विकासन्युज

एमके ग्रुपको रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

काठमाडौं । एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलको आयोजनामा सो रिटेलर मिट सम्पन्न भएको हो । सो अवसरमा हालै उत्पादन प्रारम्भ गरिएको पेपर क्लच एसेम्बली, क्लच एन्ड ब्रेक लिभर तथा योक, नन–एस्बेस्टस ब्रेक शु र क्लच भेरिएटर लन्च गरियो । देशभरका रिटेलर सहभागी सो कार्यक्रममा एमके क्लचका म्यानेजिङ डाइरेक्टर नितिन भण्डारीले एमके ग्रुप र यसका उत्पादन वारेमा जानकारी प्रस्तुत गरेका थिए । एमके क्लचका एक्सपोर्ट्स हेड योगेश काला तथा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव हमालले सहभागीहरुलाई स्वागत गर्दै सवारी साधनमा प्रयोग गरिने विभिन्न पार्ट्स गुणस्तरीय हुनु पर्ने र सबै रिटेलरहरुले गुणस्तरीय सामग्री उपलब्ध गराउनका लागि भूमिका खेल्नु पर्ने बताए । सो अवसरमा रिटेलरहरुका लागि नयाँ स्किम समेत सार्वजनिक गरिएको थियो । सो स्किम अन्तर्गत एमकेका उत्पादन खरिद गर्ने रिटेलरहरुले हाल पाइरहेको छुट भन्दा थप ५ प्रतिशत छुट प्रदान गरिने बताइएको छ । सन् १९५९ मा रबर पार्ट्स र ग्यास्केट उत्पादनबाट शुरु भएको एमके ग्रुपको व्यवसाय हालको अवस्थामा आइपुगेको हो । सन् १९६४ मा रबर क्लच प्लेट, सन् १९७६ मा ब्रेक शु, सन् २०१२ मा क्लच एसेम्बली र सेन्ट्रिफ्युगल एसेम्बली, सन् २०१४ मा पेपर क्लच प्लेट हुँदै सन् २०२३ मा ह्यान्ड लिभर र योक उत्पादन कार्य समेत शुरु भएको छ । एमके ग्रुप अन्तर्गत हाल एमके अटो क्लच कम्पनी, एमके लाइड अटो क्लच इन्डष्ट्रिज, भीएनजी अटोमोटिभ्स, भीएनजी ब्रेक्स तथा भण्डारी फोर्ज एन्ड अलोय कास्ट कम्पनी छन् । उत्तरी भारतका विभिन्न ६ स्थानमा एमके ग्रुपका अत्याधुनिक क्लच एन्ड ब्रेक म्यानुफ्याक्चरिङ प्लान्ट छन् । सवारी साधनमा प्रयोग गरिने लिभर र योक, क्लच भेरिएटर, इनर क्लच एसेम्बलिज, कम्प्लिट क्लच एसेम्बलिज, ब्रेक शु, क्लच प्लेट, डिस्क ब्रेक प्याड र पेपर फ्रिक्सन प्लेटका लागि एमके ब्रान्ड लोकप्रिय मानिन्छ । दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी साधनका लागि आवश्यक अटोमोटिभ क्लच र ब्रेक उत्पादक कम्पनीको रुपमा लोकप्रिय एमकेले आफूलाई ‘लिडर इन फ्रिक्सन टेक्नोलोजी’ दावी गर्छ ।

संसदीय समितिको निर्वाचन ः अर्थमा काँग्रेसका सन्तोष चालिसे, सार्वजनिक लेखामा ऋषि पोखरेल

फाइल फाेटाे काठमाडौं । राजनीतिक दलहरुले संसदीय समितिको सभापतिको टुगो लगाएका छन् । निर्वाचन भएको ९ महिनापछि सोमबार दिउँसो मिनि संसद्को रुपमा रहेको संसदीय समितिका सभापतिको निर्वाचन हुन लागेको हो । सोमबार निर्वाचनको मिति तय भएपछि राजनीतिक दलहरुले उम्मेद्वारको टुंगो लगाएका छन् । नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रले विकास समिति सभापतिमा माधव सापकोटा र कानुन समितिमा विमला सुवेदीलाई उम्मेदवार बनाउन लागेको छ । यस्तै, अन्तर्राष्ट्रिय समितिमा जसपाबाट राजकिशोर यादव र एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषि पोखरेलको उम्मेदावरी टुंगो लागेको हो । महिला समितिमा एमालेबाटै किरण साहको उम्मेदवारी तय भएको छ । यस्तैगरी, उद्योग समितिमा जनमत पार्टीबाट अब्दुल खान र शिक्षा समितिमा एकीकृत समाजवादीबाट भानुभक्त जोशीको उम्मेदवारी टुंगो लागेको हो । प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो । समितिको निर्वाचनका लागि आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।

कागबेनी बाढी : करिब एक अर्ब बरबारको क्षति

मुस्ताङ । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कानुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षति पुर्याएको छ । भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्याएको थियो । बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुर्याएको छ । गाउँपालिकाको कृषि शाखाको तथ्याङ्कानुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूल बोट क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी तीन कठ्ठा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए । उनकाअनुसार करिब एक सय ६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ । बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले जानकारी दिए । उनीहरूको ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ । कृषि बाढीले स्याउलगायतका कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुगेको छ । करिब सात हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए । गाउँलेले कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने तीनवटा कुलो बाढीले क्षति गरेको छ । उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने नौवटा हाते ट्रयाक्टरसमेत बाढीले बगाएको उहाँ बताउनुहुन्छ । बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उकरण र सिँचाइ कुलो बगाउँदा करिब एक करोड बढीको क्षति भएको धामीको भनाइ छ । बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा करिब ५० लाख बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिए । बाढीले २३ गोठ, ३२ लुलुगाई, दुईवटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताउनुभयो । यसबाट करिब ५० लाख बढीको नोक्सानी भएको उनको भनाइ छ । बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ क्षति गरेको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । पचास ५० घरमा रु ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइसवटा घर पूर्ण र पाँचवटा घरमा आंशिक क्षति भएको थियो । रासस

भाँडा माझ्ने कामबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा

म्याग्दी । अठार वर्षअघि मजदुर बनेर बेनी आएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बनेका छन् । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका उनी सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १० को पढाइ छाडेर विसं २०५८ माघमा काठमाडौँ पसेका लामा होटलमा खाना बनाउने, सरसफाइ गर्ने काम सिकेर एक वर्षपछि बागलुङ आए । बाग्लुङको विभिन्न ‘क्याफे’मा तीन वर्ष कुक र वेटर भएका उनी २०६२ असारदेखि कुकको रूपमा बेनीको होटलमा जोडिए । भाँडा माझ्ने, कोठा सफा गर्ने र खाना पकाउने सबै काम गर्ने उनका लागि होटलको जागिर जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । उनको परिश्रम र इमान्दारीबाट होटल सञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी प्रभावित बने । ‘होटलमा काम गर्दा होटल कसरी चलाउनु पर्दोरहेछ भन्ने सिकेँ’, लामाले सम्झिए , ‘भान्छा व्यवस्थापन, अतिथि सत्कार र कर्मचारी व्यवस्थापन गर्ने कला पनि सिकेँ ।’ विसं २०७२ मा बेनीको गणेशटोलमा आफैँ ‘लामा रेष्टुरेन्ट एन्ड भान्छाघर’ खोलेका उनले २०७६ मा अस्पतालचोकमा ३० पाहुना राख्न मिल्ने लामा ‘कुदाप’ लज सञ्चालन गरे । तामाङ भाषाको शब्द ‘कुदाप’को अर्थ ‘चुल्हो हुन्छ । भान्छाघर र लजको दूरी करिब पाँच सय मिटर छ । दुई वर्षअघि भाडाको घरमा चलाएको लजसँगै जोडिएको चार आना जग्गा किनेका लामाले त्यहाँ पाँचतले पक्की घर बनाएर लजको क्षमता विस्तार गरेका छन् । सत्तरी जना क्षमताको भान्छाघर र ८० जना क्षमताको लजमा उनी, श्रीमती र भाइसहित १८ जना रोजगार छन् । घरभाडामा मात्र एक लाख ५० हजार तिर्ने भान्छाघर र लजमा पाँच करोडभन्दा बढीको लगानी छ । छ लाख लगानीमा व्यवसाय सुरु भएको थियो । ‘घरबाट रित्तोहात निस्किएको हो, भाडा माझेरै भएको आम्दानी र अनुभवले आफ्नै घरजग्गा जोडेर लज चलाउने अवस्थासम्म आएको हुँ’, उद्यमी लामा भन्छन्, ‘केही ऋण लिएको छु । कमाएर तिर्दै जानेछौँ ।’ होटलमा काम गर्दागर्दै एसएलसी र दश जोड दुई उत्तीर्ण गरेका उनले स्नातक तहसम्मको शिक्षा हासिल गरे । उनले नुवाकोटका १० जनाभन्दा बढी युवालाई बेनीको होटलमा काम लगाइदिएका छन् । ‘स्कुल पढ्दा त्यस्तो खासै सपना थिएन । पछि होटलमा मजदुरी गर्दा कुनै दिन म पनि साहुजी बन्छु भन्ने लागेको थियो’, उनले भने, ‘त्यही सपनामा डोरिएर यहाँसम्म आइपुगेँ ।’ बिहान ६ः०० नबज्दै उठ्ने उहाँ राति सुत्ने बेलामा १२ः०० बज्छ । नेपाली, इन्डियन र कन्टिनेन्टल खानाका लागि लोकप्रिय बनेको रेष्टुराँ र लजको व्यवस्थापनमा बिहानदेखि बेलुकीसम्म उनी आफैँ सक्रिय छन् । उनलाई व्यवसायमा श्रीमती सारिका र भाइ अर्जुनको पनि साथ छ । उनीहरू आवश्यकता पर्दा रेष्टुराँका भाँडा माझ्नेदेखि पाहुनालाई खाना बाँड्ने काममा अग्रसर हुन्छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घका द्विृतीय उपाध्यक्ष राजेश शाक्य राजनको काम, मेहनत र सफलता युवाहरूका लागि प्रेरणाको स्रोत भएको बताउछन् । ‘साथमा केही नलिई नुवाकोटबाट आएर मालिक बनेका राजनको सफलता प्रेरणादायी छ’, उनले भने, ‘मेहनत गरे संसार जित्न सकिन्छ भन्ने उदाहरण हुन् राजन ।’ मगर समुदायको बाहुल्य बसोबास भएको म्याग्दीको होटल क्षेत्रमा ‘लामा’ भनेर चिनिने पहिचान राजनले बनाएका छन्। मीठा परिकार, आत्मिय व्यवहार, परम्परा र आधुनिकताको फ्युजन गरिएको सजावट रेष्टुराँ र लजको विशेषता रहेको बताइएको छ । लामाले होटलको कोठालाई म्याग्दीका स्थानीय तह, हिमाल र पर्यटकीयस्थलबाट नामकरण गरे । धवलागिरि, अन्नपूर्ण, मङ्गला, मालिका, बेनी, रघुगङ्गा, खोप्रा, निलगिरि र गुर्जा नामकरण गरिएका कोठा, डाइनिङ लजमा शालिग्राम पाइने कालीगण्डकी नदीको शिला राखेर सजावट गरिएको छ । म्याग्दीको मालिका गाउँपालिकाको रुमको खानीको स्लेट भुइँमा बिछ्याइएको छ । स्थानीय जङ्गलको टुनी, सल्लाको काठबाट खाट, दराज, टेबुल र कुर्ची बनाएका उनले होटलको हल र भित्तामा म्याग्दीका पर्यटकीयस्थलको तस्वीर राखेर सजावट गर्ने तयारीमा छन् । ‘मेरो होटलमा आउने पाहुनलाई परिकारदेखि सजावटमा म्याग्दीको पहिचानको अनुभव दिलाएर पठाउने उद्देश्य हो’, उनले भने, ‘बेनीको होटल व्यवसायलाई मर्यादित पेसाका रूपमा स्थापित गराउने अठोट पनि लिएको छु ।’ लज र रेष्टुरेन्टमा तामाङ परिकार थप गर्ने, काठमाडौँ, पोखरा, कुश्मा, बागलुङलगायत सहरमा होटलको शाखा विस्तार गर्ने राजनको योजना छ । रासस

‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान, मनग्य आम्दानी

धादिङ । धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन् । नीलकण्ठ नगरपालिका–१ पात्ले र नीलकण्ठ –१२ साङ्कोषमा लगाइएको ड्रागन फुडको व्यावसायिक उत्पादन सुरु भएको हो । ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । यतिखेर कोपिला लाग्दै गरेको, फुल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ । अघिल्लो वर्षबाट फल दिन सुरु गरेको बिरुवाले यो वर्ष राम्रो उत्पादन दिन थालेको नीलकण्ठ–१२ का छविन्द्रनारायण श्रेष्ठले बताए । उनले करिब १० रोपनी पखेरा बारीमा आठ सय बिरुवा लगाएका छन् । विसं २०७८ बाट ड्रागन फुडखेती सुरु गरेका उनले दोस्रोपटकको आम्दानी लिन थालेका छन् । अहिले चार सय बिरुवाले फल दिन थालेको छ । ड्रागन फल लिन घरैसम्म मानिस पुग्ने गरेका छन् । उनले भने, ‘घरैमा पुग्नेलाई प्रतिकिलो पाँच सयमा बिक्री गरिरहेको छु ।’ टाढा–टाढाका मानिस खेती हेर्नकै लागि मात्रै पनि बारीमा पुग्ने गरेका छन् । किसान श्रेष्ठले फेसबुकमा ड्रागन फुड पाकेको सूचना हालेपछि यतिखेर ताजा फल खान र चाख्नैका लागि जनाउँदै फल किन्न बारीमै पुग्ने गरेका छन् । औषधीय गुण हुने र नेपालकै लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको उनको भनाइ छ । उनले भने ‘विसं २०५० तिर शिक्षकको जागिर छाडेपछि कृषि पेसा अँगाल्दै आएको छु । ड्रागन फुडखेतीका लागि २२ लाख लगानी भइसकेको छ । यसलाई अझ विस्तार गर्ने सोचमा रहेको छु ।’ कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै उन व्यावसायिक ड्रागन फुडखेतीमा रमाउन थालेका हुन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् व्यवसायी श्रेष्ठ । ड्रागन फुडको बजारमा माग थेरै रहेको हुँदा मागअनुसार ड्रागन फुडसमेत बजारमा नरहेको उनले बताए । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ जनाउँदै ड्रागन फुडखेतीको सुरुआत गरिएको र ड्रागन फुडको उत्पादनभन्दा बजारमा माग बढिरहेको बताए । उनका अनुसार फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने हुन्छ । कृषिमा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवर्द्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदानलगायतका सहयोग पाउने वातावरण हुनुपर्ने श्रेष्ठको माग छ । नेताका पछि लागेकालाई दिने गरेको अनुदानले कृषि क्षेत्रको प्रवर्द्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले सबै वादभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न उनको आग्रह छ । नीलकण्ठ –१ का गणेश गुरुङले पनि दुई वर्षअघिदेखि बिक्री गरिरहेका छन्। तीन रोपनी बारीमा दुई सय बोट ड्रागन लगाएका गुरुङले यो वर्ष पनि धमाधम बिक्री गरिरहेका छन् । भारतीय सेनाको जागिरबाट पेन्सन पकाएर ड्रागन फुडको खेती सुरु गरेका गुरुङले अहिले आम्दानी लिइरहेका छन् । एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव गुरुङले बटुलेका छन् । गुरुङको बारीबाटै प्रतिकेजी पाँच सयदेखि छ सयसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएका फल धादिङबेँसी बजारमा नै खपत भइरहेको छ । जिल्लाभर एक दर्जन किसानले यसको खेती सुरु गरेका छन् । गर्मी समयको वैशाखदेखि मङ्सिरसम्म मुख्यरूपमा फल दिने ड्रागन फुड वर्षमा आठ महिनासम्म फल्ने गर्दछ । यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । उनको बारीमा पहिलो र दोस्रो छिमालको फल फलेर बिक्री भइसकेको छ । तेस्रो छिमालका फलहरू अहिले फल्दैछन् भने चौथो छिमालको फल उत्पादनका लागि पनि कोपिला बसिसकेको छ । ड्रागन फुड रोपेको २५ वर्षसम्म उत्पादन लिन सकिन्छ । रासस

चिकित्सा क्षेत्रमा विज्ञान : पक्षघात भएको व्यक्ति प्रविधिको सहायताले बोल्न सक्ने

तस्बिर स्राेतः एनबीसीन्युज काठमाडौं । एक गम्भीर पक्षघात भएकी महिला दिमागको संकेतलाई आवाजमा रुपान्तरण गर्ने डिजिटल प्रविधि अवतारको सहायताले बोल्न सक्षम भएकी छन् । जुन कामको सफलता वैज्ञानिकहरुले मानव समाजमा पहिलोपटक गरेका हुन् । वैज्ञानिकहरुले विकास गरेको मस्तिस्क कम्प्युटरले स्ट्रोक र एमियोटोफिक लेटरल स्केलेरोसिस जस्ता कारणले बोल्ने क्षमता गुमाएका मानिसहरुको जीवन परिवर्तन गर्न सक्ने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । अहिलेसम्मको अवस्थामा प्रविधिले बिमारीको आँखाको चाल र अनुहारको संकेतलाई शब्दमा रुपान्तरण गरेर आवाज निकाल्ने काम गर्ने गर्थ्यो, जसले गर्दा प्राकृतिक रुपमा जस्तो कुराकानी गर्न भने सम्भव हुन सकेको थिएन । तर, पछिल्लो विकसित प्रविधि जसमा साना इलेक्ट्रोडहरु मस्तिस्कको सतहमा जोडेर मस्तिस्कमा उत्पन्न भएका तरंगहरुलाई नियन्त्रण गरेर बोली र अनुहारको चाललाई समेत नियन्त्रण गर्ने गरिन्छ । यो प्रविधिबाट मस्तिस्क संकेतहरुलाई अनुहारको चाल, मुस्कान र आश्चर्यलाई समेत रुपान्तरण गर्न सकिन्छ । अनुसन्धानको नेतृत्व गरिरहेका अमेरिकाको सान फ्रान्सिस्को स्थित क्यालिफोर्निया विश्वविद्यालयका एडवर्ड चाङले दुई पक्षबीचमा प्राकृतिक संवाद गराउने आफूहरुको लक्ष्य भएको र अहिलेको विकासले बिमारीहरुको समस्या समाधानको लागि ठूलो सहयोग पुर्याउने बताएका छन् । एकजना ४८ वर्षकी महिला ‘आन’ १८ वर्षदेखि ब्रेनस्टेम स्ट्रोकबाट पीडित भएकी थिइन । उनले मुभमेन्ट ट्रयाकिङ प्रविधिको प्रयोग गरेर सामान्यतया एक मिनेटमा १४ अक्षर मात्रै टाइप गर्न सक्छिन् । तर, उनले पछिल्लो अवतार प्रविधिको सहायताले भविष्यमा काउन्सिलर बन्न सक्ने विश्वास बोकेकी छन् । वैज्ञानिकहरुले आनलाई बोल्न सहयोग पुर्याउनको लागि २५३ वटा इलेक्ट्रोड जोडिएको पातलो कागज जस्तो आयातकार प्रविधि उनको मस्तिस्कमा प्रत्यारोपण गरेका छन् । यदि उनलाई स्ट्रोक नभएको भए इलेक्ट्रोडको सहायताले उनको जिब्रो, बंगारा, स्वरयन्त्र र अनुहारको चाललाई समेत नियन्त्रण गर्न सम्भव हुने वैज्ञानिकहरुको दाबी छ । मस्तिस्कमा इलेक्ट्रोडको प्रत्यारोपणपछि आनले एआई प्रणालीको एल्गोरिदम देखि उनको मस्तिस्कको विशेष संकेतहरुलाई पत्ता लगाएर धेरै वाक्यहरुको आवाज निकाल्न र त्यसलाई दोहोर्याउन टिममा बसेर तालिम गरिरहेकी छन् । पहिला आनलाई जोडिएको कम्प्युटरले विशिष्ट ३९ वटा ध्वनी सिकेर च्याट जिपिटी स्टाइलमा भाषा मोडेलको प्रयोग गरेर वौद्धिक ढंगले वाक्यमा रुपान्तरित गर्ने काम गर्ने काम गर्थ्यो । जसले भाषाको संकेतको आधारमा पूर्ण शुद्धताका साथ भाषा रुपान्तरण गर्न सक्दैनथ्यो । सो प्रविधिले एक मिनेटमा ७८ शब्द मात्रै सिर्जना गर्नसक्थ्यो, जबकी मानिसहरुले प्राकृतिक रुपमा बोल्दा ११० देखि १५० शब्दहरु प्रयोग गर्छन् । वैज्ञानिकहरुका अनुसार अहिले विकास गरिएको आधुनिक प्रविधिले शुद्ध, सटिक, परिस्कृत र आवश्यक गतिमा काम गर्छ, जुन बिमारीको लागि अति व्यवहारिक छ । नेदरल्यान्डको युनिभर्सिटी अफ अटरेक्टका न्युरोसाइन्टिस्ट प्राध्यापक निक राम्सेले अहिले विकास भएको प्रविधि विगतको तुलनामा निकै ठूलो उपलब्धि भएको टिप्पणी गरेका छन् । अर्को महत्वपूर्ण कदम भनेको वायरलेस भर्सन हो, जसलाई मस्तिस्कको खोपडीमुनी प्रत्यारोपण गर्न सकिन्छ । जुन प्रविधिको सहायतामार्फत पक्षघात भएका बिमारीहरुले मोबाइल फोन र कम्प्युटरहरुको समेत प्रयोग गर्न सक्छन् । एजेन्सीको सहयोगमा ।

बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

  गलकोट । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड रूपैयाँ बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाई गोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको बताइएको छ । रोगबाट क्षति हुने मुख्य पशुमा गाई गोरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । केन्द्रका अनुसार मृत्युको दुई दशमलव ६३ प्रतिशत मात्रै भैँसी रहेको तथ्याङ्क छ भने अन्य क्षति गाई गोरुमा देखिएको हो । केन्द्रले सङ्कलन गरेको तथ्याङ्क अनुसार स्थानीय गाई गोरु र भैँसीको करिब रु ३० देखि ४० हजार र उन्नत जातको रु एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा रु तीन करोडभन्दा बढीको पशुधनमा क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिए । उनका अनुसार अमेरिकन स्वाइन फीवरबाट समेत बागलुङका बङ्गुरपालन किसानले लाखौँ नोक्सानी ब्यहोरेको बताए । उनले एक सय २२ बङ्गुर मरेको तथ्याङ्क ल्याब परीक्षणबाट पुष्टि भए पनि किसानले चार सय बङ्गुर मरेको जनाउँदै आएको जानकारी दिए । बङ्गुरपालक किसानको नोक्सानी र पेसाबाट पलायन हुन थालेका प्रति विज्ञ केन्द्रले किसानलाई पुनः स्थापनका लागि चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको बताए । पाँच हजार पशुलाई लम्पी स्किनको खोप जिल्लामा फैलँदो क्रममा रहेको लम्पी स्किन रोगबाट पशुलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइएको छ । खोप लगाउने पशुको सङ्ख्या बढेपछि रोग नियन्त्रणउन्मुख भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । जिल्लामा गोरु गाई र भैँसीमा फैलिरहेको लम्पी स्किन रोगबाट बचाउनका लागि निजी र स्थानीय तहले चालेको खोप अभियानमा भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्र बागलुङले समेत थप पाँच हजार खोप वितरण गरेको पशु प्राविधिक केशवप्रसाद शर्माले जानकारी दिए । ‘हालसम्म पाँच हजार पशुलाई खोप लगाइएको छ भने अझै एक हजार एक सय खोप लगाउने क्रम जारी रहेको छ, बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले आफैँ खरिद गरेर एक हजार एक सय खोप लगाइसकेका थिए, केही गाई फार्मले आफैँ खोप लगाएका थिए’, उनले भने, ‘भदौको मध्यतिर छ हजार पशुले खोप पाइसक्ने छन्, खोपका कारण अहिले लम्पी स्किन रोगको सङ्क्रमण र मृत्युदरसमेत घटेर गएको पाइएको छ ।’ भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ढोरपाटन नगरपालिकामा पाँच सय ५०, गलकोट नपामा पाँच सय, निसीखोला गाउँपालिकामा पाँच सय, तमानखोलामा पाँच सय, बडिगाडमा चार सय, ताराखोलामा तीन सय, बरेङमा दुई सय, काठेखोलामा पाँच सय, बागलुङ नपामा पाँच सय २५ र जैमिनी नपामा पाँच सय डोज खोप वितरण गरिएको जनाएको छ । जसमध्ये एक हजार एक सय खोप लगाउने क्रममा रहेको र अन्य खोप भने पशुलाई लगाइसकेको छ । लम्पी स्किनको सुरुआती चरणमा बडिगाडले एक सय २५, काठेखोलाले एक सय, बागलुङ नपाले चार सय २५ र जैमिनी नपाले चार सय ५० डोज खोप पालिकाकै खर्चले लगाइसकेका थिए । लम्पी स्किन रोगविरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिएपछि रोग फैलिने क्रम कम भएको छ । जिल्लाको निसीखोला, ढोरपाटन र बडिगाडमा लम्पी स्किनबाट गाई तथा गोरु बढी प्रभावित बनेको तथ्याङ्क छ । रासस

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । ‘हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ’, उनले भने, ‘दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि काठमाडौँ निर्यात गर्ने गरेका छौँ ।’ उनले विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको दाबी गरे । यहाँको दुग्ध सङ्कलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन् । ‘साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दूध सङ्कलन हुन्छ’, उनले भने, ‘दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ, दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ ।’ अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई एक हजारदेखि एक हजार एक सयसम्म पर्ने बताए । उनले दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको बताए । सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैँसीपालनमा आकर्षित हुँदै गएको बताए । ‘कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरेबालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौँ’, उनले भने, ‘बाख्रापालक कृषकलाई बोयर बोका, एक सय ५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा २५ रूपैयाँ अनुदान दिँदै आएका छौँ ।’ प्रबन्धक रेग्मीले प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना कृषकलाई ‘भँैसी अनुदान कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए । उनले २८ जना कृषकलाई ‘भकारो सुधार कार्यक्रम’अन्तर्गत अनुदान वितरण गरिएकोसमेत जानकारी दिए । विसं २०७५ मा स्थापन भएको सहकारीमा दुई हजार आठ सय ५० शेयर सदस्य रहेका छन् । सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषकलाई अनुदान दिँदै आएको प्रबन्धक रेग्मीको भनाइ छ । ‘हिजोआज वित्तीय संस्थाहरूले ऋण लगानी गर्ने र ब्याजमार्फत मुनाफा आर्जन गर्ने परम्परा चलिरहेको छ’, उनले भने, ‘यो अवस्थामा परिवर्तन ल्याएर कृषकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजनाअनुसार सहकारीले काम गरिरहेको छ ।’ रेग्मीले सहकारीले कृषकमुखी कार्यक्रम सञ्चालन गर्दा वैदेशिक रोजगारमा जान ठिक्क परेकाहरू रोकिने गरेको सुनाए । उनले कृषकलाई अकला नमूना साना किसान कृषि सहकारीमा जोडिएर स्वरोजगार बन्न आग्रह गरे । रासस