काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायमा समेत पहल भइरहेको बताए ।
नेपालको पक्ष बलियो ढंगले प्रस्तुत गर्न सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली परिचालन गरेको उनले जानकारी दिए ।
उक्त टोली अहिले मलेसियामा रहेर काम गरिरहेको उनले बताए । एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको पनि वाग्लेले बताए ।
नेपाल समयमै ग्रे लिस्टबाट बाहिरिन नसके त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहमा पर्ने उनको भनाइ छ ।
‘एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई निकाल्न हाम्रो भगीरथ प्रयास चलिरहेको छ । यसैका लागि चालिएका केही कदमबाट अफवाह पनि फैलिने गरेका छन्,’ उनले भने ।
नेपालको पक्ष अन्तर्राष्ट्रियस्तरमा बलियो ढंगले प्रस्तुत गर्न सरकार गम्भीर भएर लागेको उनले बताए ।
‘यो हलुका विषय होइन । यसले हाम्रो अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहसँग सोझै सम्बन्ध राख्छ,’ उनले भने ।
वाग्लेले वर्षौंदेखि टारिँदै आएका सुधारका कामलाई सरकारले अघि बढाइरहेको बताए । ती सुधारका क्रममा आलोचना र प्रहारसमेत भोग्नुपरेको उनको भनाइ छ ।
उनले ग्रे लिस्टबाट बाहिरिन सरकारले चालिरहेका कदमबारे अफवाह नफैलाउन पनि आग्रह गरे ।
यसैगरी, प्राकृतिक विपद्बाट भएको क्षति र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा पनि सरकार केन्द्रित रहेको उनले बताए ।
पुनर्निर्माणलाई पुरानै संरचना बनाउने अवसरका रूपमा मात्र नलिई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको वाग्लेले बताए ।
उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्न खोजिरहेको बताए ।
लगानीमैत्री वातावरण निर्माण गर्न आफू अर्थमन्त्री भएकै दिनदेखि नीतिगत सुधारमा लागेको दाबी पनि उनले गरे ।