विकासन्युज

मन्त्रिपरिषदबाट बजेट पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको हो । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रीपरिषद्ले बजेट पारित गरी संसद्मा पेश गर्ने निर्णय गरेको जानकारी दिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय-व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

नेपाली कागजमा बजेट वक्तव्य, ब्रिफकेस पनि फरक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस पटकको बजेट वक्तव्य नेपाली कागजमा तयार गरेका छन् । मन्त्रिपरिषद् बैठक जानुअघि बजेट वक्तव्यको ब्रिफकेस देखाउँदै उनले बजेट वक्तव्य नेपाली कागजमा तयार पारेका बताएका हुन् ।  उनले बजेट वक्तव्य बोक्ने ब्रिफकेस पनि विगतको भन्दा फरक नै बोकेका छन् । बजेट बोक्ने ब्रिफकेस पनि नेपाली कागजको नै रहेको छ ।

सरकारको निर्णयले यातायात क्षेत्र अन्यौलमा, अर्बौंको लगानी खेर जाने डर

काठमाडौं । सरकारले वैज्ञानिक यातायात व्यवस्थापन र वायु प्रदूषण नियन्त्रण गर्ने भन्दै सार्वजनिक सवारी साधनको नयाँ दर्तामा लगाएको रोकले अटो क्षेत्रमा अन्योल सिर्जना भएको छ । यातायात व्यवस्था विभागले कुनै पूर्वतयारी र सरोकारवालासँग छलफल नै नगरी हचुवाको भरमा यस्तो निर्णय लिएको भन्दै व्यवसायीहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४(३) लाई टेकेर अर्को सूचना जारी नभएसम्मका लागि पेट्रोलियम र विद्युतीय दुवै प्रकारका सार्वजनिक सवारीको नयाँ दर्ता रोक्न सातै प्रदेशलाई निर्देशन दिएको छ । बढ्दो ट्राफिक जाम र इन्धन मूल्यवृद्धिलाई कारण देखाइए पनि यसले अर्बौंको लगानी जोखिममा परेको व्यवसायीहरूको ठहर छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारको यो कदमले व्यवसायीहरूलाई सडकमा पुर्‍याउने चेतावनी दिएका छन् ।  ‘भन्सार गरेर नेपाल भित्रिएका र ग्यारेजमा थन्किएका सयौं गाडीहरू अहिले अन्योलमा छन्,’ ‘एकातिर बैंकको किस्ता तिर्न व्यवसायी डुबिरहेका छन्, अर्कोतिर सरकारले व्यवस्थापनको नाममा दर्ता रोकेर अस्तव्यस्तता सिर्जना गरेको छ ।’ सिटौलाका अनुसार ग्यारेजमा गाडी थन्किँदा व्यवसायीको लागत बढिरहेको र यसले समग्र अर्थतन्त्र र उपभोक्तालाई समेत नकारात्मक असर पार्ने निश्चित छ । उनले सरकारलाई यो अन्यौल तत्काल हटाउन र आएका गाडीहरूको निकास दिन सुझाव दिएको बताए । आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले सरकारको यो निर्णयले भविष्यमा सार्वजनिक सवारीको चरम अभाव हुने औंल्याए ।  ‘दर्ता नै रोकेपछि नयाँ गाडी सडकमा आउँदैनन्, जसले गर्दा आम सर्वसाधारणले नै दुःख पाउनेछन्,’ ढकाल भन्छन् ।  सरकारको निर्देशन अचानक आएको र यसबारे व्यवसायीलाई कुनै पूर्व जानकारी नभएको उनको गुनासो छ । यद्यपि, दर्ता प्रक्रियामा एकरूपता ल्याउन खोजिएको हो भने त्यो सकारात्मक भए पनि अहिलेको कार्यशैलीले भने व्यवसायमा ठुलो असर पार्ने उनको तर्क छ ।  ‘हामी त सेकेन्डरी हौं, यसको मुख्य असर आम जनतालाई नै पर्नेछ,’ उनले भने । यस विषयमा सरकारसँग छलफल भइरहेको उनको भनाइ छ ।  यसैगरी, टाटा मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजबाबू श्रेष्ठले भने सरकारको उद्देश्य र समयसीमा स्पष्ट नहुँदा थप अन्यौलता बढेको बताए । वायु प्रदूषण नियन्त्रणका नाममा सूचना निकालिए पनि त्यसको ठोस आधार र अवधि नखुल्दा विश्लेषण गर्न कठिन भएको उनको भनाइ छ । ‘अहिले नै इम्प्याक्ट के हुन्छ भन्नु हतारो हुनेछ । बजेट र नयाँ विधेयकमा सरकारले कस्तो नीति ल्याउँछ, त्यो नहेरी गरिने टिप्पणी गफ मात्रै हो,’ श्रेष्ठले भने । उनले बजेट सार्वजनिक भएपछि र सरकारको नीति स्पष्ट भएपछि मात्रै अटो बजारको आगामी दिशा तय हुने बताए । ट्राफिक जाम र प्रदूषण नियन्त्रण सरकारको दायित्व भए पनि अर्बौंको लगानी र सार्वजनिक यातायातको संवेदनशीलतालाई नजरअन्दाज गर्न नहुने व्यवसायीहरू बताउँछन् ।  दर्ता रोकबारे बुझ्नका लागि यातायात व्यवस्था विभागमा महानिर्देशक, सूचना अधिकारी तथा सहायक सूचना अधिकारीलाई पटक–पटक सम्पर्क गरे पनि कसैको फोन उठेन । 

एआई फिचरले भरिएका ‘अनर ६००’ र ‘६०० प्रो’ बजारमा सार्वजनिक

काठमाडौं । अनरले ‘अनर ६००’ सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीको आधिकारिक वितरक सेलट्रोन नेपालका अनुसार ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ मोडेल एड्भान्स एआई फिचर र प्रिमियम डिजाइनसहित बजारमा ल्याइएको हो । कम्पनीका अनुसार ‘अनर ६००’ मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ । यसमा फोटोलाई ५ सेकेन्डको भिडियोमा परिणत गर्ने एआई फिचर, एआई फोटो इरेजर टुल, ७,००० एमएएच ब्याट्री, ८० वाट फास्ट चार्जिङ तथा २७ वाट रिभर्स चार्जिङ सुविधा दिइएको छ । २५६ जीबी स्टोरेज क्षमतासहित उपलब्ध यस फोनको ८ जीबी र्‍याम भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी र्‍याम भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, ‘अनर ६०० प्रो’ मा स्न्यापड्रागन ८ इलिट (३ एनएम) प्रोसेसर प्रयोग गरिएको छ । यसमा पनि एआईमार्फत इमेजलाई भिडियोमा रूपान्तरण गर्ने सुविधा उपलब्ध छ । फोटोग्राफीका लागि २०० मेगापिक्सेल मुख्य क्यामेरा, ३.५x अप्टिकल जुमसहित ५० मेगापिक्सेल टेलिफोटो लेन्स र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा सेटअप दिइएको छ । ‘अनर ६०० प्रो’ मा ७,००० एमएएच ब्याट्रीसँगै ८० वाट वायर्ड, ५० वाट वायरलेस र २७ वाट रिभर्स चार्जिङ सपोर्ट रहेको छ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको यस मोडेलको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीले ‘अनर ६००’ खरिद गर्ने ग्राहकलाई १५ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ‘अनर च्वाइस वाच २ प्रो’ स्मार्टवाच निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यस्तै, ‘अनर ६०० प्रो’ खरिद गर्ने ग्राहकले उक्त स्मार्टवाचसँगै १० हजार ९९९ रुपैयाँ मूल्य पर्ने ‘अनर च्वाइस क्लिप इयरबड्स’ पनि निःशुल्क पाउनेछन् । यो अफर सीमित अवधिका लागि लागू हुने सेलट्रोन नेपालले जनाएको छ ।

बजेट स्वीकृत गराउन मन्त्रिपरिषद बैठक हिँडे अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बाट पारित गराउन मन्त्रिपरिषद बैठकमा हिँडेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  बजेट पारित भएपछि अर्थमन्त्री संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्न त्यसतर्फ प्रस्थान गर्नेछन् ।   

दुई कन्सल्टेन्सी सञ्चालकलाई १२ दिनको कैद सजाय

काठमाडौं । कन्सल्टेन्सी सञ्चालक दुई जनालाई १२ दिनको कैद सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतले दुई जनालाई सजाय तोकेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार गुल्मी, तम्घास घर भएका रेमलाल मरासिनी र रामेश्वर भारतीलाई १२/१२ दिनको कैद सजाय भएको हो । ‘उहाँहरू हिरासतमा १२ दिन बस्नु भएको थियो । त्यहीँ समयलाई लिएर आदेश भएर छुट्नु भएको छ,’ उनले भने। केही कन्सल्टेन्सीका सञ्चालक साधारण तारेख र धरौटीमा रिहा भएका उनले जानकारी दिए । केही समयअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  ३१ वटा कन्सल्टेन्सी सञ्चालकविरुद्ध मुद्दा चलाएको थियो । कार्यालयले लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार तीनवटा कसुरमा ३१ जनाविरुद्ध मुद्दा चलाएको थियो । गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ९५ वटा कन्सल्टेन्सीमा छापा मारी ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार कन्सल्टेन्सी दर्ता नभएका, ठगी र सरकारी छाप किर्ते गरेर चलाएकाहरू कारबाहीमा परेका हुन् । उपत्यकाका तीनवटा जिल्लामा करिब २ महिना लगाएर अनुसन्धान गरिएको उनले जानकारी दिएका थिए ।  विकासन्युले सुरुमा विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार र दोस्राे पटक कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? शीर्षकमा समाचार सम्प्रेषण गरेकाे थियाे । तिनै समाचारकाे आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । अनुसन्धान गर्दा प्रहरीले ६९ सञ्चालकलाई नियन्त्रणमा लिएको थियो। ३१ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? शैक्षिक परामर्श क्षेत्रमा ठगीको जालो धमाधम पक्राउ हुँदै कन्सल्टेन्सी सञ्चालक, विकासन्युजको समाचारपछि भएको थियो अनुसन्धान विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा १ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै विकासन्युजको समाचारका नेक्साको खण्डन

गणतन्त्र दिवसमा मौन प्रधानमन्त्री बालेन

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा यसपटक मुलुकले एउटा असामान्य दृश्य देख्यो । प्रधानमन्त्री बालेन्द्र शाह समारोहमा उपस्थित भए, तर देशवासीलाई सम्बोधन भने गरेनन् । विगतमा प्रधानमन्त्रीले गर्ने गरेको औपचारिक सम्बोधन यस वर्ष राष्ट्रपतिले गरेपछि राजनीतिक वृत्तमा यसको व्यापक चर्चा भएको छ । टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह पत्नी सविना काफ्लेसहित सहभागी भएका थिए । औपचारिक कार्यक्रममा प्रायः कालो पोशाकमा देखिने शाह यसपटक पनि सोही शैलीमा उपस्थित भए । समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए । प्रधानमन्त्री कार्यालयकै आग्रहपछि राष्ट्रपति गणतन्त्र दिवशलाई सम्बोधन गर्न तयार भएका हुन् । यससँगै गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने स्थापित अभ्यास यस वर्ष भंग भएको छ । प्रधानमन्त्री शाहले गणतन्त्र दिवसका अवसरमा कुनै औपचारिक शुभकामना सन्देश पनि जारी गरेका छैनन् । सामाजिक सञ्जालमार्फत सक्रिय रहने शाहले नयाँ वर्ष, बुद्ध जयन्ती र मातातीर्थ औंसीजस्ता अवसरमा फेसबुकमार्फत शुभकामना दिएका थिए । तर गणतन्त्र दिवसमा भने उनको फेसबुक पेजसमेत समाचार तयार पार्दासम्म मौन रहेको छ । प्रधानमन्त्रीसँगै सत्तारूढ दलका सभापतिसमेत गणतन्त्र दिवशको सवालमा देखाएको मौनताले पनि ध्यान खिचेको छ । दुवै जना समारोहमा सहभागी भए पनि उनीहरूले गणतन्त्र दिवसको शुभकामना सार्वजनिक गरेका छैनन् । दिनभर दुवै जनाका सामाजिक सञ्जालहरू पनि निष्क्रियजस्तै देखिए । यद्यपि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पोस्टर सार्वजनिक गर्दै गणतन्त्र दिवसको शुभकामना दिएको छ । पार्टीका केही नेताहरूले व्यक्तिगत रूपमा शुभकामना दिए पनि शीर्ष नेतृत्वको मौनतालाई लिएर विभिन्न राजनीतिक व्याख्या हुन थालेका छन् । प्रधानमन्त्री र प्रमुख राजनीतिक नेताको यस प्रकारको मौनतालाई कतिपयले प्रतीकात्मक  रूपमा हेरेका छन् । राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई यसलाई गणतान्त्रिक संस्कारप्रतिको उदासीनता मान्दछन् । उनि भन्छन्, ‘गणतान्त्रिक सरकारवाट गणतन्त्रप्रतिको यो उदासीनतालाई राम्रो मान्न सकिँदैन ।’ 

परेवाको दिशाबोधमा कलेजोको भूमिका

काठमाडौं । परेवाहरू घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने दीर्घकालीन वैज्ञानिक रहस्यमा नयाँ अनुसन्धानले अप्रत्याशित निष्कर्षतर्फ सङ्केत गरेको छ । अध्ययनअनुसार यी चराहरूले दिशानिर्देशनका लागि केवल आकाशीय सङ्केत वा स्थलचिह्न मात्र नभई, उनीहरूको कलेजोसँग सम्बन्धित जैविक प्रणालीलाई पनि उपयोग गर्ने सम्भावना देखिएको छ ।      जनावरहरूले सामान्यतया ताराहरू, भू–दृश्य र पृथ्वीको चुम्बकीय क्षेत्रजस्ता विभिन्न सङ्केतहरू प्रयोग गरेर दिशा पहिचान गर्छन् । चराहरू, माछा र कछुवाजस्ता प्रजातिहरूले पृथ्वीको चुम्बकीय क्षेत्रलाई प्राकृतिक कम्पासको रूपमा प्रयोग गर्ने विश्वास रहँदै आएको छ, तर यसको वास्तविक जैविक प्रक्रिया अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन ।      परेवाहरू लामो दूरी उडान गर्न सक्षम चराहरू हुन् । यी चराले एकै दिनमा सयौँ माइल दूरी पार गर्न सक्छन् । ऐतिहासिक रूपमा मानिसहरूले यी चराहरूलाई सन्देशवाहकका रूपमा समेत प्रयोग गर्दै आएका छन्, जसले उनीहरूको दिशा पहिचान क्षमताप्रति थप चासो बढाएको छ ।      जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ एनिमल बिहेभियरका मार्टिन विकेल्स्की नेतृत्वको अनुसन्धान टोलीले यस रहस्यको अध्ययन गर्दै चुम्बकीय सङ्केत पत्ता लगाउने प्रणाली खोज्ने क्रममा कलेजोमा अप्रत्याशित जैविक सङ्केत फेला पारेको जनाएको छ । अध्ययनअनुसार कलेजोमा रहेका विशेष प्रतिरक्षा कोशिकाहरूले रातो रक्त कोशिका तोड्ने र फलाम भण्डारण गर्ने प्रक्रियामा चुम्बकीय संवेदनसँग सम्बन्धित भूमिका खेल्न सक्ने देखिएको छ ।      बोन विश्वविद्यालयका क्रिश्चियन कुट्र्सका अनुसार ती प्रतिरक्षा कोशिकाहरूलाई अस्थायी रूपमा निष्क्रिय पारिँदा परेवाहरूले आफ्नो मार्ग पहिचान गर्ने क्षमता गुमाएको देखिएको थियो । यसले कलेजोमा रहेको फलाम–सम्बन्धित प्रणालीले दिशाबोधमा भूमिका खेल्न सक्ने बलियो सङ्केत दिएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । अनुसन्धानकर्ताहरूले चराहरूको चुम्बकीय कम्पास विशेषगरी बादलयुक्त अवस्थामा मात्र प्रभावित हुने बताएका छन्, किनभने उनीहरूले सूर्यलाई पनि वैकल्पिक दिशा पहिचान सङ्केतका रूपमा प्रयोग गर्ने गर्छन् ।    वैज्ञानिकहरूले लामो समयदेखि प्रतिरक्षा कोशिकाहरू चुम्बकीय संवेदन प्रक्रियामा संलग्न हुन सक्ने अनुमान गर्दै आएका थिए, तर साइन्स जर्नलमा प्रकाशित यो अध्ययनले त्यसतर्फ पहिलो ठोस संरचनात्मक सङ्केत प्रस्तुत गरेको बताइएको छ ।      अमेरिकाको म्यासाचुसेट्स बोस्टन विश्वविद्यालयका व्यावहारिक पारिस्थितिकीविद् अल्बर्ट काओले अनुसन्धानलाई आश्चर्यजनक भए पनि अर्थपूर्ण रहेको प्रतिक्रिया दिए ।      बोन विश्वविद्यालयकी सह–लेखिका क्लिभिया लिसोभ्स्कीका अनुसार कलेजोका ती प्रतिरक्षा कोशिकाहरू स्नायु तन्तुको नजिक रहेकाले तिनले चुम्बकीय सङ्केतलाई मस्तिष्कसम्म पुर्‍याउने सम्भावना देखिन्छ, जसले परेवाको दिशा पहिचान प्रणालीमा योगदान दिन सक्छ ।      अनुसन्धानकर्ताहरूले मुसाजस्ता अन्य जनावरमा पनि यस्तै प्रकारको चुम्बकीय प्रणाली हुन सक्ने सम्भावना औँल्याएका छन् । तर बाह्य विज्ञहरूले अझै थप प्रमाण आवश्यक रहेको बताउँदै परेवाहरूले चुम्बकीय सङ्केत कसरी मस्तिष्कमा व्याख्या गर्छन् भन्ने विषयमा अनुसन्धान जारी रहनुपर्नेमा जोड दिएका छन् ।      अध्ययनले कलेजोमा सबैभन्दा बलियो सङ्केत भेटिए पनि यस्तै प्रतिरक्षा कोशिकाहरू चराको मुखको भाग (चुच्चो) र शरीरको रोग–प्रतिरोधी प्रणालीसँग सम्बन्धित अन्य अङ्गहरूमा पनि देखिएको उल्लेख गरिएको छ । विशेषज्ञहरूले चुम्बकीय दिशा पहिचानको एकल सिद्धान्त नहुन सक्ने बताउँदै चराहरूले परिस्थितिअनुसार विभिन्न संयन्त्र प्रयोग गर्न सक्ने सम्भावना पनि औँल्याएका छन् । रासस