पाँच महिनापछि स्वदेश फर्किँदै देउवा, विमानस्थलमा भव्य स्वागतको तयारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयपछि आगामी बिहीबार (साउन २८ गते) स्वदेश फर्किँदैछन् ।

करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका देउवाको स्वागतका लागि कांग्रेसका नेता कार्यकर्ताले विमानस्थलमा ठूलो उपस्थिति देखाउने तयारी गरेको नेताहरूले बताएका छन् ।

देउवा स्वदेश फर्किने भएपछि उनको स्वागतका लागि कांग्रेसको इतर पक्षले संस्थागत रूपमै नेता कार्यकर्तालाई विमानस्थल पुग्न आह्वान गरेको छ । 

देउवा मध्यान्ह साढे १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिने जनाइएको छ । उनी काठमाडौं उत्रिनु अगाडि नै नेता तथा कार्यकर्तालाई विमानस्थल पुग्न आग्रह गरिएको कांग्रेस नेता जितजंग बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार देउवाको स्वागतका लागि कांग्रेसका हजारौं नेता/कार्यकर्ता विमानस्थल पुग्ने तयारीमा रहेका छन् । 

लामो समयपछि देउवा स्वदेश फर्किन लागेकाले उनको स्वागतलाई विशेष बनाउने तयारी गरिएको उनले बताए ।

देउवा पछिल्लो समय लामो समयदेखि स्वदेशबाहिर रहँदै आएका थिए । यसबीचमा कांग्रेसभित्र पार्टीको आन्तरिक विवाद, विशेष महाधिवेशनको बहस तथा नेतृत्व र संगठनसम्बन्धी विषयमा तीव्र राजनीतिक गतिविधि भइरहेका छन् । 

देउवा स्वदेश फर्किन लागेसँगै कांग्रेसको आन्तरिक राजनीतिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ।

कांग्रेस संस्थापनइतर पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किन लागेका हुन् । उक्त भेलामा देउवा पनि सहभागी हुने बताइएको छ ।

Share News