विकासन्युज

म्यानमारले इन्धन आपूर्ति सहज हुन थालेपछि यातायातको जोर-बिजोर प्रणाली हटायो

काठमाडौं । इन्धन संकट चुलिएपछि सवारीसाधनमा कोटा तोकेको म्यानमारले झण्डै छ महिना लामो ‘जोर-बिजोर’ प्रणाली औपचारिक रूपमा अन्त्य गरेको छ । बजारमा इन्धन आपूर्ति र दैनिक खपत सामान्य लयमा फर्किएको भन्दै त्यहाँको सरकारले नम्बर प्लेटका आधारमा सडकमा लगाइएको आवागमन प्रतिबन्ध सेप्टेम्बर ९ देखि खारेज गरेको हो । मध्यपूर्वमा चर्किएको द्वन्द्व र त्यसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पारेको असरका कारण म्यानमारले गत मार्च महिनादेखि सवारीसाधनमा जोर-बिजोर नियम लगाएको थियो । इन्धनको अत्यधिक खपत रोक्न र देशभित्रको मौज्दात जोगाउन सरकारले सवारीसाधनलाई आलोपालो र दिनमा मात्र सडकमा गुडाउन अनुमति दिएको थियो । सरकारको यो नियमका कारण लामो समयदेखि सार्वजनिक यातायात अस्तव्यस्त हुनुका साथै उद्योग-कलकारखाना र आपूर्ति शृंखला नराम्ररी प्रभावित हुँदै आएको थियो । राष्ट्रपति कार्यालयले दिएको सूचनामा इन्धनको आपूर्ति र मौज्दात स्थिर विन्दुमा आइपुगेकाले नागरिकको दैनिक आवागमन सहज बनाउन र आर्थिक गतिविधिलाई बिनाअवरोध चलायमान राख्न जोर(बिजोर नियम हटाउने निर्णय गरिएको उल्लेख छ । यस निर्णयले लामो समयदेखि यात्रामा सास्ती भोगिरहेका सर्वसाधारण र ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने बाताइएको छ ।   सवारी आवागमन पूर्ण रूपमा खुला गरिए पनि इन्धन भर्ने पम्पहरूमा भने सरकारी नियन्त्रण अझै खुकुलो बनाइएको छैन । इन्धनको दुरुपयोग, कालोबजारी र अनावश्यक भण्डारण रोक्न जोर-बिजोरसँगै सुरु गरिएको ‘क्युआर कोड’ मा आधारित वितरण प्रणालीलाई भने सरकारले यथावत् राखेको छ । यसको अर्थ, सवारीधनीले अब सडकमा जुनसुकै दिन गाडी निकाल्न पाए पनि पेट्रोल पम्पबाट इन्धन खरिद गर्दा भने डिजिटल प्रणालीमार्फत तोकिएको कोटा र प्रक्रियाभित्रै रहनुपर्नेछ ।

सशस्त्रमा ६ सय ६६ जनाका लागि जागिर खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६ सय ६६ जनालाई भर्ना गर्ने भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले सूचना जारी गर्दै सशस्त्र प्रहरी जवानसहित विभिन्न पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार सशस्त्र प्रहरी जवान ६ सय ४ जना, भान्से ३८ जना, कुचिकार ८ जना, सूचीकार ६ जना, केशकर्तक ७ जना, चर्मकर्मी २ जना र माली १ जनाका लागि दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।   

बेनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ २६ गते अन्तिम दिन रहेको छ । गत भदौ २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता विदेशमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ८ करोड ६३ लाख २० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

१५० ठाउँको घरजग्गा बेच्दै ज्योति विकास बैंक

काठमाडौं । ज्योति विकास बैंकले गैरबैंकिङ सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको विभिन्न स्थानका जग्गा बिक्री गर्न लागेको हो । बैंकले विभिन्न स्थानमा रहेका १५० कित्ता घरजग्गा बिक्रीमा राखेको जनाएको छ । बैंकका अनुसार झापा, मोरङ, महोत्तरी, रुपन्देही, धनुषा, प्युठान, बर्दिया, नवलपरासी, स्याङ्जा, चितवन, तनहुँ, नुवाकोट, कैलाली, काठमाडौं, ललितपुर, कास्की, सर्लाही र बाराका विभिन्न स्थानमा रहेका जग्गा बिक्री गरिनेछ । बैंकले बिक्रीमा राखिएका जग्गा खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएको छ ।

एशियन कंक्रिटोले ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  लाभांश पारित गर्न कम्पनीले असोज २१ गते दिउँसो साढे १२ बजे नवलपरासीको रामग्राम नगरपालिका–१६ स्थित कम्पनीको कार्यालयमा वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, सञ्चालक समितिबाट गरिएको सञ्चालक नियुक्तिलाई अनुमोदन गरी नयाँ सञ्चालक लगत तयार पारेर अभिलेखका लागि पेस गर्ने, कम्पनी सचिव नियुक्त गर्ने तथा सञ्चालक समितिका पदाधिकारीहरूको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । गत आर्थिक वर्ष २०८२/८३ को सीमाभन्दा बढी गरिएको चन्दा खर्च अनुमोदन गर्ने प्रस्तावसमेत सभामा रहेको छ । त्यसैगरी, चुक्ता पुँजी तथा सञ्चित मुनाफाको कुल रकमभन्दा बढी ऋण लिएको विषय अनुमोदन गर्ने तथा कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेपछि संशोधित प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए बमोजिम सञ्चालक समितिको संरचना परिवर्तन गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ । 

३० प्रतिशत लाभांश बाँड्ने सिद्धार्थ क्यापिटलको घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते अपरान्ह ५ बजे काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा १५औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिएको ५ लाख ४ हजार ४७ रुपैयाँ अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुने कम्पनी सचिव मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

आज प्रतिनिधिसभा र ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आज प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक पनि बस्दैछ । संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ । समितिले छलफलका लागि अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव लगायतलाई बोलाएको छ । यस्तै, बिहान साढे ९ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाढी प्रभावित क्षेत्र, राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई यौन शोषण, हिंसा, दुर्व्यवहार तथा सबै प्रकारका उत्पीडनबाट संरक्षण गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत भएका क्षति, उद्धार, राहत एवं पुनःस्थापनासम्बन्धी कार्य, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। छलफलका लागि समितिले स्वास्थ्यमन्त्री तथा मन्त्रालयका सचिवलाई बोलाएको छ । दिउँसो सवा १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वव्यापी जलवायु परिवर्तनका कारण हालै नेपालमा परेको गम्भीर क्षति तथा निकट भविष्यमा हुने जलवायु परिवर्तन सम्मेलनलगायत अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका सम्बन्धमा विषय विज्ञ तथा सरोकारवाला संघसंस्थासँग छलफल गर्ने कार्यसूची छ । यस्तै, दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । यसैगरी, दिउँसो साढे १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता कार्यान्वयन एवं सबलीकरणका सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर आज कुशेऔँशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्याइएको कुश राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आज घरमा भित्र्याइएको कुश वर्षभर हुने देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ । पितृसम्मान दिवस कुशेऔँशीका अवसरमा आज छोराछोरीले परम्पराअनुसार आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्छन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने परम्परा छ । आजका दिन विशेषगरी काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । उत्तरगया भनेर चिनिने यस क्षेत्रमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसीका नामले समेत चिनिन्छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँशीका अवसरमा मेला लाग्ने गर्छ । दिवङ्गत बाबुको नाममा तर्पण, सिदादान तथा पिण्डदान गर्न भक्तजन वेत्रावती पुग्ने गर्छन् । यस वर्ष भोटेकोशीमा आएको बाढीका कारण वेत्रावतीमा मेला लाग्ने-नलाग्ने निश्चित भइसकेको छैन । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन छोराछोरीले जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद लिएमा सुख प्राप्त हुने विश्वास छ । बाबु परलोक भइसकेकाले गोकर्ण वा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य प्राप्त हुनुका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख रहेको बताइन्छ । आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल प्राप्त हुने धार्मिक विश्वास भएकाले यस पर्वलाई पुण्य पर्वका रूपमा लिइन्छ ।