बाढीपीडितलाई आइसीएफसी फाइनान्सद्वारा २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ ।

संस्थाले बाढीमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरूको सकुशल खोजी र उद्धार होस् भन्ने कामना गरेको जनाएको छ ।

फाइनान्सले विपद्को यस कठिन समयमा सरकार, सम्बन्धित निकाय, संघसंस्था र आम नागरिकबीच सहकार्य तथा एकता आवश्यक रहेको उल्लेख गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आइसीएफसी फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक र समुदायको साथमा रहँदै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।

Share News