विकासन्युज

इरान युद्धमा ट्रम्पको अडान–‘पछुतो छैन, फेरि पनि आक्रमण गर्नसक्छु’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन् । उनले फेरि यस्तो अवस्था आएमा पनि आफूले अहिले गरेकै काम दोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएका छन् । बिहीबार अमेरिकामा फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमसँग कुरा गर्दै ट्रम्पले मध्यावधि निर्वाचनमा असर पर्ने भए पनि आफूले इरानमाथि आक्रमण गर्ने बताएका हुन् । इन्ग्राहमले ट्रम्पलाई ‘यदि इरानविरुद्ध युद्ध सुरु नगरेको भए अहिले मध्यावधि निर्वाचनमा तपाईं सहज रूपमा विजयी हुने अवस्थामा हुनुहुन्थ्यो’ भनेकी थिइन् । त्यसको जवाफमा ट्रम्पले इरानले आणविक हतियार प्राप्त गरेको भए त्यसलाई प्रयोग गर्ने दाबी गरे । उनले इरानसँग आणविक हतियार भएको अवस्थामा इस्लामिक गणतन्त्रले इजरायल र मध्यपूर्वलाई ‘समाप्त पार्ने’ तथा अमेरिकी सहरहरूमा समेत आक्रमण सुरु गर्ने दाबी गरे । ट्रम्पको यस्तो भनाइ अमेरिकी राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूले इरान युद्ध आफ्नो वर्तमान कार्यकालभन्दा पनि लामो समयसम्म तन्किन सक्ने सम्भावनाबारे छलफल गरेको वाल स्ट्रिट जर्नलको रिपोर्ट सार्वजनिक भएपछि आएको हो ।  यससँगै बजारमा पनि इरान युद्ध लामो समयसम्म चल्नसक्ने चिन्ता बढेको छ । ट्रम्पले भने मध्यावधि निर्वाचन सकिएलगत्तै युद्ध अन्त्य हुने दाबी गर्दै आएका छन् । उनले युद्ध अन्त्य भएपछि तेल तथा ग्यासको मूल्य पनि घट्ने बताएका छन् । युद्ध छिट्टै अन्त्य हुने दाबी उनले पछिल्ला केही महिनादेखि गर्दै आएका छन् । यसैबीच, बिहीबार न्युजनेसनसँगको छुट्टै अन्तर्वार्तामा ट्रम्पले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानले आफ्ना कैयौं लडाकु विमानमा प्रहार गरेको भन्ने दाबी अस्वीकार गरेका छन् । अमेरिकी सैन्य सम्पत्तिमा कुनै क्षति पुगेको हो कि भन्ने प्रश्नमा ट्रम्पले ‘कुनै क्षति भएको छैन, केही पनि भएको छैन’ भन्दै रिपोर्टमा कुनै सत्यता नभएको बताए । इरानमाथि आर्थिक दबाब थप कडा अमेरिकाले इरानलाई उसको आर्थिक सञ्जालबाट अलग पार्ने प्रयासलाई थप तीव्र बनाएको छ । अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले आगामी साता ‘ठूलो बैंक’माथि प्रतिबन्ध लगाउने संकेत गरेका छन् । बेसेन्टका अनुसार ९११ मा ज्यान गुमाएका अमेरिकी नागरिकहरूको सम्मानमा प्रतिबन्धसम्बन्धी घोषणा सोमबार गरिनेछ । उनले सोमबार हुने कदमलाई नजिकबाट हेर्नसमेत आग्रह गरेका छन् । बेसेन्टले इजिप्टको दोस्रो ठूलो बैंकको दुबईस्थित शाखाहरूमा प्रतिबन्ध लगाएर बन्द गरिएको दाबी गरेका छन् । उक्त बैंकले इरानलाई १.८ अर्ब अमेरिकी डलर उपलब्ध गराएको उनको आरोप छ । इरानी पक्षलाई रकम उपलब्ध गराउँदै आएको ‘टर्कीको सबैभन्दा ठूलो बैंक’माथि पनि प्रतिबन्ध लगाइएको उनले बताएका छन् । यद्यपि उनले उक्त बैंकको नाम भने खुलाएका छैनन् । न्युजनेसनसँगको अन्तर्वार्तामा ट्रम्पलाई वर्तमान आर्थिक दबाबका बीच इरानले कसरी सामना गरिरहेको छ भन्ने प्रश्न पनि गरिएको थियो । जवाफमा ट्रम्पले इरानले यो अवस्था कति समयसम्म थेग्न सक्छ भन्ने आफूलाई थाहा नभएको बताए । तर उनले मध्यावधि निर्वाचनपछि वा सम्भवतः त्यसअघि नै यो विषय समाधान हुने दाबी दोहोर्‍याए । ट्रम्पले भने, ‘निर्वाचनपछि यो समाधान हुनेछ। वा सम्भवतः त्योभन्दा अगाडि नै । तर निर्वाचन सकिएलगत्तै यो समाधान हुनेछ ।’

सोलुखुम्बुको हुंगा खोलाबाट पानी बग्न थाल्यो, खतरा टरिसकेको छैन

काठमाडौं । सोलुखुम्बुको हुंगा खोलामा पहिरो खसेर बनेको ‘ड्याम’बाट पानी बग्न सुरु गरेको छ । पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र करिब १५ मिटर अग्लो ‘ड्याम’ बनेको थियो ।  पानी बगेर नर्मल हुँदै गइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार खतरा भने टरिसकेको छैन । बिहान करिब ९ः१० बजे खोलामा पहिरोका कारण बनेको ‘ड्याम’को ताल भरिएपछि पानी निकास हुन सुरु भएको हो ।  प्रहरीले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ । आज बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ र ४ नम्बर वडाको हुंगा खोलामा गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको थियो ।  प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोसी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरलाई घटनाबारे जानकारी गराइसकेको छ । हाइड्रोपावरमा रहेका कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जान प्रहरीले आग्रह गरेको छ ।

बाढीपीडितलाई आइसीएफसी फाइनान्सद्वारा २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ । संस्थाले बाढीमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरूको सकुशल खोजी र उद्धार होस् भन्ने कामना गरेको जनाएको छ । फाइनान्सले विपद्को यस कठिन समयमा सरकार, सम्बन्धित निकाय, संघसंस्था र आम नागरिकबीच सहकार्य तथा एकता आवश्यक रहेको उल्लेख गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आइसीएफसी फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक र समुदायको साथमा रहँदै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।

ग्रे लिस्टबाट नेपाललाई निकाल्न प्रयास भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायमा समेत पहल भइरहेको बताए । नेपालको पक्ष बलियो ढंगले प्रस्तुत गर्न सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली परिचालन गरेको उनले जानकारी दिए । उक्त टोली अहिले मलेसियामा रहेर काम गरिरहेको उनले बताए । एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको पनि वाग्लेले बताए । नेपाल समयमै ग्रे लिस्टबाट बाहिरिन नसके त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहमा पर्ने उनको भनाइ छ । ‘एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई निकाल्न हाम्रो भगीरथ प्रयास चलिरहेको छ । यसैका लागि चालिएका केही कदमबाट अफवाह पनि फैलिने गरेका छन्,’ उनले भने । नेपालको पक्ष अन्तर्राष्ट्रियस्तरमा बलियो ढंगले प्रस्तुत गर्न सरकार गम्भीर भएर लागेको उनले बताए । ‘यो हलुका विषय होइन । यसले हाम्रो अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहसँग सोझै सम्बन्ध राख्छ,’ उनले भने । वाग्लेले वर्षौंदेखि टारिँदै आएका सुधारका कामलाई सरकारले अघि बढाइरहेको बताए । ती सुधारका क्रममा आलोचना र प्रहारसमेत भोग्नुपरेको उनको भनाइ छ । उनले ग्रे लिस्टबाट बाहिरिन सरकारले चालिरहेका कदमबारे अफवाह नफैलाउन पनि आग्रह गरे । यसैगरी, प्राकृतिक विपद्बाट भएको क्षति र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा पनि सरकार केन्द्रित रहेको उनले बताए । पुनर्निर्माणलाई पुरानै संरचना बनाउने अवसरका रूपमा मात्र नलिई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको वाग्लेले बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्न खोजिरहेको बताए । लगानीमैत्री वातावरण निर्माण गर्न आफू अर्थमन्त्री भएकै दिनदेखि नीतिगत सुधारमा लागेको दाबी पनि उनले गरे ।

रसुवामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरु

काठमाडौं । रसुवा बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै रसुवामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुने जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए ।  उनका अनुसार  गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लगाउनेछन् ।   खोप अभियानअन्तर्गत लक्षित चार पालिकाभित्रका १ वर्षभन्दा माथिका सबै उमेर समूहका नागरिकलाई हैजाविरुद्धको खोप लगाइँदैछ । तर, हाल ज्वरो आएका र पखाला लागिरहेका बिरामीलाई भने यो खोप लगाइने छैन ।  उनीहरू निको भएपछि मात्र खोप दिइने जिल्ला जनस्वास्थ्य  कार्यालय रसुवाले जनाएको छ । यसैगरी,बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा उद्धार तथा राहत वितरणमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई हैजाको खोपका साथै ‘टिटानस र डिप्थेरिया’विरुद्धको खोप पनि लगाइने व्यवस्था मिलाइएको छ । दूषित पानी र प्रतिकूल वातावरणका कारण हैजा जस्ता जलजन्य रोग फैलन सक्ने जोखिम उच्च रहने भएकाले पूर्वतयारी स्वरूप यो कदम चालिएको हो ।  स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको टोली खटाएर सञ्चालन गरिएको अभियानमा सहभागी भई तोकिएका केन्द्रबाट खोप लिन स्वास्थ्य प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।

इभी कारभित्र जलेको अवस्थामा भेटिए पुरुष, आफन्तलाई बोलाइँदै

काठमाडौं । चितवनको भरतपुरमा कारमा आगलागी हुँदा एक जना पुरुषको मृत्यु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका- ९ बसन्तचोकस्थित पूर्व- पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार मृतकको पहिचान खोज्ने प्रयास जारी छ । मृतकको शंका लागेर आफन्तलाई बोलाइएको छ । मृतकको अन्तिम कन्फर्मेसन हुन मात्र बाँकी छ । आगलागी भएको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएको थियो । प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र हाल नाम, थर र ठेगाना नखुलेको एक जना मानिस जलेको अवस्थामा मृत फेला परेको जनाएको छ । आगलागीबाट कारसमेत जलेर क्षति भएको छ । मृतकको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

शुक्रबार एकैदिन सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ मा कारोबार भएको थियो । यो साताको सुरुवात आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता केही उतारचढाव आए पनि शुक्रबार सबैभन्दा ठूलो गिरावट देखिएको हो । चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५५ रुपैयाँ सस्तो भएर ४ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ थियो ।  

वीर अस्पतालमा दुर्लभ न्युरोसर्जरी, एउटै शल्यक्रियाबाट ६ वटा एन्युरिज्मको सफल क्लिपिङ

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा ४७ वर्षीया महिलाको जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।  अस्पतालका अनुसार मस्तिष्कमा रक्तस्राव भएपछि उपचारका लागि ल्याइएकी बिरामीको परीक्षणका क्रममा दुवै पक्षमा गरी सात वटा एन्युरिज्म (रक्तनली फुल्ने समस्या) रहेको पत्ता लागेको थियो । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बिरामीको बायाँतर्फ तीन, अगाडिका दुई प्रमुख रक्तनली जोडिने स्थानमा दुई तथा दायाँतर्फ दुई वटा एन्युरिज्म पहिचान भएका थिए ।  सामान्यतया दुवै पक्षका एन्युरिज्मको उपचारका लागि छुट्टाछुट्टै शल्यक्रिया आवश्यक पर्ने भए पनि वीर अस्पतालका न्युरोसर्जनहरूले बायाँतर्फबाट एउटै शल्यक्रियात्मक पहुँच बनाएर दुवै पक्षका ६ वटा एन्युरिज्म सफलतापूर्वक क्लिपिङ गरेका छन् ।  विशेषगरी दायाँतर्फका एन्युरिज्ममा समेत बायाँतर्फबाट पुगेर क्लिप लगाउनु यस शल्यक्रियाको प्रमुख विशेषता रहेको अस्पतालले जनाएको छ ।  करिब सात घण्टा लामो शल्यक्रियाको नेतृत्व प्रा. डा. राजीव झाले गरेका थिए भने शल्यक्रियामा डा. नम्रता खड्का र डा. योगेन्द्र देवकोटा सहभागी थिए ।  बाँकी रहेको सातौं एन्युरिज्मको उपचार भने रक्तनलीभित्रबाट गरिने विधिमार्फत गर्ने योजना रहेको अस्पतालले जनाएको छ । चिकित्सकहरूका अनुसार एन्युरिज्म फुटेर मस्तिष्कमा रक्तस्राव हुनु अत्यन्त गम्भीर अवस्था हो । यसले मृत्यु तथा दीर्घकालीन स्नायु सम्बन्धी अशक्तताको जोखिम बढाउने गर्दछ ।  समयमै उपचार हुन नसके प्रतिकूल परिणामको जोखिम ७० प्रतिशतसम्म पुग्न सक्ने चिकित्सकहरूको भनाइ छ । शल्यक्रियामा बेहोस बनाउने तथा अन्य सहयोगी चिकित्सक टोलीमा डा. अजय चौधरी, डा. तिलक देवकोटा, डा.मनोज विष्ट, डा. ल्हाप्चा त्सेरिङ शेर्पा, डा. आर्यन यादव, डा.ऋतु प्रधान, डा. सन्दीप किरण प्रधान तथा डा. गौरव रत्न बज्राचार्य सहभागी थिए ।  नर्सिङ टोलीमा सिन्धु गौतम, अस्मी मगर र युज्जु मानन्धर सहभागी रहेको अस्पतालले जनाएको छ । वीर अस्पतालले यसअघि पनि यही प्रविधिबाट नौ जना बिरामीमा सफलतापूर्वक एन्युरिज्म क्लिपिङ गरिसकेको जनाएको छ ।  शल्यक्रियापछि बिरामी पूर्ण रूपमा होसमा रहेको र हाल कुनै स्नायुसम्बन्धी कमजोरी नदेखिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार एउटै शल्यक्रियात्मक पहुँचबाट ६ वटा एन्युरिज्मको सफल क्लिपिङ नेपालमा मस्तिष्क तथा रक्तनलीसम्बन्धी शल्यचिकित्साको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।