अब पुँजीगत कर नै अन्तिम कर

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने घोषणा गरेका छन्। बजेट सार्वजनिक गर्दै उनले सेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकर अब अन्तिम करका रूपमा गणना हुने बताएका हुन्।

सरकारको यो व्यवस्थासँगै पुँजी बजारका लगानीकर्तालाई कर प्रणालीमा थप स्पष्टता आएको अपेक्षा गरिएको छ। यसअघि पुँजीगत लाभकरको व्याख्या र कर समायोजनका विषयमा विभिन्न तहमा बहस हुँदै आएको थियो। नयाँ व्यवस्थाले लगानीकर्ताको कर दायित्व स्पष्ट पार्नुका साथै कर प्रशासनलाई पनि सरल बनाउने विश्वास सरकारको छ।

अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माण, पुँजी बजारको विस्तार र कर प्रणालीलाई थप सहज बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए। बजारसँग सम्बन्धित सरोकारवालाले यसलाई लगानीकर्ताका लागि सकारात्मक नीतिगत सन्देशका रूपमा हेरेका छन् । 

Share News