ईयरबड्स लगाएर सुत्ने बानी छ ? स्वास्थ्यमा पर्न सक्छ यस्तो असर

काठमाडौं । राति गाना, पोडकास्ट, ध्यान (मेडिटेसन) वा ‘ह्वाइट न्वाइज’ सुन्दै ईयरबड्स लगाएर सुत्ने मानिसको संख्या बढ्दो छ । केहीलाई यसरी सुन्दा छिटो निद्रा लाग्छ ।

तर, हरेक रात ईयरबड्स लगाएर सुत्ने बानी स्वास्थ्यका लागि कति सुरक्षित छ ?

विशेषज्ञका अनुसार कहिलेकाहीँ कम आवाजमा केही समय ईयरबड्स प्रयोग गरेर सुत्दा अधिकांश स्वस्थ मानिसमा गम्भीर समस्या नआउन सक्छ । तर, दैनिक रूपमा रातभर ईयरबड्स कानमा राखेर सुत्दा कानको स्वास्थ्यमा असर पर्न सक्छ ।

यसले कानमा संक्रमण, इयरवाक्स जम्मा हुने, दुखाइ र सुनाइ क्षमतामा समेत असर पार्न सक्छ । 

हरेक रात ईयरबड्स लगाएर सुत्नु सुरक्षित छ ?

युनिभर्सिटी अफ रोचेस्टरका अनुसार कहिलेकाहीँ करिब ६० प्रतिशत वा त्यसभन्दा कम आवाजमा छोटो समयका लागि ईयरबड्स प्रयोग गर्नु अधिकांश स्वस्थ व्यक्तिका लागि गम्भीर जोखिम मानिँदैन ।

तर, हरेक दिन रातभर ईयरबड्स लगाएर सुत्दा कानको नलीमा लगातार दबाब पर्न सक्छ ।

यसबाट कानको छालामा जलन हुन सक्छ । कानमा इयरवाक्स जम्मा हुन सक्छ । ब्याक्टेरिया बढ्ने सम्भावना पनि हुन्छ ।

करवट फेर्दा ईयरबड्स कानभित्र दबिन सक्छ । यसले कान दुख्ने वा सामान्य चोट लाग्ने समस्या निम्त्याउन सक्छ । 

सुत्दा कानमा के हुन्छ ?

सुतिरहेको समयमा कान पनि आरामको अवस्थामा हुन्छ ।

लामो समयसम्म ईयरबड्स कानभित्र राख्दा कानको नलीमा हावाको प्रवाह कम हुन सक्छ । त्यसपछि संक्रमणको जोखिम बढ्न सक्छ ।

कानमा धेरै इयरवाक्स बन्ने मानिसमा ईयरबड्सले त्यसलाई अझ भित्र धकेल्न सक्छ । यसले कान बन्द भएको महसुस हुन सक्छ ।

यसका साथै सुनाइ कम हुने वा कानमा असहजता महसुस हुने समस्या पनि देखिन सक्छ । 

ईयरबड्सले कानमा संक्रमण गराउन सक्छ ?

नियमित रूपमा सफा नगरिएका ईयरबड्समा ब्याक्टेरिया र फङ्गस जम्मा हुन सक्छ ।

लामो समयसम्म ईयरबड्स लगाउँदा कानभित्र नमी बढ्छ । यसले बाहिरी कानमा संक्रमण हुने जोखिम बढाउन सक्छ ।

विशेषगरी ‘ओटाइटिस एक्स्टर्ना’ अर्थात् बाहिरी कानको संक्रमणको जोखिम बढ्न सक्छ ।

ईयरबड्स अरूसँग साटेर प्रयोग गर्दा संक्रमणको जोखिम झनै बढ्न सक्छ ।

त्यसैले ईयरबड्स नियमित रूपमा सफा गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । अरूसँग ईयरबड्स साटेर प्रयोग नगर्न पनि उनीहरूको सुझाव छ । 

ईयरबड्सले निद्रा राम्रो बनाउँछ कि बिगार्छ ?

केही मानिसलाई ह्वाइट न्वाइज, मेडिटेसन वा शान्त संगीत सुन्दा निदाउन सजिलो हुन्छ ।

विशेषगरी वरपर धेरै आवाज हुने अवस्थामा यस्ता ध्वनिले आराम महसुस गराउन सक्छन् । तनाव कम गर्न र निदाउन लाग्ने समय घटाउन पनि यसले सहयोग गर्न सक्छ ।

तर, रातभर लगातार अडियो बजिरहँदा भने निद्राको प्राकृतिक चक्र प्रभावित हुन सक्छ ।

त्यस्तै, बारम्बार नोटिफिकेसन आउनु वा आवाज धेरै ठूलो हुनु पनि निद्रामा बाधा बन्न सक्छ । यसले बिहान उठ्दा थकान महसुस हुन सक्छ । 

कसरी सुरक्षित रूपमा प्रयोग गर्ने ?

कहिलेकाहीँ कम आवाजमा छोटो समय ईयरबड्स प्रयोग गरेर सुत्नु अधिकांश मानिसका लागि गम्भीर जोखिम मानिँदैन ।

तर, हरेक रात ईयरबड्स लगाएर सुत्ने बानी छ भने सावधानी अपनाउनुपर्छ ।

ईयरबड्सको आवाज कम राख्नुपर्छ । सम्भव भएसम्म ‘स्लीप टाइमर’ प्रयोग गर्नुपर्छ । ईयरबड्स नियमित रूपमा सफा गर्नुपर्छ ।

रातभर कानमा ईयरबड्स राखिरहनुभन्दा केही समय अडियो सुनेर सुत्नु राम्रो विकल्प हुन सक्छ ।

कानमा दुखाइ, चिलाउने, पानी आउने, कान बन्द हुने वा सुनाइमा कमी जस्ता समस्या देखिएमा आफैं औषधि प्रयोग गर्नु हुँदैन ।

यस्तो अवस्थामा कान, नाक तथा घाँटी (ईएनटी) विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ ।

Share News