काठमाडौं । चितवनको भरतपुरमा कारमा आगलागी हुँदा एक जना पुरुषको मृत्यु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका- ९ बसन्तचोकस्थित पूर्व- पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार मृतकको पहिचान खोज्ने प्रयास जारी छ । मृतकको शंका लागेर आफन्तलाई बोलाइएको छ । मृतकको अन्तिम कन्फर्मेसन हुन मात्र बाँकी छ ।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिएको थियो । प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र हाल नाम, थर र ठेगाना नखुलेको एक जना मानिस जलेको अवस्थामा मृत फेला परेको जनाएको छ ।
आगलागीबाट कारसमेत जलेर क्षति भएको छ । मृतकको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।