बाध्यता हट्नेछ ।’ साथै अबका दिनमा उक्त आई सेन्टरलाई देशभर पुर्याउन द्वूत गतिमा काम गरिने समेत वस्नेतले जानकारी दिए ।
मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत हकप्रद सेयर बिक्री खुला
काठमाडौं । मल्टीपर्पस फाइनान्सले आज भदौ १० गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर नयाँ ३५ कित्ता सेयर बिक्री खुला गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ गत असार १२ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयर खरिद गर्न पाउने छन् । सेयरधनीहरुले कम्पनीको हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनााथ क्यापिटल लिमिटेड रहेको छ । मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौं । सिटिजन्स क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा गरेको छ । कोष ब्यबस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको संचालक समितिको बैठकले ८ प्रतिशत प्रतिफलवितरण गर्ने प्रस्ताव गरेको हो । सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले हुन आउने ४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । साथै, लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्ने छन् ।
संसदीय समितिले नेतृत्व पाउँदै, उम्मेदवारी दर्ता आज
काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ । दल मूल–जिम्मेवारीप्रति पछि रहेको सङ्केत छ– पूर्वसभामुख नेम्वाङ सविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सङ्घीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिकरूपमा उत्तरदायी हुने संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको बताए । संसद्को सभा होस् वा बैठक औपचारिक हुने भएकाले देश र जनहित सम्बन्धित छलफलका लागि प्रवेश पाएका सबै विषयवस्तु र प्रस्तावमाथि विभिन्न कोणबाट गहन बहस गरी टुङ्गोमा पुर्याउने काम संसदीय समितिबाटै हुने बताइएको छ । उनले भने, “मूल थलो संसद् मूलभूतरूपमा औपचारिकतामा सीमित रहन्छ, सङ्घीय संसद्ले सरकार र सिङ्गो मन्त्रिपरिषद्लाई जनताप्रति उत्तरदायी बनाउने काम संसदीय समितिमार्फत नै हुन्छ ।” पूर्वसभामुख नेम्वाङले संसदीय समितिका सभापति चयनको ढिलाइले राजनीतक दल आफ्नो मूल–जिम्मेवारीप्रति कति पछि परेका छन् भन्ने स्पष्ट सङ्केत गरेको प्रतिक्रिया दिए । नेकपा (एमाले) संसदीय दलका उपनेता नेम्वाङले भने, “हामी समितिमार्फत देशमा पारदर्शिता र जनताप्रति जवाफदेहिता स्थापित गर्ने काम गर्छाँै, समिति संविधान, कानुन, संसदीय मूल्य मान्यताका विषयमा हुने खुला र गहन छलफलका आधारमा सकारात्मक परिणाम निकाल्ने उपयुक्त थलो हो । खुसी लागेको छ, ढिलै भए पनि नेतृत्व पाउँदैछ ।” यसपटक संयुक्त समिति २ र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस ४, नेकपा (माओवादी केन्द्र) २, नेकपा (एमाले) ३, नेकपा (एकीकृत समाजवादी) १, जनमत पार्टीको १ सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ । उनले भने, “संसदीय परिपाटी र मूल्य मान्यताको सन्दर्भमा कुनै पनि दलले आफूलाई बाहिर पारियो भन्ने महसुस गरिनुहुन्न । सत्ता गठबन्धन र समितिको कामकारबाही र जिम्मेवारी फरक विषय हुन् । चौथो र पाँचौँले स्वभाविकरूपमा सिट प्राप्त गर्नुपर्छ भन्ने मान्यता हो ।” हाल संसद्मा चौथो ठूलो दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी छ भने पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ । प्रतिनिधिसभा नियमावलीमा सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए÷गरेका कामकारबाहीका अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन र राय सल्लाह दिनसमेतका लागि संसदीय समिति रहने उल्लेख छ । अघिल्लो सङ्घीय संसद्मा प्रतिनिधिसभा मातहतका १०, राष्ट्रिय सभाका ३ र संयुक्त समितिका रूपमा रहेका २ गरी १६ विषयगत समितिमध्ये ९ को नेतृत्व महिलाले गरेका थिए । संविधानसभा अध्यक्ष नेम्वाङले भने, “समितिको नेतृत्व छनोटमा संविधानका मर्म र भावनाअनुरुप समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात गर्ने विषयमा समयमै हेक्का पुर्याउनु पर्छ । ” संसदीय सचिवालयका प्रवक्ता एकराम गिरीले सभाको कामलाई सहयोग गर्ने मुख्य जिम्मेवारीमा रहेका संसदीय समिति कानुन निर्माणदेखि कानुनको परीक्षण, कार्यपालिकाको कामको अध्ययन, विश्लेषण, निगरानी निर्देशनसम्मको कार्यजिम्मेवारीमा रहने बताए । उनले भने, “संसदीय समितिले बनेका कानुन कार्यान्वयनको अवस्था कस्तो छ भनेर परीक्षण अर्थात् अडिट गर्छ । सरकारको कामको अध्ययन र विश्लेषण गर्छ ।” प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् । पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्ने छ । रासस
चिरख्वा हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका, स्थानीयको समय थपियो
काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई भने आवेदन दिने समय थप गरिएको छ । स्थानीय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई बिक्री गरेको हो । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि स्थानीय लगानीकर्ताले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ५ हजार कित्ता सेयर खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
भिजन लुम्बिनी उर्जाले भदौ १९ गतेदेखि आईपीओ बिक्री गर्ने, कति कित्ता भर्ने ?
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले भदौ १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १९ लाख १२ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । सो सेयरमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १, २, ३, ४ र पोखरा महानगरपालिका १९ का स्थानीयले आवेदन दिन सक्नेछन् । साथै, सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १९ करोड १२ लाख ५० हजार रुपैयाँको १० प्रतिशत अर्थात् १ लाख ९१ हजार २५० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम स्थानीयले ३ लाख ८० हजार कित्ता र वेदेशिक रोजगारमा रहेका नेपालीले १९ हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा असोज १७ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।
माण्डु हाइड्रोपावरको आईपीओ २०६ रुपैयाँमा बिक्री खुला
काठमाडौं । माण्डु हाइड्रोपावरले आज भदौ १० गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँटपश्चात् सर्वसाधारण्लाई बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको स्थानीयलाई बिक्री गरेको सेयरमा आवेदन नपरेको ७९ हजार ३० कित्ता सहित गरी कूल १३ लाख ६ हजार ३०६ कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता कम्पनीका कर्मचारी र ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा छिटोमा भदौ १३ गते र ढिलोमा भदौ २४ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सक्षम रहेको कम्पनीको रुपमा जनाउँदछ ।