बैंकबाट बाहिरियो बिनाधितो ३ अर्ब ऋण, १ लाख बढीले लिए साढे २ खर्ब सहुलियतपूर्ण कर्जा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट डेढ १ लाख बढी ऋणीले साढे २ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १ लाख ४५ हजार ७७८ जना ऋणीले २ खर्ब ५४ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् । ४ हजार ७३९ जना ऋणीले करिब ३ अर्ब ऋण बिनाधितो प्रयोग गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका अनुसार व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, विनाधितो कर्जा, धितोसहितको कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजनना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा र उच्च प्राविधिक तथा व्यवसायायिक कर्जा अन्तर्गत सो कर्जा प्रवाह भएको छ । यस्तै, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि कर्जा, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थालाई दिइने कर्जा र युवा स्वरोजगार कर्जा अन्तर्गत सो कर्जा प्रवाह भएको हो । बैंक तथा वित्तीय संस्थाहरुले कृषितर्फ १ खर्ब ६२ अर्ब ६५ करोड ७१ लाख, बिनाधितो कर्जा अन्तर्गत २ अर्ब ९८ करोड ३९ लाख, कपडा उद्योग सञ्चालनका लागि २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, परियोजना धितो अन्तर्गत १ अर्ब ५९ करोड ६७ लाख, महिला उद्यम अन्तर्गत ८७ अर्ब १८ करोड ७५ लाख रुपैयाँ र दलित समुदाय व्यवसाय विकास तर्फ ७० करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै, विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ३३ करोड ७५ लाख, शिक्षित यूवा स्वरोजगारतर्फ ७ करोड ९५ लाख, भुकम्प पीडिततर्फ ५ करोड ३ लाख रुपैयाँ र उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा तर्फ ४ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यूवा स्वरोजगार अन्तर्गत १ करोड ४० लाख र सिटीईभीटी तालिम अन्तर्गत ४ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, २२ अर्ब ३९ करोड रुपैयाँ भने ब्याज अनुदानका लागि प्रवाह भएको छ ।
एनएलजी इन्स्योरेन्सले पायो ‘सेल्स एक्सिलेन्स अवार्ड’
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकेडेमीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इन्स्योरेन्सलाई उक्त अवार्डबाट सम्मान गरेको हो । यो अवार्डले ग्राहकहरूलाई सेवा प्रदान गर्ने उत्कृष्टताप्रति कम्पनीको प्रतिवद्धतालाई जोड दिने कम्पनीले बताएको छ । साथै, यस अवार्डले ग्राहकलाई उच्च स्तरको सेवा प्रदान गर्न जारी राख्न उत्प्रेरित गर्ने समेत इन्स्योरेन्सको भनाई छ । ग्रोथ सेलर्स प्रा.लि. को भगिनी संस्था ‘ग्रोथ लिडरशीप एकेडेमी’ले सन २०१६ देखि ‘सेल्स समिट’ आयोजना गर्दै आइरहेको छ । उक्त समितिको सातौ संस्करण ‘सेल्स समिट २०२३’ अन्तर्गत शुक्रबार सोल्टी होटलमा एक कार्यक्रम गर्दै ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङ्गको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको हो ।
१० बीमा कम्पनीले हकप्रद जारी गर्न पाउने, कसको पुँजी कति पुग्छ ?
काठमाडौं । जीवन र निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीमध्ये १० वटा कम्पनीले हकप्रद सेयर जारी गर्ने भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै जीवन बीमातर्फको ५ र निर्जीवन बीमा तर्फको ५ गरी कूल १० वटा बीमा कम्पनीले हकप्रद सेयर जारी गर्न पाउने भएका हुन् । यसअघि नै दुई वटा कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको प्राधिकरणले हालै मात्र ४ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न दिने निर्णय गरेको हो । उक्त निर्णय भदौ ६ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले गरेको हो । सो निर्णयअनुसार जीवन बीमा तर्फका सूर्यज्योति लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ र एशियन लाइफ छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले भने यसअघि नै ८६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको थियो । यता निर्जीवन बीमा व्यवसाय गर्दै आएका हिमालयन एभरेष्ट, नेको, सानिमा जीआईसी, यूनाइटेड अजोड र एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न प्राधिकरणको स्वीकृति पाएका छन् । यीमध्ये एनएलजीले भने गत असारमै ६६ प्रतिशत हकप्रद जारी गर्न स्वीकृति पाएको थियो । जीवन बीमा कम्पनीले १० देखि ८६ प्रतिशतसम्म जारी गर्न पाउने, कसले कति ? जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ हुनु पर्ने छ । सो अनुसारको पुँजी पुर्याउन अधिकांश कम्पनी मर्जरमा गए । मर्जरमा गएता पनि उनीहरुको पुँजी तोकिएबमोजिमको नभएकोले बीमा प्राधिकरणले केही कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । कम्पनीले मर्जरमा गएका र नगएका गरी ५ वटा कम्पनीलाई १० देखि ८६ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । सूर्यज्योति लाइफलाई १० प्रतिशत हकप्रद बीमा प्राधिकरणको निर्णय अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्सले १० प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने छ । साविकको सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योति लाइफले तोकिएको न्यूनतम चुक्ता पुँजी पुर्याउन सो मात्राको हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ छ । स्वीकृति १० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी बमोजिम हो । प्रभु महालक्ष्मीलाई १७ प्रतिशत प्रभु महालक्ष्मीले १७ प्रतिशत हकप्रद सेयर जारी गर्न प्राधिकरणको स्वीकृति पाएको छ । हालै प्रभु र महालक्ष्मी लाइफ मर्ज भइ बनेको प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ९६ लाख रुपैयाँ बढी छ । १७ प्रतिशत हकप्रदपछि उक्त पुँजी बढेर ५ अर्ब २ करोड ६३ लाख रुपैयाँ नाघ्ने छ । सानिमा रिलायन्सलाई २० प्रतिशत साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । स्वीकृत २० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी अर्ब बढी अर्थात ५ अर्ब २ करोड ८ लाख रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । एशियन लाइफले सबैभन्दा बढी जारी गर्ने नेपालका जीवन बीमा कम्पनीमध्ये एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रतिशत हकप्रद जारी गर्न पाउने भएको छ । प्राधिकरणले कम्पनीलाई ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । हाल ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ४२ प्रतिशत हकप्रदपछि ४ अर्ब ४८ करोड ५ लाख रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा कम हो । अपुग पुँजी भने कम्पनीले बोनस सेयर मार्फत पुर्याउने योजना बनाएको छ । एलआईसी नेपाललाई ८६ प्रतिशत भारतको जोइन्ट भेञ्चर कम्पनी एलआईसी नेपालले सबैभन्दा बढी अर्थात ८६ प्रतिशत हकप्रद निष्काशन गर्न बीमा प्राधिकरणको स्वीकृति पाएको छ । सो मात्राको हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । जुन तोकिएको न्यूनतम पुँजीभन्दा कम हो । निर्जीवन बीमा कम्पनीलाई १२ देखि ६६ प्रतिशतसम्म हकप्रद बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । सोअनुसार पुँजी पुर्याउन प्राधिकरणले केही कम्पनीहरुलाई १२ देखि ६६ प्रतिशतसम्म हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । हिमालयन एभरेष्टलाई १२ प्रतिशत नेपालको बीमा क्षेत्रमै पहिलो पटक मर्ज भइ इतिहास राखेको हिमालयन एभरेष्टले १२ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । मर्जरमा जाँदा जाँदै पनि तोकिएको न्यूनतम पुँजी नपुगेको भन्दै कम्पनीले प्राधिकरणलाई सो मात्राको हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । यससँगै हाल २ अर्ब ३० करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १२ प्रतिशत हकप्रदपछि २ अर्ब ५७ करोड ७७ लाख रुपैयाँ पुग्ने छ । नेकोलाई २५ प्रतिशत हकप्रद मर्जरमा नगएको नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणको स्वीकृति पाएको छ । सो अनुसार कम्पनीले हकप्रद सेयर जारी गरेमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । यससँगै कम्पनीले हकप्रदबाट मात्रै तोकिएको पुँजी पुर्याउने भएको छ । सानिमा जीआईसीलाई पनि २५ प्रतिशत बीमा प्राधिकरणले मर्ज भइ बनेको सानिमा जीआईसी इन्स्योरेन्सलाई २५ प्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति दिएको छ । हाल २ अर्ब रहेको कम्पनीको चुक्ता पुँजी २५ प्रतिशत हकप्रदपछि २ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजी हो । यूनाईटेड अजोडले ३२ प्रतिशत निष्काशन गर्न पाउने हालै दुई कम्पनी मर्ज भइ बनेका यूनाईटेड अजोड इन्स्योरेन्सले ३२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ । जसको हालको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ छ । स्वीकृति ३२ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । एनएलजीलाई सबैभन्दा बढी मर्जरमा नगएको एनएलजी इन्स्योरेन्सले निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने भएको छ । बीमा प्राधिकरणले कम्पनीलाई गत असारमै ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । उक्त हकप्रदलाई गत साउनमा सम्पन्न कम्पनीको विशेष साधारण सभाले समेत पारित गरिसकेको छ । हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ६६ प्रतिशत हकप्रद पछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्ने छ । जुन बीमा प्राधिकरणले तोकेको भन्दा कम हो । तीन कम्पनीको पुँजी नपुग्ने बीमा प्राधिकरणले हकप्रद सेयरको लागि स्वीकृति दिँदा पनि तीन कम्पनीको चुक्ता पुँजी नपुग्ने भएको छ । जीवन तर्फका दुई र निर्जीवन तर्फका एक कम्पनी गरी तीन कम्पनीले हकप्रद जारी गर्दा पनि प्राधिकरणले तोकेको न्यूनतम पुँजी नपुग्ने देखिएको हो । हालको पुँजीमा हिसाव गर्दा एशियन लाइफ, एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी तोकिएको भन्दा थोरै कम्पनी हुने भएको हो । उक्त अपुग पुँजी बोनस सेयर मार्फत पुर्याउन सक्ने देखिन्छ ।
विद्युत नियमन आयोगद्वारा ग्रिड कोड जारी
काठमाडौं । विद्युत नियमन आयोगले नेपाल इलेक्ट्रिसिटी ग्रिड कोड २०८० जारी गरेको छ । आयोगले सरोकारवालाहरुसँगको पटक-पटकको छलफल, राय तथा प्रतिक्रिया पश्चात् ग्रिड संहिता तयार गरि लागू गरेको हो । ग्रिड संहिता तयार गर्दा अन्तरदेशिय वितरण प्रणालीमा आवद्ध ग्रिड र ग्रिडकोडलाई कार्यान्वयनमा ल्याउने विद्युतीय ग्रिड संहिता २०८० को दफा २.३, २.१ अनुसार ग्रिड कोड म्यानेजमेन्ट कमिटी गठन गरी अध्यक्ष, सदस्य सचिव र सदस्यहरू तोक्नका लागि आयोगका सदस्य गौतम डंगोलको अध्यक्षतामा उक्त कमिटीलाई पूर्णता दिनका लागि कार्यभार तोकिएको छ । आयोगका अनुसार विद्युत प्रसारण र वितरणमा ग्रिड कोडको महत्वपूर्ण स्थान रहेको हुन्छ । आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहका अनुसार एउटा देशमा एउटा मात्र राष्ट्रिय ग्रिड रहेको हुन्छ । विद्युत नियमन आयोगले लामो गृहकार्य पछि ग्रिड संहिता तयार गरेको उनको भनाइ छ । ग्रिड संहिता तयार गर्ने क्रममा आयोगले विभिन्न सरोकारवाला, विषय विज्ञ र सेवा प्रदायक संस्थाहरुसंग पटक पटक प्रत्यक्ष छलफल गरी सरोकारवालाहरुबाट राय प्रतिक्रिया माग गरि अन्तिम रूप दिन कार्याशाला गोष्ठी आयोजना गरेको उनको भनाइ छ । उनले विद्युतीय ग्रिड संहिताको देश भित्र विद्युत उत्पादन बढेको तथा दक्षिण एशियाली क्षेत्रमा विद्युत व्यापार गर्नु पर्ने सन्दर्भमा अझ बढी महत्व हुने बताए । विद्युतीय शक्ति प्रसारणमा विद्युतीय ग्रिड संहिताको उचित व्यवस्थापनबाट नै उत्पादित विद्युत शक्ति उपभोक्ता समझ सुरक्षित र भरपर्दो तरिकाबाट पुर्याउन सकिने उनले बताए । विद्युतीय शक्तिको उतार चढावबाट हुने दुर्घटना जस्ता घटनाहरुको व्यवस्थापन ग्रिड संहिताको व्यवस्थापनबाट नै गर्न सकिने उनको भनाइ छ । सो कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्ति वहादुर वस्नेतले यस्ता खालका संहिता वा मापदण्ड निर्माण गरि विद्युतको माग र आपूर्तीलाई गुणस्तरयुक्त बनाउनु पर्ने बताए । हालै लागू भएको विद्युतीय ग्रिड संहिताले विद्युतीय प्रवाह सम्बन्धी न्यूनतम आवश्यक मापदण्ड परिपूर्ति गर्न, विद्युतीय ग्रिडको सन्तुलन कायम राख्न र सीमा भित्र र सीमा बाहिर विद्युतीय प्रवाह व्यवस्थापन गर्न आवश्यक दिशा निर्देश गर्दछ । यसले प्रसारण प्रणालीको योजना सञ्चालन र व्यवस्थापनका लागि निष्पक्ष र प्रभावकारी ढंगले काम गर्दछ । अन्तरदेशीय विद्युत व्यापार र क्षेत्रीय अन्तरसम्बन्धको बढ्दो सम्भावनाका साथै राष्ट्रिय र क्षेत्रीय ग्रिड प्रयोगकर्ताहरुको प्रवेश र सञ्चालनलाई नियमन गर्न यस संहिताको अझ वढि महत्व छ । यो नेपालको ग्रिड प्रणालीको जडान, संचालन, मर्मत सम्भार र विकासका लागि दिशा निर्देश, प्रकृया, जिम्मेवारी मापदण्ड र दायित्वहरु स्थापित गर्ने विस्तृत दस्तावेज हो । ग्रिडको स्वमित्व रहेको संस्था, प्रणाली संचालक, ग्रिड प्रयोगकर्ताहरुको बीचको सीमा निर्धारण गर्न र प्रसारण प्रणाली प्रयोग गर्ने सुविधाहरुको सञ्चालनको लागि कार्यविधिहरु स्थापना गर्न ग्रिड संहिताको विकास गरिएको छ । यसले ग्रिड प्रणालीको विकास एवम् सुरक्षाको लागि आधारभूत नियम र मापदण्डहरु तोकेको छ। जुन सार्वजनिक र वातावरण सुरक्षाको लागि अत्यावश्यक छ ।
बाँदरले सताएपछि व्यावसायिक बेसार खेती शुरु
तनहुँ । कृषि ज्ञान केन्द्रले बाँदरको आतङ्क भएका क्षेत्रमा वैकल्पिक बालीका रुपमा बेसार खेतीलाई प्राथमिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताएका क्षेत्रमा कृषकलाई वैकल्पिक खेतीका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्न प्रोत्साहन गरिएको हो । व्यास नगरपालिका–८ सोतिबेसीका २० कृषकहरुले दुई सय रोपनी क्षेत्रफलमा बेसार खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। कृषकलाई ८५ प्रतिशत अनुदानमा चार लाख बजेट विनियोजन गरिएको उनले बताए । उनका अनुसार यस वर्ष परीक्षणका रुपमा खेती सुरु गरेकाले आउँदा वर्षमा क्षेत्र विस्तार गर्दै लैजाने योजना रहेको छ । कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बेसारको बीउ खरिदका साथै कृषकहरुले बेसार राखेर उमाल्ने ड्रम, कुटनीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिन लगायतका सामाग्रीसमेत खरिद गरिसकेका छन् । समूहमा आबद्व सदस्यहरुले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात् धोइपखाली गरी उमाल्ने, कुटनीपिसानी गरेर लेबल टाँस गरी जैविक रुपमा बिक्री गर्ने छन् । नगरपालिका कार्यालयले व्यास–३ अनसन चौतारी नजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्नका लागिसमेत व्यवस्था मिलाइएको छ । उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र संघीय गरी तीन वटै सरकारको सहयोगमा प्याक गरेर बाह्य देशमा निर्यात गर्न सकेको अवस्थामा कृषकहरुको आयआर्जनमा सुधार हुने जनाइएको छ । कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार ९हलेदो० खेती प्रवद्र्धन कार्यलाई प्राथमिकता दिएको हो । उत्पादन भएका वस्तु स्थानीय बजारमा बिकेन भने पनि तीनवटै तहका सरकारले सहजीकरण गरी बिक्री वितरण कार्यमा सहयोग गरेको अवस्थामा कार्यक्रम अझ प्रभावकारी हुन सक्ने उनले बताए । त्यसैगरी व्यास–१३ मा ६० रोपनी क्षेत्रफलमा २० क्विन्टल बेसारको बीउ लगाइएको छ । कृषि ज्ञान केन्द्रको ८५ प्रतिशत अनुदानमा बेसार पिस्ने मेसिनसहित रु दुई लाख ५० हजार विनियोजन गरेको दोभान जैविक कृषि सहकारीका शेयर सदस्य यामबहादुर आलेले जानकारी दिए । बेसार लगाएको तीन महिनासम्म पानी नपरेर खडेरी पर्दा पनि राम्रोसँग उम्रिएर अहिले बोट हेर्न लायकका बनेकाले उत्पादन पनि राम्रै हुने अपेक्षा गरिएको उनले बताए । रासस
बेष्ट फाइनान्सले पराम्परागत बाजा संरक्षण गर्न ५ लाख सहयोग गर्यो
काठमाडौं । बेष्ट फाइनान्सले पराम्परागत बाजा मर्मत गर्नको लागि आर्थिक सहयोग प्रदान गरेको छ । बेष्ट फाइनान्स कम्पनी कमलादी, काठमाण्डौंले शुक्रबार उपत्यकाको कला संस्कृति संरक्षण गने उद्धेश्यले पराम्परागत बाजा (धिमे बाजा) मर्मत गर्नको लागि आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम सम्पन्न गर्याे । काठमाडौं उपत्यकामा संचालन हुने विभिन्न परम्परागत जात्रा पर्वको कारण सांस्कृतिक नगरीको रुपमा चिनीन्छ । यस प्रकारका सांस्कृतिक पर्वहरुमा यहाँका विशेष गरी नेवारी समूदायका गुठी, खल र व्यक्तिहरुले विभिन्न प्रकारका वाजागाजा बजाउने कार्यले यहाँको सस्कृति जगेर्ना गर्न ठुलो योगदान रहेको छ । यसरी परम्परागात जात्राहरुमा बजाउने विभिन्न प्रकारका वाजागाजा बिभिन्न समूदायको गुठी, खल लगायतले संचालन गर्दै आएको र नयाँ पुस्तालाई समेत प्रशिक्षण दिई हस्तानन्तरणका कार्य गर्दै आईरहेकोमा ती बाजाहरु वर्षेनी मर्मत र नयाँ वाजा खरिद गर्न आर्थिक समस्या रहेको कुरालाई मध्यनजर गरेकाे छ । कम्पनीले आफनो सामाजिक उत्तर दायित्व अन्तरगत काठमाडौं उपत्यका भित्रको तपसिल बमोजिमको गुठी, खलहरुलाई वाजाहरु मर्मतरखरिद गर्न आर्थिक सहयोगका कारण देशको सांस्कृतिक पर्वको जर्गेना हुने र जात्रापर्व तथा वाजागाजा लोप हुनबाट जोगाउने विश्वासका साथ प्रत्येक पुच, खल तथा गुठीहरुलाई ५० हजार रुपैयाँका दरले १० वटा खल गुठीलाई जम्मा ५ लाख रुपैयाँ आर्थिक सहयोगको कार्यक्रम सम्पन्न गरेकाे छ ।
यही बर्ष धनुषाको खजुरीमा रेल म्यूजियम बनाउँछाैं : मन्त्री ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल म्यूजियम बनाउने भएको छ । वि.स १९९४ मा तत्कालिन ब्रिटिश इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि विजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो । नेपालमा पहिलो पटक रेल आएकै ठाउँमा म्यूजियम बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । ‘जनकनन्दनीको खजुरीमा अहिलेपनि ब्रिटिस सरकारले छोडेका १० रेल इन्जिन छन् । ति रेलहरु राखेर म्यूजियम बनाउने तयारी छौ’ मन्त्री ज्वालाले भने ‘१० कठ्ठा क्षेत्रफलभित्र म्यूजियम बन्दैछ ।’ यसै बर्ष काम सक्नेगरी मन्त्री ज्वालाले निर्देशन पनि दिएका छन् । केही समयअघि मन्त्री ज्वालाले म्यूजियम बनाउने क्षेत्रको स्थलगत भ्रमण पनि गरेका थिए । भ्रमणलगतै रेल विभाग र रेल्वे कम्पनीसँग छलफल गरेका थिए । छलफलपछि म्यूजियम बनाउने निर्णयमा पुगेको कम्पनीका जिएम निरन्जन झाले बताए । ब्रिटिश इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो । फर्किदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनहरुको नेपाली नामकरण पनि गरिएको छ । गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको छ । मन्त्रालयले एक प्राविधिक टोली पठाउने भएको छ । रेल्वेको जमिन छुट्याउन, पर्खाल निर्माण गर्न र अन्य सम्पतिको संरक्षण गर्न टोली पठाउन लागिएको मन्त्री ज्वालाले बताए ।
माछापुच्छ्रे बैंकलाई प्रायोरिटी पास सुविधा
काठमाडौं । डिजिटल इकोनोमी प्रवर्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् । प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जसअन्तर्गत बेलायतको कोलिन्सन ग्रुपले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० सहरका १४ सयभन्दा बढी विमानस्थलमा रहेका एयरपोर्ट लाउन्जमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ । प्रायोरिटी पासले उडान गर्नुअघि एयरपोर्ट लाउन्ज अनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाईफाई प्रयोग गर्नलगायत अन्य अतिरिक्त सुविधासहित लाउन्जको अनुभव प्रदान गर्छ ।