लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता हुने
काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका ४५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरीय हाजिरीजवाफ प्रतियोगिता–२०८० आयोजना हुँदैछ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनले आयोजना गर्न लागेको हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन लायन्स क्लब अफ तारकेश्वर डाउन टाउनले गर्ने भएको हो । यही भदौ २६ गतेदेखि तारकेश्वर नगरपालिकाको हलमा प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक रामकृष्ण बिसीले जानकारी दिए । प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरुको गुणस्तर र सामाजिक क्रियाकलापमा उल्लेख्य सहभागिता रहने विश्वासले कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक विसीले जानकारी दिए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ । क्लबले सामुदायिक विद्यालयका विद्यार्थीहरुको क्षमता वृद्धि गर्न समेत हाजिरी जवाफ प्रतियोगिताले ठुलो भूमिका खेल्ने विश्वास लिएको छ । लायन्स क्लब अफ काठमाडौं डाउनटाउनले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसपटक भने क्लबले विद्यार्थीको समसामयिक ज्ञानको दायरा बढाउन हाजिरीजवाफ प्रतियोगिता गर्न लागेको हो । क्लबले रुम टु रिड संस्थामार्फत कक्षा १ देखि १० सम्मका करिब १० हजार छात्राहरुलाई पोशाक वितरण गरेको छ । क्लबले स्वास्थ्य शिविर, खाद्यान्न वितरण, शैक्षिक सामग्री वितरण, पोशाक वितरण जस्ता सामाजिक कार्यहरु गर्र्दै आइरहेको छ ।
सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास भयो : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताए । उनले समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गरे । उनले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे । उनले कानूनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउने कार्य नगर्न आग्रह गरे । उनले भने, ‘हाम्रो दुश्मन, गरिबी र अशिक्षा हो । बेरोजगारी हो । यो साझा दुश्मन हो । आज जातिय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरु सामसुम, थामथुम, हुन्छन् भनेर त्यतातिर तपाईलाई आगो झोसिरहेका छन्, खबरदार । यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन । कानूनी रुपमा वर्जित काम गर्न पाइँदैन । कानूनी राज्यमा कानूनले जे भन्छ त्यसलाई मान्नुपर्छ । एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य हामी कसैले गर्नु हुँदैन । सद्भाव खल्बल्याएर त्यसबाट राजनीतिको रोटी सेक्ने कुरा कसैले पनि गर्नु हुँदैन ।’ सभापति लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर राजनीतिको राटी सेक्ने काम गर्न नहुने बताए ।
कोर्नको नयाँ स्मार्ट वाच नेपाली बजारमा
काठमाडौं । कोर्न नेपाली बजारका लागि धेरै पुरानो नाउँ होइन, तर यसले आफूलाई नेपाली बजारमा स्थापित भने गराईसकेको छ । स्मार्ट वाच, बड्स तथा मोबाईल एक्सेसोरीजको पर्यायको रुपमा नेपाली बजारमा भित्रिएको छोटो समयमै कोर्नले विस्तार गरेको बजार र स्थापित गरेको नेटवर्क निक्कै लोभलाग्दो छ । कारण यही हुनुपर्छ कोर्न जस्तै देखिने नक्कली एक्सेसोरीजहरु नेपाली बजारमा पाउन थालिएका छन् । यसले नेपाली बजारमा कोर्न स्थपित भएको प्रमाणीत गर्छ भने यही अवस्था आयातकर्ताको टाउको दुखाई बन्न थालेको छ । चीनको मोबाईल एक्सेसोरीज् निर्माणका क्षेत्रमा अग्रणी मानिएको ब्राण्ड कोर्नलाई नेपाली बजारमा केमियो इन्टरनेशनले भित्र्याएको हो । कोर्नको सफलताका पछाडी मुख्य तिन कारणहरु रहेका छन् । यसका उत्पादनमा निहित गुणस्तरीयता, विक्री पश्चातको सेवामा कम्पनी तथा आयातकर्ताको तादरुकता र प्रतिस्पर्धी मूल्य निर्धारण । कोर्नका उत्पादनको गुणस्तरीयताको प्रत्याभूतीका लागि कोर्नले आफ्ना हरेक उत्पादनमा एक बर्षको वारेन्टी प्रदान गर्दै आएको छ भने, प्रतिस्पर्धीको तुलनामा गुणस्तरीय विल्ड क्वालिटी कोर्नको युएसपी नै हो । आफ्ना हरेक उत्पादनको प्रतिस्पर्धी मूल्य कायम गर्नमा निकै सजकता अपनाउने कोर्नले नेपाली बजार सुहाउँदो मूल्य निर्धारणमा जोड दिंदै आएको छ भने आयातकर्ता केमियोले पनि आफ्नो मूनाफामै सम्झौता गरेर भएपनि सुलभ मूल्य कायम गर्दै आएको छ । विक्री पश्चातको सेवाका क्षेत्रमा कोर्नले देखाएको तादरुकताको जति प्रसंसा गरेपनि कमै हुन्छ । सानो आकारको बजारका बाबजुत कोर्नले नेपाली बजारमा डेडिकेटेड सर्भिस सेन्टर स्थापना गरेको छ भने कुनै पनि उत्पादन सर्भिस सेन्टरमा रिसिभ भएर समस्या समाधान नभए रिप्लेसमेन्टनै दिने नीति लिएको छ । कोर्नको नेपाली बजारमा प्राप्त सफलताको अर्को महत्वपूर्ण यसको प्रडक्ट डिजाईन र यसले कायम गरेको प्रोडक्ट लाईफसाईकल हो । इनोभेटिभ डिजाईन र फिचरका उत्पादन बजारमा ल्याउने मात्र होईन त्यसलाई निरन्तर अपडेट र परिमार्जन गर्दै जानुले पनि कोर्नका उत्पादहरु डिजाईनका हिसावले फ्रेस र अपडेटेड रहने गरेका छन् ।
चितवनको नेशनल सिटी अस्पतालको स्तरोन्नति, भवनमा मात्रै ५० करोड लगानी
चितवन । मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा नेशनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर अस्पतालको स्तरोन्नति गरेको छ । अस्पतालले एक अर्ब ५० करोड लगानी गरेर सुविधासम्पन्न अस्पताल निर्माण गरेको हो । यहाँको श्री मेडिकल एण्ड टेक्निकल कलेजसहित दुई सयले अस्पतालमा लगानी गरेका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रचण्डलाल प्रधानका अनुसार हालै निर्माण गरिएको छ तले अत्याधुनिक भवनबाट सेवा सुरु गरिएको छ । ‘८२ हजार स्क्वायरफिट क्षेत्रफलको उक्त भवन अस्पतालको मापदण्डअनुसार निर्माण गरिएको हो । भवनमा अण्डरग्राउण्ड पार्किङको व्यवस्था छ । भवनका लागि मात्रै अस्पतालले ६० करोड लगानी गरेको छ’, उनले भने । भरतपुरको चौबीसकोठीमा १२ कठ्ठा जमिन खरिद गरेर पूर्ण व्यावसायिक ढङ्गबाट अस्पताल सञ्चालनमा ल्याइएको प्रधानले जानकारी दिए । अस्पतालका प्रमुख प्रशासक विक्रम अधिकारीका अनुसार अस्पतालमा एक सय श्यया छन् । भविष्यमा थप ५० श्यया बढाउने योजना रहेको उनले बताए । ‘हाल २२ क्याविन, चार मोडुलर शल्यक्रिया कक्ष, एक सय ६० स्लाइसको सिटीस्क्यान, छ श्ययाको बाल सघन उपचार कक्ष, १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको पोष्टअप सञ्चालनमा छन्’, उनले भने । दिनको समयमा पूर्णकालीन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् भने बिहान र बेलुकाको समयमा सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएको अधिकारीले जानकारी दिए। अस्पतालले अतिविशिष्ट सेवा दिइरहेको उनको भनाइ थियो । केही दिनमै पाँच श्ययाको डायलासिस सेवासमेत दिन लागिएको उनले जानकारी दिए । एक अर्ब अधिकृत पुँजी रहेको अस्पतालको चुक्ता पुँजी ८५ करोड रहेको छ । विसं २०६५ असोज १५ गते नारायणगढमा स्थापना भएको उक्त अस्पताललाई विसं २०७२ साउनदेखि भरतपुरमा सारिएको थियो ।
तिलगंगा सिटी आइ सेन्टरको सेवा शुभारम्भ
काठमाडौं । आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँवाट दिने उद्देश्यले चुच्चेपाटी स्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरको सेवा शुभारम्भ आजबाट गरिएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त चिकित्सकको समुहवाट आँखाका सम्पूर्ण विशेषज्ञता सहित यो सेन्टर सञ्चालनमा आएको हो । सेन्टरको उद्घाटन कार्यक्रम ‘द गड अफ साईट’को रुपमा प्रख्यात तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइत साथै प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङबाट संयुक्त रुपमा गरियो । यस सेन्टरले आँखा सम्बन्धी विभिन्न जटिलताको निदान र उपचारको लागि विभिन्न सेवाहरू प्रदान गर्दछ । यहाँ आँखा सम्बन्धी उन्नत निदान उपकरणहरुका साथै दक्ष कर्मचारीहरुद्वारा आँखाको जाच गरिन्छ । नियमित आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवाहरू यसले प्रदान गर्दछ । मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको रोगहरुको उपचार, आँखाको सौन्दर्य सम्बन्धि र अल्छि आँखाको व्यवस्थापन साथै कन्ट्याक्ट लेन्स र भीजन थेरापीको सेवासुविधाहरु पनि यो संस्थाले प्रधान गर्ने छ । न्यानो र स्वागतयोग्य वातावरणमा बिरामी केन्द्रित उपचार सहित हरेक वर्गका सेवाग्राहीहरुले सरल र सहज तरिकाले उचित सेवा सेन्टरले प्रदान गर्ने छ । संस्थाको मूल दर्शन भनेकै बिरामीहरुलाई केन्द्रबिन्दुमा राखेर उपचार दिनु रहेको छ । प्रत्येक सेवाग्राहीलाई उचित आँखा स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ थप नयाँ नयाँ प्रविधि र पद्धतीको परिकल्पना गरेको । ‘क्वालिटी आइ सर्भिस एट योर डोर स्टेप’ भन्ने मूल मन्त्रलाई अनुसरण गर्दै आफ्नो सेवालाई नेपालभर पुर्याउने अठोट लिएको यो तिलगंगा सिटी आइ सेन्टरले सम्पूर्ण बिरामीको पहुँचमा पुग्ने गरि कार्य गर्नेछ ।
विश्व अर्थराजनीति : चीनको नेतृत्वमा ब्रिक्सको विस्तार, अमेरिकालाई चुनौती
काठमाडौं । विश्व अर्थराजनीतिमा लामो समयदेखि प्रभुत्व कायम राख्दै आएको अमेरिकालाई उदयीमान चीन चुनौती बन्न सक्ने चर्चा हुँदै आएको विषय हो । तर, चीनले अर्थराजनीतिक संगठनकै विकास गरेर अमेरिकी साम्राज्यलाई तोड्ने प्रयास शान्त हिसाबले परिणाममै देखाउन खोजिरहेको छ । चिनीयाँ विश्वव्यापी उद्देश्यको एकटा महत्वपूर्ण कडीको रुपमा ‘ब्रिक्स’को विस्तारलाई हेरिएको छ । विश्व अर्थतन्त्रमा चीन दोस्रो बनिसकेको छ । तर, सम्पूर्ण आयामहरुमा चीन पहिलो शक्तिशाली बन्न सजिलो छैन । त्यसका लागि उसले शक्ति राष्ट्र तथा उदयीमान शक्ति राष्ट्रहरुलाई सहयात्री बनाउने प्रयास गरिरहेको छ । सन् २००९ बाट औपचारिक रुपमा शुरुवात भएको ब्राजिल, रसिया, भारत र चीन सम्मिलित राष्ट्रहरुको सहयात्रा सन् २०१० मा पुग्दा दक्षिण अफ्रिका समेत जोडिएर ब्रिक्सको रुप लियो । पछिल्लो १३ वर्षको अन्तरालमा सो संस्थाले बलियो आफूलाई एउटा बलियो अन्तर्राष्ट्रिय संगठनको रुपमा प्रस्तुत गरेको छ । भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न ब्रिक्सको सम्मेलनमा अर्जेन्टिना, मिश्र, ईरान, इथियोपिया र साउदी अरब पर्यवेक्षक सदस्यको रुपमा सहभागी भए, जुन राष्ट्रहरु आगामी वर्ष ब्रिक्सको सदस्य राष्ट्र हुने बताइएको छ । ब्रिक्समा भएको सदस्य राष्ट्रहरुको सहभागिता अमेरिका सहित शक्ति राष्ट्रहरुको जी सेभेन भन्दा ठूलो हुन पुगेको छ । ब्रिक्स सम्मेलनको क्रममा चिनियाँ राष्ट्रपति सि जिङ पिनले ब्रिक्सको विस्तारलाई एतिहासिक भएको र सो विस्तारले विश्वमा शान्ति तथा विकासलाई थप बलियो बनाउने बताएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्स देशको साथ साझेदारी गर्ने राष्ट्रहरुको पुरा ध्यान राख्ने बताएका थिए । सम्मेलनमा प्रत्यक्ष सहभागी नभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिडियोमार्फत सम्बोधन गर्दै नवउदारवादले विकासशील देशहरुको परम्परागत मूल्यको लागि खतरा पैदा गरिरहेको विचार व्यक्त गरेका थिए । साथै सो विचार विश्वमा बहुध्रुवीय व्यवस्थाको लागि समेत चुनौति भएको उनको भनाइ थियो । पुटिनको यो भनाइ अहिले अमेरिकाको नेतृत्वमा विश्वमा जर्बजस्त हाबी भइरहेको नवउदारवादी विचार र एकध्रुवीय अभ्यासप्रति नै परिलक्षित छ । अहिले ब्रिक्समा जोडिएका देशहरु भूगोल, जनसंख्या र प्राकृतिक स्रोतका हिसाबले धनी रहेका छन् । खासगरी अमेरिकी प्रभुत्वमा कायम रहिआएको एकध्रबीय विश्व अर्थराजनीतिलाई चुनौती दिने हिसाबले चीनको पहलमा ब्रिक्स अगाडि आएको र रसिया र भारत लगायतका मुलुकहरुले पनि सो संगठनलाई आफ्नो अन्तर्राष्ट्रिय शक्ति विस्तारका निम्ति प्रयोग गर्ने कोसिस गरिरहेका छन् । पछिल्लो समयमा रुस युक्रेनबीच युद्धको विषयलाई लिएर अमेरिकाले विश्वलाई रुस विरुद्ध उभ्याने प्रयत्न गर्न खोज्यो तर, बलियो रसियन एलाइन्सले गर्दा सो विषयमा अमेरिका सफल हुन सकेन । त्यस्तै, चीन विरुद्धको घेराबन्दीमा पनि अमेरिका असफल हुँदै आएको छ, जसको कारण पनि चीनको अर्थराजनीतिक रुपमा विश्वमा विस्तारित उपस्थिति नै हो । अमेरिका भने ब्रिक्स विस्तारको विषयलाई लिएर चिन्तित नभएको प्रतिक्रिया अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले दिएका छन् । उनले ब्रिक्समा सहभागी भएका राष्ट्रहरुको मुख्य मुद्दामा समानता नरहेकाले कसैको भू-राजनीतिक प्रतिद्वन्दमा उत्रिने सम्भावना नरहेको उनको भनाइ छ ।
सरकारले जनतालाई नयाँ पनको महशुस दिनेगरी कार्ययोजना बनाउँदै छ : उपप्रधानमन्त्री खड्का
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार केन्द्र भागमा राखेर अघि बढीरहेको उल्लेख गरे । उनले भएका कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी सरकारको रहेको बताए । उपप्रधानमन्त्री खड्काले सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि सरकारले नयाँ कार्ययोजना बनाइरहेको बताए । उनले सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासित बनाउँदै आम नेपाली जनतामा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले मशसुस गर्नेगरी सरकार अघि बढीरहेको बताए । उनले सरकार दोषी छुट्नु हुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने पक्षमा काम गरिरहेको बताए । उनले भने, ‘अहिलेको सन्दर्भमा कुरा आइसकेको छ, मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार, वर्तमान प्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालजीको नेतृत्वमा नेपाली काँग्रेस, समाजवादी, जसपा, लोसपा, जनमत, लगायतका पार्टीहरु मिलेर अहिले हामी सरकार चलाइरहेका छौँ । सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा अभियानको रुपमा एउटा संकल्पसहित हामी सरकारमा गएपछि पूर्ण संकल्पसहित सरकार अघि बढेको छ । भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ । सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हमीले पहल गरिरहेका छाँै । अब यो महिना भित्रै त्यो कार्ययोजना तयार भएर मन्त्रीपरिषद्ले पास गरेर कार्ययोजनामार्फत नेपाल सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासति बनाउँदै आम नेपाली जनतामा एउटा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले मशसुस गर्नेगरी वर्तमान सरकारले गरिरहेको छ ।’ उपप्रधान एवं रक्षामन्त्री खड्काले कुनैपनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा आफू रहेको बताए ।
गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, १९४७ पछिकै बढी तातो
एजेन्सी । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा रहेका छन् । गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होसियार हुन आग्रह गरिएको छ । स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपायहरु अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा शतर्क रहन आग्रह गरेका छन् । राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गत सोमवार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो । ड्रोमको न्योन्समा ४२.२ डिग्रि सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो ।