विकासन्युज

नेशनल लाइफको ब्रान्च मेनेजर्स कन्फरेन्स सम्पन्न, एआई र डिजिटल मार्केटिङमा जोड

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चारदिने ‘ब्रान्च मेनेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेष्ट रिसोर्टमा सम्पन्न भएको छ । ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजित सम्मेलनमा व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको थियो । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा आयोजित कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको बताइन् । प्रतिस्पर्धामा अब्बल बन्न कर्मचारीले आफूलाई सोहीअनुसार तयार गर्नुपर्ने उनको भनाइ थियो । उनले कर्मचारीको क्षमता अभिवृद्धिका लागि कम्पनीले आवश्यक तालिम तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको बताइन् । पछिल्लो समय विश्वभर चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जीवन बीमा क्षेत्रमा ठूलो योगदान पुर्‍याउन सक्ने भन्दै उनले एआईसम्बन्धी ज्ञानलाई डिजिटल मार्केटिङमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् । कम्पनीले कर्मचारीको वृत्ति विकासका लागि मानव संसाधनमा निरन्तर लगानी गर्दै आएको उनले बताइन् । आगामी दिनमा पनि कर्मचारीको अधिकतम प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढ्ने विश्वास उनले व्यक्त गरिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै नयाँ आर्थिक वर्षसँगै नयाँ यात्रा, संकल्प र अवसरको सुरुवात भएको बताए । उनले नयाँ आर्थिक वर्ष केवल क्यालेन्डर परिवर्तनको दिन नभई सोच, प्रतिबद्धता र भविष्यलाई थप उचाइमा पुर्‍याउने अवसर भएको बताए । सम्मेलनमा कम्पनीका विभागीय प्रमुखसहित देशभरका प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए । जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरण हुने सम्भावना बढ्दै गएको भन्दै उनले कम्पनीमा कार्यरत सबै तहका कर्मचारीलाई यस विषयमा चनाखो र जिम्मेवार भएर काम गर्न आग्रह गरे । त्यस्तै, एआईसम्बन्धी प्रशिक्षक विश्वराज पौडेलले कर्मचारीलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी प्रशिक्षण दिएका थिए । उनले विभिन्न एआई टुल्सबारे जानकारी दिँदै यसको प्रयोगबाट बीमा व्यवसायको डिजिटल मार्केटिङलाई प्रभावकारी बनाउन सकिने उपायबारे प्रशिक्षण दिए । श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तारका चुनौती र व्यावसायिक सफलता हासिल गर्ने उपायबारे प्रशिक्षण दिएका थिए । उनले बजार विस्तार, व्यवसाय वृद्धि तथा प्रतिस्पर्धामा सफल हुने उपायबारे विभिन्न व्यावहारिक उदाहरण प्रस्तुत गरेका थिए । सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८२/८३ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको थियो । त्यस्तै, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन र बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । चेयरपर्सन क्लब र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एक–एक शाखा कार्यालयलाई समेत सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष सिंहले उत्कृष्ट शाखा कार्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरेकी थिइन् । सम्मेलनमा कर्मचारीको क्षमता विकाससँगै मनोरञ्जन र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि आयोजना गरिएको थियो । पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरेका थिए । चारदिने सम्मेलनले कम्पनीको आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच आपसी समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

दूधखोला जलविद्युत आयोजनामा एनएमबी र सानिमा बैंकले १० अर्ब लगानी गर्ने

काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएपछि आयोजना निर्माणको बाटो खुलेको हो । सम्झौताअनुसार आयोजनामा लिड बैंकका रूपमा रहेको एनएमबी बैंकले ६ अर्ब ८१ करोड रुपैयाँ र सहायक बैंकका रूपमा रहेको सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन् । दुई बैंकले आयोजनामा कुल १० अर्ब १ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । मनाङमा निर्माण हुने आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । प्रति मेगावाट लागत २० करोड रुपैयाँभन्दा कम रहेकाले आयोजनालाई आकर्षक मानिएको कम्पनीले जनाएको छ । बैंकहरूको लगानीबाहेक आवश्यक रकम प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ । वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै तत्काल आयोजना निर्माणको काम अघि बढाउने कम्पनीको तयारी छ । निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य कम्पनीले लिएको छ । माउण्टेन इनर्जीले यसअघि निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना र ५ मेगावाट क्षमताको ताँदीखोला जलविद्युत् आयोजनाबाट हाल नियमित रूपमा विद्युत् उत्पादन भइरहेको छ ।

ठगीधन्दामा टिकटकको ‘लक्ष्मी कलेक्सन’, सामान किन्न खोज्दा बैंक खातै रित्तियो

काठमाडौं । सामाजिक सञ्जालमा आकर्षक सामानको विज्ञापन देखाई ग्राहकलाई ह्वाट्सएपसम्म पु‍र्याउने र त्यसपछि बैंक खातामै पहुँच बनाएर रकम निकाल्ने ठगीको जोखिम बढ्दै गएको छ । यस्तै घटनामा ‘लक्ष्मी कलेक्सन स्टोर’ नामक टिकटक अकाउन्टबाट सामान खरिद गर्न लागेका केही उपभोक्ता ठगीमा परेको भन्दै प्रहरीमा पुगेका छन् । महिला तथा बालबालिकालाई लक्षित कपडा, जुत्ता लगायतका सामग्रीका १७३ वटा भिडियो पोस्ट गरिएको उक्त टिकटक अकाउन्टमा भिडियोमा न आवाज सुनिन्छ, न अनुहार देखिन्छ।  भिडियोको शैली हेर्दा एआईबाट निर्मित सामग्रीजस्तो देखिए पनि हजारौं उपभोक्ताले ती भिडियोको कमेन्टमा सामान खरिदबारे जिज्ञासा राखेको देखिन्छ । ग्राहकको जिज्ञासामा स्टोरको तर्फबाट अधिकांश अवस्थामा ह्वाट्सएप नम्बरमात्र उपलब्ध गराइएको पाइएको छ। ह्वाट्सएपबाट सम्पर्क गरी सामान खरिद गर्ने भन्दै रकम पठाएका केही ग्राहक पछि ठगीमा परेका हुन् । नवलपरासी पूर्वको हुप्सेकोटकी नानुमाया विक पनि यही जालोमा परेको उजुरीमा उल्लेख छ ।  उनले उक्त स्टोरले दिएको माध्यमबाट सामान खरिदका लागि रकम पठाइन् । तर, सामान नआएपछि उनले स्टोरमा गुनासो गरिन् । स्टोरले रकम प्राप्त नभएको भन्दै बैंक स्टेटमेन्ट पठाउन भन्यो । उनले विश्वास गरेर बैंक स्टेटमेन्ट पठाएपछि त्यसमा रहेको विवरण प्रयोग गरी उनको बैंक खाताबाट रकम निकालिएको पाइएको छ । यसरी उनको खातामा रहेको रकम नै निकालिएको उजुरीमा उल्लेख छ ।  काठमाडौंको बौद्धका छिरिङ लिम्जोम लामा पनि यही स्टोरको सम्पर्कमा पुगेपछि ठगीमा परेको प्रहरीले जनाएको छ । दुवैजनाले प्रहरीमा उजुरी दिएका छन् । तर, उनीहरूको रकम फिर्ता हुने वा नहुनेबारे यकिन भइसकेको छैन । अनलाइन खरिद गर्दा केमा ध्यान दिने ? सामाजिक सञ्जालमा देखिएको विज्ञापनकै आधारमा अनलाइनबाट सामान खरिद गर्दा उपभोक्ता थप सचेत हुनुपर्छ । सामान खरिद गर्नुअघि बिक्रेताको वास्तविक पहिचान, व्यवसाय सरकारी निकायमा दर्ता भए/नभएको तथा आधिकारिक सम्पर्क विवरण जाँच गर्नु पर्दछ । अनलाइन कारोबार गर्दा अपरिचित व्यक्तिले पठाएका लिंकमा क्लिक नगर्न, ओटीपी, बैंकिङ पासवर्ड, कार्डसम्बन्धी विवरण तथा अन्य संवेदनशील व्यक्तिगत जानकारी कसैलाई पनि उपलब्ध नगराउन प्रहरीले समेत आग्रह गर्दै आएको छ । सामान खरिद गर्दा आधिकारिक विक्रेताबाट बिल लिनु पनि महत्त्वपूर्ण हुन्छ । २५० रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गर्दा प्यान वा भ्याट नम्बर उल्लेख भएको बिल लिने उपभोक्तालाई सरकारले प्रोत्साहन गर्ने व्यवस्था समेत गरेको छ । त्यसैले सामाजिक सञ्जालमा देखिएको आकर्षक विज्ञापनकै भरमा सामान खरिद गर्नुको सट्टा बिक्रेताको आधिकारिकता जाँच गर्ने, सुरक्षित माध्यमबाट भुक्तानी गर्ने र अनिवार्य रूपमा बिल लिने गर्नुपर्दछ । हेर्नूहोस् भिडियो :

सेयर बजार ९ अंकले घट्यो, साढे ३ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २६४१ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  सोमबार ३५२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोको भएको छ । सोलुको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिडि पावरको २९ करोड, फस्ट माइक्रो फाइनान्सको १२ करोड, सप्तकोशी डेभलपमेन्टको ९ करोड र आँखु खोलाको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज ४ वटा उपसमूहको सूचक बढेको छ । हाइड्रोपावर ०.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत, माइक्रोफाइनान्स ०.१९ प्रतिशत र नन लाइफ इन्स्योरेन्स ०.०४ प्रतिशत बढेको छ ।   

एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको सम्मान

काठमाडौं । ललितपुर महानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।  महानगर प्रमुख चिरीबाबु महर्जनले ८२ जना विद्यार्थीलाई सम्मान स्वरूप नगद प्रदान गरेका हुन् । नगदसहित सम्मानित हुने विद्यार्थीहरूमा सामुदायिकबाट ७ र संस्थागत तर्फबाट ७५ जना रहेका छन् । सम्मानित हुने सामुदायिक विद्यालयले चार लाख प्राप्त गरेको छ भने सम्मानित विद्यार्थीले जनही दुई लाख प्राप्त गरेका छन् ।  त्यस्तै, संस्थागत विद्यालयका विद्यार्थीले जनही २ लाख रूपैयाँ प्राप्त गरेका छन् भने विद्यालयले सम्मान स्वरूप प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रममा सामुदायिकबाट ४ र संस्थागतबाट २३ विद्यालयलाई सम्मान गरेको छ । संस्थागतबाट जेम्स स्कुलका सबैभन्दा धेरै १७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । त्यस्तै,  सेन्ट जेभियर्स माविका ८ जनाले ४ जिपिए ल्याएका छन् ।  ४ जीपिए ल्याउने संस्थागत विद्यालयहरूमा  रातो बङ्गला, ओमेगा इन्टरनेशनल, लिटिल एन्जल्स, आदर्श विद्या मन्दिरलगायत छन् ।  सम्मानित हुनेमा सामुदायिक विद्यालयहरूमा  श्री आदर्श शौल युवक माध्यमिक विद्यालय, श्री त्री पदमा विद्याश्रम माध्यमिक विद्यालय, श्री प्रभात माध्यमिक विद्यालय, श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालय रहेका छन् । सामुदायिक विद्यालयबाट ३.९५ जीपीए ल्याएपनि उनीहरूलाई ४ जीपीएसरह सम्मान गरेको महानगरले जनाएको छ ।  विद्यालय र विद्यार्थीले सम्मान गदै  महानगरका प्रमुख महर्जनले विद्यार्थी र विद्यालयलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । एसईईमा ४ जीपीए ल्याउने विद्यालय

हरि ढकाललाई सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ?

काठमाडौं । नेकपा (एमाले)की सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सत्तारूढ दलका सांसद हरि ढकालको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद घतानीले आपत्ति जनाएकी हुन् । सांसद ढकालले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सिंहदरबारको नाम परिवर्तन गरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने तर्क गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै सांसद घतानीले ‘सिंहदरबार जलाउनु नै पर्याप्त भएन र ?’ भन्दै प्रश्न गरिन् । उनले सिंहदरबारको इतिहास मेटाउने चलखेल बन्द गर्नसमेत चेतावनी दिइन् । सांसद घतानीले जनतामा बढ्दो निराशाप्रति सरकार गम्भीर नबनेको आरोप लगाइन् । उनले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सहकारीपीडितको बचत फिर्ताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् । किसानलाई रासायनिक मल र बजार उपलब्ध गराउन तथा युवालाई रोजगारी र व्यापारीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन पनि उनले सरकारसँग माग गरिन् । उनले भनिन्, ‘जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ ? प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस् । ग्यासको अभाव तत्काल समाधान गरियोस् । स्वास्थ्य बीमा कार्यक्रम पुनः प्रभावकारी बनाइयोस्, ताकि गरिब तथा विपन्न नागरिक उपचारबाट वञ्चित हुन नपरोस् ।’  सांसद घतानीले सुकुम्बासी, सहकारीपीडित, किसान, शिक्षक, दलित र युवाका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताइन् । ‘सबैको एउटै प्रश्न छ– सरकार हामीलाई कहिले देख्छ ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले पाउने ? अन्त्यमा सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र ? अब यसको नाम मेटाएर यसको इतिहास नै मेटाउने चलखेल हुँदैछ । बन्द गरियोस्,’ उनले भनिन् । जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको छ भन्ने प्रश्न सांसद घतानीले सरकारसमक्ष राखेकी छन् ।

यी हुन् अर्थमन्त्रीले पत्याएका ठूला करदाता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार (आज) नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीसँग छलफल गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूका प्रतिनिधिसँग उनले अर्थमन्त्रालयमा छलफल गरेका हुन् । ठूला करदाता तथा उद्योगी–व्यवसायीहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी गर्न, उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरे । ‘नेपालमा अझ ठूलो लगानी गर्नूहोस् । भएका उद्योग विस्तार गर्नूहोस् । नयाँ उत्पादनमा प्रवेश गर्नूहोस् । नयाँ प्रविधि भित्र्याउनूहोस् र नयाँ रोजगारी सिर्जना गर्नूहोस्,’ उनले भने, ‘सरकार तपाईंहरूको साथमा उभिनेछ ।’ सबैभन्दा धेरै कर तिर्ने बहुराष्ट्रिय कम्पनी: एनसेल आरती स्ट्रिप्स प्रालि गोर्खा ब्रुअरी प्रालि हिमालय एयरलाइन्स होङ्शी शिवम् सिमेन्ट डुसान इनरबिलिटी कम्पनी लिमिटेड डाबर नेपाल बोटलर्स नेपाल (तराई) लिमिटेड यूनिलिभर नेपाल लिमिटेड एशियन पेन्टस (नेपाल) प्रालि पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना गोर्खा लहरी प्रालि ह्वासिन सिमेन्ट नारायणी प्रालि न्यू होप एग्रो बिजनेस नेपाल प्रालि नेपाल वेलहोप एग्रिटेक प्रालि वरुण वेभरेज नेपाल प्रालि टर्किस एयरलाइन्स ईन्कर्पोरेसन प्रालि भोटेकोशी पावर कम्पनी प्रालि बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन् ।  यस्तै, उनले नेपालका ‘क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् । करदातालाई अर्थमन्त्रीले भने- अझै ठूलो लगानी गर्नूहोस्, सरकार साथमा छ

प्रधानमन्त्रीलाई सांसद काउचाले भनिन्– कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र साहलाई विधि, लोकतान्त्रिक मूल्यमान्यता, संविधान र संसदीय मर्यादालाई कमजोर पार्ने कार्य नगर्न आग्रह गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । उनले मुलुकको हितमा सरकारले चाल्ने हरेक कदममा प्रतिपक्षको साथ रहने बताइन् । तर, लोकतान्त्रिक व्यवस्था र संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा प्रतिपक्ष मौन बस्न नसक्ने उनको भनाइ छ । सांसद काउचाले प्रधानमन्त्री सत्तापक्षको मात्रै नभई सबै नेपालीको प्रधानमन्त्री भएको उल्लेख गरिन् । संसद्मा दैनिक उठिरहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको राजनीतिक साखमा असर पारेकोतर्फ पनि उनले ध्यानाकर्षण गराइन् । प्रधानमन्त्री साहको फेसबुक स्टाटसलाई लक्षित गर्दै उनले प्रधानमन्त्री एक्लै नरहेको बताउँदै ‘कालो चस्मा खोल्न’ आग्रह गरिन् । संसद्को अभिलेखमा रहेको सीमासम्बन्धी विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्नसमेत गरिन् । उनले भनिन्, ‘म यो सदनबाट प्रधानमन्त्रीज्यूलाई स्पष्टसँग भन्न चाहन्छु, कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता, संविधान, संसदीय मर्यादा र अभ्यास तथा संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न सक्दैन । प्रधानमन्त्रीज्यू, तपाईं मान्नुस् या नमान्नुस्, तपाईं सत्तापक्षको मात्रै प्रधानमन्त्री होइन ।’ उनले प्रतिपक्षले प्रधानमन्त्रीको अपमान नगरेको बताइन् । ‘हामी तपाईंको ओझ घटाउन होइन, अझै बढाउन खोजिरहेका छौँ,’ उनले भनिन् । प्रधानमन्त्रीको पछिल्लो कार्यशैलीका कारण मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठामाथि प्रश्न उठ्नु दुःखद् भएको उनको भनाइ थियो । सांसद काउचाले प्रतिपक्षले सरकारको घेराबन्दी गर्न नभई सरकारलाई जवाफदेही बनाउन खोजिरहेको पनि स्पष्ट पारिन् ।