काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिने नीतिगत व्यवस्था घोषणा गरेका छन्। बजेट प्रस्तुत गर्दै उनले तोकिएको कानुनी व्यवस्था र मापदण्डभित्र रही नेपाली नागरिक तथा कम्पनीले विदेशमा लगानी गर्न सक्ने बाटो खुला गरिएको बताएका हुन्।
सरकारको यो घोषणासँगै नेपाली लगानीकर्ताले पहिलोपटक विदेशमा व्यवसाय विस्तार, कम्पनी स्थापना वा पुँजी लगानीका लागि कानुनी अवसर पाउने भएका छन्। यसलाई नेपाली निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र लगानीको दायरा विस्तार गर्ने कदमका रूपमा हेरिएको छ।
अर्थमन्त्री वाग्लेले विदेशी बजारमा नेपाली व्यवसायको पहुँच बढाउने, प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने तथा अन्तरदेशीय लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए। बजेटमा यसको कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत प्रबन्ध क्रमशः अघि बढाइने पनि उल्लेख गरिएको छ।