
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट डेढ १ लाख बढी ऋणीले साढे २ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १ लाख ४५ हजार ७७८ जना ऋणीले २ खर्ब ५४ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएका छन् । ४ हजार ७३९ जना ऋणीले करिब ३ अर्ब ऋण बिनाधितो प्रयोग गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकका अनुसार व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, विनाधितो कर्जा, धितोसहितको कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजनना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा र उच्च प्राविधिक तथा व्यवसायायिक कर्जा अन्तर्गत सो कर्जा प्रवाह भएको छ । यस्तै, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि कर्जा, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थालाई दिइने कर्जा र युवा स्वरोजगार कर्जा अन्तर्गत सो कर्जा प्रवाह भएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले कृषितर्फ १ खर्ब ६२ अर्ब ६५ करोड ७१ लाख, बिनाधितो कर्जा अन्तर्गत २ अर्ब ९८ करोड ३९ लाख, कपडा उद्योग सञ्चालनका लागि २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, परियोजना धितो अन्तर्गत १ अर्ब ५९ करोड ६७ लाख, महिला उद्यम अन्तर्गत ८७ अर्ब १८ करोड ७५ लाख रुपैयाँ र दलित समुदाय व्यवसाय विकास तर्फ ७० करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस्तै, विदेशबाट फर्केका युवा परियोजना कर्जा अन्तर्गत ३३ करोड ७५ लाख, शिक्षित यूवा स्वरोजगारतर्फ ७ करोड ९५ लाख, भुकम्प पीडिततर्फ ५ करोड ३ लाख रुपैयाँ र उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा तर्फ ४ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यूवा स्वरोजगार अन्तर्गत १ करोड ४० लाख र सिटीईभीटी तालिम अन्तर्गत ४ लाख रुपैयाँ लगानी गरेका छन् ।
यस्तै, २२ अर्ब ३९ करोड रुपैयाँ भने ब्याज अनुदानका लागि प्रवाह भएको छ ।