काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टी भित्रको आन्तरिक विवादको विषयमा छलफल गर्न राष्ट्रिय भेला बोलाएको छ । उक्त पक्षले विशेष महाधिवेशनसँग जोडिएको कानुनी तथा राजनीतिक प्रश्न र आगामी कार्यदिशाबारे पनि साझा धारणा बनाउन राष्ट्रिय भेला आयोजना बोलाएको हो ।
भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना हुने जनाइएको हो ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूको अगुवाइमा हुन लागेको भेलामा पार्टीको तल्लो तहदेखि केन्द्रीय तहसम्मका नेता तथा प्रतिनिधिलाई सहभागी गराउने तयारी रहेको पूर्वप्रवक्तासमेत रहेका नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
भेलामा कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने जनाइएको छ । देउवा करिब पाँच महिनापछि साउन २८ गते मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ ।
स्वदेश फर्किएको भोलिपल्टदेखि सुरु हुने भेलामा उनको सहभागितालाई कांग्रेसभित्रको बदलिँदो शक्ति समीकरणका दृष्टिले समेत महत्त्वका साथ हेरिएको छ ।
संस्थापनइतर पक्षले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेटेर यसअघि नै सातै प्रदेशमा भेला तथा छलफल गरिसकेको छ । प्रदेशस्तरबाट आएका सुझाव र पार्टीभित्रको पछिल्लो अवस्थालाई समेटेर राष्ट्रिय भेलाबाट आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे साझा धारणा बनाउने तयारी गरिएको नेता महतले जानकारी दिए ।
राष्ट्रिय भेलामा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संयोजक कोइरालाले सातै प्रदेशका सभापतिलाई औपचारिक निम्तो पठाएको नेताहरूले बताएका छन् ।
कोइरालाले पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्न आयोजित भेलामा सहभागी हुन आग्रह गर्दै साउन २२ गते प्रदेश सभापतिहरूलाई पत्र पठाएका हुन् ।
यसअघि संस्थापनइतर पक्षका भेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका सभापतिमात्रै सहभागी हुँदै आएका थिए । अन्य प्रदेशका सभापतिहरू संस्थापन पक्षसँग नजिक रहेकाले संस्थापनइतर पक्षले आयोजना गरेका कार्यक्रममा उनीहरूको सहभागिता देखिँदैनथ्यो ।
यसपटक भने सातै प्रदेशका सभापतिलाई औपचारिक निम्तो पठाएर कांग्रेसका सबै पक्षलाई एउटै मञ्चमा ल्याउने प्रयास गरिएको अर्का नेता जितजंग बस्नेतले जानकारी दिए ।
प्रदेश सभापतिहरूको सहभागिताले भेलालाई पार्टीको एउटा समूहको कार्यक्रमभन्दा व्यापक राजनीतिक छलफलको स्वरूप दिने अपेक्षा संस्थापनइतर पक्षको छ ।
कोइरालाले राष्ट्रिय भेलामा पार्टीका विभिन्न तह र पुस्ताका नेताहरूलाई सहभागी गराउने तयारी गरेका छन् ।भेलामा गाउँ र नगर सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापति र जिल्ला सभापति सहभागी हुने जनाइएको छ ।
महतका अनुसार पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, पूर्वमन्त्री तथा पूर्वपदाधिकारीलाई समेत भेलामा सहभागी हुन आग्रह गरिएको छ ।
राष्ट्रिय भेलाका लागि आवश्यक तयारी अघि बढाउन संयोजक कोइरालाले विभिन्न समिति गठन गरिसकेका छन् । स्रोतका अनुसार भेलामा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन तयार पार्ने कामसमेत अघि बढाइएको छ ।
‘प्रतिवेदनमा पार्टीको पछिल्लो राजनीतिक तथा सांगठनिक अवस्था, विशेष महाधिवेशनपछि विकसित परिस्थितिको समीक्षा, पार्टीभित्रको एकताको आवश्यकता र आगामी कार्यदिशालगायत विषय समेट्ने तयारी छ,’ स्रोतले भन्यो ।
प्रदेशस्तरीय भेलाबाट प्राप्त सुझावलाई समेत राष्ट्रिय भेलाको राजनीतिक प्रतिवेदनमा समेटिने स्रोतको दाबी छ ।
कांग्रेसको विशेष महाधिवेशनसँग सम्बन्धित विवादका बीच सर्वोच्च अदालतले उक्त मुद्दामा पुनरावलोकनका लागि अनुमति दिएपछि राष्ट्रिय भेलाको राजनीतिक महत्त्व थप बढेको छ । विशेष महाधिवेशनसम्बन्धी मुद्दामा सर्वोच्चले पुनरावलोकनको अनुमति दिएसँगै विवादित विषयमा अदालतबाट पुनः सुनुवाइ हुने अवस्था बनेको हो।
विशेष महाधिवेशनको प्रक्रिया र त्यसबाट उत्पन्न राजनीतिक तथा संगठनात्मक विवादका विषयमा अदालतको अन्तिम निर्णयलाई कांग्रेसका दुवै पक्षले चासोका साथ हेरिरहेका छन् । यही पृष्ठभूमिमा हुन लागेको राष्ट्रिय भेलामा विशेष महाधिवेशनसम्बन्धी विवादबारे समेत छलफल हुने तयारी छ ।
पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री देउवा राष्ट्रिय भेलामा सहभागी हुने भएपछि कांग्रेसभित्र यसको राजनीतिक अर्थबारे समेत चर्चा सुरु भएको छ ।
देउवा करिब पाँच महिनापछि साउन २८ गते नेपाल फर्किँदैछन् । उनी स्वदेश फर्किएको भोलिपल्टै संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु हुनेछ ।
विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आयोजना गरेको भेलामा देउवाको सहभागिताले पार्टीभित्र संवाद र सहकार्यको सम्भावना बढाउन सक्ने संस्थापनइतर पक्षका नेताहरूको बुझाइ छ ।
यद्यपि देउवाको सहभागिता कुन भूमिकामा हुनेछ र भेलामा उनले गर्ने सम्बोधनले कांग्रेसको आगामी आन्तरिक राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई समेत महत्त्वका साथ हेरिएको छ ।
संयोजक कोइरालाले भेलाको मुख्य उद्देश्य पार्टीभित्रको एकता कायम गर्दै कांग्रेसको भावी राजनीतिक तथा सांगठनिक कार्यदिशा तय गर्नु रहेको बताएका छन् । विशेष महाधिवेशनपछि बढेको आन्तरिक विवाद, नेतृत्वबीचको दूरी, संगठनको अवस्था र आगामी राजनीतिक चुनौतीबारे भेलामा छलफल हुने तयारी रहेको डा कोइरालाले बताएका छन् ।
संस्थापनइतर पक्षले पार्टी विभाजन वा थप ध्रुवीकरणको बाटोमा जानुभन्दा सबै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध बनाउने विषयलाई प्राथमिकतामा राखेको दाबी गरेको छ । तीन दिनसम्म चल्ने भेलाले पार्टीको आगामी रणनीति र नेतृत्वसँग सम्बन्धित विषयमा साझा धारणा निर्माण गर्ने अपेक्षा गरेको विश्लेषकहरू बताउँछन्।
राजनितिक विश्लेषक परसुराम घिमिरेका अनुसार भेला विशेष महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको, पार्टीभित्र शक्ति सन्तुलन परिवर्तनको कारक बन्न सक्छ ।
उनका अनुसार सातै प्रदेशका नेता तथा प्रतिनिधिलाई एउटै मञ्चमा ल्याउने तयारी भइरहेका बेला हुन लागेको यो भेलालाई कांग्रेसको आगामी आन्तरिक राजनीतिका लागि महत्त्वपूर्ण घटना हो ।
भेलामा देउवासहित विभिन्न तहका नेताहरूको सहभागिता, प्रस्तुत हुने राजनीतिक प्रतिवेदन र त्यसबाट तय हुने भावी कार्यदिशाले कांग्रेसको आगामी राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने देखिएको छ ।